विकासन्युज

तथ्याङ्कमा अर्थतन्त्र सुधार, लगानीकर्ताको मनोविज्ञान कमजोर

अर्थतन्त्रमा मुख्य परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.२० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ । यी सबै परिसूचकले अर्थतन्त्रका मुख्य सूचकहरु सकारात्मक रहेका संकेत गरेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.५ प्रतिशत पुगेको छ । साउनमा खुद सेवा आय रु.१५ अर्ब २६ करोडले घाटामा रहेको छ । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई रु.४ अर्ब ७६ करोड पुगेको छ । सेवा खाता अन्तर्गत भ्रमण व्यय ३०.४ प्रतिशतले वृद्धि भई रु.२२ अर्ब ५० करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.१४ अर्ब ९२ करोड रहेको छ । नेपालीको विदेश भ्रमण खर्चमा उच्च वृद्धि भएकोले यसको नियन्त्रणमा बल गर्नुपर्छ भने पुँजीगत आयातलाई प्रोत्साहित गर्ने नीति नेपाल सरकारले लिनु पर्ने देखिन्छ । साउनमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भई रु.१३६ अर्ब ९३ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ । गत वर्षभन्दा कम संंख्यामा नेपाली विदेश जान स्वीकृति पाएका तथ्याङ्कले देखाउँछ । यस परिवेशमा सरकारले नेपालभित्र रोजगारी कसरी सिर्जना गर्ने भन्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा रु.२०९२ अर्ब २२ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी मुद्रा संचिति राम्रो अवस्थामा भएकाले विश्व बैंक, एसियाली विकास बैंक जस्ता संस्थाले पनि नेपालको अर्थतन्त्र राम्रो भएको टिप्पणी गरेका छन् । रेमिट्यान्सले विदेशी मुद्रा संचितमा ठूला टेवा दिए पनि बैदेशिक व्यापार घाटा उच्च रहेकोले सरकारले देश भित्र उत्पादन वृद्धिमा जोड दिनुपर्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा नेपाल सरकारको कुल खर्च रु.४० अर्ब २१ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.१२ अर्ब ३८ करोड, पँुजीगत खर्च रु.८ अर्ब ५५ करोड र वित्तीय व्यवस्था खर्च रु.१९ अर्ब २७ करोड रहेको छ । सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.९४ अर्ब ७४ करोड पुगेकोछ । यस अन्तर्गत कर राजस्व रु.७७ अर्ब ४१ करोड र गैर कर राजस्व रु.१७ अर्ब ३३ करोड परिचालन भएको छ । वृहत अर्थतन्त्रका मुख्य परिसूचक राम्रा हुँदा हुँदै पनि सरकारको आम्दानी र खर्चको दुबै अवस्था राम्रो छैन । साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.४३ अर्ब ४५ करोड (०.७ प्रतिशत) ले घटेको छ । यद्यपी वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ । बैंकहरुले निक्षेपमा व्याज धेरै घटाएकोले त्यसको असर देखिन थालेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । कर्जाको व्याज दर निकै कम भएकोले पनि कर्जाको माग बढाउन मद्दत मिलेको छ । यसले बैकिङ क्षेत्रमा कर्जाको माग बढेको देखाउँछ । यो पनि अर्थतन्त्रको लागि सकारात्मक पाटो हो । तथ्याङ्कमा सुधारका संकेत देखिए पनि व्यवसायीको मनाेबल वृद्धि भएको छैन । सार्वजनिक मञ्चमा, सञ्चार माध्यममा, व्यक्तिगत कुराकानीमा व्यवसायीहरुबाट निराशाका कुरा मात्र सुनिएका छन् । मुलतः सरकारको ध्यान राजश्व वृद्धिमा मात्र केन्द्रीत भएको र तर व्यवसायिक वातावरण बनाउने दिशामा सरकारले काम नगरेको व्यवसायीहरुको गुनासो रहेको छ । सरकारले त्यसतर्फ ध्यान दिन जरूरी छ ।

दोब्बरले बढ्यो तरकारीको भाउ, ३०.६७ रुपैयाँको गोलभेडा ७५ पुग्यो, घिरौला १३५ रुपैयाँ

