विकासन्युज

दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो । चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले रु ९० अर्ब आन्तरिक ऋण उठाउँदा रु ३५ अर्ब बराबर ऋण तिरेको छ । त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण रु १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १४ अर्ब पाँच करोड रुपैयाँ खर्च गरेको छ भने यही अवधिमा ४ अर्ब ६७ करोड रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा एक खर्ब चार अर्ब पाँच करोड रुपैयाँ ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो ।

ज्योति विकास बैंकले प्रदान गर्‍यो ६ जना बालबालिकालाई कृत्रिम हात

काठमाडौं । ज्योति विकास बैंकले ई-नेबल नेपाल (E-Nable Nepal) नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो । कृत्रिम हातले बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरू २६ जना बालबालिकालाई प्रदान गरिसकेकाे छ । ज्योति विकास बैंकले आफ्नो १६औैं वार्षिकोत्सवको अवसरमा ई-नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौताअनुरूप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरिएको हाे । थ्रीडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरू हलुका हुनुको साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ​ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

‘बैंकको ऋण तिर्नु हुँदैन’ भन्ने प्रसाईं पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध गरेको कसुरमा उनी पक्राउ परेका हुन् । प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियाे। साेही अनुमतिअनुसार व्यवसायी प्रसाईं आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । प्रसाईंले चरित्र हत्या गरेको भन्दै प्रहरी साइबर ब्युरोमा उजुरी परेको थियो । साेही उजुरीकाे आधारमा उनी पक्राउ परेका हुन् । प्रसाईंकाे नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले गत वर्षकाे मंसिरमा राजतन्त्र फर्काउनेलगायत अजेन्डासहित बल्खुमा प्रदर्शन गरेकाे थियाे । पछिल्लो समय उनी ‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु हुँदैन, बैंकर र व्यवसायी ठग हुन्’ भन्ने लगायतका सामाजिक विचलन ल्याउने किसिमका अभिव्यक्ति दिँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई पक्राउ गर्न पनि चुनौती दिँदै आएका थिए ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ११ दशमलव ५८ अङ्कले बढ्यो

काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो । आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह शून्य दशमलव ३१, होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी बैकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत् शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ । इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको रु २७ करोड ८० लाख २७ हजार सात सय १५ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को छ लाख ४७ हजार दुई सय तीन कित्ता किनबेच भएको छ ।

बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।

अन्ततः नेरुडेको नेतृत्वमा बोहराको पुनरागमन, आन्दोलन चर्किएपछि अध्यक्षको राजीनामा

 काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा टेकबहादुर बोहरा नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको असोज ५ गते शनिबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । बोहराकाे एक वर्षपछि लघुवित्त संस्थाको अध्यक्षमा पुनरागमन भएकाे हाे । साविक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त संस्था मर्जर प्रक्रियामा थिए । मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष साविक मिर्मिरे लघुवित्तले पाउने र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा साविक नेरुडे लघुवित्तबाट बन्ने सहमति थियो । साविक मिर्मिरे लघुवित्तमा अध्यक्षको भूमिका टेकबहादुर बोहराले गरिरहेका थिए । प्रारम्भिक सम्झौतादेखि दुई संस्था मर्जर प्रक्रियाका अधिकांश सहमति बोहरासँग भएका थिए । तर, मर्जर प्रक्रिया चलिरहेकै बेला नेपाल राष्ट्र बैंकले साविक मिर्मिरे लघुवित्तका अध्यक्ष बोहरालाई कारबाही गर्‍याे । स्वार्थ बाझिनेगरी लघुवित्तबाट कर्जा स्वीकृत गरी आफ्नै कम्पनीबाट ऋणी सदस्यलाई सामग्री खरिद गराएको आरोप उनलाई लाग्याे । राष्ट्र बैंकले १५ दिनको समय दिएर बोहरालाई स्पष्टिकरण सोध्यो । तर, उनले पेस गरेको ७ पृष्ठको स्पष्टिकरण तत्कालीन लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपाललाई चित्त बुझेन । त्यसपछि शक्ति प्रयोग गर्दै राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म लघुवित्त संस्थाको सञ्चालकसमेत नबन्ने गरी कारबाही गर्‍याे । राष्ट्र बैंकले कारबाही गरेपश्चात बोहरा सञ्चालक समितिको अध्यक्षबाट स्वतः हटे । राष्ट्र बैंकको उक्त कदमप्रति बोहरा असन्तुष्ट बने । संस्थाको राम्रो ग्रोथ र वित्तीय सूचक सन्तोषजनक भएपनि साविक मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुश्करराज जोशी र कार्यकारी निर्देशक नेपालको मिलेमतोमा कारवाही गरेको आरोप लगाउँदै बाेहराले उच्च अदालत, पाटनमा मुद्दा दर्ता गरे । उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकाल र प्रकाश खरेलको संयुक्त इजलासले गत जेठमा राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । बोहरालाई कारबाही गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक निर्देशक रेवतिप्रसाद नेपाललाई अपरिपक्व निर्णय गरेको भन्दै लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुखबाट सरुवा गराएर अर्काे विभागमा पठाएको थियो । राष्ट्र बैंकले विभिन्न आरोप लगाएर हटाइएका बोहरालाई अदालतले न्याय दिएको ५ महिनापछि लघुवित्तमा पुनरागमन भएका हुन् । बोहरा लघुवित्तको संस्थापक सेयरधनी पनि हुन् । आन्दोलन थेग्न नसकेपछि अध्यक्षकाे राजीनामा कर्मचारीको आन्दोलन थाम्न नसकेपछि नेरुडे मिर्मिरे लघुवित्त अध्यक्ष सन्ताेष फुयालले राजीनामा दिएका थिए । आन्दोलित कर्मचारीहरूले राखेका मागहरू सम्बोधन गर्न नसकेपछि उनले राजीनामा दिएकाे बुझिएको छ  । उनले राजीनामा दिएपछि बाेहरा अध्यक्षमा नियुक्त भएका हुन् । नेरुडे मिर्मिरे लघुवित्त स्रोतका अनुसार मर्जरपछि ६ महिनादेखि लघुवित्त संस्थामा आन्दोलनमात्रै भयो । संस्था बर्बाद हुने अवस्था बनेपछि फुयालले राजीनामा दिएका हुन् । उनी अध्यक्ष पदबाट हटेपनि सञ्चालक समिति सदस्य पद भने यथावत कायम रहेको लघुवित्तका कम्पनी सचिव तुलसी रामक पाठकले जानकारी दिए । फुयालले दिएको राजीनामा असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले असोज ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको कम्पनी सचिव पाठक बताउँछन् । विभिन्न माग राख्दै नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरू विगत ३ महिनादेखि आन्दोलित छन् । मनोबल खस्किनेगरी पद घटुवा गरेपछि कर्मचारीमा आन्दोलनमा उत्रिएका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्‍याएर बलियो बनाएको भएपनि योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गरेको आरोप कर्मचारीहरूकाे छ । केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने माग उनीहरूको छ । नवनियुक्त अध्यक्ष बोहराले विकासन्यूजसँग कुरा गर्दै अब कर्मचारीकाे समस्या समाधानमा लाग्ने जानकारी दिए । उनले कर्मचारीहरूका माग सम्बोधन गर्दै आन्दोलन फिर्ता लिन लगाउने बताए । ‘मेरो पहिलो काम आन्दोलित कर्मचारीका माग पूरा गर्ने हो, माग पूरागरी कर्मचारीलाई काम गर्ने वातावरण बनाउने छु,’ अध्यक्ष बाेहराले भने, ‘कतिपय माग सम्बोधन गर्न नमिल्ने छन्, सम्बोधन गर्न मिल्ने माग पुसभित्र पुरा गर्नेगरी कर्मचारीको आन्दोलन तत्काल फिर्ता गर्न पहल गर्छु ।’ सम्बन्धित सामाग्री: राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो ! राष्ट्र बैंकविरुद्ध अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष लघुवित्तका अध्यक्षसँग राष्ट्र बैंकको हार, ईगो साँध्न गरिएको कारवाही आफ्नै लागि भारी नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित) नेरूडे मिर्मिरे लघुवित्तमा साविक मिर्मिरेका कर्मचारी चेपुवामा, झण्डै कुटिए डीसीईओ बोहरा !  नेरूडे मिर्मिरे लघुवित्तमा भाँडभैलो, देशभरिका शाखामा तालाबन्दी नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी नेरूडे मिर्मिरे प्रकरण : कर्मचारीको आन्दोलन बल्झिदैँ, अब संगठनले नेतृत्व गर्ने नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलन चौंथो दिन पनि जारी, देशभरका शाखा ठप्प नेरूडे मिर्मिरेका कर्मचारी फेरि आन्दोलित, लघुवित्तमा पुग्यो राष्ट्र बैंक

