संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
भक्तपुर । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको छ । सभापति थापासहित समितिका सदस्य एवं सांसद देवेन्द्र पौडेल, उर्मिला थेबे, रामप्रकाश चौधरी, लीलादेवी बोखिम, विनिताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको टोलीले त्यहाँस्थित ट्रष्टको जग्गासहित हनुमन्ते करिडोर, भक्तपुर पालिकाद्वारा सञ्चालित कलेज र ख्वप अस्पतालको निरीक्षण गरेको हो । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई नेपाल ट्रष्टको जग्गाबारे जानकारी गराउँदै उक्त जग्गा ख्वप विश्व विद्यालयका लागि दिन माग गरे । निरीक्षणपछि भक्तपुर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्न र नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित जग्गा विश्व विद्यालय सञ्चालनका लागि प्रदान गर्न माग गरे । छलफलमा पूर्वशिक्षामन्त्री एवं सांसद देवेन्द्र पौडेलले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य अनुकरणीय रहेको र यसबाट देशका ७५३ वटै स्थानीय तहले सिक्नु पर्ने आवश्यकता औँल्याए । टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन गरे । उनीहरूले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय, वडा नं १ स्थित शिशुस्याहार केन्द्र, भाज्या पुखु र सिद्धपोखरीको समेत अवलोकन गरेका थिए ।
यस वर्षको दशैंतिहारमा बाजुरामा खाद्यान्न अभाव नहुने
बाजुरा । यस वर्ष बाजुरमा दशैंतिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको छ । मार्तडी शाखामा चार हजार र पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३०० क्वीन्टल चामल मौज्दात रहेकाले दशैंतिहारमा खाद्यान्नको कमी नहुने शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिए । उनले विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यसपटक नआउने बताए । ‘वर्षायाममा सडकबाटो बन्द हुने हुँदा ढुवानी समस्याले यहाँ हरेक चाडपर्वमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो । यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्यून छ,’ भण्डारीले भने । शाखा कार्यालय मार्तडीमा चार हजार क्वीन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६, अरुवा सोना चामल एक हजार ६८५ र जिरा मसिनो चामल दुई सय २५ क्वीन्टल मौज्दात रहेको जनाइएको छ । यस्तै, कोल्टी डिपो कार्यालयमा दुई हजार ३०० क्वीन्टल चामलमध्ये अरुवा मोटो एक हजार ९६९, सोना मन्सुली २०२ क्वीन्टल र जिरा मसिनो १५१ क्वीन्टल चामल मौज्दात रहेको छ । मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दशैंतिहारलगायत चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको उनले बताए । सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो रु ५ छुट दिएर बिक्री वितरण गर्न थालिएको छ । जिल्लाभरि चार हजार क्वीन्टल चालम बिक्री गर्ने अनुमति दिएकाले आगामी चार महिना अर्थात आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ । यहाँ प्रतिव्यक्ति एक बोरा मात्रै चामल खरिद गर्न सकिने र सम्बन्धित व्यक्तिले नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नियम लगाइएको छ । हाल सोना मोटा चामलको प्रतिकिलो रु ६०, अरुवा मोटा रु ५९ र जिरा मसिनो रु ८७ मा बिक्री वितरण भइरहेको छ । मुक्तिकोट, कवाडीका नागरिकलाई समस्या जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा कम्पनीको अस्थायी बिक्री केन्द्र छ । यहाँ समयमा खाद्यान्न ढुवानी नहुँदा नागरिकले सहुलियत दरमा खाद्यान्न लिनका लागि एक दिन पैदलयात्रा हिँडेर कोल्टी डिपोमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । कवाडी बिक्री केन्द्रमा करिब सात महिना र मुक्तिकोटमा तीन महिनादेखि खाद्यान्न आपूर्ति हुन सकेको छैन ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी प्रतिवेदन पेस
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यटोलीले सोमबार प्रतिवेदन पेश गरेको छ । पाठ्यक्रम विज्ञ डा. लेखनाथ पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्य कार्यदललाई विद्यमान पाठ्यक्रमको समीक्षा तथा मूल्याङ्कन गरी अन्तर पत्ता लगाउनु र सुधारका क्षेत्रहरूको पहिचान गर्ने, उद्योग तथा रोजगारदाताको माग र आवश्यकतासँग पाठ्यक्रमको समायोजन तथा सान्दर्भिकता बढाउने उपायहरूको पहिचान गर्न लगाइएकाे थियाे । यसैगरी, पाठ्यक्रम निर्माण प्रक्रिया सुधार गरी श्रम बजार प्रवृत्तिहरूसँग अनुकूलन गर्न सुझावहरू सिफारिस गर्ने, कक्षा ९-१२ को प्राविधिक धार र प्री-डिप्लोमा तथा डिप्लोमा तहको पाठ्यक्रमको एकरूपता कायम गर्न उपयुक्त सुझावहरू सिफारिस गर्ने र उत्पादित जनशक्तिलाई रोजगारी प्राप्तिमा सहयोग हुने गरी पाठ्यक्रम विकास तथा कार्यान्वयनका लागि अन्य राय सुझाव दिने कार्यादेश दिइएको थियो । कार्यदलले श्रम बजारको माग अनुकूल विभिन्न स्तरका सिपयुक्त जनशक्ति तयार गर्ने, टिभीइटी कार्यक्रमको मुख्य उद्देश्यमा केन्द्रित भई डिप्लोमा र प्रि-डिप्लोमा पाठ्यक्रम र कार्यक्रमहरूको समीक्षा र पुन:संरचना गर्ने, पाठ्यक्रम विकास तथा कार्यान्वयन प्रक्रियामा वास्तविक पेसागत क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, पाठ्यक्रम विकास प्रक्रियामा सुधार गरी प्रभावकारी बनाउने, पाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ सीटीइभीटी कार्यक्रमको स्वरूपअनुसार पाठ्यक्रमको संरचनालाई परिमार्जन गर्ने, प्राविधिक धार र सीटीइभीटीबाट सञ्चालित कार्यक्रमहरूबीच समन्वय गर्ने, कक्षा ९ र १० मा प्राविधिक धारको सट्टामा व्यावसायिक शिक्षा अभिमुखीकरण हुने, पेसा, व्यवसाय, वृत्ति परामर्शजस्ता विषयहरू ऐच्छिक विषयहरूको रूपमा समावेश गर्ने र कक्षा १० पछि मात्र प्राविधिक धार सञ्चालन गर्ने, पाठ्क्रमसम्बन्धी नीति, कार्यनीतिसहित पाठ्यक्रमको समग्र मार्गदर्शक दस्तावेज विकास गर्ने लगायतका सुझाव प्रस्तुत गरेको छ । आजै मन्त्रालयले मध्यपश्चिम विश्वविद्यालयसँग शैक्षिक सुधारका विषयमा अन्तरक्रिया गरेको छ ।
रोयल टुलिपले १८० करोड रुपैयाँ लगानीमा लक्जरी रिसोर्ट बनाउँदै
काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौंमा आफ्नो लक्जरी रिसोर्ट बनाउने भएकाे छ । १८० करोड नेपाली रुपैयाँको लगानीमा रिसाेर्ट निर्माण हुन लागेको हाे । २६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले ७५ बिस्तारित कोठा, आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ । ५०० जनालाई सेवा दिने बैंक्वेट हल, विश्वस्तरीय स्पा, स्टीम रुम, निजी जकुजी, र अन्य सुविधाहरू रिसाेर्टमा उपलब्ध हुनेछन् । यो परियोजनाको नेतृत्व अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह-संस्थापक आशिष ढकालले गरेका छन् । रोयल टुलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह भोलि नयाँ दिल्लीमा सम्पन्न हुनेछ । सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले रिसाेर्ट बन्न लागेकाेमा खुसी व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव सँगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । रोयल टुलिप बुढानीलकण्ठ रिसोर्टले नेपालको बढ्दो पर्यटन क्षेत्रलाई उल्लेखनीय रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । विश्वस्तरीय सेवा र सुविधाहरूमा केन्द्रित यस रिसोर्टले यस क्षेत्रमा लक्जरी यात्राको लागि एक प्रमुख गन्तव्य बन्ने योजना बनाएको छ ।
हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले सोमबारदेखि हकप्रदमा अवितरित सेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता सेयर असोज ७ देखि १४ गतेसम्म लिलाम गर्न लागेको हो । कम्पनीकाअनुसार यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी सेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनुपर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । त्यसपछि पनि सेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । यहि प्रक्रिया अनुसार सेयर बाँकि नरहेसम्म सेयर बाँडफाँड हुनेछ । लिलामीको सेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ । अधिकतम भने पुरै सेयरको लागि आवेदन दिन सकिने छ । काठमाडौं भित्र नबिल इन्भेष्टमेन्टको नक्सालस्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौं बाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सुर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्कासनको लागि अनुमति प्रदान गरेको थियो ।
२० लाख खर्चेर बनाइएको विद्युतीय पुस्तकालय प्रयोगविहीन
गण्डकी । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् । पुस्तकालयमा दुई सय दुई जना सदस्य रहे पनि अहिलेसम्म जम्मा आठ जनाले पुस्तक लेनदेन गरेको सचिवालयका कम्प्युटर अधिकृत चन्द्रकला बस्नेतले जानकारी दिइन् । उनका अनुसार पुस्तक घरमा लगेर पढ्नेमा दुई जना प्रदेशसभा सदस्य र केही मन्त्रीको सचिवालयका कर्मचारी छन् । पुस्तकालयका सदस्यले एक महिनासम्म घरमा लगेर पुस्तक पढ्न पाउने व्यवस्था छ । ‘एकपटकमा एउटा मात्र पुस्तक लैजान पाइन्छ, एक महिना पूरा भएपछि पुस्तकालयमा फिर्ता गर्नुपर्छ’, उनले भनिन्, ‘कर्मचारी अभावका कारण पुस्तकालय सेवा प्रभावकारी बन्न सकेको छैन ।’ उनले पुस्तकालय व्यवस्थापन र सञ्चालनका लागि पुस्तकाध्यक्षको प्रबन्ध गर्नुपर्ने बताइन् । पुस्तकालय नियमित खोलेर बस्ने कर्मचारी नभएका कारण पुस्तकालय सधैँजसो बन्द रहने गरेको उनको भनाइ छ । पुस्तकालयमा कानुनलगायत विभिन्न विधाका गरी एक हजार छ सय ९८ पुस्तक छन् । महत्त्वपूर्ण स्रोत पुस्तक पनि पुस्तकालयमा सङ्ग्रहित छन् । कानुन निर्माणको जिम्मेवारी लिएका प्रदेशसभा सदस्यलाई लक्षित गरी स्थापना गरिएको उक्त पुस्तकालयबारे कतिपय प्रदेशसभा सदस्य नै अनविज्ञ रहेको