विकासन्युज

नेप्से भन्छ- सञ्जालकाे भरमा सेयर बजारमा लगानी नगर्नूस्, नेपालमा काेही पनि विश्लेषक छैनन्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आउने विभिन्न प्रकारका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ । नेप्सेले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको भरमा लगानी नगर्न अनुरोध गरेको हो । नेप्सेले जारी गरेकाे सूचनामा नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको उल्लेख गरेकाे छ । सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेतसमेत गराएको छ । उसले यथार्थ बुझेर मात्र लगानीसम्बन्धी निर्णय गर्न अनुराेधसमेत गरेकाे छ । सूचना :

शुक्रराज अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप

  काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढेकाे छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताए । उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् । अस्पतालका निर्देशक डा. बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताए । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन । धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन्। समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा. बसौलाले बताए । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा सञ्चालनमा रहेको छ ।

मोफसलबाट उदाएको शाइन रेसुङ्गा जोखिम व्यवस्थापनसँगै व्यवसाय विस्तारमा

काठमाडौं । मोफसलबाट उदाउँदै गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले तीन जिल्ला हुँदै विभिन्न बैंकसँग मर्जर/प्राप्ति गरेर पूँजी वृद्धि गरेको यस बैंकले व्यवसायमा पनि वृद्धि गरेको छ । बोनस सेयर वितरण तथा हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गरेको बैंकले जनाएको छ । लुम्बिनी प्रदेशको रूपन्देहीमा स्थापना भएको शाइन रेसुङ्गा ले मर्ज/प्राप्ति गरेका वित्तीय संस्थाहरू पनि सोही प्रदेशको गुल्मीको तम्घास, प्यूठानको बिजुवार, रूपन्देहीको भैरहवा र बाँकेको नेपालगन्जमा स्थापना भएका कारण पनि व्यवसायिक सिनर्जी आएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । कर्मचारी, लगानीकर्ता तथा व्यवसायीहरू स्थानीय भएको हुँदा व्यवसायिक सम्बन्ध स्थापित गर्न आवश्यक पर्ने ग्राहक पहिचान पद्धति केही सहज भएको उनको भनाइ छ ।ले पछिल्लो समय राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएर उपत्यका प्रवेश र पोखरामा शाखा कार्यालय विस्तार गरेपछि बैंकको कारोबार पनि बढेको उनले बताए । “बैंकका वित्तीय सूचकहरू नियामक निकायको निर्देशन बमोजिम कायम राखी राख्नका लागि हरेक दिन कार्यालय समय, बैंकले विकास गरि लागू गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) सँगै शुरु हुने गरेको छ । नियामक निकायको निर्देशन बमोजिम कायम गर्नुपर्ने वित्तीय सुचकहरु जस्तैः सीआरआर, एसएलआर, सीडी रेसियो, क्यापिटल एडुकेसी रेसियो, स्प्रेड, लगानी, निक्षेप, कर्जा सीमा लगायत सूचकहरू कायम राखी राख्न उक्त एमआईएसले मद्दत गर्ने हुँदा नियामक निकायको कारवाही तथा जरिवानाबाट बच्न पनि यस व्यवस्थाले मद्दत गरेको छ जसका कारण ग्राहकहरूको विश्वास कायम राखी व्यवसाय विस्तार तथा सेवा प्रवाहमा समेत गुणस्तर कायम गर्न सहयोग पुगेको छ ।” नियामक निकायको निर्देशनको पालनासँगै व्यवसाय विस्तार गर्दै आएको उनले बताए । अनुपालना, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बैंकिङ इन्डष्ट्रिमा प्रयोगमा ल्याइएका राम्रा अभ्यासहरूलाई अनुशरण गर्दै प्रयोगमा ल्याइएको चिफ रिस्क एण्ड कम्पलायन्स अफिसर यशोधन पाण्डेयले जानकारी दिए । उनका अनुसार जोखिम व्यवस्थापनको संयन्त्रभित्र कर्जा जोखिम विभाग समेत रहेको छ जसले हरेक शाखा कार्यालय मार्फत कर्जा प्रवाह गर्दा जोखिम विश्लेषण पश्चात मात्रै स्वीकृत प्रदान गर्ने गरेको छ । बैंकले नियामक निकायको निर्देशनको अधिनमा रहेर बैंकका हरेक गतिविधिका लागि आवश्यक नीति नियम बनाई लागू गरेको र उक्त नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक म्यानुअल, गाइड लाइन, प्रोसेस नोट आदी बनाई सम्बन्धित कर्मचारीहरूलाई उक्त व्यवस्थाको महत्व तथा यसले पार्ने प्रभाव, जोखिम व्यवस्थापन आदीका बारेमा परामर्श सहित मार्गदर्शन गरिने हुँदा उक्त व्यवस्थाहरुको पालना गर्ने तर्फ सम्बन्धित कर्मचारी स्वयम सजग हुने गरेको उनले बताए । बैंकले प्रदान गर्ने सेवा सुविधाहरु प्रविधि मैत्री हुँदै गर्दा यसले निम्त्याउन सक्ने जोखिम समेतलाई मध्यनजर गर्दै नियमित रुपमा गरिने आन्तरिक तथा बाह्य लेखापरीक्षण बाहेक सुचना प्रविधिसँग सम्बन्धित रहन सक्ने जोखिम न्यूनीकरणका लागि समेत नियमित इन्फर्मेसन सिस्टम अडिट गराउँदै आइरहेको छ । बैंकले ग्राहकको विवरण तथा तथ्याङ्कलाई सुरक्षित राख्न डाटा सेन्टर, नियर बाइ डाटा सेन्टर र डीआर साइटको प्रभावकारी व्यवस्थापनका लागि समय सापेक्ष प्रविधिमा आवश्यक लगानी गरेको उनले बताए । साथै, प्रविधिको प्रयोगबाट हुने कारोबारहरुको सुरक्षाको लागि आवश्यक एप्लिकेसन÷सफ्टवेयर तथा आन्तरिक नियन्त्रण प्रणाली विकासमा समेत आवश्यक लगानी गरि भुक्तानी प्रणाली थप सुरक्षित गरिएको उनले बताए । बैंकिङ्ग व्यवसाय ग्राहक तथा बैंक बीचको विश्वासको बातावरणको आधारमा अघि बढ्ने भएकाले आन्तरिक नियन्त्रण प्रणाली, अनुपालना तथा जोखिम व्यवस्थापनको संयन्त्र बलियो बनाउनु पर्ने उनले बताए । प्रत्यक्ष रुपमा नतिजा नदेखिए पनि ग्राहकहरूको विश्वास जित्नका लागि सहयोग गर्ने र उक्त बातावरणले बैंकको समग्र व्यवसाय विस्तारमा थप मद्दत गर्ने उनको भनाइ छ ।

संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

भक्तपुर । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको छ । सभापति थापासहित समितिका सदस्य एवं सांसद देवेन्द्र पौडेल, उर्मिला थेबे, रामप्रकाश चौधरी, लीलादेवी बोखिम, विनिताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको टोलीले त्यहाँस्थित ट्रष्टको जग्गासहित हनुमन्ते करिडोर, भक्तपुर पालिकाद्वारा सञ्चालित कलेज र ख्वप अस्पतालको निरीक्षण गरेको हो । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई नेपाल ट्रष्टको जग्गाबारे जानकारी गराउँदै उक्त जग्गा ख्वप विश्व विद्यालयका लागि दिन माग गरे । निरीक्षणपछि भक्तपुर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्न र नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित जग्गा विश्व विद्यालय सञ्चालनका लागि प्रदान गर्न माग गरे । छलफलमा पूर्वशिक्षामन्त्री एवं सांसद देवेन्द्र पौडेलले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य अनुकरणीय रहेको र यसबाट देशका ७५३ वटै स्थानीय तहले सिक्नु पर्ने आवश्यकता औँल्याए । टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन गरे । उनीहरूले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय, वडा नं १ स्थित शिशुस्याहार केन्द्र, भाज्या पुखु र सिद्धपोखरीको समेत अवलोकन गरेका थिए ।

