विकासन्युज

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

काठमाडौं । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छभने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताए । व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् । सयौँ व्रतालुहरुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखासन्तानलाई पनि प्रसाद रुपमा सोही तेल लगाइदिने चलन छ । व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो) भनिन्छ । त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरु ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरुले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको जलेश्वर नगरपालिका–८ का पण्डित बद्रीनारायण झा बताउँछन् । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भने, ‘यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व उजागर गर्छ ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन । राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरुलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।

आधा घण्टाको भेटमा मोदीले भने- छिट्टै नेपाल भ्रमणमा आउँछु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो । टमा मोदीले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै सौहार्द वातावरणमा कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’ आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफलमा भएको थियो । प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी भएको र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जानकारी दिए ।

म निर्धक्क छैन, यो सरकारले जे पनि गर्न सक्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू यो सरकारसँग निर्धक्क भएर हिड्न सक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार राति पार्टी कार्यालयबाट बोल्दै उनले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको धारणा राखेका हुन् । उनले जनताको जनप्रतिनिधिलाई सरकारले तर्साएर आफ्नो दम्भ देखाउन खोजेको बताए । उनले आफूमाथि गम्भीर सडयन्त्र भइरहेको बताएका छन् । जनताको जनप्रतिनिधिप्रति यो किसिमको मिडिया ट्रायल नगर्न उनको आग्रह छ । ‘यो सरकार अधिनायकवादतर्फ जाँदै गएको संकेत देखियो, सरकारको नियत रवि लामिछानेलाई जेल हाल्ने र रास्वपालाई सिध्याउने देखियो, अब यो अवस्थामा जुन किसिमले पनि अगाडि बढ्नु पर्ने देखियो,’ उनले भने ।

रोयल इनफिल्ड वान राइड सम्पन्न, ४५० भन्दा धेरै राइडर सहभागी

काठमाडौं । ‘बी बाेल्ड, बी सिन, बी अन’ भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेकाे छ । वान राइड २०२४ असाेज ६ गते राेयल इन्फिल्ड शाेरुम नक्सालबाट सुरु भइ गाेदावरी पुगेर सम्पन्न भएकाे हाे । नेपालमा काठमाडाैंलगायत विभिन्न सहरका ४५० भन्दा धेरै राइडरहरू सहभागी जनाएका थिए । यसक्रममा गाेदावरीमा रहेकेा पथप्रदर्शक माविका विद्यार्थीहरूका लागि ५० हजार रुपैयाँ नगदसहित खेलकुदका सामग्री वितरण गरिएकाे थियाे । वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएकाे थियाे ।

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍याे दुईवटा नवीनतम बीमा योजना सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेकाे हाे । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको सन नेपाल लाइफले जनाएकाे छ । ‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको कम्पनीकाे दावी छ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिनसक्ने अपेक्षा कम्पनीकाे छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेका छन् । सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सतकर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । सात सत्कर्म अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए । यस अवसरमा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको छ । सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

रविविरुद्ध पक्राउ पुर्जी जारी, सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ । जिल्ला अदालत, पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको बुझिएको हो । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे पक्राउ भएका छन् । उनी पक्राउ भएसँगै अब प्रहरीले रवि लामिछानेलाई निगरानीमा राखेको विषय बाहिरिएको छ । उनकाे नाम पनि सहकारी ठगीको विषयमा मुछिएको छ । सहकारी बचत रकम ठगीसम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले रवि, छवि र जीबी राईलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको थियो । सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने तयारी गरिसकेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई प्रहरीले निगरानीमा राखेको भन्ने सूचनापछि उनी पार्टी कार्यालय पुगेको बुझिएको छ । रविलाई पनि आजै पक्राउ गर्नेगरी  जिल्ला अदालत, कास्कीबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको बुझिएको थियो । अहिले लामिछाने पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा छन् । यससँग काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित भयो कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएकाे छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हाे । बैंक’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो । आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ । कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

एनएमबि र बागमती गाउँपालिकाबीच खेती कर्जाका लागि भयो सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेती एप) र मकवानपुरकाे बागमती गाउँपालिकाबीच त्रिपक्षीय सम्झाैता भएकाे छ । गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हाे । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलस प्रालिको तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरे । एनएमबि बैंक र डिभी एक्सेलस प्रालिबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्ण रूपमा डिजिटल कर्जा प्रदान गर्नका लागि सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई यस डिजिटल कर्जामार्फत कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्नका लागि तीनैवटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरूलाई कर्जाकाे लागि सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्नेजस्ता विषयमा सहमति भएकाे हाे । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको बताएका थिए । अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।