आन्टरप्रेनर समिट हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने
काठमाडौं । नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ । असोज १९ गते शनिबार काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना हुन लागेकाे हाे । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागी हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन् । नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सिईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल होलगायत अन्तर्राष्ट्रिय वक्ताको रूपमा आउँदैछन् । साथै सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सिईओ सुशील ज्ञवाली पनि सहभागी हुने अपेक्षा गरिएको छ । उद्यमशीलताका बारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरू पनि सहभागी हुनेछन् । यसले स्टार्टअप संस्थापक, व्यवसायिक नेतृत्वकर्ता र लगानीकर्ताहरूलाई नेटवर्किङ, रणनीति साझेदारी र सहकार्यको अवसर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ। स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आईपे जस्ता प्रमुख फिनटेक कम्पनीहरू र नबिल बैंक, ग्लोबल बैंक, सिटिजन बैंक जस्ता ठूला वित्तीय संस्थाहरूले भाग लिएका थिए । यस पटकको उद्यमी शिखर सम्मेलन २०२४ मा नेपालको स्टार्टअप इकोसिस्टमलाई विश्वव्यापी मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्यभार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यताअनुसार आधार वर्ष परिवर्तन गरेको बताएको छ । पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपरेका कारण आधार वर्ष परिवर्तन भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले परिवर्तन गर्न खाजेका कुराहरु अहिले नै पूर्ण नहुने भन्दै परिवर्तन निरन्तरको प्रक्रिया भएको बताए । उपभोक्ता मूल्य सूचकांकमा केही तल माथि भए आगामी दिनमा सुधार गर्दै लैजाने जानकारी दिए । यस्तै, उनले उपभोक्ता मूल्य सूचकांक मार्केट सेन्टरहरु बढेर गएका, ५० जिल्ला मात्रै समेटिएकोमा अहिले सबै जिल्ला समेटिएको भएको बताए । ४९६ वस्तुहरुको मूल्य संकलन गरिने भएपनि अहिले ५२५ पुर्याइएको बताए । ‘उपभोक्ता मूल्य सूचकांक’ उपभोगको प्रवृत्ति भएको परिवर्तन र समयाअनुकलका मूल्यहरुलाई पनि समावेश गराएर डाइनामिक बनाउन खोजिएको जानकारी दिए । उनले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार र वस्तुको वास्तविक मूल्य समावेश गर्नेगरी उपभोक्ता मूल्य सूचकांक बनेको बताए । उनले बजार मूल्यसँग राष्ट्र बैंकले प्रकाशित गर्ने मूल्य मिल्दोजुल्दो नभएको भन्ने सन्दर्भमा समग्र वस्तुको मूल्यको आधारमा मूल्य सूचकांक निकालिने हुँदा त्यस्तो देखिएको जानकारी दिए । ‘एउटा मात्रै वस्तुको मूल्य १० रुपैयाँले बढ्यो र अन्य कुनैपनि वस्तुको मूल्य परिवर्तन भएन मसिनो चामलको मात्रै एक वर्षमा १० मूल्य बढ्यो भने समग्र सूचकांकमा १ प्रतिशत भन्दा तल बढ्यो । तर बजारमा प्रश्न आउन सक्छ । यो परिवर्तनसँगै विगतको भन्दा वास्तविकता हुनेछ’, उनले भने । संघीय संरचनाअनुसार तथ्यांक संकलन गर्न आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा परिमार्जन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रिय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो । राष्ट्र बैंकका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिने गरेको जनाएको छ ।
‘सबै लगानीकर्ता मिलेर सेयर बजारमा सुझबुझ ढंगबाट कारोबार गरौं’
