विकासन्युज

६ सय वर्ष पुरानो गाउँ, बर्सेनि पुग्छन् ३ हजारभन्दा बढी पर्यटक

काठमाडौं । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि ७ हजार ७२० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ । लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो । लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अनुसार यो करिब ६ सय वर्ष पुरानो बस्ती हो । ‘यस्तो बस्ती सायद कहीँकतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो भन्ने हामी दाबी छ, मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ विश्वभरका मानिसहरुका लागि कौतुहलताले भरिएको गन्तव्य पनि हो,’ उनले भने । माटोको पर्खालभित्र प्राचीन बस्ती २ सयभन्दा बढी घरधुरी रहेको लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब २ मिटर फराकिलो र ८ मिटर अग्लो पर्खालले घेरिएको छ । २८० मिटर उत्तर–दक्षिण र १६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । पर्खाल बाहिरका बस्ती पछि बसेको हो । लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा÷मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । वि.सं १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषणगरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले सुनाए । यहाँ लोवा समुदायका विष्ट, गुरुङ र दलित समुदायको बसोबास छ । माइला छोरा लामा र माइली छोरी भुमा बस्ने यहाँको चलन रहिआएको छ । संस्कारगत कार्यमा लामा र झुमाको भूमिका हुन्छ । व्यापार, पशुपालन र खेती किसानी यहाँका बासिन्दाको आम्दानीको स्रोत हो । पछिल्लो समय यहाँका बासिन्दाहरु जापान, युरोप, अमेरिका देश जानेक्रम बढेको छ । यहाँ कुनै पनि प्रकारको मुद्दा नभएका व्यक्तिलाई बुद्धिमान र ऋण नभएकालाई साहुका रुपमा चिनिन्छ । अधिकांश मुद्दा, झै–झगडा परिवार वा गाउँभित्रै मुखियाबाटै हुने गरेको छ । महिलाले बख्खुको अगाडि पाङ्देन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङ्देन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको सङ्केत नै पाङ्देन हो । गाउँमा कसैको घर निर्माण गर्दा गाउँलेले दुई÷तीन दिन बिनाज्याला सहयोग गर्ने परम्परा अझै पनि कायमै छ । सांस्कृतिक राजा, ऐतिहासिक दरबार र गुम्बा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् । राजपरिवारका सदस्यहरुको उपस्थितिमा चाडपर्व, सभासमारोह र विशेष कार्यक्रम हुने स्थानीयवासी कर्म आङ्गेलले बताए । ‘सांस्कृतिक रुपले हाम्रो समाजमा राजा अस्तित्वमै छन्, महत्वपूर्ण कार्यक्रम सांस्कृतिक राजपरिवारका सदस्यहरुको उपस्थितिमा हुन्छ,’ उनले भने । लोमान्थाङका अन्तिम तथा २५औँ पुस्ताका राजा जिग्मे परवल विष्टको वि.सं २०७३ मङ्सिरमा मृत्यु भएको थियो । वि.सं १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेको लोमान्थाङ वि.सं १८४६ मा बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले तत्कालीन तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यका रूपमा लालमोहर लगाइदिएका थिए । नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे । नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने २०७४ देखि भुरे राजा÷रजौटाको शासनलाई अन्त्य गरेको हो । मुलुकमा राजतन्त्रको अन्त्यसँगै तत्कालीन मुस्ताङी राजाले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गरेका थिए । गणतन्त्रपछि राज्यबाट प्राप्त हुँदै आएको सुविधा रोकिएको थियो । मुस्ताङी राजा आमे पालले इ.सं १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । ढुङ्गा, माटो र काठले बनेको यो दरबार वि.सं २०७२ को भूकम्पका कारण चर्किएपछि मर्मत गरिएको थियो । बाहिरबाट हेर्न सकिने विशाल दरबारभित्र पस्न भने रोक लगाइएको छ । यही दरबारबाट तत्कालीन मुस्ताङी राजाले राज्य सञ्चालनका गतिविधि गर्दथे । १५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरु छन् । वार्षिक ३ हजार पर्यटक सन् २०२४ को सेप्टेम्बर २२ सम्म २ हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताए । वर्षको अन्तसम्म पर्यटक आगमनको सङ्ख्या ३ हजार नाघ्ने अनुमान गरिएको छ । लोमान्थाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको छ । सन् २०२३ मा ७० देशका ३ हजार ४८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए । सन् २०२२ मा ३ हजार ११२, सन् २०२१ मा ३३२, सन् २०२० मा ६२ र सन् २०१९ मा ३ हजार ९१८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी ४ हजार ११५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई ५ सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ । तथ्याङ्कअनुसार मुस्ताङ भित्रने कूल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जादैनन् । आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ । विदेशीको तुलनामा केही बढी नेपालीहरु उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरुको आधिकारिक तथ्याङ्क छैन । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । मौलिक सम्पदा, संस्कृतिको संरक्षण र प्रवर्द्धनगरी पर्यटन विकासका लागि पहल गरिए पनि अर्धनिषेधित क्षेत्र र महँगो प्रवेश शुल्कका कारण समस्या भएको अध्यक्ष गुरुङले बताए । निषेधित क्षेत्रका कारण विदेशी सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो । बिदा र चाडपर्वका समयमा घुम्न आउने नेपालीहरुले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ । लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक ४ सय जना पर्यटक बास बस्नसक्ने क्षमता रहेकोे मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताउनुभयो । लोमान्थाङमा सडक यातायातको सुविधा पुगेको छ ।

कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा. तराईमा हुरीबतास

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेश,बाग्मती, गण्डकी ,लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतासको चल्ने सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी , बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

दशैं अग्रिम टिकट : गाडी रिजर्भमा जान नपाउने, अनलाइन बुकिङमा प्राथमिकता

फाइल फाेटाे । काठमाडौं । सरकारले दशैंका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला गर्ने निर्णय गरेको छ । मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय गरेको हो । बैठकले विभिन्न २० वटा निर्णय गरेको छ । बैठकले यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, गाडी क्यूमा नबसेर रिजर्भमा जान नपाउने निर्णय पनि गरेको छ । यस्ता छन् बैठकका निर्णय : १. चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनको लागि सार्वजनिक यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातमा २०८१ साल असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने । २. यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने । ३. अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देशय प्रा. लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने÷गराउने र यात्रु समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने । ४. सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिएर मात्र यात्रा गर्ने र टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने । ५. सवारी चालकले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्ने/गराउने । ६. अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने/गराउने । ७. मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने । ८. यात्रुलाई आवश्यक सवारीसाधनहरूको व्यवस्था यातायात व्यवसायीले गर्ने/गराउने । ९. यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८१ साल आश्विन १७ गते घटस्थापनादेखि कार्तिक ०१ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने तथापी प्रचलित कानुन बमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात/निर्यात जन्य ढुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधि बाहेक नारायणगढ देखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने । १०. यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने । ११. उपत्यकामा भित्रीने र बाहिरिने प्रमुख स्थान लगायत देशभर मापसे र लापसे गर्ने सवारी चालकको स्वास्थ्य अवस्थाको बारेमा चेक जाँच गर्ने/गराउने । सवारी चालकले मापसे र लापसे गरेको पाईएमा निजको सट्टा व्यवसायीले अर्को चालकको व्यवस्था गर्ने । १२. लामो दूरीका यात्रीवाहक सवारीसाधनहरु गन्तव्यतर्फ प्रस्थान गर्नु अघि अनिवार्य रुपमा सवारीको यान्त्रिक अवस्था लगायतको चेकजाँच गर्ने । १३. लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्री बाहक सर्वजनिक सवारीमा कम्तिमा दुई जना चालक अनिवार्य रुपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले मिलाउन सोको अनुगमन नेपाल प्रहरीले गर्ने । १४. १८ वर्ष उमेर पुरा नभएका नाबालकलाई परिचालकको काममा नलगाउने । १५. चाडपर्वको समय नजिकिँदै गरेको अवस्थामा यात्रुबाहक सवारी यातायातको चाप अत्याधिक बढ्न गई सडक दुर्घटना समेत बढ्न सक्ने जोखिमलाई मध्येनजर गरी प्रभावकारी अनुगमन एवं निगरानीको व्यवस्था मिलाउने । १६. दशैं, तिहार र छठ पर्वमा काठमाण्डौं उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरुलाई सहजिकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भु, हलचोक, माछापोखरी, नयाँबसपार्क, चावहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोवाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी/नाडाको सहयोग र काठमाडौं महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्ने । १७. चाडपर्व अवधिभर अनुगमनकार्यको लागि यातायात व्यवस्था विभागले सराकारवाला निकाय सम्मिलित अनुगमन टोली गठन गर्ने । उक्त कार्यका लागि प्रदेशको यातायात मन्त्रालयको समेत सहयोग लिने । १८. चाडपर्व लक्षित सवारी साधन व्यवस्थापन गर्ने सिलसिलामा सडकको अवस्था र प्राकृतिक प्रकोप जस्ता कारणले कावु बाहिरको परिस्थिति सिर्जना भई समयमा सवारी साधन पुग्न नसकेको अवस्थामा विकल्पको रुपमा सम्बन्धित यातायात कम्पनी (व्यवसायी) ले अर्को सवारी साधन उपलब्ध गराउने र यस विषयलाई सहजीकरण गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देशय प्रा. लि. सम्मिलित सहजिकरण समिति गठन गर्ने तथा उक्त समितिमा रहने पदाधिकारीको नाम र सम्पर्क नम्बर नेपाल प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमा उपलब्ध गराउने । १९. लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनले आफ्नो तोकिएको पालो (क्यु) मा सञ्चालन गर्नुपर्ने छ । क्युमा संचालन नगरी रिजर्भमा जान पाइने छैन । २०. सम्बन्धित गन्तव्य जिल्लाका प्रमुख जिल्ला अधिकारी/जिल्ला प्रशासन कार्यालयमा उपरोक्त निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयमार्फत अनुरोध गर्ने ।

