दशैंमा किसानलाई राहत, उखु र दुग्ध किसानको भुक्तानीको लागि २ अर्ब निकासा
काठमाडौं । लामो समयदेखि भुक्तानी नपाएर तड्पिरहेका किसानहरूले दशैंअघि भुक्तानी पाउने भएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखु तथा दूग्ध किसानहरूको झन्डै २ अर्ब बक्यौता दशैंअघि नै वितरण हुने जनाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखु तथा दुग्ध किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका अनुसार झन्डै २ अर्ब रुपैयाँ निकासा भइसकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बक्यौता रकम तिर्न शुक्रबार ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ । त्यस्तै, आठ जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोड बढी रकम मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ। त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँड गरी शुक्रबार नै सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनी) लाई पठाइएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु तथा दुग्ध किसानलाई दशैंअघि नै भुक्तानी गरिने दावी गरे । उखु किसानलाई रकम उपलब्ध गराउन कृषि मन्त्रालयले गरेको प्रस्तावअनुसार अख्तियारी तथा बाँडफाँट शुक्रबार भएको हो।
ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । शुक्रबार भारतकाे दिल्लीमा उनी पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ । प्रहरीका अनुसार उनलाई इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी भइरहेको छ । नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् । बचतकर्ताकाे रकम अपलचन गरेर उनी लामो समयदेखि फरार थिए। मेयर नेपालीविरुद्ध १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ। अहिलेसम्म मेयर देवकुमार र उनकी पत्नी छेलाविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको जनाइएकाे छ । देवकुमारसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय, बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले मेयर देवकुमार र उनकी पत्नीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराएको थियो।
दसैंको खुशीयाली डबल यसपाली ‘दसैं टुएक्स रिवार्ड अफर’
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विजया दशमीको उपलक्ष्यमा ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । यस ‘दसैं टुएक्स रिवार्ड अफर’ अन्तर्गत बैंकका ग्राहकहरूले असोज ११ देखि ३० गतेसम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद (पीओएस तथा ई-कमर्स) र मोबाइल बैकिङबाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गरेको पाइन्टलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, विमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ । बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ । यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ कारोबारलाई उत्कृष्ट बनाउने विश्वास लिएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
काठमाडौं । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ । चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित शीर्ष अधिकारीहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ‘नयाँ समस्याहरू’ भएको स्वीकार गरेको एक दिनपछि आएको हो । बेइजिङले यो साता आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिन विभिन्न उपाय घोषणा गरेको छ । यसका लागि उसले यस वर्ष पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । विश्लेषकहरूले धेरै प्रतिकूल परिस्थितिहरूलाई हेर्दा यो लक्ष्य अत्यन्त आशावादी भएको बताएका छन् । सत्तारूढ कम्युनिस्ट पार्टीले बिहीबार ‘वर्तमान आर्थिक स्थितिको विश्लेषण र अध्ययन’ गर्न आफ्नो शीर्ष निकाय पोलिटब्युरोको बैठक बोलायो । बेइजिङले शुक्रबार सात दिने रिभर्स रेपो दरमा पनि कटौती