काठमाडौं । लगानीकर्ताहरूले सेयर बजारलाई प्राकृतिक ढंगले सञ्चालक हुन दिन माग गरेका छन् । जनरल इन्भेस्टर एसोसिएन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विगत केही दिनदेखि नेपालको पुँजी बजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएकोमा उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका हुन् । पुँजी बजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरू नरहेको उनीहरूको भनाइ छ । ‘यस सम्बन्धमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासा राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न र आमलगानीकर्ताको अधिकारको सुनिश्चितता गर्न नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्नसमेत उनीहरूले आग्रह गरेका छन् । ‘आमलगानीकर्ता कसैको लहलहमा नलागी सुझबुझ ढंगबाट कारोबार गर्न र पुँजीबजार सुधारका लागि एकजुट भएर अगाडि बढ्नसमेत अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एडीबीको प्रक्षेपण- मुद्रास्फीति ५ प्रतिशतभित्रै सीमित गर्ने राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्छ
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेकाे छ । जुन प्रक्षेपण आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि हाे । एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले अर्थतन्त्र विस्तार हुने जनाएकाे हाे । ‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल ग्राहस्थ उत्पादन (जीडीपी) बढ्नेछ,’ नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनो कोश्वाले भने । एसियन डेभलपमेन्ट आउटलुकका अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि खाद्य भित्र्याउने समयकाे अनुकूलतामा निर्भर रहनेछ । आउटलुकले विद्युत् उत्पादन क्षमतामा वृद्धि भएसँगै औद्योगिक वृद्धिलाई टेवा दिने जनाएकाे छ । यसैगरी, पर्यटकको आगमनमा वृद्धिले विभिन्न गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । त्यस्तैगरी, एडीबीले लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरेकाे आउटलुकले जनाएकाे छ । चालु आर्थिक वर्षमा मुद्रा स्फीति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने एडीबीले जनाएकाे छ । त्यस्तै, व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक विप्रेषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ । यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा चालु खाता घाटा कुल ग्राहस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्ने एडीबीकाे प्रक्षेपण छ । जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो । त्यस्तैगरी, एडीबीले मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्ने पनि बताएकाे छ । साथै विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ0 । त्यस्तै, प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूपमा रहेकाे आउटलुकमा उल्लेख छ । एडीबी समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत् चरम गरिबी निवारणको पहललाई जारी राख्न प्रतिवद्ध छ । सन् १९६६ मा स्थापना भएको एडिबीमा ६८ सदस्यहरूको स्वामित्व रहेको छ र ती मध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।
‘अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतका लागि विभिन्न अवकाश योजना’
