७ अर्ब डलर आर्जन गर्ने भारतीय पर्यटन हुन सकेन ‘बाउन्स ब्याक’, ८ करोडको रोजगारी धरापमा
काठमाडौं । सन् २०१९/२० अर्थात् कोरोना भाइरस महामारी सुरु हुनुअघि भारतको पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ७ करोड ८९ लाख मानिसलाई रोजगारी प्रदान गरेको थियो । तर, अहिलेसम्म पनि भारतको पर्यटन लयमा फर्किन सकेको छैन । यसको कारण हो विदेशी पर्यटक अभाव । पर्यटन क्षेत्रले लय समाउन नसकेपछि यस क्षेत्रका व्यवसायीले सरकारसँग सहयोगको अपिल गरेका छन् । कोरोनाअघि भारतमा विदेशी पर्यटक राम्रो संख्यामा आउने गर्दथे । सन् २०१८/१९ सामान्य वर्ष थिए, अर्थात् त्यसबेलासम्म कोरोनाको आइसकेको थिएन । सरकारी तथ्यांकअनुसार २०१८ मा १ करोड ५ लाख विदेशी पर्यटक भारत आएका थिए भने २०१९ मा १ करोड ९ लाख पर्यटक भारत आएका थिए । त्यस्तै, कोरोना अवधिपछि २०२३ पनि सामान्य वर्ष नै रह्यो । तर, त्यस वर्ष भारतमा ९२ लतख ३६ हजार विदेशी पर्यटकमात्र आएका थिए । पर्यटन उद्योगका अगुवाहरू अहिलेको अवस्थामा जसरी बुकिङ भइरहेका छन्, त्यसले यो वर्ष पनि २०१९ को स्तरमा पुग्ने अपेक्षा नगरिएको बताउँछन् । विदेशी पर्यटक भारत आए पनि नआए पनि भारतबाट विदेश जानेको संख्या भने लगातार बढिरहेको छ । भारतकाे केन्द्रीय पर्यटन मन्त्रालयका अनुसार २०१९ मा २ करोड ६९ लाख भारतीयले विदेश भ्रमण गरेका छन् । २०२३ मा यो संख्या बढेर २ करोड ८२ लाख पुगेको छ । उद्योग संगठन फिक्कीको प्रतिवेदनले विदेश भ्रमण गर्ने भारतीयहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै भारतको बाहिरी पर्यटन बजार ५५ अर्ब ४० करोड अमेरिकी डलरको हुने जनाएको छ । यो संख्यो वार्षिक ११ प्रतिशतभन्दा बढीको वृद्धि दर्शाउँछ । भारतको शीर्ष इनबाउन्ड पर्यटन निकाय (आईएटीओ) ले सरकारसँग सहयोगको अपील गरेको छ । पछिल्ला केही वर्षयता भारतीय पर्यटन गन्तव्यका बारेमा कम प्रचारप्रसार भएको आईएटीओको भनाइ छ । वास्तवमा सरकारले यो कामका लागि बजेटको व्यवस्था घटाएको छ । यसका साथै देशका टुर अपरेटरले पाउने प्रोत्साहन पनि खारेज गरिएको छ । सरकारले चाहेमा यो सहयोग पुनः सुरु गर्न सक्छ । जसलाई बेलायत, क्यानडा, अमेरिका, जर्मनी, अस्ट्रेलिया, फ्रान्स र रुसजस्ता प्रमुख स्रोत बजारमा प्रवर्द्धनका लागि प्रयोग गर्न सकिने बताइएको छ । आईएटीओका अनुसार भारतको पर्यटन र ट्राभल क्षेत्रले २०१९/२० मा ७ करोड ९८ लाख प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गरेको छ । यो देशमा उपलब्ध कुल रोजगारीको १५.३४ प्रतिशत हो । २०२० मा यस क्षेत्रबाट करिब ७ अर्ब डलर विदेशी मुद्रा आर्जन भएको थियो । यतिमात्र होइन, कुल ग्राहस्थ उत्पादन (जीडीपी) को हिसाबले २०१९/२० मा पर्यटनले ५.१९ प्रतिशत प्रत्यक्ष-अप्रत्यक्ष योगदान गरेको छ । एजेन्सी
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री ही लिफेङबीच बेइजिङमा भेटवार्ता, केके भयो कुराकानी ?