शरदयाममा मुस्ताङ घुम्ने पर्यटकको संख्या बढ्यो, अर्धनिषेधित क्षेत्रले विकासमा चुनौती

म्याग्दी । ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु । जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश । माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली । पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरू । नीलो रङका मनमोहक ताल । पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान । चरन खर्कमा भेडाच्याङ्ग्रा, घोडा र याकका गोठ । लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैंचा । बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड । लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए । ‘बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो,’ उनले भने, ‘अन्य समयमा भन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरू आउने गर्छन् ।’ जर्मनका पाँच जना पर्यटक घुमाउँदै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बामा पुगेका पोखराका पथप्रदर्शक सञ्जय अधिकारीले पदयात्राका क्रममा भेटिएका नाउरका बथानले पाहुनाहरू खुसी भएका सुनाए । सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो । पर्यटक आगमन बढ्यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ पर्यटकले मुस्ताङ भ्रमण गरेका जानकारी दिए । उनका अनुसार सार्कराष्ट्रका ९८ हजार दुई सय ५३ र तेस्रो मुलुकका २३ हजार ९९ पर्यटक रहेका छन् । आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८/७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ । चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो । अन्नपूर्ण चक्रीय पदमार्गको साहासिक गन्तव्य थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या पनि बढ्दो क्रममा रहेको रेग्मीले बताए । समुन्द्री सतहबाट पाँच हजार चार सय १६ मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मनाङ हुँदै मुस्ताङ जाने पदयात्रालाई साहासिक मान्ने गरिन्छ । आव २०७९/८० मा पाँच हजार छ सय ४८ पर्यटक उक्त पदयात्रामार्फत मुस्ताङ आएकामा गत आवमा उक्त सङ्ख्या बढेर १३ हजार पाँच सय सात पुगेको थियो । बेनी–जोमसोम सडक र पोखरा–जोमसोम हवाई मार्ग भएर मुस्ताङमा पर्यटक भित्रिन्छन् । मुस्ताङ आवतजावत गर्ने पर्यटकले सडक र हवाई मार्गबाहेक बेनी–जोमसोम, थोराङ्ला, धौलागिरि चक्रीय र डोल्पा पदमार्गको प्रयोग पनि गर्ने गरेका रेग्मीले उल्लेख गरे । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार तोकिएको एक्यापका प्रमुख रेग्मीले जानकारी दिए । बेनी–जोमसोम सडक प्रयोग गरी गत आवमा चार लाख २७ हजार पर्यटक यहाँ आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटकको विवरण राख्ने गरेको छ । चौकीका अनुसार तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९/८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो । पूर्वाधार थपिँदै पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नयाँ गन्तव्यको पहिचान तथा प्रवर्द्धन गर्नु, निजी क्षेत्रले होटल तथा लजको क्षमता विस्तार गर्नुलगायत कारणले पर्यटकको आगमन बढ्दै गएको बताए । उनका अनुसार पर्यटकस्तरका सुविधायुक्त १६ होटल रहेको मुस्ताङमा चार सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालित छन् । पौडेलले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माणमा जोड दिइएको बताए । उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायम राखिनु र पर्यटकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता मुस्ताङको पर्यटन विकासमा चुनौती बनेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । ‘अर्धनिषेधित क्षेत्र कायम राखिनु, झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शुल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ,’ उनले भने, ‘उपल्लो मुस्ताङमा दैनिक एक हजार पाँच सय पर्यटक बस्नसक्ने होटलको क्षमता भए पनि वार्षिक तीन हजारको हाराहारीमा मात्रै पर्यटक आउँदा पर्यटन व्यवसायी समस्या छन् ।’