साना उद्यमीको अधिकारको विषयमा सरकार र विकास साझेदारले ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बताए । यसैगरी, साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढ्न नसक्ने पनि उनले बताए । साना उद्यमीको अधिकारको विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । यसैगरी, अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । उनले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बताए । साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताए । साथै, उनले नेपालले हालै लगानी सम्बन्धी आठवटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिँदै लगानीको वातावरण निरन्तर सुधार भैरहेको समेत बताए ।

एनएमबि बैंकले गर्यो पलेशा गोबर्धनलाई सम्मान

काठमाडौं । एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँले सम्मान गरेकाे हाे । साथै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियाे । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन् । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरेकाे हाे । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए । उनका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भने, ‘यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’ चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए । प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’ खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए । प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसीयारी पुर्‍याउन र यात्रुलाई पनि सजगरहन आग्रहसमेत गरे ।

जेटियूसीसीको माग- श्रमिकहरूको सामाजिक सुरक्षामा लाग्ने कर हटाइयोस्

काठमाडौं । श्रमिकहरूले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरूले श्रमिकहरूले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन जोड दिएका हुन् । नेपालका १० वटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियूसीसी) का अध्यक्ष योगेन्द्र कुँवरले करको कुरामा नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सामाजिक सुरक्षामा कर लागिरहेको भन्दै नीतिगत रूपमा यसको समाधान खोज्नुपर्नेमा जाेड दिए । उनले श्रमिकहरू कार्यरत रहँदा कर व्यहोरिरहने र उपदान कोष फिर्ता लिँदा पनि कर तिर्नुपर्ने अवस्था रहेको भन्दै करको दोहोरोपनालाई पनि हटाउनुपर्ने बताए । अध्यक्ष कुँवरले भने, ‘करको कुरामा हामीले नीतिमा हस्तक्षेप गर्नुपर्‍याे । सामाजिक सुरक्षामा पनि करहरू लागिरहेको अवस्था छ । प्रत्यक्ष, अप्रत्यक्ष रूपमा त्यहाँ करहरू लागेको अवस्था छ । दोहोरो करको कुरा पनि आइरहेको छ । अवकाश कोषमा पनि करको कुरा आइरहेको छ । एकातिर कार्यरत अवस्थामा हामीले कर बेहोरिरहेका छौं । एकमुस्ट रूपमा राखेको उपदान कोषहरूलाई फेरि फिर्ता लिदाँखेरी फेरि कर तिर्नुपर्ने परिस्थिति निर्माण भएको छ ’ उनले नीतिगत व्यवस्था गरी करको समस्या हल गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

प्राइम कलेजले नेपालमै पहिलो पटक सीपीए तयारी कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौंको प्राइम कलेजले अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) तयारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कलेजले नेपालमा पहिलो पटक यो कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । यसका लागि कलेजले भारतको केपीएमजीसँग साझेदारी गरेको छ । सीपीए कार्यक्रमले अडिटिङ तथा लेखा क्षेत्रमा भविष्य बनाउन खोज्ने वा काम गर्न चाहनेहरूलाई सक्षम बनाउने लक्ष्य राखेको छ । नेपालमै बसेर अमेरिकी सीपीए पढ्न चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रमले सहजता प्रदान गर्ने कलेजले जनाएको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. विभास बासुकलाले यो कार्यक्रम नयाँ र अहिलेको आवश्यकता भएकाले नेपालमै अध्ययन गर्न चाहनेहरूका लागि सुनौलो अवसर भएको बताए । ‘यो धेरै लामो कोर्स होइन, त्यति खर्चिलो पनि छैन, याे १२ देखि १८ महिनामा कोर्स नै पूरा हुन्छ,’ उनले भने,  ‘यो लेखा र वित्तमा करिअर अगाडि बढाउन चाहनेहरूका लागि एक छोटो र प्रभावकारी विकल्प हो । यो पढिसकेपछि विद्यार्थीले बेरोजगार रहनुपर्दैन ।’ कार्यक्रममा बोल्दै कलेजका प्रमुख शैक्षिक सल्लाहकार नारायणप्रसाद शर्माले कलेजले शिक्षामा नयाँ कार्य सुरु गरेको जानकारी दिए । उनले नेपालमा सीपीए टेस्ट तयारी कार्यक्रम सञ्चालन गरेर प्राइम कलेजले विद्यार्थीहरूलाई एक अद्वितीय अवसर प्रदान गर्न लागेको बताए । कार्यक्रममा बोल्दै नबिल बैकका अध्यक्ष उपेन्द्र पौडेलले प्राइम कलेज र केपीएमजीको साझेदारीले नेपालमा शिक्षाको स्तर बढाउने बताए । नेपालमा यस्ता दक्ष जनशक्तिको आवश्यक्ता रहेको बताउँदै उनले नेपाली विद्यार्थीहरूलाई विदेश जानै नपरी स्वदेशमा नै पेशागत योग्यता सुधार्ने एक परिवर्तनकारी अवसर प्रदान गरेको भन्दै तारिफसमेत गरेका थिए । सीपीए प्रमाणपत्र प्राप्त गरेपछि विद्यार्थीहरू स्थानीय र अन्तर्राष्ट्रिय बजारका मागहरू पूरा गर्न तयार हुनेछन्, जसले उनीहरूको करिअरमा ठूलो सफलता प्राप्त गर्न मद्दत गर्ने कलेजले अपेक्षा गरेको छ । केपीएमजीसँगको यो साझेदारी प्राइम कलेजको शैक्षिक यात्रामा एक महत्त्वपूर्ण कोसेढुंगा हो, जसले नेपालमा विद्यार्थीहरूलाई विश्वस्तरीय सीपीए परीक्षा तयारीको पहुँच प्रदान गर्ने जनाइएकाे छ ।। के हो केपीएमजी ? केपीएमजी भारत, केपीएमजीको विश्वव्यापी नेटवर्कको एक हिस्सा हो । यसले विभिन्न उद्योगहरूमा अडिट, कर र परामर्श सेवाहरू प्रदान गर्दै आइरहेकाे छ । सन १९९३ मा स्थापना भएदेखि केपीएमजी भारतले यस क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाइ सकेको छ । केपीएमजी भारतको शिक्षा सेवाले विद्यार्थीहरूलाई विश्वव्यापी वित्तीय परिदृश्यमा सफल हुन आवश्यक सीप र ज्ञानले सुसज्जित गर्दै आइरहेकाे छ । नेपालमा अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रमको सुरसवात केपीएमजीको क्षेत्रीय शैक्षिक विकासमा देखाएको प्रतिबद्धताको प्रमाण पनि हो ।