विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो प्रदेश विशेष कृषि कर्जा प्रडक्ट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत ‘प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले सातै प्रदेशका कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले प्रदेश विशेष कृषि कर्जा’ प्रडक्ट ल्याएको हाे । प्रदेशगत विशेष कृषि उपजहरूमा ५ करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध कृषकले कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूरपश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गर्नेछ । आधारदरमा ०.५० प्रतिशत प्रिमियमदर जोडेर ब्याजदर निर्धारण गरिने यस कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने बैंकको भनाइ छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरेको हुनुपर्नेछ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट प्रदेश विशेष कृषि कर्जा प्रदान गरिने बैंकले बताएको छ । ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटीएम, ९९ वटा शाखारहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्याूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, मोवाईल बैंकिङ्ग र बिना ईन्टरनेट चल्ने यूएसएसडी मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

सडक सञ्जाल सहज रूपमा सञ्चालन नभएसम्म अधिकतम भाडा नलिने वायुसेवा संघको निर्णय

काठमाडौं । वायु सेवा सञ्चालक संघले सडक सञ्जाल सहज रूपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ । संघको सोमबार बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो । ‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै संघले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ,’ संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हवाई भाडा महँगो भएको चर्को विरोधपछि संघ आइतबारको बैठकले सोमबार, मंगलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय गरेको थियो । अध्यक्ष कार्कीले विपदमा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरे । बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध हुदाँ हवाई उडानमा यात्रुको चाप बढेको छ । आइतबार र सोमबार उडान चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड र छिमेक लघुवित्त वित्तीय संस्थाबीच ऋण सम्झौता

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एसियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ऋण सहयोग गरेको छ । नेपालको एक प्रमुख लघुवित्त संस्था छिमेकलाई गैरवित्त जोखिम साझेदारी सम्झौता अन्तर्गत ऋण सहयोग उपलब्ध गराउने सहमति भएको स्टयान्डर्ड चार्टर्डले जनाएको छ । यसखालको सम्झौता नेपालमै पहिलो पटक भएको बैंकले जनाएको छ । सम्झौता अनुसार उपलब्ध हुने ऋण ग्रामीण भेगमा वित्तीय पहुँच थप बलियो बनाउन उपयोग हुने तथा यसपछि अन्य नवीन काममा पनि ऋण उपलब्ध गराइ सिमान्तकृत समुदायको आर्थिक वृद्धिमा बढावा दिन सहयोग पुग्ने छ । ऋण आदान–प्रदान सम्झौता कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, छिमेक लघुवित्तको व्यवस्थापन समूह, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लगायत अधिकारीहरू उपस्थित थिए । ‘एडीबीको लघुवित्त कार्यक्रम अन्तर्गत वित्तीय समावेशिता र लैंगिक भेदभाव हटाइ नेपालका सिमान्तकृत र पिछडिएका महिलाहरूको आर्थिक स्थिति उकास्न यसखालको ऋणले उल्लेख्य सहयोग गर्ने विश्वास छ,’ एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइसले भने, ‘हाम्रो लघुवित्त कार्यक्रम अन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँग साझेदारी गर्दै नेपालको गरिबी निवारणमा सहयो गर्न पाउँदा औधी खुसी छौं ।’ छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारीले यो ऋण सहयोग नेपालका ग्रामीण भेगमा रहेका सिमान्तकृति समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताए । त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले नेपालका सिमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने जानकारी दिए ।