काठमाडौं । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्लेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैंकमा तीस वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका छन् । राष्ट्र बैंकबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा चार वर्ष र कोषमा आउनुअघि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश : कोषले २९औं वार्षिक साधारणसभा केही समयअघि सम्पन्न गरेको छ । साधारणसभाले के सन्देश दिएको छ ? कोषले हालका वर्षमा साधारणसभा नियमित रुपमा गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा असार मसान्तभित्रै सम्पन्न गरेको छ । यो कोषको २९औं साधारणसभा हो । साधारणसभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । कोषको ३३ वर्षको इतिहास सन्तोषजनक रहेको छ । कोषले नियमित रुपमा आफ्ना सेयरधनीहरूलाई उचित प्रतिफल दिँदै आएको छ । एक करोड ४४ लाखको चुक्ता पुँजीबाट स्थापना भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ । कोषले आव २०७९/८० वितरण गरेको बोनस सेयरपश्चात कोषको चुक्ता पुँजी छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अहिले कोषले के कस्ता योजनाहरु सञ्चालन गरिरहेको छ ? कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । कोषले सञ्चालन गरेका कार्यक्रमरूमा कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजना रहेका छन् । कोषले साना तथा मझौलास्तरका बचतकर्ताहरुको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धि लगायतका योजना सञ्चालन गरेको छ भने सार्वजनिक संस्थान र अन्य सङ्गठित संघसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व व्यवस्थापनका लागि क्रमिक रुपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्ने लगायतका कार्य गर्दै आइरहेको छ । यसका अतिरिक्त आम नेपाली नागरिकलाई समेट्ने गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ । साथै, पुँजी बजारको विकासमा सघाउ पुग्नेगरी पुँजी बजारसम्बन्धी विभिन्न गतिविधिहरुमा समेत कोष संलग्न रहेको छ । सहभागीलाई दिने सेवालाई कसरी चुस्त राख्नु भएको छ ? कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ । कोषको हिसाबकिताबलाई चुस्तदुरुस्त राख्न अटोमेसनलाई कोषले विशेष प्राथमिकतामा राखेको छ । कोषको काम कारबाहीलाई बढीभन्दा बढी यान्त्रिकीकरण गर्न कोषले डिजिटलाइजेसनलाई विशेष महत्वका साथ अघि बढाएको छ । यसबाट क्रमिक रूपमा कागजरहित सेवा बढाउँदै लान मद्दत मिल्नेछ । हालै सेवाग्राहीलाई अनलाइन पेमेन्ट तथा सूचना लिने सुविधाका लागि कोषले सिआइटी स्मार्ट मोबाइल एप विकास गरी कार्यान्वयनमा ल्याएको छ । यो एप डाउनलोड गरेर सेवाग्राहीले विभिन्न किसिमका सेवा र सुविधा लिन सक्नेछन् । सेवाग्राहीबाट सङ्कलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली, स्थानीय निकायहरुलाई समेटेर बनाएको प्रणालीको माध्यमबाट रकम जम्मा गर्ने पूर्वाधार विकास गरिएको छ । सहभागीलाई ऋणको किस्ता भुक्तानीलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याउन प्राथमिकताका साथ कार्य भइरहेको छ । सहभागीहरुलाई डिजिटल परिचयपत्र दिनेतर्फ समेत कोषले कार्य गरिरहेको छ । कोषले कुन क्षेत्रमा कति लगानी गरिरहेको छ ? गत आवको असार मसान्तसम्म कोषमा २४९ अर्ब रुपैयाँ कोष मौज्दात जम्मा भएको छ । सो समयमा कोषको लगानी २४३ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानीमा रहेको छ । करिब २२ प्रतिशत सहभागी कर्जाका रुपमा लगानी छभने संस्थागततर्फ कोषको कर्जाको अंश करिब ११ प्रतिशत रहेको छ । सरकारी ऋणपत्र, सङ्गठित संस्थाको शेयर धितोपत्र र बण्डलगायतमा कोषले करिब १३ प्रतिशत लगानी गरेको छ । यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रुपमा लगानी गरिरहेको छ । लगानीको तथ्याङ्क हेर्दा कोषको लगानी अझै पनि