यस वर्षको दशैंतिहारमा बाजुरामा खाद्यान्न अभाव नहुने

बाजुरा । यस वर्ष बाजुरमा दशैंतिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्ष विगतमा जस्तो खाद्यान्न अभाव नहुने जनाइएको छ । मार्तडी शाखामा चार हजार र पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकास्थित कोल्टी शाखामा दुई हजार ३०० क्वीन्टल चामल मौज्दात रहेकाले दशैंतिहारमा खाद्यान्नको कमी नहुने शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले जानकारी दिए । उनले विगतमा जस्तो खाद्य अभावका कारण कतिपय नागरिकले महँगो चामल किन्न बाध्य हुने अवस्था यसपटक नआउने बताए । ‘वर्षायाममा सडकबाटो बन्द हुने हुँदा ढुवानी समस्याले यहाँ हरेक चाडपर्वमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो । यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्यून छ,’ भण्डारीले भने । शाखा कार्यालय मार्तडीमा चार हजार क्वीन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६, अरुवा सोना चामल एक हजार ६८५ र जिरा मसिनो चामल दुई सय २५ क्वीन्टल मौज्दात रहेको जनाइएको छ । यस्तै, कोल्टी डिपो कार्यालयमा दुई हजार ३०० क्वीन्टल चामलमध्ये अरुवा मोटो एक हजार ९६९, सोना मन्सुली २०२ क्वीन्टल र जिरा मसिनो १५१ क्वीन्टल चामल मौज्दात रहेको छ । मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दशैंतिहारलगायत चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि सुदूरपश्चिममा भने केही ढिला गरी सञ्चालन गरिएको उनले बताए । सुपथ मूल्य पसलमा चामलमा प्रतिकिलो रु ५ छुट दिएर बिक्री वितरण गर्न थालिएको छ । जिल्लाभरि चार हजार क्वीन्टल चालम बिक्री गर्ने अनुमति दिएकाले आगामी चार महिना अर्थात आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ । यहाँ प्रतिव्यक्ति एक बोरा मात्रै चामल खरिद गर्न सकिने र सम्बन्धित व्यक्तिले नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने नियम लगाइएको छ । हाल सोना मोटा चामलको प्रतिकिलो रु ६०, अरुवा मोटा रु ५९ र जिरा मसिनो रु ८७ मा बिक्री वितरण भइरहेको छ । मुक्तिकोट, कवाडीका नागरिकलाई समस्या जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा कम्पनीको अस्थायी बिक्री केन्द्र छ । यहाँ समयमा खाद्यान्न ढुवानी नहुँदा नागरिकले सहुलियत दरमा खाद्यान्न लिनका लागि एक दिन पैदलयात्रा हिँडेर कोल्टी डिपोमा धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । कवाडी बिक्री केन्द्रमा करिब सात महिना र मुक्तिकोटमा तीन महिनादेखि खाद्यान्न आपूर्ति हुन सकेको छैन ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यटोलीले सोमबार प्रतिवेदन पेश गरेको छ । पाठ्यक्रम विज्ञ डा. लेखनाथ पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्य कार्यदललाई विद्यमान पाठ्यक्रमको समीक्षा तथा मूल्याङ्कन गरी अन्तर पत्ता लगाउनु र सुधारका क्षेत्रहरूको पहिचान गर्ने, उद्योग तथा रोजगारदाताको माग र आवश्यकतासँग पाठ्यक्रमको समायोजन तथा सान्दर्भिकता बढाउने उपायहरूको पहिचान गर्न लगाइएकाे थियाे । यसैगरी, पाठ्यक्रम निर्माण प्रक्रिया सुधार गरी श्रम बजार प्रवृत्तिहरूसँग अनुकूलन गर्न सुझावहरू सिफारिस गर्ने, कक्षा ९-१२ को प्राविधिक धार र प्री-डिप्लोमा तथा डिप्लोमा तहको पाठ्यक्रमको एकरूपता कायम गर्न उपयुक्त सुझावहरू सिफारिस गर्ने र उत्पादित जनशक्तिलाई रोजगारी प्राप्तिमा सहयोग हुने गरी पाठ्यक्रम विकास तथा कार्यान्वयनका लागि अन्य राय सुझाव दिने कार्यादेश दिइएको थियो । कार्यदलले श्रम बजारको माग अनुकूल विभिन्न स्तरका सिपयुक्त जनशक्ति तयार गर्ने, टिभीइटी कार्यक्रमको मुख्य उद्देश्यमा केन्द्रित भई डिप्लोमा र प्रि-डिप्लोमा पाठ्यक्रम र कार्यक्रमहरूको समीक्षा र पुन:संरचना गर्ने, पाठ्यक्रम विकास तथा कार्यान्वयन प्रक्रियामा वास्तविक पेसागत क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, पाठ्यक्रम विकास प्रक्रियामा सुधार गरी प्रभावकारी बनाउने, पाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि प्रबन्ध गर्ने राय समेटिएको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ सीटीइभीटी कार्यक्रमको स्वरूपअनुसार पाठ्यक्रमको संरचनालाई परिमार्जन गर्ने, प्राविधिक धार र सीटीइभीटीबाट सञ्चालित कार्यक्रमहरूबीच समन्वय गर्ने, कक्षा ९ र १० मा प्राविधिक धारको सट्टामा व्यावसायिक शिक्षा अभिमुखीकरण हुने, पेसा, व्यवसाय, वृत्ति परामर्शजस्ता विषयहरू ऐच्छिक विषयहरूको रूपमा समावेश गर्ने र कक्षा १० पछि मात्र प्राविधिक धार सञ्चालन गर्ने, पाठ्क्रमसम्बन्धी नीति, कार्यनीतिसहित पाठ्यक्रमको समग्र मार्गदर्शक दस्तावेज विकास गर्ने लगायतका सुझाव प्रस्तुत गरेको छ । आजै मन्त्रालयले मध्यपश्चिम विश्वविद्यालयसँग शैक्षिक सुधारका विषयमा अन्तरक्रिया गरेको छ ।

