विकासन्युज

पहिलो स्याउ मेला असाेज १७ गतेदेखि सुरु, यस्ता छन् परिकार (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा स्याउ मेलाको आयोजना गरिने भएकाे छ । मंगलबार ठमेलको होटल मनाङमा गरिएकाे पत्रकार सम्मेलनमा असाेज १७ गतेदेखि स्याउ मेलाकाे आयाेजना हुने जानकारी दिइयाे । होटल मनाङकाे सहकार्यमा किसान भेन्चरले स्याउ मेलाकाे आयाेजना गर्न लागेकाे हाे । आयोजकका अनुसार याे नेपालको पहिलो स्याउ मेला हो । मेला तीन दिन चल्नेछ । नेपाल किसान भेन्चरकी अपरेसन मेनेजर मेलीना राईले नेपाली स्याउलाई प्रवर्द्धन गर्न मेलाकाे आयाेजना गरेको बताइन् । उनले भनिन्,  ‘कतिपय हामी नेपाली जनतालाई नै थाहा छैन- नेपालमा कस्तो स्याउ फल्छ भनेर । नेपालमै राम्रो स्याउ फल्दाफल्दै पनि विदेशबाट आयात भइरहेको छ । नेपाली स्याउकाे प्रवर्द्धन गर्न स्याउ मेलाकाे आयाेजना गरेका हाैं । ‘ स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभाेक्ता, आपूर्तिकर्ता र उद्याेग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनू यस मेलाकाे मुख्य उद्देश्य रहेकाे राईले जानकारी दिइन् । मेलामा स्याउ उत्पादनदेखि बजारसम्म पुर्‍याउन कृषकले भाेग्नुपरेका चुनाैतीहरू पनि उजागर गरिने उनले बताइन् । स्याउ मेलाकाे मुख्य नारा ‘याे दशैं स्याउसँग मनाऊँ’, खुसी बाँडाैं, स्वस्थ खानेकुरा खाऔं’ रहेकाे छ । मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकाेटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनीमा राखी बिक्री गरिने आयाेजकले जनाएकाे छ । मेलामा एप्पल क्रीस्पी, एप्पल पाई, एप्पल ब्रेड, पियोर एप्पल जुस र एप्पल खम्बुच्चा लगायतका परिकारहरू पनि प्रस्तुत गरिनेछ । गत असारमा किसान भेन्चरले प्रथम आँप मेलाकाे आयाेजना गरेकाे थियाे । यी हुन् स्याउ मेलामा प्रस्तुत गरिने परिकारहरू:

शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले असाेज १० गतेदेखि टिकट बुकिङ खुला गर्नका लागि प्रस्ताव गरे पनि १२ गतेका लागि सहमति भएकाे हाे । शनिबार सरकार र यातायात व्यवसायीबीच छलफल भएको थियो । छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्ने, अग्रिम टिकट बुकिङ तत्काल खुलाउने र छठपछि भाडा समायोजन गर्ने सहमति भएको थियो ।    

मेगाटेक ग्रुपले गर्यो लेनोभोका नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । नेपालमा लेनाेभाेको नयाँ उत्पादन सार्वजनिक भएकाे छ । सन् २०११ देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेक ग्रुपले मंगलबार पहिलो काेपाइलट प्लस एआईपीसी याेगा स्लिम ७ एक्स, नयाँ याेगा र लिजिनको श्रृंखला सार्वजनिक गरेकाे हाे । कार्यक्रमको मुख्य आकर्षण याेगा स्लिम ७ एक्स थियो जसले उत्कृष्ट ब्याट्री दक्षता र प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएकाे छ । मेगाटेक ग्रुपका सुरेश लोहानीले मेगाटेक ग्रुप आइटी वितरण क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि विश्वासिलो नाम रहेकाे बताए । उक्त कार्यक्रममा लेनाेभाेका लागि नेपालमा उत्कृष्ट व्यापार विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने शीर्ष १० साझेदारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएकाे थियो । लेनाेभाेले एआई समर्थित, एआई-तयार र एआई-अप्टिमाइज्ड उपकरणहरू, इन्फ्रास्ट्रक्चर (सर्भर, स्टोरेज, एज कम्प्युटिङ), सफ्टवेयर र विभिन्न सेवामार्फत १८० देशका बजारमा सेवा दिँदै आएकाे छ ।

नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अङ्कले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त आठ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर सात दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड चार दशमलव ८५, इन्ग्वा हाइड्रोपावर चार दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् । हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स आठ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले सात दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुने

गण्डकी । पर्यटनको राजधानी पोखरामा बुधबार संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । संघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू मंगलबार साँझसम्म पोखरा आइपुग्ने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ । बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा संघीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए । संघीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

दशैंमा बसको टिकट काट्न लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ । निर्णय भएपछि यसै सातादेखि अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने जनाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले आइतबार मन्त्रालयमा टिकट बुकिङका सम्बन्धमा छलफल भए पनि निष्कर्समा नपुगेका कारण यातायात व्यवस्था विभागसँगको आगामी बैठकले गर्ने निर्णयअनुसार बुकिङ सुरु हुने बताए । दशैं आउन धेरै दिन बाँकी नभएकाले केही दिनमा नै टिकट बुकिङ सुरु हुने उनको भनाइ छ । विगतका वर्षमा पनि दशैंको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको बताएका खनालले यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए । ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउनेछैन ।’ बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बससेवाले जनाएको छ । बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौं संख्याका बसका लाखौं टिकट अनलाइनमार्फत खरिद गर्न सकिने बससेवाले जनाएको छ ।

दीपालको ब्रान्ड एम्बेस्डरमा पूर्वकप्तान पारश खड्का

  काठमाडौं । विद्युतीय गाडी दीपालकाे ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् । चांगान नेपालले नेपाली क्रिकेटका परिचित  खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको हाे । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दीपाल इभीको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएकाे हाे । खड्काले दीपाल परिवारमा जाेडिन पाउँदा खुसी लागेकाे बताए । साथै उनले आफू अहिले पनि दीपाल गाडी नै चढिरहेको बताए । ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’ त्यसैगरी, पारसलाई दीपाल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए । केही महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको छ ।

