नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो
काठमाडौं । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग आज प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनीयरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए । ‘यो प्रक्रिया अघि बढाउन ढिला भएको छ’, उनले भने, ‘तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिइ पूरा गर्नुपर्छ ।’ कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इञ्जिनीयरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताए । त्रिभुवन विश्व विद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राडा नरेन्द्रमान शाक्यले नेपालमा इञ्जिनीयरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए । उक्त एकडमा आवद्ध राष्ट्रहरुका इञ्जिनीयरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने सो अवसरमा जानकारी दिइयो । काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए । यो प्रक्रिया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरिङ क्षेत्रलाई आशावादी बनाएको उनले उल्लेख गरे । यो प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको अध्यक्ष शाहीको भनाइ छ ।
सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी), आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी गाडीहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धि सञ्जालमा सञ्चालन हुने सिपद्रीले जनाएकाे छ । कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरूले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षणजस्ता सुविधा नि:शुल्क पाउनेछन् । यसैगरी, ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्टमा २० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ । यसैगरी, टप वाशिङ सित्तैमा गरिने कम्पनीले जनाएकाे छ ।
सिटिजन्स बैंकको लाभांश घोषणा, यस्तो छ इतिहास
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यससँगै बैंकले आफ्नो लाभांश वितरणमा निरन्तरता दिएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारितपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले सर्वसाधारणलाई आईपीओ जारी गर्नेदेखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका बैंकले जनाएको छ । प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत हुन आउने बैंकको दाबी छ । यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ५.७९ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कुल १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस र १ प्रतिशत नगद गरि कुल १७ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १५.८ प्रतिशत बोनस र ०.८३ प्रतिशत नगद गरि कुल १६.६३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १३ प्रतिशत बोनस र ५.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ८.४२ प्रतिशत नगद र आर्थिक वर्ष २०६७/६८ मा ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कनेक्ट आइपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा आकर्षक क्यासब्याक
काठमाडौं । दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आइपीएसले नयाँ याेजना सार्वजनिक गरेकाे छ । कनेक्ट आइपीएसले ‘शुभलाभ अफर’ सार्वजनिक गरेकाे हाे । कनेक्ट आइपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिने छ । क्यासब्याक अफर बुद्ध एयर प्रालि, श्री एयरलाइन्स प्रालि, यति एयरलाइन्स प्रालि र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ । बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले0 १०१ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै, श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा ५०१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा वाइटीसीआईपीएस प्रोमो कोड प्रयोग गरेर २५० रुपैयाँ एयरलाइन्सको छुटसँगै २५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । त्यस्तै, बस सेवाबाट टिकट काटेर कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्ने पहिलो एक हजार ग्राहकले ५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ । अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुनेछ । कनेक्ट आइपीएस बैंकका ग्राहकहरूका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ति एक प्रमुख तथा सजिलो माध्यम हो । यसकाे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् जसबाट ग्राहकहरूले वेबमार्फत प्रति कारोबार रु २० लाखसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ ।
भारतीय बाइक राइडर नेपालमा, साहसिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा
काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्देश्यले भारतबाट ३० जना अपाचे बाइक राइडर नेपाल आएका छन् । भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ता«को भ्रमण गरेर काठमाडौं आइपुगेको हो । काठमाडौं आएको टोलीलाई सोमबार नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरी बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ । फ्लाग अफ कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले नेपालमा पछिल्लो समय साहसिक पर्यटनका गतिविधि बढिरहेको सन्दर्भमा आयोजना गरिएको बाइक राइडरहरूको यो यात्राले नेपालको साहसिक तथा सांस्कतिक पर्यटन प्रर्वद्धन हुने बताए । ‘नेपाल प्रकृति संस्कति र साहसिक पर्यटनको केन्द्र नै हो, नेपालमा साहसिक पर्यटनको लागि विभिन्न ढंगले पर्यटक आउने गरेका छन्, तर आफैं राइड गरेर नेपाल घुम्दा हुने अनुभव पक्कै थप रोमाञ्चकारी भएको हुनुपर्छ,’ उनले भने, ‘खास गरी भारतीय पर्यटकका लागि नेपालमा धार्मिक र सांस्कतिक पक्ष पनि जोडिने भएकाले यस प्रकारका यात्रा थप प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ ।’ भारतीय राइडरको टोलीमा नेपालका १० जना राइडर थपिएर सोमबार काठमाडौं, ललितिपुर, भक्तपुर काभ्रेको धलिखेसम्मको यात्रा तय गर्ने आयोजक जगदम्बा मोटर्स (टीभिएस नेपाल) का बजार प्रबन्धक प्रशान्त राजभण्डारीले जानकारी दिए । काठमाडौंको यात्रा सकेर भारतीय राइडरको टोली चितवन सौराहाको जाने र चितवनबाट बुटबल सुनौली हँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
दशैंतिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट
काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर भारी छुटकाे योजना सार्वजनिक गरेकाे छ । भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट दिन लागिएकाे हाे । देशभरि रहेका सबैस्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान हुने भएकाे हाे । छुट योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म रहनेछ । भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ । रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ । सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, अन्तराष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको छ । चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा पनि भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ । जिरा मसिनो स्टिम चामल २ हजार २० रुपैयाँमा पाइनेछ । त्यसैगरी, प्रिमियम सोना मनसुली २५ केजीको बोरा १ हजार ६४० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ । लङग्रेन चामल २० केजीको ३ हजार २२५ रुपैयाँमा पाइने भएकाे छ । त्यसैगरी, मुसरको दाल प्रति केजी १४८ रुपैयाँ, मासको दाल प्रति केजी २१३, रहरको दाल प्रति केजी २८८ रुपैयाँ, मुँगको दाल प्रति केजी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ । तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । डीडीसीको घ्यू प्रति केजीमा रु.८१ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ । चिनी प्रति केजी १०२ रुपैयाँ र चिया प्रति केजी ४९८ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । त्यसैगरी, निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्न लागिएको छ । दसैं, तिहार र छठ जस्ता महान्पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए ।
प्रभु बैंक भिजा इन्टरनेसनलको दुई विधामा सम्मानित
काठमाडौं । प्रभु बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको हो । बैंक ’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो । प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रबद्र्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।
मन्त्री अधिकारीको दावी- दलित समुदायको प्रतिनिधित्व हुनेगरी भूमि आयोग गठन हुन्छ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दलिय समुदायको समेत प्रतिनिधित्व हुनेगरी भूमि आयोग बन्ने बताएका छन् । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार मन्त्री अधिकारीलाई बुझाएको ४ बुँदे ध्यानाकषर्णपत्र बुझ्दै उनले उत्पीडित दलित समुदायको हक हित र पाउनु पर्ने अधिकार प्राप्तीका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए । भूमि आयोगको गठन आदेशमै केन्द्रको भूमि आयोगमा एक जना दलित समुदायको प्रतिनिधित्व हुने उल्लेख गरेकाले दलितको प्रतिनिधित्व कानुनीरूपमै सुनिश्चित भएको मन्त्री अधिकारीको भनाइ छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं मुक्ति समाज नेपालका इञ्चार्ज जितु गौतमले राज्यले भूमिहीन दलित समुदायलाई सरकारले जग्गा उपलब्ध गराउनुपर्ने र उत्पीडित दलित समुदायका सबै भूमिहीन किसान, भूमिहिन सुकुम्बासीहरूलाई तत्काल जमिन उपलब्ध गराउन मन्त्री अधिकारीसँग आग्रह गरे । त्यसैगरी, मुक्ति समाजले मन्त्रालयले अति विपन्न दलित समुदायलक्षित आर्थिक अवस्था सुधार गर्नेगरी विशेष कार्यक्रम सञ्चालन गर्न, दलित समुदायको परम्परागत पेशामा आधारित व्यवसायमा संलग्न गराई व्यावसायिक बनाउन र दीर्घकालीन जीविकोर्पाजनको व्यवस्था गर्नेगरी कार्यक्रम ल्याउन र भूमि व्यवस्था मन्त्रालयले गठन गर्ने भूमि आयोगको पदाधिकारीमा र जिल्लास्तरमा समेत दलित समुदायको प्रतिनिधित्वको माग गरेको हो ।