विकासन्युज

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ६० हजार नजिक

काठमाडौं । आज सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ४ सय रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजावी सुनको मूल्य पनि ४ सयले नै बढेर आज १ लाख ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

लाग्दैन दशैं, ल्याउँदैनन् स्कीम

काठमाडौं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । मानिसमा दशैंको माहोल जमिसकेको छ । विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किनेहरूको भीड लाग्न थालिसकेको छ । चाडपर्वलाई थप रौनक दिनका लागि विभिन्न कम्पनीहरूले दशैंका लागि छुट तथा क्यासब्याकका स्कीमहरू सार्वजनिक गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले ब्याज छुट तथा सस्तो ब्याजमा कर्जा दिने स्कीम ल्याइरहेका छन् । अटो मोबाइल्स कम्पनीले सवारी साधनहरू भारी छुट र क्यासब्याकको योजना सार्वजनिक गरिरहेका छन् । व्यापारीहरूले विभिन्न सामानको खरिदबिक्रीमा ‘बाई वान गेट वान फ्री’ लगायतका स्कीम ल्याएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि इन्टरनेटको सब्स्क्रीसनमा भारी छुट तथा अन्य सामानहरू पाउन सकिने योजनाहरू सार्वजनिक गरेका छन् । शिक्षा क्षेत्रले त दशैं भर्नाको समयमा सतप्रतिशतसम्म पनि छुट दिने गरेको छ । पर्यटन व्यवसायीहरू त यो विशेष समय हो । विभिन्न किसिमका टुर प्याकेजहरू ल्याएर सेवाग्राहीलाई आकर्षित गर्ने समय हो यो । विभिन्न कम्पनीले व्यापार व्यवसाय बढाउनका लागि दशैंमा यस्ता किसिमका योजना सार्वजनिक गर्छन् । यी स्कीमहरू व्यापार बढाउनका लागि मात्रै होइन, प्रडक्ट र कम्पनीको ब्राण्डिङको लागि मात्रै होइन नेपालीहरूको महान पर्व विजया दशमीको सबैमा ‘भाइब्स क्रियट’ गर्ने, व्यवसायी र सेवाग्राहीबीचको सम्बन्धलाई थप मजबुद र स्थायी बनाउनेरुपमा पनि बुझ्न सकिन्छ । विभिन्न कम्पनीहरुले यसरी स्कीम तथा योजनाहरू ल्याइरहँदा स्वाथ्य क्षेत्र भने यस्ता स्कीमबारे बेखबर छ । जहाँ स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्ध थप मजबुद हुनुपर्ने हो । व्यवसायभन्दा पनि बिरामीलाई के कसरी खुसी पार्न सकिन्छ, कसरी उसको दुखेको घाउमा मल्हम लगाउन सकिन्छ र कसरी स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्धलाई थप स्थायी र मजबुद बनाउने हो त्यसतर्फ बढी प्राथमिकता दिनुपर्नेमा स्वास्थ्य क्षेत्र यस्ता स्कीमको विषयमा अनविज्ञ छ । स्वास्थ्य सबैभन्दा संवेदनशील क्षेत्र हो । सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरेको छ । निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत विभिन्न वडामा रहेका स्वास्थ्य सेवामार्फत् ९८ प्रकारका औषधी निःशुल्क दिइरहेको छ । स्वास्थ्य क्षेत्रलाई थप मजबुत बनाउन नेपालमा निजी अस्पतालहरू धमाधम खुलिरहेका छन् । अब स्वास्थ्य क्षेत्र सेवा मात्रै होइन व्यावसायिक प्रतिस्पर्धा गर्ने थलो पनि बनिसकेको छ । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको सेवा दिने ठूल्ठूला अस्पताल छन् । उपत्यकामा सेवा दिइरहेका ठूला र महँगा अस्पतालले पनि यो वर्षको चाडबाडमा बिरामी लक्षित कुनै छुट स्कीमका योजना ल्याएका छैनन् । हरेक क्षेत्रले चाडपर्वको रौनक सिर्जना गरिरहँदा स्वाथ्य क्षेत्र भने मौन छ । काठमाडौंको चावहिलमा रहेको ओम अस्पताल नेपालको नाम चलेको ठूला अस्पतालमध्येको एक हो । यो अस्पतालले दैनिक सयौं नागरिकलाई सेवा दिँदै आएको छ । स्त्री तथा प्रसूति रोगको उपचारमा ख्याति कमाएको यो अस्पतालले नेपालमा पहिलो पटक टेस्ट ट्युब बच्चा सफल रूपमा जन्माएपछि झन चर्चित बनेको छ । तर, यो अस्पतालले दशैंको अवसरमा सेवाग्राहीका लागि भने कुनै छुटका स्कीम ल्याएको छैन । अस्पतालका सूचना अधिकारी विनोद अधिकारीले चाडपर्वकेन्द्रित कुनै योजना अस्पतालले नल्याएको जानकारी गराए । अन्य व्यवसायले जस्तो चाडपर्वकेन्द्रित छुट दिने काम अस्पतालको नभएको उनको बुझाइ छ । कोरोना र भूकम्प लगायत अन्य ठूला महामारीमा पनि छुट दिन सकिएको छैन, दिन सके त राम्रै हुन्थ्यो । तर, दिने योजना अस्पतालको छैन,’ उनी भन्छन्, ‘अन्य सेवा र स्वास्थ सेवा फरक हुन् ।’ सबैभन्दा महँगो अस्पतालमा पर्ने अर्को अस्पताल हो ग्रान्डी अस्पताल । काठमाडौंको धापासीमा रहेको यो अस्पतालले पनि चाडपर्वलक्षित कुनै स्कीम ल्याएको छैन । अन्य बेला छुटका स्कीमहरू ल्याइरहेको ग्राण्डी अस्पतालले पर्वलक्षित कुनै स्कीम नल्याएको जानकारी दिएको छ । दशैंमा अस्पताल आउनेहरूको संख्या पनि कम हुने भएकाले कुनै योजना नल्याएको ग्राण्डी अस्पतालका मार्केटिङ हेड भास्कर कुमार दासले बताए । उनले सेप्टम्बर २९ मा मनाइने मुटु दिवसको अवसरमा भने मुटुरोगको उपचारमा छुटको व्यवस्था दिने जानकारी दिए । यो अस्पतालले तीज, नारी दिवस, भ्यालेनटाइन्डे लगायत विभिन्न दिवसको अवसरमा उपचारमा छुट दिँदै आएको छ । ‘हामी अस्पतालमा मात्र होइन, विभिन्न ठाउँमा गएर क्याम्पियन पनि चलाइरहेका हुन्छौं, हेल्थ प्याकेजहरू ल्याइरहेको छौं, ’ मार्केटिङ हेड दास भन्छन्, ‘यो बेला नागरिकहरू गाउँतिर जाने भएकाले बिरामी पनि कम हुने अन्दाज गर्दै केही योजना ल्याएका छैनौं ।’ ललितपुरको नक्खुमा अन्तर्राष्ट्रिय मापदण्डसहितको सेवा दिरहेको मेडिसिटी अस्पतालले चाडपर्वको अवसरमा कुनै छुटको योजना ल्याएको छैन । अस्पतालले सेप्टम्बर २९ तारिखमा मनाइने ‘हार्ट डे’को अवसरमा भने सेप्टेम्बर महिनाभर उपचारमा छुट दिरहेको जनाएको छ । मुटुरोगीलाई उपचारमा छुटको व्यवस्था दिइरहेको अस्पतालका मिडिया संयोजक सरीता श्रेष्ठले बताइन् । उनले बेलाबेला अस्पतालले उपचारमा छुट दिँदै आएपनि दशैंतिहार लक्षित कुनै स्कीमहरू नल्याएको बताइन् । अहिले अस्पतालले मुटुको समस्या भएकाहरूलाई भने जाँचदेखि उपचारमा छुट दिरहेको छ । काठमाडौंको धुम्बारहीमा रहेको ह्याम्स अस्पतालले पनि चाडपर्वलक्षित कुनै छुटका स्कीमहरू ल्याएको छैन । अस्पतालको मार्केटिङ फाँटका जीवन कर्मचार्यले अहिलेसम्म कुनै योजना ल्याउने तयारी असतालले नगरेको बताए । ‘अहिलेसम्म हामीलाई जानकारी आएको छैन, भोलि पर्सी के हुन्छ थाहा छैन,’ उनी भन्छन्,‘ दिवसको अवसर पारेर बेला–बेला स्कीम त ल्याएकै हुन्छौं । तर, दशैंतिहारको लागि के छ अहिलेसम्म केही निर्णय भएको छैन । ’ ‘छुट दिनु राम्रो हो’ कुनै पनि अस्पतालले दशैंलक्षित स्कीमहरू नल्याए पनि ल्याउन सके राम्रो हुने बताएका छन् । मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणा स्वास्थ्य क्षेत्रमा पनि छुटको अवसर हुनु राम्रो हुने बताउँदै यस्तो हुन नसकेको बताउँछन् । ‘स्वास्थ्य सेवा सबैको पहुँचमा ल्याउनु राम्रो हो । तर, यसमा दिन सके राम्रै हो । कुनैले दिन्छन् कुनैले दिदैनन्,’ उनी भन्छन, ‘गर्न सक्यो भने त यस्तो सेवाले धेरैको जीवनलाई सहज हुन्थ्यो । तर, नेपालमा हेर्न हो भने अस्पताललाई अन्य व्यवसायसँग दाज्न मिल्ने अवस्था छैन । ’ ‘एउटै डालोमा राख्न मिल्दैन’ निजी अस्पतालको छाता संस्था अफिनका अध्यक्ष डा. पदम खड्का अन्य व्यवसाय र स्वास्थ्य व्यवसायलाई एउटै डालोमा राखेर दाँज्न नमिल्ने बताउँछन् । उनी अन्य व्यवसायीले मूल्य बढाएर छुट दिने गरेको बताउँदै अस्पतालमा यस्तो गर्न नमिलेर छुटका स्कीमहरू ल्याउन नसकेको हुनसक्ने बताउँछन् । ‘यसमा मेरो व्यक्तिगत धारणा फरक छ,’ उनले भने, ‘ म यसमा दुइटा कुरा देख्छु । अन्य व्यवसायीहरू अघिपछि १ सय रुपैयाँ पर्ने सामानलाई दशैंमा २ सय तीन सय भने अफर दिन्छन् । तर, अस्पतालमा यस्तो गर्न मिल्दैन । अर्को दशैंमा असाधारण खानपिनले बिरामी झन बढ्ने भएकाले बिरामी धेरै आउँछन्, यस्तोमा के छुट दिनु भन्ने अस्पतालको सोच पनि हुन सक्छ ।’ अध्यक्ष खड्का निजी अस्पताललाई दशैंमा सरकारीजस्तो नहुँदा पनि समस्या हने गरेको बताउँछन् । ‘यो बेला निजी अस्पताललाई कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ,’ उनी भन्छन्, ‘सरकारी कर्मचारीले बिदा पनि पाउने, थप बोनस पनि पाउने व्यवस्था छ तर निजी अस्पतालमा बिरामीको चाप पनि बढ्ने र कर्मचारीले पनि बिदा नपाउने भएकाले यस्तो गरेको हुन सक्छ ।’

सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै

दमौली । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिए । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिए । उनका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ । विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाएका थिए । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिए । उनले भने, ‘बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।’ असहाय बालबालिकालाई पढाउँदै व्यास व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ । कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ । उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन् । नगरपालिकाले यस विद्यालयलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेको भनाइ छ । उनले भने, ‘यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ ।’ न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ । बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रुपमा सञ्चालन गरिएको छ । विद्यालयमा अति विपन्न, अभिभावकविहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । विद्यालयमा हाल कक्षा ६ सम्म अध्यापन हुँदै आएको छ । निकट भविष्यमा कक्षा थप गरिने योजना बनाइएको छ । रासस

चाडपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको संख्या बढ्दै

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा छ लाख ९१ हजार रुपैयाँ र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ रुपैयाँ भेटी संकलन भएको हो । समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको छ । दशैँ र तिहारपर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गर्छ । पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । समुद्री सतहदेखि करिब तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित छ । यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने भएकाले नेपालका विभिन्न स्थानबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गर्छन् । पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ । यस मन्दिरमा आउने भक्तजनले देवीलाई बलि दिनेसमेत प्रचलन छ । दशैँ र तिहार पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप बढ्न थालेको छ । दशैँमा विशेषगरी दुर्गा पूजा गर्ने र देवीको आशीर्वाद प्राप्त गर्ने विश्वास राखिन्छ । पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्य पनि यसको अर्को विशेषता हो । मन्दिर क्षेत्रबाट देखिने हिमशृङ्खला, वरपरका जंगल र हरियालीले धार्मिक यात्राका साथसाथै पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ । समितिका अनुसार यस वर्षको दशैँ र तिहारको समयमा अझ बढी भक्तजन आउने अपेक्षा गरिएको छ, यसका लागि आवश्यक तयारीसमेत भइरहेका छन् । तीर्थयात्रीहरूको सुविधाका लागि मन्दिर क्षेत्रमा खानेपानी, आवास र अन्य सेवा–सुविधाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । रासस