साना कोठामा विशिष्टिकृत सेवा प्रवाह गरिरहेको भक्तपुर क्यान्सर अस्पताल

काठमाडौं । सानो भवन साधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ । साँधुरो साना—साना कोठामा बिरामीलाई विशिष्टकृत सेवा प्रवाह गरिरहेको क्यान्सर अस्पतालको भने आफ्नो जग्गा छैन । आफ्नो जग्गा नभएकोले अत्याधुनिक भवनको अभावमा अस्पतालले बिरामीलाई क्यान्सरको गुणस्तरीय सेवा पैदान गर्दै आइरहेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन बनाएर सेवा सञ्चालन गरिरहेको बताउँछन् । ‘भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको जग्गामा हामीले भवन बनाएर सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘सरकारसँग जग्गा माग गरिरहेको छौं । तर पाएका छैनाैं ।’ उनले बिरामीलाई सस्तो र विशिष्टकृत सेवा दिइरहेको हुनाले सानोसानो साधुरो कोठामा भए पनि उपचार कक्ष बनाएर सेवा दिने गरेको बताउँछन् । ‘अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ । आएका बिरामीको उपचार त गर्नु नै पर्‍याे । शौचालयसमेत फोडेर पनि उपचार कक्ष बनाएका छाैं,’ डा. चालिसेले भने, ‘हामी सारै नै साँधुरो ठाउँमा अस्पताल सञ्चालन गरेका छौं । सरकारले जग्गा उपलब्ध गराउन सक्ने हो भने अस्पताललाई अझ विशिष्टकृत बनाउन सकिन्छ ।’ उनले सरकारले आफूलाई जग्गा उपलब्ध गराए सेवा विस्तार गरेर क्यान्सर रोगका जस्तोसुकै बिरामीको पनि उपचार स्वदेशमा गराउन सकिने बताए । नेपाल अर्बुद रोग निवारण संस्थाले दुई शय्याबाट सुरु भएको अस्पताल अहिले सरकारी स्वामित्वमा एक सय ३० शय्यामा सञ्चालनमा रहेको छ । संस्थाबाट अस्पताल २०७७ सालमा सरकारले विकास समिति गठन आदेश गरेर सरकारको नाममा ल्याएको हो । क्यान्सरका सरकारका तीन वटा अस्पतालमध्ये काठमाडौं उपत्यकामा रहेको भक्तपुर अस्पतालमा क्यान्सरका बिरामीको चाप धेरै नै हुने गरेको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सरकारी अस्पताल रहेका छन् । तर तीमध्ये काठमाडौं उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको पहिलो रोजाइ बनेको छ । काठमाडौं आइसकेपछि उपचारका अन्य विकल्प पनि हुने भएकोले बिरामी चितवन र बाँकको सट्टा भक्तपुर नै आउने गरेका छन् । बिरामीको उपचारलाई ध्यानमा दिएर अस्पतालले हालै मात्र नयाँ अत्याधुनिक सिटी स्क्यान मेसिन, रेडियोथेरापी मेसिन, मोडुलेटर शल्यक्रिया कक्ष थपेको छ । नयाँ २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनले क्यान्सर कहाँ देखिएको छ भनेर सानासाना ठाउँ पनि पत्ता लगाउने गर्दछ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालिसेले नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा आएसँगै बिरामीलाई सिटी स्क्यान गर्न अयन्त्र जानु नपरेको बताउँछन् । अस्पतालसँग पहिले १६ स्लाइसको सिटी स्क्यान मेसिन रहेको थियो । ‘पहिलो एउटा सानो सिटी स्क्यान बिरामीलाई पर्याप्त सेवा दिन सकेका थिएनौं,’ उनले भने, ‘अहिले नयाँ सिटी स्क्यान आइसकेपछि बिरामीलाई दैनिक ३० देखि ३५ जनाको सिटी स्क्यान गर्नसक्ने भएका छौं ।’ टिकट लिँदा नै चिकित्सक भेट्ने समय निश्चित अस्पतालले बिरामीको समयलाई मध्यनजर गर्दै बहिरङ्ग सेवामा चिकित्सकको जाँच गराउनेका लागि निश्चित समय निर्धारण गरिएको छ । टिकटमा नै कति बजे चिकित्सकलाई भेट्ने भनेर समय तोकिएको हुन्छ । ‘अहिले पनि बहिरङ्ग सेवा लिन आएका बिरामी टिकटमा नै आधा घण्टाभित्र चिकित्सकलाई देखाउन पाउँछन्,’ उनले भने । अब निश्चित समय तोकेर बिरामीलाई बढीमा १० मिनेट मात्र कुर्ने गरी समय व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । अस्पतालले अनलाइन टिकट र परीक्षणको भुक्तानी क्यूआरमार्फत तिर्ने व्यवस्था गरेको छ । रेडियोथेरापी र शल्यक्रियाका लागि पालो कुर्नुपर्दैन अस्पतालले नयाँ रेडियोथेरापी उपकरण जडान गरेसँगै बिरामी क्यान्सरको उपचार गर्नका लागि पालो कुर्नुपर्ने समस्या पनि हटेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले रेडियोथेरापीका लागि क्यान्सरका बिरामीले लामो समयसम्म पालो पर्खनु नपर्ने बताउँछन् । ‘पहिले एउटा रेडियोथेरापी मेसिनले बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्दथ्यो,’ उनले भने, ‘तर अहिले नयाँ रेडियोथेरापी मेसिन आएपछि दैनिक बिरामीको रेडियोथेरापी गर्न सक्ने भएका छौं ।’ रेडियोथेरापीले क्यान्सरका कणलाई मार्ने गर्दछ । यस्तै, अस्पतालले अध्याधुुनिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालका निर्देशक डा. चालिसेले थप दुईवटा मोडुलेटर शल्यक्रिया कक्ष निर्माण गरिएको बताए। ‘शल्यक्रिया कक्ष नहुँदा बिरामीको समयमा नै क्यान्सरको शल्यक्रिया गरेर उपचार गर्न सकिएको थिएन,’ उनले भने, ‘अब पाँचवटा मोडुलेटर शल्यक्रिया कक्ष भएपछि बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपदैन ।’ उनका अनुसार पहिले एक डेढ महिना शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको थियो । उनले अब ढिलामा एक हप्ताभित्र बिरामीको शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा नै क्यान्सर पत्ता लगाउने विधि अस्पतालमा शल्यक्रिया गर्दा नै क्यान्सरको आशङ्का गरिएमा तुरुन्तै परीक्षण गर्ने विधिसमेत रहेको छ । कार्यकारी निर्देशक डा चालिसले शल्यक्रिया गर्दा क्यान्सरको आशङ्का गरिएको ठाउँको क्यान्सर परीक्षण गर्नका लागि फ्रोजोन सेक्सन उपकरणबाट गरिने बताए । ‘सिटी स्क्यानले सबै क्यान्सर पत्ता लगाउन सक्दैन । सिटी स्क्यानमा देखिएको मासु क्यान्सर हो कि होइन भन्ने कुरा थाहा हुँदैन,’ उनले भने, ‘शल्यक्रिया गर्दागर्दै क्यान्सर कहाँसम्म फैलिएको छ भन्ने कुराको जानकारी फ्रोजोन सेक्सनले दिन्छ । फ्रोजोन सेक्सनले परीक्षण परीक्षणबाट क्यान्सर कहाँसम्म फैलिएको भन्ने थाहा हुन्छ र सोही अनुसार क्यान्सरको उपचार गरिन्छ ।’ यो प्रविधि भक्तपुर क्यान्सर अस्पतालमा मात्र रहेको छ । निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पताललको दाबी छ । अस्पतालका कार्यकारी निर्देशक डा. चासिलेका अनुसार स्तन क्यान्सरको उपचार बाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा एक लाख रुपियाँसम्म लाग्ने गर्दछ । यस्तै, रेडियोथेपारी बाहिर निजी अस्पताल गराउँदा पाँच लाख रुपियाँसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजारमा गरिन्छ । अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि बोन म्यारो प्रत्यारोपण जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उनको भनाइ रहेको छ । कर्मचारीको वृत्ति विकास बढ्ने सरकारले हालै अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन गरेपछि त्यहाँ रहेका कर्मचारीको वृत्ति विकास बढ्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफै सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी संशोधन अभावमा नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए । सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो । पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन् । साथै, अब नयाँ नियमावलीअनुसार नयाँ करार कर्मचारीलाई लोक सेवामार्फत स्थायी हुने बाटोसमेत खुलेको छ । अस्पतालमा दैनिक पाँच सय जना उपचारमा आउने गर्दछन् । गत आर्थिक वर्षमा ९५ हजार पाँच सय चार जनाको उपचार गरिएको थियो । तीमध्ये दुई हजार ५०५ जनाको शल्यक्रिया गरेर क्यान्सरको उपचार र एक हजार ४० जनाको रेडियोथेरापी विधिबाट क्यान्सरको उपचार गरिएको थियो । कार्यकारी निर्देशक डा. चालिसेले जग्गा, विशेषज्ञ चिकित्सक र शय्याको अभावले कारणले अस्पतालको क्षमता बढाउन नसकिएको बताउनुभयो । सरकारले अस्पताललाई जग्गा उपलब्ध गराए तीन सय शय्याको सञ्चालन गर्ने तयारी रहेको छ । समयमा नै उपचार गरे निको हुन्छ क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा. चालिसेले समयमा नै क्यान्सर पहिचान गर्नसके निको हुने बताउँछन् । उहाँका अनुसार क्यान्सरका चार चरण (स्टेज) मध्ये शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिने बताए । अस्पतालमा आएका धेरै बिरामी निको भएर घर फर्किएको अस्पतालको दाबी रहेको छ । पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भावना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिए । उनी जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताउँछन् । नेपालमा बर्सेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको यस रोगबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ । सबैभन्दा बढी फोक्सो र दोस्रोमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । अत्यधिक धूमपान तथा मद्यपान र सूर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको तथा, वंशाणुका कारण पनि धेरै क्यान्सरका रोगी बनेका छन् ।