विकासन्युज

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए । ‘साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो, सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ,’ उनले भने । नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।

वर्षाका कारण जिल्लाका अधिकांश सडकहरू अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाका कारण पाँचथरमा मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण उत्तर-दक्षिण तमोर कोरिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमामा पर्ने नाँवा खोलामा बाढी आएको छ । बाढीका कारण यो सडकमा बिहीबार सवारीका साधन रोकिँदा यात्रुले सास्ती भोग्नु परेको थियो । शुक्रबार भने प्रहरीले उक्त सडक हुँदै सवारी नचलाउन सूचित गरेको छ । निर्माणाधीन यस सडकमा पर्ने खोलाहरूमाथि पुल बनिसकेका छैनन् । द्रूत मार्ग भएका कारण धेरै सवारीका साधनले यो सडक प्रयोग गर्ने गर्दछन् । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ स्थित मेवा खोलामा निर्माण गरिएको डाइभर्सनमा पानी सडकको तहमा आएपछि सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–३ रिजाल भिरमा समेत पहिरो झरेर यातायात अवरुद्ध भएपछि स्थानीयवासी, जनप्रतिनिधि तथा सडक कालोपत्रको काम गरिरहेका निर्माण व्यवसायीले सडक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् । बाढीले गत वर्ष दोभानेस्थित सडक पुल तथा यस वर्ष याङवरक गाउँपालिका–३ ओयाममा तीनवटा सडक पुल बगाएपछि वर्षा हुनासाथ सडक अवरुद्ध हुने गरेको वडाध्यक्ष बिमल राईले बताए । यस्तै, भेडेटार–रबि–राँके सडकको गेलीभञ्ज्याङमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । उक्त सडक सञ्चालन हुन नसकेकाले तत्कालका लागि वैकल्पिक सडक प्रयोगगरी यात्रा गर्न गाउँपालिकाले आग्रह गरेको छ । वैकल्पिक सडकहरू सञ्चालन रहेको पनि गाउँपालिका अध्यक्ष आङदेम्बेले बताए । यस्तै, बाढी आएपछि फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङ जोड्ने सडकको घुमाउने टारस्थित डाइभर्सनमा पानी सडकको सतहसम्म आएर सडक अवरुद्ध भएको छ । गत वर्ष बाढीले सडक पुल बगाएपछि यहाँ डाइभर्सनबाट सवारी आवागमन हुने गरेको छ । सवारीका साधनको अधिक चाप हुने मेची राजमार्ग भने हालसम्म सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

भारी हिमपात, हिउँमा फसेका चार पर्यटकको उद्धार

काठमाडौं । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ । उद्धार हुनेमा सिङ्गापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णराज गुरुङ, सुनसरीको धरान उपमहानगरपालिका–११ का ६४ वर्षीय भीमबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ का २२ वर्षीय विपन तामाङ रहेका छन् । शुक्रबार ती पर्यटकहरू सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्बिलामा बाटो भुली अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार उनीहरूको उद्धारका लागि प्रहरी र स्थानीय परिचालन भएका थिए । ‘भारी हिमपातका कारण करिब २ घण्टा तलको पैदल दूरीसम्म हिउँले बाटो पुरिएपछि उनीहरू अलपत्र परेका थिए, प्रहरीसहित पुगेको स्थानीयको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थान लबुचेमा ल्याएको छ,’ प्रहरी नायब उपरीक्षक घिमिरेले भने । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरूलाई लबुचेस्थित होटलमा राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका दुई जिल्लामा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए । लगातारको वर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ केभी प्रसारणको लाइनको तार टुटेर ३३ केभीमा परेकाले यहाँका दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । ‘१३२ केभी प्रसारणको लाइनको तार दार्चुलाको नाइलमा ३३ केभीमा खस्न गएर विद्युत् सेवा अवरुद्ध भएको छ,’ उनले भने । विद्युत् सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिकको परिचालन गरिएको प्रमुख पौडेलले बताए । दुई दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

ग्लोबल आईएमई बैंकका सबै शाखाबाट सुकिला नोट साट्न पाइने

काठमाडाैं ।  ग्लोबाल आईएमई बैंकको सबै शाखाबाट सुकिलो नोट साट्न पाइने भएको छ । बैंकले एक सूचना जारी गर्दै सबै शाखाबाट नोट सटही सुविधा राखेको जानकारी दिएको छ । बैंकका अनुसार सोमबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नोट सटही गर्न सकिने छ । त्यसैगरी, शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सटही गर्न सकिने छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । असोज १३ गतेदेखि २३ गतेसम्म नोट सटही सुविधा पाइने छ । तर, उक्त मितिभित्र सार्वजनिक बिदा रहेको दिन भने यो नोट साट्न पाइने छैन ।