राजधानी भित्र्याइने फलफूल र तरकारीको परिमाणमा वृद्धि, मूल्य पनि घट्ने

काठमाडौं । बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ । वर्षा र बाढीको प्रभावले फलफूल तथा तरकारी भित्र्याउन नसकिएपछि राजधानीमा अभाव हुँदै गएको थियो । फलफूल तथा तरकारीको परिमाण भित्र्याउने क्रम आजदेखि बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्र्याइएको थियो । आइतबार एक सय ७९ टन फलफूल र तरकारी भित्र्याइएको थियो । सोमबार दिउँसोसम्म चार सय ५० टन फलफूल तथा तरकारी भित्र्याइएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । राजमार्ग खुलेर सवारी चल्न थालेपछि राजधानी ल्याइने फलफूल तथा तरकारीको परिमाण वृद्धि हुन थालेको हो । तरकारी फलफूल भित्र्याउने क्रम बढेसँगै मूल्य पनि घट्ने समितिले जनाएको छ । सामान्य अवस्थामा राजधानीमा छ सय देखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्र्याइने गरेको उनले बताए । पूर्वी एवं मध्य नेपालमा तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएपछि राजधानीमा फलफूल तथा तरकारी ल्याउन कठिनाइ भएको हो । थोरै परिमाणमा मात्र ल्याइएपछि फलफूल र तरकारीको मूल्य वृद्धि भएको थियो । सवारी खुलेसँगै जाममा बसेका सवारीसाधन भित्रने क्रम बढेको छ । जाममा फसेका सवारीले बोकेका तरकारी केही मात्रामा बिग्रिएको जनाइएको छ । मंगलबारदेखि भने ताजा तरकारी र फलफूल राजधानी भित्र्याइने समितिले जनाएको छ । राजधानीमा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, मधेश प्रदेशका केही जिल्लाबाट फलफूल तथा तरकारी ल्याउने गरिएको छ । मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी ल्याउने गरिएको समितिले जनाएको छ ।

दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दर्ता, आरोप पुष्टि भए ५ वर्ष कैद हुने

काठमाडौं । साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर गरेको हो । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्को पनि मुद्दा थपिएको छ । उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन् । प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि टिका सङ्ग्रौलाले ब्युरोमा जाहेरी दिएकी थिइन् । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

दिलदार विजयबहादुर शाह,  केआइओसिएचलाई ४ करोड सहयोग

काठमाडौं । तीन पटकसम्म उत्कृष्ट करदाता बनेर नेपाल सरकारबाट सम्मानित व्यवसायी विजयबहादुर शाहले आफ्नो उदार दिल दानबाट प्रदर्शन गरेका छन् ।  शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग प्रतिबद्धता जनाएको छ । शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्ने तथा विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियू नामाकरण गरिने भएको छ । यही भाद्र १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरीसकेको छ । कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिने भएको छ । गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ) ले यस सहयोग प्रक्रियाको समन्वय गर्दै आए पनि यो सहयोग शाह परिवारको निजी पुँजीबाट प्रदान गरिएको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘सबै सहयोग रकम विजय शाहको निजी सम्पत्तिबाट गरिएको हो । प्रस्तुत सहयोग तीन पटकसम्म नेपालकै शीर्ष करदाता हुनुभएका शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विपद्‌ पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?

काठमाडौं । राष्ट्रसंघीय महासभाबाट ११ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्‌बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । पत्रकारहरूले नेपालको तीनदिने विपद्‌को पूर्वतयारीबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् । ‘रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको उनको जवाफ थियो । उनले भने, ‘रेड एलर्ट जारी गरिएको थियो, तर, कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त गएपछि थाहा हुने कुरा भो ।’ उनले काठमाडौंमा यति डुबान हुन्छ भन्ने कल्पना पनि नगिरएकाे बताए । प्रधानमन्त्री ओली आफ्नो अमेरिका भ्रमण गाई दुहेर आएजस्तो नभएको प्रतिक्रिया दिए । तपाईंको अमेरिका भ्रमणको उपलब्धि के ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘म कुनै भैंसी दुहुनु गएर दूध लिएर आएजस्तो होइन । हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको हो, राखियो ।’

वर्षा पीडितलाई सहयोग गर्न महासंघको अपिल, जिल्ला उद्योग वाणिज्य संघ मार्फत तत्काल एक/एक लाख राहात

काठमाडौं । गत साता अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिने महासंघले जनाएको छ। यसका साथै विपदको यस समय आ-आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूणर् उद्यमी व्यवसायीहरुलाई महासंघले आग्रह गरेको छ । उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ  आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।