काठमाडौं । बाढी पहिरोका कारण सवारी आवागमनमा समस्या भएपछि तरकारीको भाउ बढेको छ । काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएपछि त्यसको प्रभाव तरकारीको मूल्यमा परेको हो । उपत्यका भित्रिने सडक सञ्जाल बाढी पहिरोले क्षति पुर्याउँदा तरकारीहरू पनि आउन पाएका छैनन् भने उपत्यकाभित्रै उत्पादन हुने तरकारीमा पनि बाढीले क्षति पुर्याएको छ । त्यसको प्रत्यक्ष असर तरकारीको मूल्यमा परेको हो । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार भारतीय गोलभेडा प्रतिकेजी ११० रुपैयाँ, लोकल सानो गोलभेडा ७५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ९० रुपैयाँ पुगेको छ । जबकि हिजो भारतीय गोलभेडा १०५ रुपैयाँ, लोकल सानो गोलभेडा ३०.६७ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ६१.६७ रुपैयाँ थियो । तरकारी बजारका अनुसार रातो आलु ७८.३३ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, मुडे आलुको ७४ रुपैयाँ, भारतीय प्याज सुकेको ११८.३३ रुपैयाँ, लोकल गाजर १९० रुपैयाँ, तराईको गाजर १६० रुपैयाँ, लोकल बन्दा ८५ रुपैयाँ, तराईको बन्दा ७० रुपैयाँ, स्थानिय काउली १४५ रुपैयाँ पुगेको छ । हिजो रातो आलु ७७.६७ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, मुडे आलुको ७१ रुपैयाँ, भारतीय प्याज सुकेको १११ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, तराईको गाजर १०५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराईको बन्दा ३५ रुपैयाँ, स्थानिय काउली ६५ रुपैयाँ थियो । रातो मूला २७.६७ रुपैयाँ र सेतो मूला (हाइब्रीड) २२.३३ रुपैयाँ तोकिएको छ । यस्तै तने बोडी ११० रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ९५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ९५ रुपैयाँ र तितो करेला आज ११० रुपैयाँ पुगेको छ । हिजो तने बोडी ६५ रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ४५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ४५ रुपैयाँ र तितो करेला आज ५५ रुपैयाँ थियो । लौका ९५ रुपैयाँ, घिरौला १३५ रुपैयाँ, रायो साग १४५ रुपैयाँ, पालूगो साग १९० रुपैयाँ, तोरीको साग ९५ रुपैयाँ, प्याज हरियो २७६ रुपैयाँ रुपैयाँ पुगेको छ ।[pdf id=513297]

बहराइनको दिनार ३५६.०७ रुपैयाँ पुग्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१४ रुपैयाँ र बिक्रीदर १४९.८१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.९४ रुपैयाँ र बिक्रीदर १७९.७४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.२८ रुपैयाँ र बिक्रीदर १५८.९९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.०५ रुपैयाँ र बिक्रीदर ९२.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.१६ रुपैयाँ र बिक्रीदर ९९.६० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.२२ रुपैयाँ र बिक्रीदर १०४.६९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२२ रुपैयाँ र बिक्रीदर १३.२८ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २०.०० रुपैयाँ र बिक्रीदर २०.०९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.०२ रुपैयाँ र बिक्रीदर ४३९.९८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४८ रुपैयाँ र बिक्रीदर ३५६.०७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाढी पहिरोमा परी निधन हुनेको संख्या १ सय पुग्यो

  काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १ सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

आजदेखि सुकिला नोट वितरण गरिने, कुन ठाउँबाट कति पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको हो । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण नगर्ने भएको हो ।

उद्धारका विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ । अहोरात्र सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी आफैं पनि लागिरहेका उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन् । मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न उनले सबैमा अनुरोध गरेका छन् ।

बाढी पहिरोबाट ९९ जनाको निधन, कुन जिल्लामा कति ?

काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने १ सय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका २ जना रहेका छन् ।

कोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी, जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड ७ लाख ८८ हजार २ सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् । सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ । लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो । नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड ४ लाख १८ हजार २८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड ५ लाख ७ हजार ६९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।