विकासन्युज

कुलेखानीको जलाशयको ढोका खोलियो, ‘हाइ अलर्ट’मा बस्न आग्रह

काठमाडौं । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए । ‘जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो,’ प्रजिअ चिलुवालले भने । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए । कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कुलेखानीको क्षमता कूल १ हजार ५३० मिटर छ । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो ।

आज यी प्रदेशमा अति धेरै वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ । आजराति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले केही स्थानमा भारी तथा अति वर्षा तथा हावाहुरीकोसमेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो जोखिम छ । साथै भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।

कुलेखानीको ड्याम भरियो, २ वटा गेट खोल्ने तयारी

काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिएको हो । शनिवार बिहान ४ः ५० बजेदेखि बाँध भरिएको हो । हाल कुलेखानी जलाशयको क्षमता भन्दा बढी पानी संकलन भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाले जनाएको छ । कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालका अनुसार कुलेखानी ड्याम भरिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरे । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गरे । ड्यामका २ वटा गेट खोल्ने तयारी गरिएको छ ।

निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक

काठमाडौं । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ । विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।

किस्ट अस्पतालनमा पानी पस्यो, बिरामीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ । विगत २४ घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नाकाहरू सडक अवरुद्ध भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ । त्यसैगरी, भक्तपुर कटुन्जेको घट्टेखोलामा बहाव बढ्न गई स्थानीयको घरमा पानी पसेको छ । उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरिएको प्रहरीले जनाएको छ ।

नागढुङ्गामा पहिरो जाँदा उपत्यकाभित्र र बाहिर सवारी पास हुन सकेनन्

काठमाडौं ।चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए । उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

खोलाले बगाएर तीन जना बेपत्ता

काठमाडौं । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो । यसैगरी, गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रबार अपराह्न करिब ४ बजे गौरीगञ्ज–२ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उहाँको खोजीमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकाले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए । त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । अपराह्न करिब ४ः४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो । खोलामा बेपत्ता कमलका चौधरी, गौरीगञ्जका ताजपुरिया र कचनकवलकी पञ्चुको खोजीमा स्थानीय प्रहरी र स्थानीवासीहरू जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।