विकासन्युज

२५ खर्ब २८ अर्ब पुग्यो सार्वजनिक ऋण, दुई महिनामै थपियो १ खर्ब

काठमाडौं । चालु आर्थिक वार्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो दुई महिनामा नेपालले १४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण तिरेको छ । दुई महिनामा विदेशी मुद्राको उचारचढावबाट नेपालले तिर्नुपर्ने ऋण ३० अर्ब १४ करोड रुपैयाँ बढेको हो । समग्रमा दुई महिनामा नेपालको तिर्नुपर्ने सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको छ । गत आव २०८०/०८१ को असार मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । यो दुई महिनामा थपिएको जोड्दा भदौ मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कुल ग्राहस्थ उत्पादनको ४४.३२ प्रतिशत सार्वजनिक ऋण पुगेको छ । लक्ष्यको १९.०२ प्रतिशत परिचालन नेपालले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमध्ये साउन र भदौ महिनामा त्यसको १९.०२ प्रतिशत मात्र प्राप्ति गरेको छ । आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको २७.२७ प्रतिशत अर्थात ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ । यसैगरी, बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा यो दुई महिनामा १४ अर्ब ५ करोड अर्थात ६.४८ प्रतिशत प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी सरकारले चालु आवमा ४ खर्ब २ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्ने लक्ष्य लिएको छ । जसमध्ये यो दुई महिनामा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिएको छ । अर्थात् लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी दिएको कार्यालयले जनाएको छ । सरकारले आन्तरिकतर्फ ३ खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये दुई महिनामा ४२ अर्ब २ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अर्थात् आन्तरिकतर्फ नेपाल सरकारले लक्ष्यको १२.४७ प्रतिशत भुक्तानी दिएको छ । यसैगरी, बाह्यतर्फ ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये ८.६३ अर्थात ५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको छ ।

दशैंलक्षित अग्रिम टिकट खुलाउनेबारे यातायात मन्त्रालयमा छलफल

काठमाडौं । दशैंलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने र केही दिनलगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो । आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए । टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भइरहेको बताए । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए । प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताए । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए ।

ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटसले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १० लाख कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा एसबीआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले हस्ताक्षर गरे । ठमेल प्लाजा होटल काठमाडौं महानगरपालिका १६ स्थित ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । होटलले ९० वटा कोठामार्फत् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सेवा प्रदान गरिरहेको छ । यस होटलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ । साथै रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ । अमेरिकाको न्युजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्टअन्तर्गत संसारभरि ९ हजार १ सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत हाल २५ वटा ब्राण्डहरूमध्ये रमदा ६३ देशमा ८५१ वटा होटलहरू सञ्चालनमा रहेका छन् ।

