विकासन्युज

दुर्गालाई हुनसक्छ पाँच वर्ष कैद र एक लाख जरिवाना, बैंकरदेखि सरकारको पनि बनेका थिए ‘टाउको दुखाइ’

काठमाडौं । समाजमा अराजक अभिव्यक्ति दिँदै आएका विवादित मेडिकल व्यवसायी दुगाई प्रसाईं अन्ततः पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट  पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले रास्वपाकी एक नेतृले प्रसाईंविरुद्ध जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । अवस्थीका अनुसार उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने तयारी छ । सो ऐनका दफा ४७ मा कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । प्रसाईंले लामो समयदेखि समाजमा अराजकता फैलाउने किसिमका अभिव्यक्ति दिँदै आएका थिए । उनले ‘बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने, बैंकरलाई कालोमोसो दल्ने, उद्योगी व्यवसायी चोर हुन्’ भन्ने लगायतका अराजक किसिमका अभिव्यक्ति दिएर समाजलाई भड्काउने काम गर्दै आएका थिए । उनले नेताहरू सबै भ्रष्टाचारी हुन् भन्ने लगायतका अभिव्यक्ति दिँदै सरकारलाई आफूलाई पक्राउ गरेर देखाउन चुनौती पनि दिँदै आएका थिए ।

बच्चाहरूले छिट्टै सिक्छन् यी ५ खराब बानी, अभिभावकले कसरी राख्ने ख्याल ?

काठमाडौं । भनिन्छ- बच्चाहरू काँचो माटोजस्ता हुन्छन् । उनीहरूलाई जे सिकायो त्यहीं सिक्छन् । जुन परिस्थितिमा ढाल्यो, त्यसैअनुसार ढल्छन् भन्ने हामीले सुन्दै आएको कुरा हो । यो भनाइ सही पनि हो । बच्चाहरू आफ्नो वरपर जस्तो देख्यो, उस्तै गर्न खोज्छन् । उनीहरूलाई के राम्रो, नराम्रो थाहा हुँदैन । यस्तो अवस्थामा धेरै पटक बालबालिकाले देख्ने र सुन्ने कुरा उनीहरूको बानी बन्न पुग्छ । यस्तो अवस्थामा आमाबुवाले बच्चाको ख्याल गर्नुपर्छ । आफ्नो बच्चाको हरेक स-साना कुरामा अभिभावकले ध्यान दिने हो भने बच्चाले केही गलत गर्नबाट उसलाई जाेगाउन सकिन्छ । आउनूहोस् जानौं बच्चाले सजिलै सिक्ने यी ५ खराब बानी : आफ्नो गल्ती नस्वीकार्नु कुनै पनि बच्चाले के सही ? के गलत ? थाहै नपाइ काम बिगार्छन् । जानी-नजानी गल्ती स्वीकार गर्दैनन्। लाज वा सजायको डरले उनीहरू यस्तो गर्छन् । यदि तपाईंको बच्चाले आफूले गरेको गल्तीको जिम्मेवारी लिँदैन भने उसले झूट बोल्न सक्छ । जसले भोलिका दिनमा धेरै ठूला समस्याहरू निम्त्याउन सक्छ । महत्त्वपूर्ण कुरा याे हाे कि बच्चाले बिना डर आफ्नो गल्ती स्वीकार गर्न सक्ने  शान्त वातावरण बनाउनु पर्छ । अभिभावकले भनेको नमान्नु भनेको नमान्नु पनि एक बानी हो । जुन बच्चाहरूले छिट्टै सिक्छन्। विशेषगरी जब ऊ भित्रबाट उत्प्रेरित वा खुशी महसुस गर्दैन । चाहे त्यो गृहकार्य होस् वा घरको काम । यसैगरी, जिम्मेवारीबाट जोगिने बानी, जसबाट छुटकारा पाउन धेरै गाह्रो छ । अरूको विचारलाई महत्त्व नदिनु प्रायः तपाईंले आफूलाई मन पर्ने मान्छे देख्नु भएको होला । उनीहरू आफूबाहेक सबैमा कमीकमजोरी पाउँछन् र उनीहरूको आफ्नै दृष्टिकोण मात्र महत्त्वपूर्ण देखिन्छ । यो खराब बानी हो । कतिपय बच्चाहरू पनि यस्ता कुरा धेरै चाँडै सिक्छन् । तपाईं आफ्नो बच्चालाई बाल्यकालदेखि नै राम्राेसँग सुन्न सक्ने बनाउनूहोस् । बच्चालाई अरूको निर्णय र दृष्टिकोण पनि सुन्ने बनाउनुपर्छ । धेरै गफ गर्ने कतिपय बच्चाहरू धेरै गफ दिने हुन्छन् । उनीहरूलाई आफ्नै परिवारको बारेमा गफ गर्ने बानी बढी हुन्छ । तपाईंको घरमा यस्तो बच्चा छ भने तपाईंले कुरा गर्दा ध्यान दिनुपर्छ । बच्चासँगै भएकोबेला कोसँग कुरा गर्ने ? के कुरा गर्ने ? भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान नदिनु बच्चाहरू आफै सरसफाइ गर्न सक्दैनन् । उनीहरूलाई के फोहोर, के सफा पनि थाहा हुँदैन । अझ बढी फोहोरमै खेल्न उनीहरूलाई रमाइलो लाग्छ । अभिभावकले उनीहरूलाई यो फोहोर हो, यसमा खेल्न हुँदैन भनेर नसम्झाउने हो भने पछि उनीहरूलाई समस्या हुन्छ ।