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री ही लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौं रेल निर्माण, टोखा- छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गर्नु भएको छ । त्यसैगरी, चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् । भ्रमण टोलीमा रहनु भएका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए । करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए । चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङ लगायतका अधिकारी सहभागी थिए ।
आईएमई लाइफले ल्यायो ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’, यस्ता छन् विशेषता
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आवद्ध व्यक्तिलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिले न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेशागत व्यक्ति, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ । विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, विभिन्न २१ घातक रोगविरुद्धको रक्षावरणसहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने व्यवस्था कम्पनीले गरेको छ । साथै बीमाशुल्कको भुक्तानी बीमितको इच्छाअनुसार एकैपटक वा नियमितरूपमा तिर्न सकिनेछ । कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्तामार्फत सहज तरिकाले लिन सकिने ब्यहोरा कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फोक्सोलाई कसरी स्वस्थ राख्ने ?
काठमाडौं । हामीले हरेक वर्ष झैं यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रूपमा मनाउँदै आएका छौं । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको हाे । यस लेखमा फोक्सोले कसरी काम गर्छ र फोक्सोलाई कसरी स्वस्थ राख्ने तरिकाहरूको बारेमा संक्षिप्तमा जानकारी गराउने प्रयास गरिएको छ । सास फेर्ने प्रक्रिया सास फेर्दा, हामी नाक वा मुखबाट हावा लिन्छौं । यो हावा नासिका मार्ग वा मुखबाट स्वासका नलीहरू हुँदै फोक्सोमा पुग्छ । फोक्सोका सानो एयर स्याकहरू जसलाई एल्वियोली भनिन्छ, यहाँ अक्सिजन र कार्बनडाइअक्साइडको आदानप्रदान हुन्छ । रगतले एल्वियोलीबाट अक्सिजन ग्रहण गर्दछ र कार्बन डाइअक्साइडलाई वायुमार्गबाट नाक वा मुखबाट निस्किन्छ । फोक्सो आफैले सास तान्न सक्दैन । सास फेर्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने मांसपेशीहरूमा डायफ्राम र छातीका मांसपेशी (इन्टरकोस्टल मांसपेशीहरू) पर्छन्। डायफ्राम छातीको तल्लो भागमा एक गुम्बज आकारको मांसपेशी हो । यसले फोक्सोलाई फुल्न र खुम्चन मद्दत गर्दछ । इन्टरकोस्टल मांसपेशीहरू करंगका हड्डीको बीचमा अवस्थित हुन्छन । यी मांसपेशीहरूले छातीको केजलाई फुल्न र खुम्चन मद्दत गर्दछ। यिनै माम्सपेशीहरूको मद्दतले हामी स्वास फेर्छौं । फोक्सोका महत्त्वपूर्ण कार्यहरू फाेक्साेले कार्बनडाइअक्साइड हटाउने र शरीरमा अक्सिजन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ । सास फेर्दा वातावरणबाट अक्सिजन लिन्छ र शरीरमा उत्पन्न भएको कार्बनडाइअक्साइडलाई फोक्सो बाहिर फ्याँक्छ, जसले शरीरलाई स्वस्थ राख्छ र रक्तसञ्चारको शुद्धिकरण गर्छ। डा. रवि महत रोग प्रतिरोधात्मक क्षमता : फोक्सोमा साना रौंजस्ता सिलिया हुन्छन्, जसले धूलो, किटाणु र अन्य हानिकारक कणलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले शरीरलाई रोगबाट जोगाउँछ । ध्वनि उत्पादन : फोक्सोले नाक र मुखमार्फत सासको प्रवाहलाई व्यवस्थित गरेर स्वरयन्त्रमा ध्वनि उत्पादनमा सहयोग पुर्याउँछ । अम्ल-क्षारको सन्तुलन राेक्दछ : हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौं । हामीले एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११००० लिटर जति हावा लिन्छौं । प्रदूषित हावामा धुलोको कणहरू तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरू पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ । वायु प्रदुषण, जलवायु परिवर्तन र जीवनशैलीमा आएको परिवर्तनका कारण फोक्सोका विरामी दिन प्रतिदिन बढ्दै गएका छन् । जसका कारण विशेष गरि दमको समस्या, फोक्सोको क्यान्सरको समस्या बढ्दो क्रममा रहेको छ । फोक्सोका महत्त्वपूर्ण रोगहरू : दम (सीओपीडीर आस्थ्मा) : यो