गर्यो । यो व्यापारिक ऋणदाताहरूबाट लिइने ऋणमा केन्द्रीय बैंकले तिर्ने अल्पकालीन ब्याज हो । केन्द्रीय बैंकले प्रमुख दरलाई एक दशमलव सात प्रतिशतबाट घटाएर एक दशमलव पाँच प्रतिशत बनाएको घोषणा गर्यो । रियल स्टेट क्षेत्रमा लामो समयदेखि चलिरहेको ऋण संकट, सुस्त घरेलु उपभोग र उच्च युवा बेरोजगारीका कारण चीनमा विकासमा गिरावट आइरहेको छ । ‘अर्थतन्त्रको विद्यमान अवस्थामा केही नयाँ परिस्थिति र समस्या देखा परेका छन्’, सिन्ह्वा समाचार समितिले बिहीबारको पोलिटब्युरो बैठकपछि भनेको छ, ‘हामीले वर्तमान आर्थिक अवस्थालाई व्यापक, वस्तुनिष्ठ र शान्त रूपमा हेर्नुपर्छ, कठिनाइहरूको सामना गर्नुपर्छ र आत्मविश्वास बढाउनुपर्छ ।’ पोलिटब्युरोका सदस्यहरूले अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नीतिगत उपायहरूको केन्द्रीयता र प्रभावकारितामा थप सुधार गर्न’ आवश्यक रहेको कुरामा सहमति जनाए । प्रमुख दर कटौती र आवास खरिदलाई प्रोत्साहित गर्ने नीतिहरू समावेशसहितका बेइजिङले घोषणा गरेका विभिन्न उपायलाई लगानीकर्ताहरूले स्वागत गरेका छन् । साङ्घाई र हङकङका सेयरहरूमा यस साता हालसम्म नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विश्लेषकहरूले नेताहरूले पाँच प्रतिशत वृद्धि लक्ष्य हासिल गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको तर हालैका घोषणाहरूले उनीहरू अझै साहसी कदमहरू चाल्न तयार हुँदै गएको हुनसक्ने बताएका छन् । ‘बेइजिङ अन्ततः आफ्नो बाजुका प्रोत्साहन कार्यक्रम सुरु गर्न दृढ देखिन्छ’, नोमुराका प्रमुख चीन अर्थशास्त्री टिङ लूले भने, ‘अर्थतन्त्रको गम्भीर स्थितिको बेइजिङको स्वीकारोक्ति र टुक्रामा विभक्त दृष्टिकोणमा सफलता नभएको कुरालाई बजारले महत्त्व दिनुपर्छ ।’ यसैबीच अधिकारीहरूले मुलुकका ठूला सरकारी बैंकहरूमा एक खर्ब ४० अर्ब डलरभन्दा बढी लगानी गर्नेबारे विचार गरिरहेको ब्लुमबर्गले बताएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटपछि यस प्रकारको पहिलो ठूलो पूँजी लगानी हुनेछ । व्यवसायहरूलाई ऋण दिन बैंकहरूलाई अझ बढी क्षमता प्रदान गर्ने उद्देश्यसहितको यो उपाय विशेषगरी ‘नयाँ विशेष सार्वभौम बन्ड’ जारी गरेर कार्यान्वयन गरिने बताइएको छ । यद्यपि विवरणलाई अहिलेसम्म अन्तिम रूप दिइएको छैन । रासस
श्रीलंकाले गर्यो अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना
श्रीलंकाको सर्वोच्च अदालतले भिसा प्रशोधन विदेशी कन्सोर्टियमलाई आउटसोर्स गर्ने विवादास्पद करोडौं डलरको सम्झौतालाई निलम्बन गरेपछि श्रीलंकाले पर्यटनलाई प्रोत्साहन गर्न अनलाइन भिसा आवेदन प्लेटफर्म पुनःस्थापना गरेको छ । मुलुकको अर्थतन्त्र सन् २०२२ को वित्तीय सङ्कटबाट बिस्तारै बाहिर निस्कँदै गर्दा यो कदम मुलुकको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न लक्षित रहेको नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेको सरकारले बिहीबार राति बताएको थियो । पर्यटकहरूले अब भारतस्थित भिएफएस ग्लोबलले लिने २५ डलर शुल्क नतिरी अनलाइन भिसाका लागि आवेदन दिन सक्नेछन् । भिएफएस ग्लोबलले अप्रिलमा अघिल्लो सरकारबाट आउटसोर्सिङ सम्झौता जितेको थियो । अधिकारकर्मीहरूले अदालतमा सम्झौता पारदर्शी तरिकाले प्रदान नगरिएको आरोप लगाउँदै कन्सोर्टियमले १६ वर्षको अवधिमा दुई अर्ब ७५ करोड डलरसम्म कमाउन सक्ने बताए । अगस्टमा श्रीलङ्काको सर्वोच्च अदालतले अध्यागमन अधिकारीहरूलाई भिएफएसलाई प्रदान गर्नुअघि प्रयोग गरिएको उक्त अनलाइन प्लेटफर्ममा फर्कन आदेश दिएको थियो । राष्ट्रपति दिसानायकेको कार्यालयले बिहीबार वक्तव्यमा भनेको छ, ‘भिएफएस ग्लोबलले प्रदान गरेको भिसा सुविधाले धेरै मानिसलाई उल्लेखनीय कठिनाइ निम्त्याएको छ ।’ साथै विदेशीहरूले भिसा प्राप्त गर्न चुनौतीको सामना गर्नुपरेको पनि कार्यालयले बताएको छ । सर्वोच्च अदालतको फैसलाको निर्णय पालना नगरेको आरोपमा बुधबार अध्यागमन प्रमुख हर्ष इलुकपिटियालाई पक्राउ गरिएको थियो । इलुकपिटिकियाले अप्रिलदेखि भिसा आवेदन प्रशोधन गर्न भारतको जिबिएस टेक्नोलोजी सर्भिस र आइभिएस ग्लोबल एफजेडसिओका साथै भिएफएस ग्लोबललाई साझेदारका रूपमा करोडौं डलरको सम्झौता गरेका थिए । ‘हामीले भिएफएस ग्लोबसलसँग सम्बन्धित अनियमतिताहरूको अनुसन्धान गर्न तत्काल फरेन्सिक लेखापरीक्षण सुरु गरेका छौं,’ राष्ट्रपति कार्यालयले बिहीबार भनेको छ, ‘कुनै पनि विसङ्गति फेला परे कानूनी कारवाही गरिनेछ ।’ आउटसोर्सिङ सम्झौताअन्तर्गत श्रीलङ्कामा प्रवेश गर्ने कुनै पनि विदेशीले २५ डलर भिसा प्रशोधन शुल्क भुक्तानी गर्नुपर्थ्यो । यहाँसम्म कि श्रीलङ्काका साथै भिसा–मुक्त भ्रमणको व्यवस्था भएका मुलुकका नागरिकले पनि त्यति शुल्क तिर्नुपर्थ्यो । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार यस वर्षको पहिलो सात महिनामा करिब ११ लाख ९० हजार पर्यटक श्रीलङ्का आएका छन् । यो सन् २०२३ को सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढी हो । रासस
५० हजार रोपनी पर्ने जमिन १० लाख हुने अवस्था आयो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्सले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले सन् २०३० सम्म दिगो विकासका लक्ष्य पूरा गर्नको लागि मात्रै पनि २० खर्ब रुपैयाँ प्रतिवर्ष खर्च गर्नुपर्ने अवस्था रहेको बताए । उनले जलवायु परिवर्तनले पार्ने अवसरलाई न्युनिकरण गर्ने सन् २०४५ सम्म कार्वन उत्सर्जन नेट शुन्यको लक्ष्य राखिएको भन्दै त्यसको लागि मात्रै नेपाललाई करिव ४७ अर्ब डलर आवश्यकता रहेको बताए । सरकारलाई विभिन्न क्षेत्रमा वित्तीय रकम खर्च गर्नुपर्ने दायित्व बढ्दै गएपनि सरकार र नेपालको आन्तरिक स्रोतबाट सम्भव नभएको बताए । सरकारको आन्तरिक स्रोतले सम्भव नभएकाले वाह्य स्रोत जुटाउनु पर्ने आवश्यकता रहेको जानकारी दिए । यस्तै, उनले वैदेशिक ऋण र वैदेशिक लगानी (एफडिआई) मार्फत नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गरे । सरकारसँग मुलुकलाई समृद्ध बनाउने हुटहुटी रहे पनि सरकार र नेपालीको आकंक्षा पूरा गर्नको लागि मुलुकको वित्तीय स्रोतले नपुग्ने उल्लेख गरे । पछिल्लो समय सरकार र नागरिक दुवैको अपेक्षा बढेको भन्दै परिवर्तन गर्न आवश्यक रहेको बताए । आयोजना आउने भन्नेसाथ ५० हजार रोपनी पर्ने जमिन १० लाख हुने अवस्था रहेको बताए । नागरिकको अपेक्षा बढ्दा विद्युत ट्रान्समिसनको पोल राख्न पनि महँगो पर्ने गरेको जानकारी दिए । ‘नेपालमा धेरै मानिसहरुको मानसिकता नेगेटिभ छ । निजी क्षेत्रको जनता र जनताको निजी क्षेत्र प्रति मानसिकता छ’, उनले भने । गभर्नर अधिकारीले सरकारले हौसिएर निर्णय गर्न नहुने भन्दै अपेक्षा वास्तविकता र सही हुनुपर्नेमा जोड दिए । उनले सरकार र आम नागरिकले वाह्य लगानीलाई असर नपर्ने गरी काम गर्न जरुरी रहेको बताए । पछिल्लो समय नेपालमा धेरै मानिसहरुको मानसिकता नकारात्मक भएको उल्लेख गरे ।
आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उनले जानकारी दिए । अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेका प्रवक्ता शेर्पाले बताए । भारतको नयाँ दिल्लीबाट काठमाडौं आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेका बताउँदै अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ढिलाइ (डिले) भएका उनले जानकारी दिए । अन्तर्राष्ट्रिय उडान भने अहिले नियमित भइरहेका छन् । लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताए । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएका एयरलाइन्सले जनाएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नागढुंगा सडक अवरुद्ध
मलेखु । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुंगा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । यहाँको धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौंबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।