लिंग पहिचान गरेर गर्भपतन गर्नेको संख्या बढ्दै, सरकारले दिएन चासो

वीरगञ्ज । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनूमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून रहेको बताइन् । पर्सामा आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका मध्ये ३१ जनाले मात्रै  औषधिमार्फत सुरक्षित गर्भपतन गराएका छन् । त्यसैगरी सोही उमेर समूहका १२ हप्तासम्मको गर्भ रहेका ९१ जनाले ‘सर्जिकल’मार्फत गर्भपतन गराएका छन् । आव २०८०/८१ मा २० वर्षमाथिका र १२ हप्तामाथिकोे मेडिकल औषधिमार्फत पाँच सय ३१ जनाले गर्भपतन सेवा लिएका छन् भने नौ सय ७३ जनाले सर्जिकलमार्फत सुरक्षित गर्भपतन गराएका छन् । नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा मञ्जु रोयले पर्सामा सुरक्षित गर्भपतनसँग सम्बन्धित जानकारी नपाएर सेवाग्राही निकै न्यून मात्रामा मात्रै अस्पतालमा गर्भपतन सेवा लिन आउने बताइन् । ‘बाहिर असुरक्षित ढङ्गले गर्भपतनको औषधि सेवन गरेपछि गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि मात्रै अस्पताल आउने परिपाटी विकास हुँदै आइरहेको छ’, उनले भनिन्, ‘निश्चिित अवधिसम्मको गर्भपतन गर्नु जोखिमयुक्त कार्य होइन । तर सूचीकृत र अनुमति नपाएका संस्थामा गएर गर्भपतन गर्दा भने स्वास्थ्य नै ठूलो जोखिममा पर्ने गर्छ ।’ प्रसूति रोग विशेषज्ञ डा रोयले पर्सा जिल्लामा भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गर्ने गलत परम्पराको विकास भइरहेको गुनासो गरिन् । ‘कानुनतः गर्भमा भएका भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन’, उनले भनिन्, ‘अनुमतिप्राप्त नभएका दक्ष जनशक्तिले यस्तो खालको गलत अभ्यास गरिरहेका छन् । यो निकै ठूलो निन्दनीय कार्य हो ।’ सामान्यतया गर्भमा रहेको १४ हप्तापछि गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्न सकिने गर्छ । दश हप्तासम्मको गर्भपतन अनुमतिप्राप्त स्वास्थ्य संस्थाबाट औषधिको माध्यमबाट गर्न सकिन्छ भने १२ हप्तासम्मको गर्भपतन दक्ष स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत गर्नुपर्ने हुन्छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सीमावर्ती जिल्ला भएकाले पनि गर्भपतनका औषधि खुलमखुला बिक्री वितरण हुँदा नियन्त्रण गर्न अप्ठेरो भएको बताए । ‘महानगरले गर्भपतनसँग सम्बन्धित जनचेतनाको कार्यक्रम पर्याप्त रूपमा गर्न नसकेको स्वीकार्दै सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भइसकेको छ’, उनले भने, ‘गर्भपतन सम्बन्धित जनचेतना एक निकायले अर्कोलाई दोषारोपण गरेर नभई एकापसमा हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’ वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताउँछिन् । ‘सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउनुहुन्छ’, उनले भनिन्, ‘कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो ।’ वीरगञ्ज महानगरभित्र सुरक्षित गर्भपतन गराउने निकायमा नारायणी अस्पताल, सुनौलो परिवार नेपाल, मेरिस्टोप्स, ओम हस्पिटल र बगही प्रथामिक स्वास्थ्य केन्द्र रहेको छ । वीरगञ्ज महानगरमा आव २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका २३ जनाले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए । सोही अवधिमा २० वर्षमुनिका १२ हप्तासम्मका गर्भ रहेका ९१ जनाले सर्जिकलमार्फत गर्भपतन सेवा लिएका थिए । आव २०८०/८१ मा वीरगञ्ज महानगरमा २० वर्षभन्दा माथिका उमेर समूहका दुई सय ४५ जनाले १२ हप्तामाथिका गर्भवतीले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा छन् । त्यस्तै २० वर्षभन्दा माथिका नौ सय ७३ जनाले १२ हप्ताभन्दा धेरै समयको गर्भ सर्जिकलमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुरले गर्भपतनलाई अस्थायी परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्न नहुने बताइन् । उनले भनिन्, ‘सुरक्षित गर्भपतन सेवा अस्थायी परिवार नियोजनको माध्यम होइन ।’ सेवा छ, जानकारी छैन विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिइएको थियो भने २०७३ देखि सबै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गरिएको थियो । सरकारले आधारभूत स्वास्थ्य सेवाका रूपमा सुरक्षित गर्भपतन सेवालाई लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ४३ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने गरेका छन् । अर्थात् असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ५७ प्रतिशत  छ ।  असुरक्षित गर्भपतनले महिलाको समग्र स्वास्थ्यमा गम्भीर असर पुग्ने बताइएको छ । अर्कोतर्फ सुरक्षित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने सेवाग्राहीलाई जानकारी नै छैन । सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक डा केपी उपाध्याय सेवाग्राहीलाई सुरक्षित गर्भपतन सेवा निःशुल्क छ भन्ने जानकारी नहुँदा असुरक्षित गर्भपतनको सङ्ख्या वृद्धि भएको हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘अझै अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम रोकिएको छैन । अनधिकृत औषधिले महिलाको ज्यान नै खतरामा पर्छ, यसतर्फ सरकार थप गम्भीर बन्नुपर्छ ।’ सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ अनुसार गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा गर्भवतीको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलार्ई गर्भवतीको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ । यसैगरी, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले अशक्तता हुने अवस्था रहे उपचारमा संलग्न स्वास्थ्यकर्मीको रायबमोजिम गर्भवतीले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । गर्भवतीको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाइफकाइ, झुक्याइ वा प्रलोभन देखाई, लिंग पहिचान गरी लिङ्गका आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था ऐनमा छ ।  यसैबीच ‘सुरक्षित गर्भपतनका लागी अधिकार, पहुँच र ऐक्यवद्धता’ भन्ने नाराका साथ यही असोज १० मा दशौँ सुरक्षित गर्भपतन सेवा जनचेतना मूलक कार्यक्रम आयोजना गरि मनाइँदैछ  । रासस

सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एशियाली ट्राभल अवार्ड

काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल र रिसोर्टको रुपमा साटा अवार्ड पाएको हो । यस्तै चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटलररिसोर्टका रुपमा अवार्ड पाएको हो । हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताए । साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइएको छ । यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरु सञ्चालनमा छन् । जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई होटल सिद्धार्थ वैभवअन्तर्गतको ब्राण्डमा पर्दछन् ।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताए । ‘दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ’, उनले भने, ‘फुर्सदको समयमा जङ्गलको लोक्ता सङ्कलन गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।’ यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनः सञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो । उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ । पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताए । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उनले बताए । जङ्गलमा गाईबस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् । बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताए । “एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उनले भने, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।” समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ । सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकताअनुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ । नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ । अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् । समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ । म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ । सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ । रासस

दशैं अगाडि लाभांश खान आज एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने

काठमाडौं । दशैं अगाडि लाभांश खान इच्छा भएका लगानीकर्ताले एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २० गते बिहान ११ आम्रपालि ब्याङ्क्वेट घाटभटेनी काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ । साथै बैंकको सभाले सञ्चालकहरूको भ्रमण भत्ता वृद्धि गर्नेछ । बैंकका अनुसार सञ्चालकलाई नेपाल, भारत र अन्य देशको भ्रमण गर्दा दैनिक भत्ता विगत ९ वर्षदेखि पुनरावलोकन भएको छैन । त्यसैले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्ने बैंकले जनाएको छ ।