पोखरामा ४ दिने योगा महोत्सवको आयोजना हुने

काठमाडौं । होटल संघ नेपाल सुन्दरनगरी पोखरामा चार दिने याेगा महाेत्सवकाे आयोजना गर्ने भएकाे छ । होटल संघले अक्टोबर १६ देखि १९ सम्म महोत्सव आयोजना गर्न लागेकाे हाे । महोत्सव पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा हुन लागेकाे हाे । उक्त महोत्सव नेपाल योगा महोत्सवसँगको सहकार्यमा हुन लागेकाे हाे । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योगा विज्ञहरूको जमघट हुने होटल संघले जनाएकाे छ । यसैगरी, महोत्सवमा ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत हुनेछ । साथै यस कार्यक्रमले मुलुकको दिगो पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने होटल संघ नेपालका महासचिव साजन शाक्यले जानकारी गराए । कार्यक्रममा सहभागिता जनाउन नेपालीका लागि दिनको ३ हजार रुपैयाँ र विदेशीका लागि ६,५०० रुपैयाँ बुझाउनुपर्नेछ । संघले महोत्सव अवधिभरका लागि प्याकेजको पनि व्यवस्था गरेकाे जनाएकाे छ । कार्यक्रमका बारेमा विस्तृत जानकारीका लागि www.nepalyogafestival.com तथा ९८५११५८३८४ मा सम्पर्क गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।  

ऋणमा डुबेको भोडाफोनमा ३ खर्ब लगानी, कहाँबाट आयो पैसा ?