एक दीर्घकालीन समस्या हो। यसका लक्षणहरूमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सीठी बज्ने र छातीको दुखाइ आदि पर्दछन् । फोक्सोको क्यान्सर: फोक्सोको क्यान्सर एक गम्भीर रोग हो, जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो । निमोनिया: निमोनिया फोक्सोको संक्रमण हो । यो विभिन्न कारणले हुन सक्छ । जस्तै- ब्याक्टेरिया, भाइरस वा फङ्गस । निमोनियाका लक्षणहरूमा खोकी, ज्वरो, छाती दुखाइ र सास फेर्न गाह्रो हुने हुन् । क्षयरोग (टीबी) : यो एक संक्रामक रोग हो, यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाबाट हुन्छ । यसले मुख्यतया फोक्सो र शरीरका अन्य अंगहरूमा संक्रमण गर्दछ । फोक्सोलाई स्वस्थ राख्ने र रोग लाग्नबाट बचाउने केहि सरल उपायहरू : प्रदूषणबाट फोक्सोलाई बचाउने केही उपायहरू : -धुलोधुँवा, ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने -घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानी गर्ने -अरूले गरेको धुम्रपानबाट बच्ने र अरूलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने -खाना पकाउन, कोठाहरू तताउन कम प्रदुषण गर्ने इन्धन प्रयोग गर्ने -वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस् । -प्रदुषित क्षेत्रमा जानु पर्दा एन ९५ मास्क लगाउनुहोस् । -प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस् । फोक्सोलाई स्वस्थ्य कायम राख्न आहार र व्यायाम महत्त्वपूर्ण भूमिका खेल्छन् । स्वस्थ आहारमा हरियो सागपात, फलफूल समावेश गर्नुपर्छ। साथै, नियमित व्यायामले फोक्सोको कार्यक्षमतामा सुधार गर्छ । विशेषगरी, गहिरो सास फेर्ने अभ्यास, दौड्ने, पौडी खेल्ने, र योगजस्ता शारीरिक क्रियाकलापले फोक्सोको कार्यक्षमता बढाउँछ । फोक्सोको संक्रमणबाट जोगाउन संक्रमित व्यक्तिको वरपर नजाने, सामाजिक दूरी कायम राख्ने, हात धुने, माक्सको प्रयोग गर्ने, आफूलाई संक्रमण भए सावधानी अपनाउने आदि गर्नुपर्दछ । प्रशस्त झोलिलाे कुरा पिउनु स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण छ । पानीले फोक्सोको कार्यलाई सुधार गर्न मद्दत गर्दछ, पर्याप्त पानीले फोक्सोको कफलाई पातलो बनाउँछ, जसले श्वासप्रश्वासलाई सहज बनाउँछ । फोक्सोको स्वास्थ्यलाई जोगाउन खोप पनि महत्त्वपूर्ण हुन्छ । फ्लू र निमोनियाबाट बच्नका लागि खोपले केहि हदसम्म फोक्सोलाई संक्रमणबाट जोगाउँछ । (डा. रवि महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका श्वासप्रश्वास रोग विशेषज्ञ हुन्)
सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौंमा
धरान । सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा संघीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौं पुगेको छ । गत भदौ १३ र १७ गतेको भीषण वर्षाले कोशी राजमार्गमा भएको क्षति, धरान उपमहानगरपालिका–१३ भएर बग्ने खहरेखोलाको बाढीबाट भौतिक पूर्वाधारमा भएको हानी, पुनःनिर्माणलगायत जनसरोकारका विषय सम्बोधनका निम्ति तत्काल सहायता जुटाउने उद्देश्यले प्रतिनिधिमण्डल राजधानी पुगेको हो । प्रतिनिधिमण्डले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर जनसरोधकार विषयलाई गम्भीर रूपमा लिएर समस्या समाधानका निम्ति अनुरोध गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा सदस्य भीमज्वाला राईले बताए । टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र खानेपानीमन्त्री प्रदीप यादवलाई बेग्लाबेग्लै भेटेर धरानवासीका समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । मन्त्री दाहालले प्रतिनिधिमण्डलसँगको भेटमा सडक विभागका कार्यकारी निर्देशक रामहरि पोखरेललाई राखेर समग्र योजनाको टिप्पणी गर्न लगाई प्राथमिकताका आधार काम सुरु गर्न निर्देशन दिएको सदस्य राईले बताए । कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग सरकारको पहिलो प्राथमिकतामा रहेको र सहरी क्षेत्र र खहरेले पुर्याएको क्षतिका बारेमा प्रदेश र स्थानीय सरकारसँग संघीय सरकारले समन्वय गर्ने जानकारी मन्त्री दाहालले दिएको उनले बताए । प्रतिनिधिसभा सदस्यद्वय अशोक राई र सुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र विजय राई र धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायत स्थानीय