कृषि बीमाको अनुदानलाई ५० प्रतिशतसम्म झार्ने तयारी, पारित हुँदै कार्यविधि

काठमाडौं । सरकारले कृषि बीमाको अनुदानलाई ५० प्रतिशतमा झार्ने तयारी थालेको छ । जसका लागि साविकको बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध लगाउने निर्देशिका, २०७० पनि खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैंकले कृषि तथा पशुपंक्षीको बीमा अनुदानसम्बन्धी निर्देशिका खारेज गरेको हाे । मन्त्रिपरिषदले उक्त निर्देशिका असोज मसान्तदेखि लागू हुनेगरी खारेज गरेको हो । अर्थात असाेज मसान्तसम्म सोही निर्देशिकाअनुसार काम हुनेछ । निर्देशिकाअनुसार कृषि बीमाको प्रिमियममा किसानले ७५ प्रतिशत अनुदान पाउने छन् । तर, आर्थिक वर्ष २०७८/०७९ को बजेटमा अनुदान दिने प्रतिशत बढाएर ८० प्रतिशत पुर्‍याइएको थियो । त्यसयता कृषि तथा पशुपक्षी बीमाको प्रिमियममा किसानले ८० प्रतिशत नै पाउँदै आएका थिए । तर, चालु आर्थिक वर्ष २०८१/०८२ को कार्तिक एक गतेदेखि लागू हुनेगरी उक्त अनुदान प्रतिशत घटाउने तयारी सरकारले गरिरहेको छ । जसका लागि कृषि मन्त्रालयले कार्यविधि नै बनाइसकेको छ । विकासन्यूजलाई प्राप्त सूचनाअनुसार अनुदानलाई ३ वटा संरचनामा विभाजन गरिएको छ । जहाँ ठूला किसानलाई ६५ प्रतिशतसम्म र साना किसानलाई ८० प्रतिशत नै अनुदान दिनेगरी ड्राफ्ट भएको कार्यविधि विकासन्यूजलाई उपलब्ध भएको छ । ५० लाखसम्मको बीमांक रकम भएमा ८० प्रतिशत अनुदान, १ करोड रुपैयाँसम्मको बीमांक रकम भएमा ६५ प्रतिशत र त्योभन्दा धेरै बीमांक रकम भएमा ५० प्रतिशत अनुदान दिने उक्त कार्यविधिमा उल्लेख छ । उक्त कार्यविधि केही दिनमा नै कृषि तथा पशुपंक्षी मन्त्रालयले पारित गर्ने स्रोतले जनाएको छ । साना किसानलाई मर्का नपर्नेगरी अनुदान घटाइयो कृषि तथा पशुपंक्षी बीमावापत सरकारले २ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । ८० प्रतिशत अनुदान दिँदा हरेक वर्ष सरकारको दायित्व ३ अर्ब रुपैयाँ हुने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ । अनुदान रकम हरेक वर्ष बढ्दै गएको पनि छ । यसले सरकारलाई ठूलो आर्थिक भार थपिरहेको अर्थ मन्त्रालयले महसुस त गरेकै थियो तर अनुदान घटाउनतिर भने साेंचेकाे थिएन । यद्यपि चालु आवको बजेटमा यस वर्षका लागि २ अर्ब ६ करोड रुपैयाँ कृषि अनुदान रकम वापतका लागि छुट्याइएको छ । ८० प्रतिशतलाई नै निरन्तरता दिने हो भने २ अर्ब ६ करोडले अनुदान दिन पुग्ने स्थिति छैन । अर्थ मन्त्रालय र कृषि मन्त्रालयबीच यसबारे पटकपटक छलफल पनि भएको थियो । विगतका वर्षहरूमा पनि चाहिने अनुदानभन्दा धेरै कम रकम बजेटमा छुट्याइन्थ्यो । जसको नतिजा असार महिनामा रकमान्तर गरेर अनुदान वापतको दायित्व भुक्तानी गरिन्थ्यो । यस वर्ष भने सोही रकमबाट अनुदान कसरी पुर्‍याउने भन्नेबारे सबै सरकारवाला, अर्थ र कृषि मन्त्रालयबीच बारम्बार छलफल भएको थियो । सो छलफलले ५०, ६५ र ८० प्रतिशतको स्टक्चरमा जाने सहमति भएको हो । जसअनुसार कृषि मन्त्रालयले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध लगाउने निर्देशिका, २०७० लाई संसोधनका लागि कानून मन्त्रालयलाई प्रस्ताव गरेको कृषि मन्त्रालयका सूचना अधिकारी महेन्द्र जोशीले विकासन्युजलाई । जहाँ वार्षिक कार्यक्रमअनुसार नै कृषि बीमाको अनुदानका लागि मन्त्रालयलाई आफै कार्यविधि बनाएर काम गर्न कानूनले सुझाव दिएको थियो । यता अर्थसँग पनि ५०, ६५ र ८० प्रतिशतको स्टक्चरबारे कृषिले सहमति पाइसकेको थियो । सोहीअनुसार निर्देशिकालाई खारेज गरेर कार्यविधिबाट नै अघि बढ्ने मन्त्रालयले तयारी गरेको सूचना अधिकारी जोशीले जानकारी गराए । साना किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले ५० लाख बीमांकसम्म ८० प्रतिशत अनुदानलाई कायम राखिएको पनि उनले बताए ।