विकासन्युज

सिद्धार्थले सिधैं जम्मा गर्याे इकाईधनीको बैंक खातामा लाभांश

काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ फण्डको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो । क्यापिटलले असोज ७ गतेदेखि इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा लाभांश आईपीएस मार्फत् जम्मा गरेको हो । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ । गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ फण्डले ७ प्रतिशत लाभांश वितरण गरेको हो । इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमा शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरूमा छुट दिने भएको हो । कम्पनीले असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । ३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा ३० प्रतिशत, ३ वर्ष भन्दामाथि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा २५ प्रतिशत र ५ वर्ष भन्दामाथि व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । यस योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्ष भित्र समर्पण भएमा प्रदान छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ । कम्पनीका अनुसार एकपटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभरी पुनः छुट दिइने छैन ।

अधिकांश तरकारीको मूल्य सस्तियो, च्याउ ३७ रुपैयाँले घट्यो

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । यसअघि ८५ रुपैयाँ रहेको भारतीय गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ पुगेको छ । लोकल गोलभेडा प्रतिकेजी ३० रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४५.६७ रुपैयाँ तोकिएको छ । रातो आलु ७९ रुपैयाँ, भारतीय रातो आलु ५८.६६ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ । भारतीय प्याज सुकेको ११२.३३ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, तराईको गाजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ८५ रुपैयाँ, रातो मूला ३१ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २७.६७ रुपैयाँ तोकिएको छ । यस्तै लाम्चो भन्टा २२.३३ रुपैयाँ, डल्लो भन्टा ३२.३३ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, लोकल घिउ सिमी ८५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ८५ रुपैयाँ, टाटे सिमी ९५ रुपैयाँ, भटमासकोशा ५५ रुपैयाँ तोकिएको छ । तितो करेला आज ७५ रुपैयाँ पुगेको छ । लौका ३५ रुपैयाँ, लोकल परवर ७५ रुपैयाँ, चिचिण्डो २२.३३ पैयाँ, घिरौला ७५ रुपैयाँ, झिगूनी ७५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, डल्लो हरियो फर्सी ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, बरेला १२५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, स्कूस २२.३३ रुपैयाँ रहेका छन् । रायो साग ६५ रुपैयाँ, पालूगो साग ७५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, प्याज हरियो १९० रुपैयाँ, च्याउ (कन्य) १८१.६७ रुपैयाँ, च्याउ (डल्ले) ३२३.३३ रुपैयाँ, कुरीलो ४७६.६७ रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ मूल्य तोकिएको छ । यसअघि हिजो रायो साग ७५ रुपैयाँ, च्याउ (कन्य) १९० रुपैयाँ, च्याउ (डल्ले) २८६.६७ रुपैयाँ तोकिएको थियो । हिजोको तुलनामा आज रायो साग १० रुपैयाँ र कन्य च्याउ ९ रुपैयाँ र डल्ले च्याउ ३७ रुपैयाँ सस्तिएको हो ।[pdf id=512372]

२७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

फाइल फोटो काठमाडौं । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको २७०.०३ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित १११ मेगावाट, माथिल्लो साञ्जेनको १४.०८ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२.०५ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको नोक्सानी भएकाले तीव्र गतिमा निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिए । नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेको उनले बताए । रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्रीबी हब २२०/१३२/३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत् काठमाडौंको मातातीर्थ सवस्टेशनमा पुर्याइनेछ । चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटरको ४ सर्किट लाइन (२४ वटा टावर) छन् । चार सर्किट लाइन रहेको ८ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युत्लाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ । प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए तापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मिटर), मैलुङबेंसी (१२३५ मिटर) र हाकु (१४०० मिटर)मा तार तान्ने काम भइरहेको छ । मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाइन निर्माणलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत् आयोजनाको टेस्टिङ कमिसनिङसमेत सम्पन्न गर्न निर्देशन दिए ।

अन्नपूर्णमा सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

काठमाडौं । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ । ‘मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौँ,’ आयोजना प्रमुख डा रवीन कडरियाले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ ।’ स्थानीय होटल व्यवस्थापन समिति, आमा समूहलगायत क्लब परिचालन गरेर फोहर व्यवस्थापन गरिएको हो । सङ्कलन भएको फोहरलाई पोखरामा ल्याई प्रशोधन गर्ने ‘एक्याप’को योजना छ । अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सकभर पुनःप्रयोगमा आउने सामग्री लिएर जान अनुरोध गरिएको छ । ‘एक्याप’भित्र पर्ने स्थानीय तहले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाभित्र प्लाष्टिक झोला लैजान प्रतिबन्ध लगाइएको छ । ‘एक्याप’ भित्रने पर्यटकलाई ‘मेटाकार्ड’मार्फत फोहर व्यवस्थापनसम्बन्धी सन्देश दिन थालिएको छ । घान्द्रुक, सिकलेस, धम्पुसलगायत सांस्कृतिक पहिचानका गाउँमा पनि सरसफाइ अभियान सुरु भएको ‘एक्याप’ले जनाएको छ । ७ हजार ६ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखमा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका प्रमुखस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्र्रा सकिने पर्यटक पथप्रदर्शक दिवस गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा २ लाख २२ हजार १८० विदेशी पर्यटक भित्रिएका थिए । ती मध्ये एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका १ लाख ४ हजार २५६ पर्यटक रहेका छन् । ४ वर्षअघि अन्तर्राष्ट्रिय ‘ट्राभल साइट’ लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा समावेश गरेको थियो ।