पाइएको छ । पठन संस्कृतिको कमीका कारण पनि पुस्तकालयप्रति अरुचि बढेको हुनसक्ने प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बताए । उनले प्रदेशसभा सचिवालयले पुस्तकालयलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्था मिलाउनुपर्ने बताए । ‘व्यवस्थित पुस्तकालय त बनेको छ, तर सदुपयोग हुनसकेको छैन’, उनले भने, ‘प्रदेशसभा सदस्यले पनि पुस्तक अध्ययन गर्ने बानी बसाल्नु आवश्यक छ, यसमा हाम्रो पनि जिम्मेवारी रहन्छ ।’ विषयगत पुस्तक अध्ययनले प्रदेशसभा सदस्यको बौद्धिक क्षमता वृद्धि हुने र प्रदेशसभामा खेल्ने भूमिका पनि सशक्त बन्ने उनको बुझाइ छ । प्रदेशसभा सदस्य सुवेदीले आफूले विषयगत समितिको बैठकमा पुस्तकालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने विषय उठाउँदै आए पनि सचिवालयबाट सो कुरा कार्यान्वयन हुन नसकेको बताए । करिब २० लाख रुपैयाँ खर्चेर बनाइएको उक्त पुस्तकालयमा विद्युतीय पुस्तकालय पनि रहेको छ । विद्युतीय पुस्तकालयप्रति पनि कसैले चासो नदिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विसं २०७९ माघमा तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उक्त पुस्तकालयको उद्घाटन गरेका थिए । प्रदेश स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसर पारेर प्रदेशसभा भवन परिसरमा पुस्तकालय स्थापना गरिएको थियो । रासस
विश्वको सबैभन्दा ठूलो सहकारी, ५ महादेशमा व्यवसाय बिस्तार
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०२४ मा सार्वजनिक गरेको विश्वका तीन सय ठूला सहकारीहरूको सूचीअनुसार कूल वार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । यो अघिल्लो आधार वर्षभन्दा बढी हो । सन् २०२३ मा सार्वजनिक गरिएको प्रतिवेदनमा ३ सय ठूला सहकारीहरूको संयुक्त कारोबार वार्षिक करिब २.१७ ट्रिलियन अमेरिकी डलर थियो । आईसीएले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका ३ सय ठूला सहकारीहरूको सूची २०२३ सार्वजनिक गरेको हो । आईसीएले वार्षिक कारोबारको आधार र कूल ग्रार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात गरी दुई आधारमा ‘वर्ल्ड कोअपरेटिभ मनिटर २०२३’ सार्वजनिक गरेको हो । दुबै आधारमा कृषि क्षेत्रमा काम गर्ने सहकारीहरूको बाहुल्यता रहेको छ । सन् २०२१ लाई आधार मानेर आईसीएले हालै अभौतिक रूपमा सार्वजनिक गरेको ३ सय ठूला सहकारीहरूको सूची समावेश भएको प्रतिवदेनले कारोबारको आधारमा ३ सय ठूला सहकारीहरूमध्ये १०५ कृषि सहकारीहरू रहेको देखाएको छ । त्यस्तै, कूल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा पनि ३ सयमध्ये १०३ कृषि सहकारीहरू नै छन् । पहिलो आधारमा बीमा सहकारीहरू ९६ वटा, थोक तथा खुद्रा सहकारी व्यवसायहरू ५७ वटा रहेका छन् । यस्तै, दोस्रो आधारका ३ सय ठूला सहकारीहरूमा कृषिपछि ८७ वटा बीमा सहकारी परेका छन् । थोक तथा खुद्रा सहकारी व्यवसाय ५६ वटा रहेका छन् । ३९ वटा वित्तीय सहकारी यो आधारमा ‘उच्च ३ सय भित्र’ परेका छन् भने वार्षिक कारोबारको आधारमा २७ वटा वित्तीय सहकारी मात्र परेको आईसीएको प्रतिवदेनमा उल्लेख छ । कूल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा भारतका इफ्को तथा अमूल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा फ्रान्सको ग्रुप एग्रिकोल रहेको छ । यसैगरी, वार्षिक कारोबारको आधारमा सूचीको पहिलो नम्बरमा फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल रहेको छ । दोस्रो नम्बरमा जर्मनीको रेभे रहेको छ । तेस्रो नम्बरमा ग्रुप बीपीसीई रहेको छ । १२औं संस्करणको वर्ल्डकोअपरेटिभ मनिटर जुम प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो । यसैगरी, वार्षिक कारोबारको आधारमा युरोपका १ सय ६६ देशका सहकारीहरू ३ सय ठूलाभित्र परेका छन् भने दक्षिण र उत्तर अमेरिकाका गरी ९४ वटा सहकारी तथा एशिया प्रशान्तका ४० सहकारी सूचीमा अटाएका छन् । विश्वव्यापी सहकारी कारोबारमा फ्रेन्चहरूको २५ प्रतिशत हिस्सा फ्रान्सेली (फ्रेन्च) सहकारीहरूले विश्व सहकारी अभियानको २५ प्रतिशत कारोबार हिस्सा ओगटेका छन् । हालै सार्वजनिक तथ्यांक अनुसार फ्रेञ्च सहकारीहरूले संयुक्त रूपमा ३४४.७५ विलियन अमेरिकी डलरको वार्षिक कारोबार गर्दछन् । कारोबारका आधारमा फ्रेञ्च अन्य युरोपेली मुलुकहरूसँगै विश्वका १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनले उक्त तथ्य पुष्टि गरेको हो । युरोपको मात्र कुरा गर्ने हो भने १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनका आधारमा फ्रेञ्च सहकारीको योगदान ३६.६ प्रतिशत रहेको पाइएको छ । युरोपका १ सय ठूला सहकारीहरूमा २३ वटा फ्रेन्च १४ वटा जर्मन र १२ वटा डच (नेदरल्याण्ड्सका) रहेका छन् । विश्वका १ सय ठूला सहकारीहरूले करिब ३० लाखलाई रोजगारी प्रदान गरेका छन् । जसमध्ये २५ लाख बढी (८० प्रतिशत) त युरोपेली सहकारीहरूमै खपत भएको छ । रोजगारीका आधारमा फ्रान्स जर्मनीभन्दा पछि छ । जर्मनीले ८ लाख ५७ हजार बढीलाई रोजगारी प्रदान गरेको छ । फ्रान्सेली सहकारीहरूले ६ लाख १३ हजार ३ सय ५१ जनालाई रोजगारी उपलब्ध गराएका छन् । स्वीट्जरल्याण्डले २ लाख २३ हजार ५ सय २२ जनालाई रोजगारी उपलब्ध गराएको छ । जर्मनीले १५.९ प्रतिशत, जापानले ११ प्रतिशत तथा अमेरिकाले १०.१ प्रतिशत कारोबार योगदान गरेको पाइएको छ । विश्वको सबैभन्दा ठूलो श्रमिक सहकारी मोन्डड्रागन स्पेनको बास्क क्षेत्र (रिजन) मा सन् १९५६ मा माेन्डड्रागन सहकारी स्थापना भएको हो । यो श्रमिक सहकारीहरूको केन्द्रीय संघ (फेडरेशन) हो । अहिले ९८ वटा श्रमिक सहकारीहरू यसका सदस्य छन् । यसले १४३ वटा सहायक कम्पनी र २५ वटा व्यावसायिक इकाईकासाथ विश्वका विभिन्न ५ महादेशमा आफ्नो व्यवसाय बिस्तार गरेको छ । यो सहकारीको छातामुनि कूल ८० हजार ८१८ श्रमिक काम गर्दछन् । स्पेनभित्र मात्र ६७ हजार बढी कर्मचारी काम गर्दछन् । यसले विशेषगरी वित्त, औद्योगिक प्रतिष्ठान, बिक्री केन्द्रहरू र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । यसले सञ्चालन गरेको माेन्डड्रागन विश्वविद्यालयमा ४७ सय भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्दछन् भने १५ वटा अनुसन्धान तथा विकास केन्द्रहरू सञ्चालनमा रहेका छन् । यी केन्द्रहरू व्यावसायिक तालीम र अध्ययन अनुसन्धानको कार्यमा केन्द्रित छन् । यो स्पेनको दशौं ठूलो व्यावसायिक संगठन हो । यो विश्वकै सबैभन्दा ठूलो श्रमिक सहकारी पनि हो । यसको वार्षिक १२.