गम्भीर संकटमा भारतीय हीरा उद्योग, धमाधम मृत्यु रोज्दै व्यवसायी

काठमाडौं । भारतको हीरा क्षेत्रले गम्भीर संकट सामना गरिरहेको छ । पछिल्लो तीन वर्षमा भारतमा हीरा आयात र निर्यात दुवैमा भारी गिरावट आएको छ । यही कारण समयमा भुक्तानी हुन नसक्दा कारखाना बन्द हुन पुगेको र ठूलो संख्यामा रोजगारी गुमेको आर्थिक अनुसन्धान संस्थान जीटीआरआईले जानकारी दिएको छ । इकोनोमिक रिसर्च इन्स्टिच्युटले विज्ञप्ति जारी गर्दै निर्यात आम्दानी बढे पनि अर्डरमा गिरावट र प्रयोगशालाबाट उत्पादन हुने हीराको बढ्दो प्रतिस्पर्धाले प्रशोधन नगरिएका ‘रफ’ हिराको मौज्दात बढ्दै गएको जनाएको छ । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का संस्थापक अजय श्रीवास्तवले भने, ‘यसले भुक्तानी नहुने, फ्याक्ट्री बन्द र ठूलो मात्रामा रोजगारी गुमाएको छ । दुःखको कुरा, गुजरातको हीरा उद्योगसँग सम्बन्धित ६० भन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन्, जसले भारतको हीरा उद्योगमा परेको गम्भीर आर्थिक र भावनात्मक तनावलाई झल्काउँछ ।’ यी समस्या समाधान गरी यस क्षेत्रको भविष्य सुरक्षित गर्न तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । इकोनोमिक रिसर्च इन्सिच्युटको तथ्यांकअनुसार सन् २०२१/२२ मा रफ हीरा आयात १८ अर्ब ५० करोड अमेरिकी डलरबाट २०२३/२४ मा १४ अर्ब ५० करोड डलरमा झरेको छ । यो २४.५ प्रतिशत गिरावटले कमजोर विश्वव्यापी बजार र न्यून प्रशोधन आदेश (अनुबन्ध) प्रतिविम्बित गर्छ । संस्थापक श्रीवास्तकले रुस–युक्रेन द्वन्द्वले विश्वव्यापी हिरा आपूर्ति शृङ्खलालाई पनि असर गरेको बताए । प्रमुख रफ हीरा उत्पादक रुसविरुद्धको प्रतिबन्धले व्यापारलाई अझ जटिल बनाएको छ र विश्वव्यापी हीराको व्यापार सुस्त बनाएको छ । श्रीवास्तवले प्रयोगशालाबाट उत्पादन भएको हीराको बढ्दो उपभोक्ता मागले प्राकृतिक हीराको मागलाई असर गरिरहेको बताए । प्रयोगशालामा उत्पादन गरिएको हीरा अधिक किफायती र टिकाउ हुन्छन् भन्ने विश्वास गरिन्छ । जीटीआरआईले दुबईले हीरा उत्पादन गर्दैन, तर पनि भारतको रफ हीरा आयातमा यसको हिस्सा निरन्तर बढिरहेको बताएको छ । दुबईले बोत्स्वाना, अंगोला, दक्षिण अफ्रिका, रुसबाट रफ हीरा आयात गर्छ र त्यसपछि भारतमा निर्यात गर्छ । भारतीय हीरा उद्योगमा हीरा काट्ने, पालिस गर्ने र निर्यात गर्नेजस्ता विभिन्न गतिविधिमा संलग्न ७ हजारभन्दा बढी कम्पनी छन् ।  -एजेन्सी

यी हुन् राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत हुने विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थी

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको छ । साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेकाे थियाे । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो । सो अवसरमा सरकारले शिक्षालाई उत्कृष्ट बनाउन सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको हो । जसमा, सरकारी, निजी र प्राविधिक शिक्षालयदेखि शिक्षक तथा कर्मचारीहरू पनि रहेका छन् । नेपालका उत्कृष्ट क्याम्पस सरकारले देशभरका उत्कृष्ट क्याम्पस छनोट गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा छनोट गरिएका तीनवटा क्याम्पस उत्कृष्ट ठहर्दै पुरष्कृत गरेको छ । पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ बिजनेस क्याम्पस, कास्की, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनभावना क्याम्पस, ललितपुर र विश्वविद्यालयका सम्बन्धन प्राप्त निजी क्याम्पसहरूमध्ये  त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज, सोल्टीमोड उत्कृष्ट भएका छन् । राष्ट्रिय स्तरमा उत्कृष्ट भएको क्याम्पसलाई २ लाख ५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । तीनवटा उत्कृष्ट सामुदायिक विद्यालय सरकारले देशभरका सार्वजनिक (सामुदायिक) विद्यालय छनोट गरी पुरष्कृत गरेको छ । स्कुललाई २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालयलाई छनोट गरिएको हो । जसमा दाङको तुलसीपुरमा रहेको श्री मा.वि. प्रथम, काठमाडौंको विश्व निकेतन मावि द्वितीय भएको छ भने दाङको सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालय तृतीय बनेका छन् । प्रथम भएको विद्यालयलाई शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कारसहित प्रमाणपत्र, द्वितीयलाई शिल्ड, ध्वजा र दुई लाख नगदसहित प्रमाणपत्र र तृतीयलाई शिल्ड, ध्वजा  र एक लाख नगदसहित प्रमाणपत्र दिइएको छ । उत्कृष्ट निजी विद्यालय सरकारले निजी लगानीका (संस्थागत) विद्यालय मध्येबाट काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि, काठमाडौं महानगरपालिका- १५ मा रहेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रो नारायणस्थानमा रहेको बुढानीलकण्ठ स्कुल भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाखसहित प्रमाणपत्र दिइएको  छ । उत्कृष्ट प्राविधिक शिक्षालय प्राविधिक शिक्षालयतर्फ पनि तीनवटा प्राविधिक विद्यालय छनोट गरिएको छ । जसमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निक, कपिलवस्तुको जनता मावि, बाणगंगा र सानो भर्‍याङमा रहेको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भएका छन् । ती शिक्षालयलाई गुणस्तर शिक्षा दिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा उत्कृष्ट छनोट गरिएको हो । सबै शिक्षालयलाई एक लाख रकमसहित प्रमाणपत्र दिइएको छ । यस्तै, समाजमा रहेका बालबालिकालाई शिक्षा दिने संस्थालाई पनि पुरष्कृत गरिएको छ । सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालवालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरिरहेको काठमाडौंको मनोहरामा रहेको ‘युवा क्रियाकलाप उत्थान केन्द्र’ र ललितपुरको सी आशा फाउण्डेशनलाई सरकारले दुई लाख नगदसहित प्रमाणपत्र दिइएको  छ । उत्कृष्ट शिक्षक कर्मचारी शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारी पनि सम्मान भएका छन् । जसमा विश्वविद्यालय शिक्षक तथा कर्मचारी २५ जना, प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी ५ जना, सार्वजनिक विद्यालयका ७४ जना, निजी लगानीका ३२ जना, विद्यालय ववस्थापन समिति, बालविकास सहजकर्ता ३५ जना रहेका छन् । तीन सय विद्यार्थी विभूषित आज तीन सय विद्यार्थीलाई नेपाल विद्याभूषणबाट विभूषित गरिने भएकाे  छ । उच्च शिक्षातर्फ करिब तीन सय जना विद्यार्थी विभूषित गरिएको छ । जसमा नेपाल विद्याभूषण ‘क’ २ सय ६४ जना, नेपाल विद्याभूषण ‘ख’ ३५ जना, नेपाल विद्याभूषण ‘ग’ २१ जना, नेपाल छात्रापदक ‘क’ १५ जनालाई दिइएको छ ।

काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण

काभ्रेपलाञ्चोक । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक÷/एक जनामा डेङ्गी सङ्क्रमण देखिएको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको छ । करिब दुई हप्तादेखि दैनिकजसो डेङ्गी सङ्क्रमण देखिएको हो । ‍हालसम्म एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म करिब दुई महिनाको अवधिमा ६२ पुरुष र ७२ महिलामा डेङ्गी सङ्क्रमण देखिएको छ । अझै डेङ्गी सङ्क्रमणदर बढ्ने अनुमान गरिएको उनले बताए । कार्यालयका अनुसार सबैभन्दा बढी बनेपा नगरमा १८ पुरुष र १६ महिला गरी ३४ जनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ । यस्तै, पनौतीमा २६, भुम्लुमा २०, धुलिखेलमा १८, मण्डनदेउपुरमा १२, पाँचखालमा सात, नमोबुद्धमा छ, रोशीमा पाँच तथा तेमाल, बेथानचोक र महाभारतमा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा चार सय ८७ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । हाल सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी सङ्क्रमण न्यूनीकरण गर्न विभिन्न सचेतनाका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि प्रत्येक शुक्रबार ‘१० बजे दश मिनेट’–‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । डेङ्गीको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने ब्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुनेगर्दछ ।