थाइल्यान्डदेखि हङकङसम्मको स्याम्फुले नुहाउँछन् नेपाली, २ महिनामा साढे २३ करोडको आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ) मा २३ करोड ६४ लाख ८९ हजार रुपैयाँको स्याम्फु आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार २७ वटा देशबाट ४ लाख ९१ हजार ७३६ लिटर स्याम्फु नेपाल भित्रिएको हो । जसमध्ये बसैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ५ करोड ४३ लाख ७२ हजार रुपैयाँको १ लाख ५० हजार ७३५ लिटर स्याम्फु आयात भएको छ । यसैगरी, थाइल्याण्डबाट ८३ लाख ३६ हजार रुपैयाँको १८ हजार ४९२ लिटर, भियतनामबाट ७७ लाख २६ हजार रुपैयाँको ५ हजार ८० लिटर, दक्षिन कोरियाबाट २४ हजार २४ लाख रुपैयाँको ४ हजार ४७३ लिटर र अमेरिकाबाट १० लाख ४० हजार रुपैयाँको १ हजार २९५ लिटर स्याम्फु आयात भएको विभागले जनाएको छ । त्यसैगरी, यूएईबाट ९ लाख ७१ हजार रुपैयाँको ३ हजार १४७ लिटर, इजीप्टबाट ५ लाख ७८ रुपैयाँको १ हजार ८० लिटर, जर्मनीबाट ५ लाख ४१ हजार रुपैयाँको ३५० लिटर, बेलायतबाट ४ लाख ९४ हजार रुपैयाँको ४३२ लिटर, कतारबाट ३ लाख ३५ हजार रुपैयाँको ८२६ लिटर, जापानबाट ३ लाख ३७ हजार रुपैयाँको ६६ लिटर, डेनमार्कबाट २ लाख ६४ हजार रुपैयाँको १०८ लिटर, मलेसियाबाट २ लाख १९ हजारको २०५ लिटर, अस्ट्रेलियाबाट १ लाख ७६ हजार रुपैयाँको ३८ लिटर, इटलीबाट १ लाख ३८ हजार रुपैयाँको १३७ लिटर र मेक्सिकोबाट २ लाख २० हजारको १७८ लिटर स्याम्फु आयात भएको छ । यस्तै, कुवेतबाट ७६ हजार रुपैयाँको १५९ लिटर, साउदी अरबबाट ४७ हजारको ५७ लिटर, पाकिस्तानबाट ३३ हजारको ८६ लिटर, ओमनबाट १५ हजारको ४९ लिटर, इजरेलबाट ६ हजारको ४ लिटर, फ्रान्सबाट ४ हजारको १ लिटर, साइप्रसबाट ४ हजारको ६ लिटर, ताइवानबाट ४ हजारको १ लिटर र हङकङबाट १ हजार रुपैयाँको ३ लिटर स्याम्फु आयात भएको छ ।

डेङ्गी नियन्त्रण नीति निर्माण गर्न शेरबहादुर नेतृत्वमा कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेंगी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ । गठित समितिमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्य सचिव तोकिएका छन् । देशैभर अस्पतालमा डेङ्गीका बिरामी बढेपछी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि तदारुकता देखाएका थिए । उनकै निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ । कार्यदललाई अल्पकालीन तथा दीर्घकालीन रूपमा चालिने कदम तथा नीतिबारे सुझाव दिन जिम्मेवारी तोकिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । प्रभावकारी जनचेतनाका उपाय सुझाउन जिम्मेवारी तोकिएको छ । यसैगरी समुदायस्तरमा डेङ्गी नियन्त्रणका नयाँ र भरपर्दो विधिसहित सुझाव प्रदान गर्न जिम्मेवारीसमेत कार्यदलले पाएको छ । डेङ्गीबाट हुने मृत्युदर कम गर्ने प्रभावकारी उपाय सुझाउन समेत समितिलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगले गर्यो आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । दशैंतिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापनलगायतका विषयमा आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो । ‘आम उपभोक्ताको अधिकार संरक्षणार्थ चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकारमैत्री बनाउन जरुरी छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘सवारी साधनमा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई प्राथमिकता दिन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह छ ।’ आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन एवम् सोअन्तर्गतका सुपथ मूल्यका पसल, सुपर मार्केट र खुद्रा किराना पसल तथा काठमाडौँ उपत्यकाका बल्खु, कलङ्की, नयाँ बसपार्क, गौशाला र कोटेश्वर क्षेत्रमा रहेका यातायात व्यवसाय केन्द्र र सेवाग्राहीसँग जानकारी लिएको जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यका पसल सञ्चालन गरेको, दशैंतिहार, छठ नजिकिँदै जाँदा तरकारीजन्य सामग्रीको मूल्यमा अत्यधिक वृद्धि हुँदै गएको र एकै प्रकारका सामान खुद्रा पसलमा भन्दा ठूला सुपरमार्केटमा मूलइ बढी रहेको रहेको पाइएको आयोगले जनाएको छ । यातायाततर्फ चाडपर्वमा सर्वसाधारणलाई आवतजावतमा सहज बनाउन अग्रिम टिकट बुकिङ गर्न अनलाइनको व्यवस्था गरिएको र यातायात व्यवस्था विभागलगायतका निकायबाट तोकिएको भन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरिएको जानकारी प्राप्त हुनाका साथै काठमाडाैंदेखि हेटौंडासम्म चल्ने सवारी साधनले नियमविपरीत झण्डै दोब्बर भाडा लिने गरेको पाइएको आयोगले जनाएको छ । सबै टिकट काउन्टरहरूमा भाडा सूची राखिएको तर केही बाहेक सवारीसाधनमा भने भाडा सूची नराखिएको, ठूला बसपार्कमा शौचालयको व्यवस्था भए पनि पर्याप्त नभएको, यात्रुलाई सहचालकबाट मर्यादित व्यवहार नभएको, साना सवारीसाधनमा आरक्षण सुविधा नरहेको जस्ता तथ्य अनुगमनका क्रममा पाइएको विज्ञप्तिमा उल्लेख छ । सवारीसाधनमा आरक्षण सुविधामा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामीलाई प्राथमिकता दिएको नपाइएको आयोगले जनाएकाे छ ।