रोयल टुलिपले १८० करोड रुपैयाँ लगानीमा लक्जरी रिसोर्ट बनाउँदै

काठमाडौं । लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले काठमाडौंमा आफ्नो लक्जरी रिसोर्ट बनाउने भएकाे छ । १८० करोड नेपाली रुपैयाँको लगानीमा रिसाेर्ट निर्माण हुन लागेको हाे । २६ रोपनी जमिनमा फैलिएको यो रिसोर्टले ७५ बिस्तारित कोठा, आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको छ । ५०० जनालाई सेवा दिने बैंक्वेट हल, विश्वस्तरीय स्पा, स्टीम रुम, निजी जकुजी, र अन्य सुविधाहरू रिसाेर्टमा उपलब्ध हुनेछन् । यो परियोजनाको नेतृत्व अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक तथा ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह-संस्थापक आशिष ढकालले गरेका छन् । रोयल टुलिप सारोवर होटल्सको औपचारिक हस्ताक्षर समारोह भोलि नयाँ दिल्लीमा सम्पन्न हुनेछ । सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले रिसाेर्ट बन्न लागेकाेमा खुसी व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव सँगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । रोयल टुलिप बुढानीलकण्ठ रिसोर्टले नेपालको बढ्दो पर्यटन क्षेत्रलाई उल्लेखनीय रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । विश्वस्तरीय सेवा र सुविधाहरूमा केन्द्रित यस रिसोर्टले यस क्षेत्रमा लक्जरी यात्राको लागि एक प्रमुख गन्तव्य बन्ने योजना बनाएको छ ।

हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले सोमबारदेखि हकप्रदमा अवितरित सेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता सेयर असोज ७ देखि १४ गतेसम्म लिलाम गर्न लागेको हो । कम्पनीकाअनुसार यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी सेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनुपर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । त्यसपछि पनि सेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले सेयर पाउने छ । यहि प्रक्रिया अनुसार सेयर बाँकि नरहेसम्म सेयर बाँडफाँड हुनेछ । लिलामीको सेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ । अधिकतम भने पुरै सेयरको लागि आवेदन दिन सकिने छ । काठमाडौं भित्र नबिल इन्भेष्टमेन्टको नक्सालस्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौं बाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सुर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्कासनको लागि अनुमति प्रदान गरेको थियो ।