काठमाडौं । नगद संकट र ऋणमा डुबेको भारतीय टेलिकम कम्पनी भोडाफोन आइडिया (भीआई) ले नोकिया, इरिक्सन र सामसङसँग ३ अर्ब ६० करोड अमेरिकी डलर (लगभग ३ खर्ब रुपैयाँ) को सम्झौता गरेको छ । यो सम्झौता तीन वर्षको अवधिमा नेटवर्क उपकरण आपूर्तिका लागि गरिएको हो । कम्पनीले तीन वर्षका लागि ६ अर्ब ६० करोड डलरको पुँजीगत योजना बनाएको छ । यो सम्झौता त्यस दिशामा पहिलो कदम हो । कम्पनीले आफ्नो क्यापेक्स फोरजी कभरेज १ अर्ब ३ करोडबाट १ अर्ब २० पुर्याउने, प्रमुख बजारमा फाइभजी सुरु गर्ने र डाटा वृद्धिसँगै क्षमता विस्तार गर्ने लक्ष्य राखेको जनाइएको छ । कम्पनीले आफ्ना विद्यमान दीर्घकालीन साझेदार नोकिया र इरिक्सनसँग काम जारी राखेको र सामसङलाई पनि नयाँ साझेदारका रूपमा थपेको बताएको छ । यी सम्झौताले कम्पनीलाई अझ राम्रो ग्राहक अनुभव प्रदान गर्न नवीनतम अत्याधुनिक उपकरणहरूको तुरुन्त लाभ उठाउन मद्दत गर्नेछ । नयाँ सम्झौताबाट आपूर्ति आगामी त्रैमासमा सुरु हुनेछ । कम्पनीको शीर्ष प्राथमिकता १ अर्ब २० करोड भारतीयमा फोरजी कभरेज विस्तार गर्नु हो । कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न उदीयमान नेटवर्क प्रविधिहरूमा लगानी गर्न प्रतिबद्ध रहेको बताएको छ । सर्वोच्च अदालतबाट झट्का कम्पनीले लगानीको चक्र सुरु गरेको बताएको छ । ‘नोकिया र इरिक्सन स्थापनादेखि नै हाम्रा साझेदारहरू हुन् र यो निरन्तर साझेदारीमा अर्को कोसेढुङ्गा हो, हामी सामसङसँग हाम्रो नयाँ साझेदारी सुरु गर्न पाउँदा खुसी छौं,’ भोडाफोन आइडिया लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अक्षय मुन्द्राले भने, ‘हामी फाइभजी युगमा प्रवेश गर्दा हाम्रा सबै साझेदारहरूसँग मिलेर काम गर्न तत्पर छौं ।’ यसैबीच, सर्वोच्च अदालतले यस हप्ता भोडाफोन आइडिया लगायत टेलिकम कम्पनीहरूको धेरै याचिकाहरू खारेज गर्‍यो, जसमा कम्पनीहरूको एजीआर पुनः गणना गर्न माग गरिएको थियो । बीआईले ३१ मार्च २०२४ सम्म सरकारलाई २० खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ तिर्नुपर्ने थियो । कुल बक्यौतामा १३ खर्ब ३१ अर्ब १० करोडको स्थगित स्पेक्ट्रम भुक्तानी र ७ खर्ब ३ अर्ब २० करोडको एजीआर बक्यौता समावेश छ । अदालतले भुक्तानीमा राहत दिनेमा कम्पनी आशावादी थियो । अदालतको फैसलापछि बिहीबार कम्पनीको सेयरमा २० प्रतिशतले गिरावट आएको थियो । एजेन्सी

शेखर गोल्छाको हुलास फिनसर्भले २० लाख ७५ हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएकाे छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । गाेल्छाले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने बताए । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर-बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

दुबईको प्रसिद्ध अल हरमेन परफ्युम अब नेपालमै

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । काठमाडौंमा हालै आयोजित एक भव्य समारोहमा इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरे । नेपालका परफ्युम पारखीहरूलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । कम्पनीले एम्बर औड सिरिजका दुईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । जसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् । अल हरमेन सन् १९७० मा स्थापना भए पनि हाल परफ्युम क्षेत्रको ग्लोबल लिडर कम्पनी बनिसकेको छ । इना सेन्टरले यसअघि पनि नेपालमा क्लाइभ क्रिश्चियन, निशाने, टिजियाना टेरेन्जी, अफनान र एसेन्शियललगायतका ब्रान्डका परफ्युम बिक्री गर्दै आइरहेको छ । इना सेन्टरले पाँचवटा विशेष शोरुमसहित अनलाइन ई–कमर्स प्लेटफर्मबाट पनि यी परफ्युम बिक्री गर्दै आइरहेको हाे ।

महाकाव्यकार मुना अर्याल महालक्ष्मी साहित्य पुरस्कार- २०८० बाट सम्मानित

काठमाडौं । महालक्ष्मी साहित्य पुरस्कार- २०८१ महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । आइतबार राजधानीमा आयाेजित एक कार्यक्रमका बीच उनलाई याे पुरस्कार प्रदान गरिएकाे हाे । मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई पुरस्कार प्रदान गरिएको हो । महालक्ष्मी साहित्य पुरस्कार २०५९ सालमा स्थापित भएकाे थियाे । भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ याे पुरस्कार स्थापित गरिएकाे हाे । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैंको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् ।

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट हुने भएको छ । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट (पटिहानी,चितवन) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । सम्झौताअनुसार बैंकका ग्राहकहरूले चितवन स्थित जंगल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइँ (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।