२२ अर्ब यूरोको कारोबार रहेको छ । कार्यरत श्रमिकहरूमध्ये ४० प्रतिशत जति सहकारीका सदस्य छन् । औद्याेगिक सहकारीतर्फ भने ८० प्रतिशत श्रमिकहरू सहकारीका सदस्य रहेका छन् । सन् १९४३ मा जोसे मारिया एरिजमेन्डिएरेटा नाम गरेका क्याथोलिक पादरीले सहकारीको विकासको लागि योजना बनाएका हुन् । उनले सर्वप्रथम पहिले एउटा सहकारी प्राविधिक विधालयको स्थापना गरे । स्थानीय युवाहरूलाई रोजगारीको अवसरका साथै श्रमिक सहकारीको स्थापना उनको लक्ष्य रहेको थियो । सन् १९४८ मा यो विद्यालय दर्ता भएर सञ्चालनमा आयो । यसै विद्यालयबाट पहिलो पटक ११ जना सबैभन्दा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरूले स्पेनको जारागोजा विश्वविद्यालयमा औधोगिक इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए । सन् १९५५ मा तिनै ११ जना विद्यार्थीहरूमध्ये ५ जनाले एउटा टाट पल्टिएको हिटर र स्टोभ बनाउने फर्म खरिद गरे । एक वर्षभित्र उनीहरूले यो फर्म मोन्डड्रागनमा सारे । सन् १९५८ मा यो फर्म नै सहकारीमा रूपान्तरण गरियो जसको नाम फेगर राखियो । यही सहकारी पछि गएर स्पेनको सबैभन्दा ठूलो घरेलु सामान उत्पादन र बिक्री गर्ने व्यावसायिक संगठन बन्न पुग्यो । इरोस्की मोन्डड्रागनको श्रमिक उपभोक्ता सहकारी हो । यो स्पेनको सुपरमार्केट, हाइपर मार्केट र मलहरूको चेन हो । यसका २ हजार भन्दा बढी आउटलेटहरू विश्वभर फैलिएका छन् । त्यसैगरी यही समूह भित्रको काजा लेवर क्रेडिट युनियन (सहकारी) स्पेनको ९ औं ठूलो बैंक बन्न पुगेको छ । अन्तर वित्तीय सहकार्यका कारण, संस्थागत सुरक्षा पद्धतिका कारण संकटको बेला पनि एकले अर्कोलाई सहयोग गर्दै आइरहेका छन् । यसमा आबद्ध प्राय: सबै सहकारीहरूले विविध कठिनाइको सामना गरेका छन्। सायद यो सहकार्यको संस्कृति नभएको भए कतिपय सहकारीको अस्तित्व समाप्त हुने थियो । सन् १९९७ मा तीनवटा शिक्षा सहकारीहरू मिलेर मोन्डड्रागन विश्वविधालयको स्थापना भएको हो । प्राविधिक अनुसन्धान क्षेत्रमा विश्व प्रख्यात प्राविधिक केन्द्रहरू इकेरलान, इडेको र लोरटेक यसका सहायक संगठनहरू हुन्। यो विश्वविद्यालयको स्थापनामा तीन किसिमका साझेदारहरू रहेका छन् । विश्वविद्यालयको स्थापनामा श्रमिकको रूपमा शिक्षक, अनुसन्धानकर्ता र कर्मचारीहरू छन् भने अन्य लगानीकर्तामा सम्बन्धित सहकारी र सहायक कम्पनीहरू रहेका छन् । विद्यार्थीहरूसमेत यस विश्वविद्यालयका सदस्यहरू हुन् । (सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)
लिबर्टी माइक्रोले अभिकर्तासम्बन्धी तालिम दिँदै, कसरी हुने सहभागी ?
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले देशैभर अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आवद्ध हुन इच्छुक व्यक्तिहरूका लागि देशैभरि तालिमहरू सञ्चालन गर्ने जनाएको छ । कम्पनीले हालै वीरगञ्ज, लमजुङ, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, नेपालगञ्ज, विराटनगर, लमही, दाङलगायत देशका विभिन्न ठाउँहरूमा जीवन बीमा सचेतना तथा अभिकर्ता तालिम कार्यक्रमहरू सम्पन्न गरिसकेके छ । आगामी तालिमा सहभागी हुन चाहनेले अनलाइनबाट नै फर्म भर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार https://docs.google.com/forms/d/e/1FAIpQLSeTmtqbVAKvgwkFSJQdcpFPAUlANUBj8f2XvFTi-yMfIiFxpQ/viewform मा गएर अनलाईन फर्म भर्न सकिने छ ।