बाढी पहिरोबाट ९९ जनाको निधन, कुन जिल्लामा कति ?
काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने १ सय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका २ जना रहेका छन् ।
कोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी, जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि
काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड ७ लाख ८८ हजार २ सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् । सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ । लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो । नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड ४ लाख १८ हजार २८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड ५ लाख ७ हजार ६९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।
यस्तो छ आजको मौसम, कुन ठाउँमा हुनेछ वर्षा ?
काठमाडौं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सिटिजन्स बैंकले बाढी पीडितलाई २५ लाख सहयोग गर्ने
काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिलो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहात कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा, बाढी, ढुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरुका ठूलो धनजनको क्षति भएको छ । अविरल वर्षाका कारण दैनिक जनजीवन र यातायात अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीको समस्याले झेलिरहेको राजधानी काठमाडौंलगायत विभिन्न नदीमा आएको बाढीले दर्जनौ नेपालीको ज्यान गएको समाचारहरु प्रकाशित भएका छन् । यस अवस्थामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले पीडित मानिसलाई सहयोग पुर्याउन २५ लाख रुपैयाँ तत्काल प्रधानमन्त्री राहात कोषमा जम्मा गर्ने घोषणा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल गरेका हुन् । उनले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सीमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । तत्काल २५ लाख रूपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।’ विभिन्न खालका विपत आईपर्दा नेपालको बैकहरूले सबैभन्दा अगाडि बढेर मानविय सहायाता योगदान गर्दै आएका छन् । २०७२ सालको भूकम्प, २०७६ पछिको कोरोना महामारीको बेलामा पनि बैंकहरुले महत्वपूर्ण सहयोग गरेका थिए ।
अविरल वर्षाका कारण विद्युत् आपूर्ति प्रभावित, राजधानीको आधा भागमा विद्युत् बन्द
काठमाडौं। निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल,सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् । नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जतिसक्दो छिटो सुचारु गर्न टोली खटिएको बताए । तर, धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको उनले उल्लेख गरे ।
बाढीले माथिल्लो तामाकोशीको बाँध क्षेत्रका संरचनामा क्षति, विद्युत उत्पादन पूर्णरूपमा बन्द
काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ । बाँधका सम्पूणर् ढोका (गेट)हरु खुल्ला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोहीपनि त्यहाँसम्म पुग्न नसकेकोे बताए । गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान नगरिएको उल्लेख गरे । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ । नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरी बल परिचालन गरिएको छ । तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नु पर्ने छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको थियो ।
काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्क विहीन भएको हो । पहिलोले ३ घरमा पूर्ण क्षति पुर्याएको छ। २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुग्नसके पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्क विहीन भएको पनौती नगरपालिका–११, वडासदस्य गीता थापाले जानकारी दिइन् । बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ । यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अधिकांश देशको मुद्राको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१४ रुपैयाँ र बिक्रीदर १४९.८१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.९४ रुपैयाँ र बिक्रीदर १७९.७४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.२८ रुपैयाँ र बिक्रीदर १५८.९९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.०५ रुपैयाँ र बिक्रीदर ९२.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.१६ रुपैयाँ र बिक्रीदर ९९.६० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.२२ रुपैयाँ र बिक्रीदर १०४.६९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२२ रुपैयाँ र बिक्रीदर १३.२८ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २०.०० रुपैयाँ र बिक्रीदर २०.०९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०२ रुपैयाँ र बिक्रीदर ४३९.९८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४८ रुपैयाँ र बिक्रीदर ३५६.०७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।