सबै देशको मुद्राको भाउ बढ्दा जापानी येनको मूल्य घट्यो

काठमाडौं । अधिकाशं विदेशी मुद्राको भाउ बढेको छ । तर सबै देशको मुद्राको भाउ बढ्दा जापानी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.६१ रुपैयाँ र बिक्रीदर १४९.२८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.५२ रुपैयाँ र बिक्रीदर १७९.३२ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.४९ रुपैयाँ र बिक्रीदर १५८.१९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.४४ रुपैयाँ र बिक्रीदर ९१.८५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.८८ रुपैयाँ र बिक्रीदर ९९.३२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.६६ रुपैयाँ र बिक्रीदर १०४.१२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०७ रुपैयाँ र बिक्रीदर ४.०९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.३० रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.१६ रुपैयाँ र बिक्रीदर १३.२२ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.९३ रुपैयाँ र बिक्रीदर २०.०२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१६ रुपैयाँ र बिक्रीदर १७.२३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.६७ रुपैयाँ र बिक्रीदर ४३९.६३ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.३९ रुपैयाँ र बिक्रीदर ३५५.९९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

सुपर मादी हाइड्रोको लाभांश घोषणा, हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कात्तिक ५ गते काठमाडौंमा बिहान ११ बजे १५औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले ताप्लेजुङमा निर्माणाधिन २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न नाफा, कर्जा र हकप्रद सेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार गरी कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

१८ लाखले काठमाडौं छाड्ने, ६ हजार सवारी तयारी अवस्थामा

काठमाडौं । बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरेको छ । यसका लागि ५ हजारदेखि ६ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौं छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ । दसैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौं छाड्ने र भित्रनेको सङ्ख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त ? जानकारहरु सडकको अवस्था राम्र्रो नभएको बताउँछन् । कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दसैँसम्म ती काम पूरा हुनेमा उनीहरुको शङ्का छ । विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ । तर पनि दसैँसम्म पूरा हुने अवस्था भने देखिन्न । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताए । ‘खानेपानी तथा विद्युतका कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरुकै हो, काठमाडौं उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दसैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ,’ उनले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए । ‘मन्त्री दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ, सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ,’ उनले भने । उनकाअनुसार दसैँसम्म ३ हजार ८५६.४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म ७७२.८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए । ‘यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायीहरु, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरीलगायतसँग छलफल भइसकेको छ, चाडपर्व लक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ,’ उनले भने । चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताए । ‘सडक सुरक्षामा मानवीय पक्ष पनि जिम्मेवार हुन्छ । मानिसले आफ्नो दायित्व पूरा गरेमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, त्यसैले नागरिकका तहबाट पनि सहयोगको अपेक्षा गरिएको छ,’ उनले भने । सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ । सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ । जसमध्ये ७ हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिए । पटके मर्मतसम्भार हुने (तत्काल मर्मत गर्ने) सडक ५ हजार ७४६ किलोमिटर रहेको र आवधिक र पुनर्वासबाहेक मर्मत गर्नुपर्ने सडक ६ हजार किलोमिटर रहेको उनको भनाइ छ । ‘दसैँअघि ३ हजार ८५६ किमी सडकलाई खल्डारहित बनाउने योजना छ । जसमध्ये सोमबारसम्म ७७२ किमीमा काम भइसकेको छ,’ उनले भने, ‘सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि १११ वटा ठेक्का लगाइएकामा हालसम्म जम्मा ४ वटा ठेक्का सम्पन्न भइसकेका छन् ।’ उनका अनुसार काठमाडौं भित्रने प्रमुख मार्गमा नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण भत्किएका सडक निर्माणको काम भने दसैँ अगाडि पूरा हुने अवस्था छैन । ‘नागढुङ्गा सडकखण्ड ममर्त नभइ स्तरोन्नति गरिने भएकाले दसैँ अगाडि यो आयोजना पूरा हुने अवस्था छैन, मुग्लिङ–पोखरा सडकखण्डको पनि काम सकिने अवस्था नभएकाले यात्रामा केही असहजता भने हुने अनुमान छ,’ उनले भने । पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा बर्सेनि यात्रुले दुःख पाउने गरेको बताए । ‘दिगो सडक निर्माणका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्छ, त्यसबाहेक भौगोलिक अवस्थाबारे पनि राम्रो अध्ययन तथा अनुसन्धान आवश्यक हुन्छ,’ उनले भने । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए । ‘सडक राम्रो नहुनु, सवारीसाधनको चाप बढी हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारगरी यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारीसाधन सञ्चालन गर्नुलगायतका कारण दसैँमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ, दुर्घटना रोक्नका उपत्यका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दसैँमा सजकताका साथ जाँचमा कडाइ गर्ने योजना छ,’ उनले भने ।