सम्मिलित प्रतिनिधिमण्डलले सर्दु जलाधार जग्गा संरक्षणका नाममा २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको चार सय सात बिघा जग्गाभित्र परेका धरान–१५ बाँझगरा ९ (क) र घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न तथा धरान उपमहानगरपालिका–१३ का वडावासीको निजी जग्गा पनि जलाधारका नाममा रोक्का गरिँदा तीन हजार परिवार समस्यामा परेकोबारे जानकारी गराएको थियो । प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनका कारण जनताले पीडा खेप्नुपरेको भन्दै यसलाई क्रमशः समाधान गर्ने बताएका थिए । अविरल वर्षाका कारण धरान–१३ स्थित गौरामार्ग खानेपानी संरचनामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको, धरान उपमहानगरपालिका–४ को सेर्केबाट शिवधारासम्मको दुई हजार सात सय मिटर क्षेत्रमा बिछ्याइएको ६३ एमएमको सबै बगाएकाले आवश्यक व्यवस्थाका लागि मन्त्री यादवसमक्ष अनुरोध गरेको थियो ।
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
घोराही । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ । मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएको उनले बताए । ‘मेरो सानो रिसोर्ट पनि भएकाले बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रवर्द्धन भएको छ’, उनले भने । सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका, गर्मीका बेला दैनिक २५–३० जना बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक एक लाख ५० रुपैयाँ आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए । उनले भने, ‘मेरो व्यवसायमा स्थानीय दुई जनालाई रोजगारी दिएको छुभने घरका पाँच जनाले पनि काम गर्दै आएका छौँ ।’ बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरेको जानकारी दिँदै उनले यसमा हालसम्म एक करोड १० लाख रुपैयाँ लगानी गरेको र भविष्यमा व्यवसाय विस्तार गर्ने योजना सुनाए ।
सहकारीमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी नगर्ने, यस्ता छन् निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा पालना गर्न विभिन्न सुझावसहितको निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै सहकारी संस्था र सदस्यलाई विभिन्न काम नियमानुसार पालना गर्न निर्देशन दिएको हो । नक्कली ऋणी खडा गरी लगानी नगर्ने, धितो या जमानी नराखी वा न्यून धितो राखी ऋण लगानी नगर्ने, पुँजी कोषको १० प्रतिशतभन्दा बढी रकम एक सदस्यलाई लगानी नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्ने, संस्थाको बचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घरजग्गाको किनबेच वा कारोबारमा लगानी नगर्न महानगरपालिकाले निर्देशन दिएको हो । यस्तै बचत प्रयोग गरी सेयर किनबेच प्रयोजनका लागि प्रयोग नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीतका कार्यमा खर्च नगर्ने, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्ने, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्ने, सदस्य बाहेकका व्यक्तिलाई ऋण लगानी नगर्ने, संस्थाले प्रदान गर्ने बचत र ऋणको व्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी कायम नगर्ने, प्राथमिक पुँजी कोषको १५ गुणाभन्दा बढी हुने गरी बचत सङ्कलन नगर्ने महानगरपालिकाको निर्देशन छ । एकाघरका सदस्य र एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक समितिमा नराख्ने, सञ्चालक समितिका ४९ प्रतिशत सदस्यहरूलाई एकैपटक ऋण लगानी नगर्ने र एकै व्यक्ति वा परिवार भित्रका व्यक्ति सञ्चालक समिति र प्रबन्धकको दोहोरो जिम्मेवारीमा नरहने गरी काम गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।
सवा ६ करोड खर्चेर बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन
बलेवा । काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मंगलबार हस्तान्तरण गरे । दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छ करोड १२ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण भएको हो । ‘भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ’, अध्यक्ष कँडेलले भने, ‘पाँच शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ, जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालनमा गरिने छ ।’