बिहान नगर्नुस् यी ५ गल्ती, कलेजोदेखि मधुमेहसम्मको हुन सक्छ समस्या

काठमाडौं । कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो । जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरबाट विषाक्त तत्वहरू बाहिर निकाल्नुका साथै यसले रगतलाई शुद्ध पार्छ र शरीरका विभिन्न कार्य सुचारू रूपमा सञ्चालन गर्न मद्दत गर्छ । तर, हामीले आफ्नो दिनचर्यामा केही गल्ती गर्‍याैं भने कलेजोका लागि खतरनाक साबित हुन सक्छ । विशेषगरी बिहानको समयमा गरिने खराब बानीले कलेजोलाई हानि पुर्‍याउँछ । कलेजो बिग्रियो भने मधुमेहजस्ता गम्भीर रोगको जोखिम पनि बढ्न सक्छ । आउनूहोस् बिहान उठेर हामीले के गर्नु हुँदैन भन्ने बारेमा छाेटकरीमा छलफल गराैं । हामीले आज मानिसले बिहान गर्ने गल्तीको विषयमा चर्चा गर्दैछौं । १. बिहान पानी पिएर दिनको सुरुवात नगर्नू पानी स्वास्थ्यका लागि कति आवश्यक छ, यो सबैलाई थाहा भएको कुरा हो । तर, पानी कतिबेला कसरी पिउने भन्ने धेरैलाई थाहा छैन । बिहान उठ्ने बित्तिकै सबभन्दा पहिले पानी पिउनु अति आवश्यक छ । तर, धेरैले यो बानीलाई बेवास्ता गर्छन् । जुन कलेजोका लागि खतरनाक हुन्छ । रातभर सुत्दा शरीरमा डिहाइड्रेसन हुन्छ । बिहान उठ्ने बित्तिकै पानी पिउँदा शरीरमा पानीको कमी पूर्ति हुन्छ । पानी पिउनाले कलेजोबाट विषाक्त तत्वहरू बाहिर निकाल्छ र शरीरलाई डिटक्सिफाइ गर्न मद्दत गर्छ । यदि तपाईंले पानी नपिएर दिनको सुरुवात गर्नुहुन्छ भने यसले कलेजोमा प्रत्यक्ष असर पार्छ । २. बिहानै खाली पेटमा चिल्लो पदार्थ खानु धेरै मानिस बिहानको खाजामा तारेको खानेकुरा खान मन पराउँछन् । चिल्लो पदार्थको सेवनले पाचन प्रणालीलाई मात्र नभइ कलेजोलाई पनि असर गर्छ । चिल्लो खानेकुराले कलेजोमा बोसो जम्मा गर्छ, जसले फ्याटी लिभर रोगको जोखिम बढाउँछ । यसले कलेजोको सामान्य कार्यमा बाधा पुर्‍याउन सक्छ र लामो समयसम्म बेवास्ता गरेमा मधुमेहजस्ता रोग लाग्न सक्छ । ३. व्यायाम नगर्नू बिहान उठ्नेबित्तिकै थोरै भए पनि शारीरिक व्यायाम गर्नुपर्छ । व्यायाम शरीरका लागि मात्र होइन, कलेजोका लागि पनि फाइदाजनक हुन्छ । यसले शरीरमा रक्तसञ्चार सुधार गर्नुका साथै कलेजोको काममा सुधार गर्छ । जसले दिनभरि बस्ने र बिहान व्यायाम नगर्ने गर्छन् त्यस्ता व्यक्तिको कलेजोमा नकारात्मक असर पर्न सक्छ । जसका कारण कलेजो बिस्तारै कमजोर हुँदै जान्छ र भविष्यमा यसले गम्भीर रोग निम्त्याउँछ । ४. बचेको खाना बिहान खानु धेरैले बिहानै रातिदेखि बाँकी रहेको खाना खाने गर्छन् । तर,यो बानी राम्रो होइन । यसले कलेजोलाई हानि पुर्‍याउँछ । बासी खानाले कलेजोमा थप दबाब दिन्छ, किनभने कलेजोले शरीरमा रहेको ब्याक्टेरिया र विषाक्त पदार्थलाई बाहिर निकाल्नको लागि धेरै मेहनत गर्नुपर्छ । यसले कलेजोको कामलाई कमजोर बनाउँछ । ५. बिहान उठ्ने बित्तिकै धुम्रपान वा मदिरा सेवन गर्नु बिहान उठ्नेबित्तिकै धुम्रपान वा मदिरा सेवन गर्नु राम्रो होइन । यसले कलेजोको कोशिकालाई नोक्सान पुर्‍याउँछ । जसका कारण कलेजोको काम बिग्रन सक्छ । यसलाई समयमै रोकिएन भने कलेजो सिरोसिस वा क्यान्सरको जोखिम हुन्छ । एजेन्सीको सहयोगमा

रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे । उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाािणत भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएको धन्यवाद दिए । उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको जानकारी दिए । ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई । झगडा नगरौँ, मिलाउनेतिर लागौँ’, उनले भने । सभापति देउवाले पार्टीको संगठन बिस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरुलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिए ।