नेप्से, सेबोन र सीआईबीले मिलाउन नसकेको विवाद
काठमाडौं । सोमबार बिहानै लगानीकर्ता दिपेन्द्र अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘धितोपत्र दलाल व्यवसायीहरूको बदनामी हुनेगरी २० नम्बर ब्रोकरको मालिक किसन अग्रवालको बदमासी छताछुल्ल गर्नेछु, आज। पर्खिनुहोला ।’ अग्रवालले ब्रोकर नम्बर २० सँगै समग्र ब्रोकर कम्पनीहरूलाई बदनाम गराउने चेतावनी दिएको केही समयपछि सिप्ला सेक्युरिटिज प्रालिले एउटा पत्र सार्वजनिक गर्दै दिपेन्द्रले चेक चोरेको आरोप लगायो । ‘चेक चोरेर धोका दिएर भाग्ने दिपेन्द्र अग्रवालबाट विगतमा अन्य धेरै धितोपत्र व्यवसायीहरू पनि पीडित भएका घटनाहरू सर्वविदितै छन्, यस्ता सेयर लगानीकर्ताबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी निजसँगको हिसाबहरू चुक्ता गर्न सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरूसँग विनम्र अनुरोध गर्दछौं,’ सिप्ला सेक्युरिटिजको पत्रमा उल्लेख छ । लगानीकर्ता अग्रवाल र २० नम्बर ब्रोकरबीच सेयर कारोबारको हिसाब मिलानका विषयमा विवाद रहेको र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मध्यस्थता गरेर हिसाब मिलान गर्न पहल गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अग्रवालसँगको हिसाब फरफारक गर्न सिप्लाका प्रतिनिधि एक करोड रुपैयाँका दरले १६ करोड रुपैयाँका १६ वटा चेक लिएर असोज ४ गते ग्लोबल आइएमई बैंकको टोखा शाखामा पुगेका थिए । तर, लगानीकर्ता अग्रवालले कम्पनीका प्रतिनिधिलाई झुक्याएर बैंकका शाखा प्रबन्धक समक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको कम्पनीको दाबी छ । चेक लिएर फरार भएको भन्दै सिप्ला सेक्युरिटिजले लगानीकर्ता अग्रवालविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिसकेको छ । लगानीकर्ता अग्रवालले भने सेयर कारोबार गरेबापतको रकम भुक्तानी नगरेको भन्दै सोमबार नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गरेको जानकारी दिएका छन् । के हो विवाद ? लगानीकर्ता अग्रवाल र सिप्ला सेक्युरिटिजबीच विवाद भएको लामो समय भइसक्यो । अग्रवालले विगत लामो समयदेखि सिप्ला सेक्युरिटिजबाट सेयर कारोबार गर्दै आएको भएपनि विवाद भने गत वर्षमात्रै बाहिरियो। सेयर कारोबार गरेबापत सिप्ला सेक्युरिटिजले १ करोड ७० लाख रुपैयाँ भुक्तानी नदिएको भन्दै लगानीकर्ता अग्रवालले नेप्सेमा उजुरी दिएका थिए । अग्रवालको उजुरीका आधारमा नेप्सेले सिप्ला सेक्युरिटिजलाई जवाफ मागेको थियो । तर, सेयर खरिद गरेबापत दिपेन्द्र अग्रवालले तीन करोड रुपैयाँ सिप्ला सेक्युरिटिजलाई तिर्न बाँकी रहेको भन्दै जवाफ पठायो । यो विषय समाधान गर्न नसकेपछि नेप्सेले नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठायो । यी दुईबीचको कारोबारको लेनादेना सेबोनले पनि समाधान गर्न सकेन । त्यसपछि सीआईबीमा भने दुई पक्षबीचको हिसाब मिलान गर्ने सहमति भयो । ‘दुवै पक्षबीचको धारणासहित नेप्सेले सेबोनमा पठायो, सेबोनमा पनि नमिलेपछि सीआईबीमा पुग्यो, सीआईबीमा पुगेपछि मिलेका थिए, सिप्ला सेक्युरिटिजको पत्रमा पनि त्यो विषय उल्लेख छ,’ नेप्से स्रोतले भन्यो, ‘ब्रोकर कम्पनीको विज्ञप्ति हेर्दा त्यहाँ नाटक भएको देखिन्छ । किनभने उतिबेला तीन करोड रुपैयाँ भनेको थियो, अहिले एकाएक १६ करोड रुपैयाँ भनेको छ ।’ लगानीकर्ता अग्रवालका अनुसार सीआईबीमा भएको सहमतिअनुसार एक साताभित्र हिसाब मिलान गर्ने भनेर सिप्ला सेक्युरिटिजले प्रतिबद्धता गरेको थियो । तर, चेक दिएर फेरि एक साता समय मागेको उनले बताए । कम्पनीले आरोप लगाए जसरी चेक लिएर आफू नभागेको लगानीकर्ता अग्रवालको दाबी छ । ‘सीआईबीमा एक साताभित्र हिसाब चुक्ता गर्ने सहमति भयो, एक सातापछि राम्रोसँग कुरा गरेर अझैं एक साता समय मागेर मलाई चेक दियो,’ उनले भने, ‘अहिले फेरि तिर्न सक्दिनँ, मेरो पैसा उठ्न बाँकी छ भन्न थाल्यो ।’ बजार झरेका बेला आफू पनि समस्यामा परेको र तत्काल आफ्नो पैसा चाहियो भन्दा सिप्ला सेक्युरिटिजले डिम्याट खाता र सेयर कारोबार रोक्का गरेको लगानीकर्ता अग्रवालकाे भनाइ छ । ‘अब यस कम्पनीबाट कारोबार गर्दिनँ, मेरो डिम्याट फुकुवा गरिदिनु भनेर अनुरोध गर्दा मानेन,’ उनले भने, ‘त्यसपछि मैले उसको चेक बाउन्स गराएँ, चेक बाउन्स गराउँदा मलाई चोरेर भाग्यो भनेर आरोप लगायो ।’ आफूलाई चेक चोरेको आरोप लगाएको हुँदा कम्पनीको विरूद्ध साबइर ब्यूरोमा मुद्धा दर्ता गर्ने उनले जानकारी दिए । उनका अनुसार कम्पनीबाट ५ वर्षदेखि कारोबार गर्दै आएको भएपनि विगत ४/५ महिनाअघिदेखि विवाद सुरु भएको हो । ‘ब्रोकर कम्पनीले मलाई ४८ करोड रुपैयाँ दिनुपर्ने थियो, जसबाट मेरो आफन्तहरू (एकाघर परिवार छैनन्)को नाममा केही रकम तिर्नुपर्ने थियो, त्यो पैसा मैले तिर्न लगाएर बाँकी ८ करोड रुपैयाँ थियो,’ उनले भने, ‘त्यो रकमको ब्याजसहित चाहिन्छ, यो सबै गरेर १५ करोड रुपैयाँ हुन आउँछ, मेरो १२ हजार ५ सय कित्ता पनि दिनुपर्छ ।’
तनहुँका गुरुङले गरे मनास्लु हिमालको सफल आरोहण
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका हुन् । भदौ १४ गते काठमाडौंबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुगेका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गरेका हुन् । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले जानकारी दिए । ‘सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौं,’ उनले खुसी साट्दै भने, ‘हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पुर्यायाे ।’ विश्वको आठौं अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ । गुरुङले सगरमाथाको दुईपटक सफल आरोहण गरेका छन् । विसं २०८० जेठ ११ र विसं २०८१ जेठ ७ गते उनले सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लागेका हुन् । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका छन् । पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।’ गुरुङले गत वर्षको पुस महिनामा छ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका थिए । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण गरिएको थिएन ।
युरोपका गरिब देशहरू भारतभन्दा धेरै धनी, कति छ प्रतिव्यक्ति आय ?
काठमाडौं । विश्वको सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र भारतको हो । तर, प्रतिव्यक्ति आयको हिसाबले भारत अझै धेरै देशभन्दा पछाडि छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका अनुसार मोल्डोभा युरोपको सबैभन्दा गरिब देश हो । तर, यस देशको प्रतिव्यक्ति आय भारतको भन्दा धेरै छ । भारतमा प्रतिव्यक्ति आय २ हजार ७ सय डलर छ भने मोल्डोभामा ४ हजार ५ सय डलर छ । मोल्डोभापछि युक्रेन युरोपको सबैभन्दा गरीब देश हो । यस युद्धग्रस्त देशको प्रतिव्यक्ति आय पनि ४ हजार ५ सय डलर छ । भारतको प्रतिव्यक्ति आय सन् २०२९ सम्म ४ हजार २ सय ८१ पुग्ने अनुमान गरिएको छ । कोसोभो युरोपका गरिब देशहरूको सूचीमा तेस्रो स्थानमा छ । यस देशको प्रतिव्यक्ति आय ४ हजार ७ सय डलर छ । आर्मेनियामा यो ५ हजार ३ सय डलर र अल्बानियामा ५ हजार ५ सय डलर छ। यस्तै, उत्तरी म्यासेडोनियामा प्रतिव्यक्ति आय ६ हजार १ सय डलर, जर्जियामा ६ हजार २ सय डलर, बोस्निया–हर्जेगोभिनामा ६ हजार ३ सय डलर छ । यसैगरी, सर्बियामा ७ हजार ५ सय डलर, मोन्टेनेग्रोमा ८ हजार डलर, बेलारुसमा ८ हजार ३ सय डलर, अजरबैजानमा ८ हजार ५ सय डलर र बुल्गेरियामा ९ हजार ७ सय डलर छ । रोमानिया, टर्की, रुस, ग्रीस, हंगेरी, क्रोएसिया, पोर्चुगल र स्लोभाकियामा प्रतिव्यक्ति आय १० हजार डलरदेखि २० हजार डलरको बीचमा छ ।
२ महिनामा ४ अर्बको ईभी गाडी आयात, चीनबाट मात्रै भित्रियो ३ अर्बको
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा करिब ४ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) आयात भएको छ । यो दुई महिनामा ३ अर्ब ९९ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको हो । जसमध्ये चीनबाट मात्रै ३ अर्ब ५ करोड ८८ लाख रुपैयाँको विद्युतिय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । यो कुल आयातित विद्युतीय गाडीकाे ७६.५८ प्रतिशत हो । विभागका अनुसार ४ वटा देशबाट ३ हजार २७० वटा विद्युतीय गाडी आयात भएको छ । जसमध्ये २ हजार ४४१ वटा गाडी चीनबाट भित्रिएको हो । चीनबाट दुई महिनामा चीनबाट १ हजार ३१६ वटा तीन पांग्रे गाडी, ५० किलोवाटसम्मको कार, जिप र भ्यान गरेर ३६१ वटा सवारी, ५१ देखि १०० किलोवाटसम्मका कार, जिप र भ्यान ६६२ वटा सवारी, १०१ देखि २०० किलोवाटका कार, जिप र भ्यान ९८ वटा र २०१ देखि ३०० किलोवाटसम्मका कार, जिप र भ्यान २ वटा गरी कुल २ हजार ४४१ वटा विद्युतीय सवारी आयात भएको छ । यसैगरी, ३०१ किलोवाट भन्दा बढी क्षमताका कार, जिप र भ्यान २ वटा आयात भएको छ । भारतबाट भारतबाट तीन पांग्रे विद्युतीय सवारी ३५२ वटा आयात भएको छ । यसैगरी, ५० किलोवाटसम्मका कार, जिप र भ्यान १९९ वटा, ५१ देखि १०० किलोवाट सम्मका कार, जिप र भ्यान २७६ वटा सवारी आयात भएको छ । अमेरिका र जर्मनीबाट अमेरिकाबाट १०१ देखि २०० वाटसम्मका १ वटा विद्युतीय सवारी र जर्मनीबाट २०१ देखि ३०० किलोवाटसम्मको १ वटा सवारी आयात भएको छ । समग्रमा विद्युतीय गाडी आयातबाट २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पर्यटन बोर्डले दुई वर्षपछि ‘डब्लूटिएम’ मा सहभागिता जनाउँदै, करिब ३० कम्पनी पनि सहभागी हुने
काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वर्ल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ । पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मञ्चका रूपमा लिइने यस मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जिम्मेवारी सम्हालेसँगै डब्लुटिएम, आइटीबीलगायत महत्त्वपूर्ण पर्यटन मेलामा बोर्डको सहभागिता सुनिश्चित गर्न पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धतानुसार अन्तर्राष्ट्रिय बजारीकरण नेपालको पर्यटन प्रवर्द्धनका लागि डब्लूटिएममा सहभागिता जनाउने निर्णय भएको जोशीले बताए । ‘बोर्डले डब्लूटिएममा सहभागिता जनाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि ढोका खुलेको छ । अन्तर्राष्ट्रिय मेला, सेल्स मिसनलगायत अन्तर्राष्ट्रिय फोरममा बोर्डको प्रभावकारी उपस्थिति रहन्छ,’ कार्यकारी प्रमुख जोशीले भने । अघिल्ला दुई वर्ष बोर्डले डब्लुटिएम, आइटिबीजस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन सकेको थिएन । नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बोर्ड स्थापनाभएदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुँदै आएको छ । हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेलालाई विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । यस्तै, प्रत्येक वर्ष मार्च (फागुन) मा जर्मनीको बर्लिनमा आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन आइटिबी’ मेलालाई विश्वकै पहिलो पर्यटन मेला मानिन्छ । बोर्डले आइतबार सूचना प्रकाशित गरी इच्छुक कम्पनीलाई डब्लुटीएममा सहभागिताका लागि अनुरोध गरेको छ । कम्तीमा ३० कम्पनीलाई त्यहाँ सहभागी गराइने बोर्डको योजना छ । नेपालले विगत ४० वर्षदेखि डब्लुटिएममा सहभागिता जनाउँदै आएको छ । पच्चिस वर्षअघि बोर्ड स्थापना भएकामा त्यसअघि पर्यटन विभागमार्फत नेपालले यस्ता मेलामा सहभागिता जनाउने गरेको थियो । मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क विस्तार गर्ने अवसर मिल्ने दाबी गरिएको छ । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उल्लेख छ । ‘अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई एक आकर्षक पर्यटनस्थलका रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो,’ ऐनमा भनिएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा स्थापित बोर्डको करिब रु दुई अर्ब वार्षिक बजेटमध्ये झण्डै ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारीकरणमा खर्चनुपर्ने हुन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएन । बोर्डको विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको थियो । डब्लुटिएममा नेपालको पहिचान र पर्यटन प्रवर्द्धनका लागि विभिन्न सामग्रीको स्टल राखिने जनाइएको छ ।
‘हिमालयन शमशेर मेमोरियल लेक्चर सिरिज’मा सहभागी हुन भारतीय गभर्नर दास नेपालमा
काठमाडौं । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ का गभर्नर शक्तिकान्त दास नेपाल आएका छन् । उनी नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको निम्तोमा नेपाल आएका हुन् । राष्ट्र बैंकले आयाेजना गर्न लागेकाे ‘हिमालयन शमशेर मेमोरियल लेक्चर सिरिज’मा सहभागी हुन गभर्नर दास नेपाल आएका हुन् । सिरिजकाे पहिलाे संस्करणमा उनले सहभागी जनाउने राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले जानकारी दिए । नेपालको पहिलो गभर्नर हिमालय शम्शेर जबराको स्मृतिमा हिमालयन शमशेर मेमोरियल लेक्चर सिरिजकाे आयाेजना मंगलबार (भाेलि) गर्न लागिएकाे छ । संस्करणमा सहभागीपश्चात गभर्नर दास भारत फर्किने जनाइएकाे छ । सो कार्यक्रममा राष्ट्र बैंकका कर्मचारीसहित करिब २०० जनाको सहभागीता रहने सूचना अधिकारी आचार्यले बताए ।
साना तथा मझौला उद्योगका लागि वित्तीय र बजार पहुँचको खाँचो छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै उनले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा सम्भावनाहरू रहेको जानकारी गराए । उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए । अध्यक्ष ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरू रहेको कुरामा पनि जोड दिएका छन् । उनले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कला जस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याएको जानकारी गराए । नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै अध्यक्ष ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरूका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उनले औंल्याए । अध्यक्ष ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरूलाई पनि औंल्याए । उनले नेपालले हालसालै लगानीसम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको पनि जानकारी दिए । अध्यक्ष ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरेका थिए ।
मानसिक स्वास्थ्यमा असर पर्ने खालका सामग्री प्रकाशन प्रसारण नगरिदिन बालबालिकाको अनुरोध
काठमाडौं । बालबालिकाहरूले आफूहरूको मानसिक स्वास्थ्यमा असर नपर्ने खालका सामाग्री प्रकाशन तथा प्रसारण गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरेका छन् । बालअधिकारसम्बन्धी सञ्चारकर्मीसँग गरिएको एक छलफल कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे अनुराेध गरेका हुन् । अहिले मिडियामा आएका सामग्रीले घरभित्र वा बाहिर असुरक्षित भएको महसुस हुने गरेको बताउँदै उनीहरू घरबाहिर निस्कँदा पनि डराइडराइ जानुपर्ने अवस्थाले बालबालिकामा नकरात्मक असर पारेको बताए । विभिन्न समाचारले मानसिक स्वास्थ्यमा असर पसिररहेको बताउँदै उनीहरूले बालप्रतिभा, बालशिक्षा, बालसहभागिता लगायतका विषयलाई जोड दिएर समाग्रीहरू प्रकाशन र प्रसारण गरिदिन अनुराेधसमेत गरे । कार्यक्रममा बोल्दै एक बालबालिकाले बालबालिका अहिले पनि बालश्रम, बालशोषणमा परिरहेका बताउँदै बालबालिका सुरक्षित राख्न समाज र अभिभावकलाई सचेत गराउनु पर्ने बताइन् । उनले अहिले सबैभन्दा बढी समस्यामा लैगिक तथा यौनिक अल्पसंख्यक बालबालिका रहेको बताउँदै त्यस्ता बालबालिकाहरूका कुरा पनि मिडियामा ल्याइदन आग्रह गरिन् । उनले भनिन्, ‘हुन त हाम्रा कुरा जति आउनुपर्ने हो त्यति मिडियामा आउँदैनन् । आएका पनि बलात्कारसँग जोडिएका कुराहरूमात्र आउँछन् , अब फरक सामाग्रीहरू बाहिर ल्याइदिनुपर्याे ।’ बालबालिकाहरूले पहिले कोपिला , फूलबारी जस्ता विभिन्न पत्रिकाहरू आउने गरेकोमा अहिले सबै बन्द भएको भन्दै पढ्ने खालका कुनै सामग्रीलाई सञ्चारमाध्यमले स्थान नदिएको आराेप लगाए । कार्यक्रममा बोल्दै बालक मनोज भण्डारीले अहिलेका बालबालिकामा विभिन्न किसिमका प्रतिभा हुँदा पनि बाहिर आउने ठाउँ धेरै नभएको बताए । उनले विद्यालयमा हुने केही कार्यक्रममा मात्र अवसर पाइरहेको बताउँदै उनले प्रतिभालाई पनि बाहिर ल्याइदिन आग्रह गरे । कार्यक्रममा सहभागी पत्रकारहरूले मिडियाले बालबालिकाका स्थान नदिएको स्वीकार गरेका छन् । अहिलेसम्म कुनै पनि मिडियाले बालबालिकाको विषयलाई बिटको रूपमा नलिएको बताउँदै सम्पादकहरूले बालबालिका विषयलाई पन्छाइदिने गरेको बताए ।