विकासन्युज

जलनको उपचार सातै प्रदेशबाट निःशुल्क बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए । मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ । मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ । हाल कीर्तिपुर अस्पतालबाट उपचार भैरहेकामा गत भाद्रमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिसकिएको छ । मन्त्रालयले सातैवटा प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो । जसअनुसार कोशी प्रदेशमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा मधेस प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ । गण्डकी प्रदेशको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगञ्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ । यसैगरी, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्रिया अघि बढाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । ‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको छ’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘मन्त्रालयको आफ्नै श्रोतबाटै सातै प्रदेशमा निःशुल्क उपचार सुविधा दिने गरी तयारी अघि बढिरहेको छ ।’

ग्लोबल आइएमई बैंकका ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन् । साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ ।

काभ्रेको रोशीमा अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै

काभ्रेपलाञ्चोक । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो । माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनै पनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि सोमबार भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् । बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । सोमबार दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । आइतबार तीनवटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उनले बताए । ‘आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धारकार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ,’ सहायक प्रजिअ पौडेलले भने । रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको झोलुङगे पुलसमेत बगाएको बताए । ‘हामी दैनिक कामको सिलसिलामा नमोबुद्धको भकुण्डे बजार र सदरमुकाम जानुपथ्र्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन,’ उनले भने । शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उनले बताए । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ रोशीको माम्तीका भ्याकुरे खोलाको बाढीले ह्युमपाइपसहित बगाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार उक्त स्थानबाट पूर्वतर्फ जाने यात्रुको हेलिकप्टरबाटै उद्धार गर्नुपरेको छ । राजमार्गको मङ्गलटार क्षेत्रमा एक सय मिटर सडक पुरिएको छ भने राजमार्गकै नार्के बजारमा रोशी खोलाको बाढीले कटान गरी १२ घर बगाएको छ । रोशीमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ । ‘बाढी पहिरोले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त क्षेत्रको विभिन्न स्थानमा सडक कटान गरेको छ भने सडक पुरिएको अवस्थामा रहेको स्थानीय रत्न लामाले बताए । सडक ठप्प छ, विद्यालय बन्द छन्,’ उनले भने । पहाडी क्षेत्र भएकाले पहिरो त्रास रहेको लामाले सुनाए । चौकीडाँडामा सडक भत्केपछि पैदलयत्रासमेत गर्न कठिन भएको स्थानीय राजेन्द्र श्रेष्ठले बताए । ‘सदरमुकामसँगको सम्पर्क टुटेको छ, गाउँमा बिजुली छैन, टेलिफोन गर्नसमेत समस्या छ,’ उनले भने । श्रेष्ठका अनुसार बगेको सडक पुनःनिर्माण गर्न समय लाग्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार काभ्रेपलाञ्चोकमा हालको बाढीपहिरोबाट ५७ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । सोमबार दिउँसोसम्म ३ हजार २ सय ७४ जनाको उद्धार गरिएको छ । चार जना अझै बेपत्ता रहेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । उनका अनुसार जिल्लाका प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी राखिएको छ ।

ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंका ४ वटा रेस्टुरेन्टमा छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरूलाई काठमाडौंका ४ विभिन्न रेस्टुरेन्टहरूमा विशेष छुट हुने भएको छ । बैंकले काठमाडौंमा रहेका चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित अचार घर दरबारमार्गस्थित महोत्सव रेन्टुरेन्ट एण्ड बार हात्तीसारस्थित नेपाल हाउस एण्ड रेन्टुरेन्ट बार तथा कमलादीस्थित क्याफे लाइन हार्ट तन्दुरी किचेनमा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, ग्राहकहरूले एक वर्षको अवधिसम्म यी रेस्टुरेन्टहरूमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ उठाउन पाउने बैंकले जनाएको छ ।

कुमारी बैंक र ट्रष्ट माइक्रोबीच सम्झौता, सजिलो तरिकाले लघु बीमा सेवा प्रदान गर्ने

काठमाडौं । कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहकहरूलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हाे । ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले ग्राहकहरूको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरूको सरल तरिकाले लघु बीमा गराउन सक्नेछन् । लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरूको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरूबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरूलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस भएको क्षतीलाई पुनः प्राप्ति गर्न मद्दत दिलाउँने कम्पनीको भनाई छ । नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले बताएको छ ।

बाढीले बल्खु तरकारी बजारमा ३ करोडको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा केही दिनअघिको वर्षाका कारण ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको छ । यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ । बजारमा करिब ५ सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ । चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दशैंका लागि २० लाख रुपैयाँको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए । बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेको उनले सुनाए ।

दशैंमा घर जान दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार ९ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाे गत साता बसेको बैठकले गत शनिबारदेखि लामो दुरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए । सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दुरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दशैं मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासंघ लागिपरेको बताए । वर्षाका कारण तीन दिनदेखि काठमाडौंमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दशैंमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।

१० वर्ष विदेश बसेका इञ्जिनियर सुदर्शन, बुवासँगै राजमार्गमा गाउँले स्वाद पस्किँदै

गण्डकी । झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, ‘गाईले कति दूध दिन्छ बुबा ?’ ६० वर्षीय भण्डारीले भने, ‘एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।’ यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर गए । फलामको कराइमा रैथाने बोकाको पाकिरहेको मासु विस्तारै चलाउँदै भण्डारीले सुनाए, ‘यो चुलोमा खाना पकाउन लागेको २० वर्ष भयो, सबै खानेकुरा दाउराको आगोमा पकाउँछौँ ।’ भान्छाको काम छिमल्दै उनले केहीबेर हामीसँग कुराकानी गरे । ‘पुरानो घरमा किराना र कपडा पसल थियो, पछि खाजाघर सञ्चालन गर्ने सोच आयो, यहाँ आएपछि चिनारी र सफलता दुवै मिल्यो ।’ मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो । नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे । पुर्खौँली थलो नजिकै राजमार्गछेउ घर किनेका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहेका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेका छन् । राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए । जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । ‘स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ’, उनले भने, ‘भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।’ खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ । स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए । लसुन, प्याज पनि गाउँघरकै प्रयोग गर्ने गरिएको भण्डारीले सुनाए । यामअनुसार गाउँमा उब्जेकोतरकारी पनि उनले बिक्रीमा राख्दै आएका छन् । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए । ‘बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ’, उनले भने, ‘ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।’ खाजाघरमा मासुभातको चार सय ५० रुपैयाँ र मासु चिउराको दुई सय ५० रुपैयाँ मूल्य तोकिएको छ । पाहुनाको माग हुँदा अन्य हलुका चियाखाजा पनि उपलब्ध गराउने गरेको भण्डारीले बताए । भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पुर्याउँदै आएको छ । ‘धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको सङ्ख्या केही कम छ’, भण्डारीका छोरा सुनिलले भने, ‘विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।’ इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन् । दसवर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन् । ‘घरपरिवारको राम्रो साथ र सहयोग छ’, भण्डारीले भने, ‘भान्छामा म आफै पकाउँछु, मैले नभ्याउँदा श्रीमतीले सघाउँछिन्, छोराछोरी पनि काममा उत्तिकै खटिन्छन् ।’ ६० वर्षको उमेरमा पनि उनले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीलले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढंगबाट व्यवसाय प्रवद्र्धन गरिरहेका छन् । ‘हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ’, भण्डारीले भने । रासस