निक्षेपतर्फ बढी देखिन्छ । यसलाई विविधीकरण गर्न कोष विशेष रुपमा प्रयत्नशील रहेको छ । कोषले आम नागरिकलाई कसरी समेटिरहेको छ ? कोषका योजनाहरुमध्ये धेरैजसो योजनहरु राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाई समेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा मुलुकभर बस्ने दूरदराज, गाउँठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्यसहित योजना सञ्चालनमा ल्याइएको हो । यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि उहाँहरुले कमाएको केही पैसा अवकाश कालमा सदुपयोग होस् भनी त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्यसमेत नागरिक पेन्सन योजनामा रहेको छ । यस योजनामा न्यूनतम पाँच सय रुपैयाँ मासिक बुझाएर कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था रहेको छ । उहाँहरुले सक्रिय जीवनमा कमाएर यस योजनामा जम्मा गरेको रकम बचतकर्ताको उमेर ६० वर्ष पूरा भएपछि १५ वर्ष योगदान गरेको अवस्थामा वा बचत कर्ताको १५ वर्ष बचत नगर्दै ६० वर्ष उमेर पूरा भएमा उहाँहरुको इच्छाअनुसार मासिक पेन्सनका रुपमा उपलब्ध गराउने वा एकमुष्ट रकम भुक्तानी दिने व्यवस्था कोषले मिलाएको छ । यो योजनालाई प्रभावकारी बनाउन चालु आवको सुरुआतदेखि नै स्थानीय निकायसँग समेत समन्वय गरेर आम नागरिकलाई कार्यक्रममा समावेश गर्ने सोचाइ राखेका छौंँ । यसैगरी, वैदेशिक रोजगारमा रहनुभएका र वैदेशिक रोजगारमा जानुहुने नेपाली नागरिकलाई यस कार्यक्रममा आकर्षित गर्न प्रचारप्रसार गर्ने, उहाँहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने योजना बनाइएको छ । सबै नेपालीहरुले सहभागिता जनाउन सक्ने कोषले सञ्चालन गरेको अर्को कार्यक्रम नागरिक एकाङ्क योजना पनि हो । लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोष जस्ता फरकफरक संस्था आवश्यक थियो र ? यी संस्थाहरुको कतिपय कार्य समान प्रकृतिका भए पनि यी संस्थाहरु भिन्न समयमा भिन्न उद्देश्यका साथ स्थापना भएका हुन् । यी संस्थाहरुले हाल सञ्चालन गर्दै आएका केही कार्यहरु मिल्दाजुल्दा प्रकृतिका छन् । पछिल्लो समय कतिपय प्रसङ्गमा यी संस्थाहरुलाई गाभेर एउटै संस्था बनाउँदा के हुन्छ भन्ने धारणा पनि आउने गर्दछ । सञ्चय कोष राष्ट्र सेवक कर्मचारीहरुसँग लक्षित रहेको छ । सामाजिक सुरक्षा कोष भने औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी कार्यमा रहेको छ । लगानी कोषले भने विशिष्टीकृत ढङ्गले काम गर्ने क्षेत्र पहिचान गर्दै नयाँ कार्यक्रम/योजना सञ्चालन गरेर स्वेच्छिक प्रकारको अवकाश योजनाहरु सञ्चालन गर्ने, राष्ट्रसेवक कर्मचारीहरुका लागि योगदानमा आधारित सावधिक जीवन बीमा कोष सञ्चालन गर्ने र पुँजी बजारको विकासका लागि आवश्यक कार्य गर्ने गर्दछ । यी तीनवटै संस्थाहरु नेपाल सरकारको समेत स्वामित्व भएका संस्था भएकाले आवश्यकताका आधारमा नै स्थापना भएका हुन् । कोषले लगानी विविधीकरण गर्न सकेन भन्ने कुरामा यहाँ के भन्नुहुन्छ ? कोषमा योगदान गर्नुहुने सहभागीको पैसालाई कोषले लगानी गर्दा सतर्कताका साथ जोखिम रहित ढङ्गले लगानी गर्नु पर्दछ । यसरी गरिने लगानीबाट उचित प्रतिफल समेत प्राप्त हुने गरी लगानी गर्नुपर्दछ । कोषका सहभागीहरु राष्ट्रसेवक कर्मचारी, संघसंस्थामा काम गर्ने कर्मचारीहरु क्रमिक रुपमा अवकाश हुँदै जानुहुन्छ । अवकाश कोष सञ्चालन गर्ने संस्थाले उहाँहरुलाई नियमित रुपमा भुक्तानी गर्ने गरी तरलताको व्यवस्थापन पनि गर्नुपर्दछ । यो भन्नाले मुद्धती निक्षेपमा धेरै रकम राख्नुपर्छ भन्ने पनि होइन । तर, मुद्दती निक्षेप पनि आवश्यक भएको क्षेत्र हो । कोष सामु लगानीलाई थप विविधिकरण गर्नु पर्ने चुनौतीहरु रहेको छ । हाल औसतमा ५२ प्रतिशत जति रकम मुद्दती निक्षेपमा रहेको छ । यसलाई विविधीकरण गर्नेतर्फ कोषले योजना बनाई कार्य अघि बढाएको छ । खासगरी सरकारी पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाउन आवश्यक नीतिगत सुधारका लागि कार्य भइरहेको छ । यसैगरी विशिष्टीकृत कोष र पुँजी बजारमा लगानी बढाउन कोष लागि परेको छ । अर्थात् कोषले लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । कुन क्षेत्रमा लगानी गर्ने सोच्नुभएको छ ? कोषले लगानी विविधीकरणलाई मूल एजेन्डाका रुपमा अगाडि सारेको छ । यही अनुसार वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरेर कोष अगाडि बढेको छ । विविधीकरणको क्षेत्र पहिचान गर्ने क्रममा सरकारको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाइने छ । नेपालको परिवेशमा हेर्दा हाल जलविद्युत्को क्षेत्र नै सबैभन्दा प्रमुख प्राथमिकता भएको र राम्रो भविष्य भएको क्षेत्र रहेकाले यसतर्फ लगानी विस्तार गर्ने सोचाइ छ । अहिले पनि विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्ने सन्दर्भमा द्विपक्षीय छलफल र वार्ता अगाडि बढिरहेको छ । यसैगरी, कृषि क्षेत्रमा के कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ समेत अध्ययन भइरहेको छ । विशिष्टीकृत फन्डमार्फत विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि नीतिगत व्यवस्था गर्न आवश्यक देखिएको र उक्त दिशामा समेत कार्य भइरहेको छ । ‘प्राइभेट इक्विटी फन्ड’तर्फ जाने सम्बन्धमा पनि कोषले छलफल अगाडि बढाएको छ । लगानी विविधीकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटमा नेतृृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीका रुपमा नागरिक ‘स्टक डिलर’ सञ्चालनमा रहेको छ । उक्त स्टक डिलर पुँजी बजारमा सक्रिय रहेको छ । यो पनि कोषको एउटा लगानीको पाटो जस्तै रहेको छ । यसको अलावा पुँजी बजारमा सक्रिय भूमिका बढाउने, पुँजी बजारतर्फ लगानीलाई उल्लेखनीय बढाउने सोचाइसमेत कोषको रहेको छ । कोषलाई सेवाग्राहीले कसरी लिने ? सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ । सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ । सहभागीहरुलाई अन्य किसिमका सेवासुविधा दिने, ब्याजदरको अलावा बोनस/प्रतिफल दिने कार्य पनि कोषले गरिरहेको छ । सहभागीहरुलाई बीमा, औषधोपचार लगायतको सुविधा दिनेतर्फ कोषले काम गर्नेछ । कोषप्रति विश्वास गर्न र कोषका विभिन्न योजना कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारीहरु तथा अन्य संघसंस्थाका कर्मचारीहरुका लागि सञ्चालन गरिएका कार्यक्रमहरुका अतिरिक्त आम नेपाली नागरिक विशेषतः वैदेशिक रोजगारीमा जानु भएका दाजुभाइ दिदीबहिनीहरुलाई समेत लक्षित गरेर कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । अन्त्यमा के भन्न चाहनुहुन्छ ? नागरिक लगानी कोषले सहभागीहरुको अवकाश जीवनलाई सहज बनाउन वित्तीय स्रोतको लागि विभिन्न अवकाश योजनाहरु सञ्चालनमा ल्याएको छ । यसै सिलसिलामा सरकारी, गैरसरकारी संघसंस्थामा कार्यरत धेरैजसो कर्मचारीहरुले कोषको योजनामा सहभागिता जनाइसक्नु भएको छ । कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका, एवं कृषि पेसामा रहनुभएका आम नागरिकलाई समेत लक्षित गरी नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको केही रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउन सबैमा अनुरोध गर्दछु । यसैगरी, नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्ने र सहभागीहरुलाई उचित प्रतिफल दिने हुनाले नागरिक लगानी कोषप्रति विश्वास गर्दै यसका योजनाहरुमा सहभागी हुन सबैमा पुनः आग्रह गर्न चाहन्छु । रासस
सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट
काठमाडौं । सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट पाउने भएका छन् । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यू आर स्क्यान) मार्फत सीजी डिजिटल प्राइभेट लिमिटेडमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएकाे छ । साथै सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (इएमआई) मा परिणत गर्दा १ हजार रुपैयाँ बराबरको क्याशब्याकको व्यवस्था पनि गरिएकाे छ । क्याशब्याक न्यूनतम ३० हजार रुपैयाँकाे कारोबारमा प्रदान गरिनेछ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital- banking/offers मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
दुई वर्षदेखि भुक्तानी रोकिएको छ, सरकारले ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ : अध्यक्ष सिंह
काठमाडौं । निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । बुधवार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो गुनासो गरेका हुन् । निर्माण व्यवसायीहरूले नयाँ सरकारले गरेका प्रतिबद्धताअनुसार निर्माण व्यवसायीहरूका समस्या समाधान हुने ठूलो आशा राखे पनि दुई महिनासम्म पूरा हुन नसकेको बताए । निर्माण व्यवसायीहरूका समस्या समाधान हुने अपेक्षा कमजोर भएको उल्लेख गरे । निर्माण व्यवसायीहरूले सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वसन पाएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशका दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेको दुई महिना भएपनि निर्माण व्यवसायीका समस्यामा सरकार मौन बसेको बताए । उनले सरकारले गर्नुपर्ने भुक्तानी र अन्य समस्या तत्काल समाधान हुने आशा जगाए पनि निर्माण व्यवसायीहरुले अनुभव गर्न नपाएको गुनासो गरे । उनले आपूर्ति चक्रमा समस्या हुँदा भुक्तानी गर्न नसकिएको बताए । अध्यक्ष सिंहले मौद्रिक नीतिले मंसिर महिनासम्म निर्माण व्यवसायीहरूले बुझाउनुपर्ने किस्ता र ब्याजको लागि सहुलियत दिएपनि त्यसले निर्माण क्षेत्र चलायमान हुनसक्ने अवस्था नरहेको बताए । उनले भने, ‘सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । काम गरेको भुक्तानी लिन र समस्या समाधानको लागि व्यवसायीहरू मिडिया जानुपर्ने अवस्थाको निराकरण नहुने हो भने आउने वर्षमा निर्माण व्यवसायी सरकार प्रति ढुक्क हुने अवस्था आउँदैन । विगत दुई वर्षदेखि भुक्तानी हुन छाडेको छ । ६ सय अर्बका आयोजनाहरू नखुम्च्याएसम्म यसको निराकरण हुँदैन ।’ अध्यक्ष सिंहले वर्षातपछि निर्माणको योजना बनाउनुपर्ने समय भएपनि व्यवसायीहरूले निर्माणको योजना बनाउन नसकेको पनि बताए ।
गुडलाइफले ल्यायो विश्वको पहिलो ‘कफी चेविङ्गम’
काठमाडौं । कफीप्रेमीहरूका लागि अब कफीशप धाइरहन पर्दैन । कपको आवश्यकता बिना कफीको चाहना अब गुडलाइफले पूरा गर्ने भएकाे छ । गुडलाइफले कफी चेविङ्गम बजारमा ल्याएकाे छ । कम्पनीका अनुसार याे विश्वको पहिलो चेविङ्गम हाे । वास्तविक तरल कफी भएको ‘कफी गम’ क्यापुचिनो र अमेरिकानो मन पराउनेहरूका लागि सान्दर्भिक हुने गुडलाइफले जनाएकाे छ । कफी गमकाे मूल्य केवल २.५ रुपैयाँ हो। ग्राहकले दुई जार कफी गम किन्दा एक नि:शुल्क कप प्राप्त गर्नेछन् । प्रत्येक जारमा १५० वटा गम समावेश राखिएकाे छ । कफी गम २० सेप्टेम्बरदेखि बजारमा उपलब्ध भइसकेकाे कम्पनीले जनाएकाे छ ।