विकासन्युज

राष्ट्र बैंक भन्छ- सुकिला नोट व्यवस्थापन गर्न दशैंमा नयाँ नोट बजारमा नल्याएका हौं

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ । आइतबारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पोखरलले यो वर्षको दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको उल्लेख गरे । उनले राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको जानकारी दिए । सहायक प्रवक्ता पाेखरेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गरे । उनले राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताए । उनले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताए । सहायक प्रवक्ता पाेखरेलले भने, ‘विगतमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएपनि यो वर्षदेखि सफा नोट मात्रै सटही गर्ने भएको छ । हामीसँग बैंकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य छन् । त्यसलाई प्रयोग गर्नसक्यौं भने सुकिला नोट व्यवस्थापन गर्नसक्छौं । बैंक तथा वित्तीय संस्थामा प्रशस्त सुकिला नोट भएको र व्यवस्थान गर्नु परेकाले नयाँ नोट नआएको हो । अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । ’ सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ ।

नेपाली मुद्राको चिरफार र नयाँ नोट वितरणमा रोक

नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि सरकारी कारोबार सदरमुलुकी खानाबाट हुने गरेको थियो । विसं १९९४ सालमा नेपाल बैंकको स्थापनापछि नेपालको पनि आफ्नै कागजी नोट हुनुपर्छ भन्ने बहस हुन थाल्यो । त्यस समयमा चाँदीका डबल, मोहर र अन्य धातुका मुद्रामा आर्थिक कारोबार हुने गरेको थियो । सिक्काको प्रयोग बढी थियो । तर, दोस्रो विश्वयुद्धपछि सुनचाँदीको अभाव हुन थाल्यो भने मान्छेको क्रयशक्ति पनि बढ्दै गयो । एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नुपर्ने, कतै जग्गा जमिन वा सम्पत्ति खरिद गर्नुपरेपछि सिक्का नै बोकेर जानुपर्ने स्थिति थियो । धेरै सिक्का बोक्दा समस्या हुने र चाँदी कोषको अभाव भएपछि कागजी नोट निष्कासन गर्नुपर्छ भन्ने अनुभूति राणा प्रशासकहरूलाई भयो । १९९९ सालमा तत्कालीन राणा प्रधानमन्त्रीले ब्रिटिस दूतावास (हाल भारतीय दूतावास) मार्फत ‘नोट निष्कासनका लागि प्रक्रिया अघि बढाइदिनुपर्‍याे, नोट छाप्न रिजर्भ राख्न तयार छौं’ भनेर लिखित पत्र पठाइयो । राजा त्रिभुवन वीरविक्रम शाह र प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाको पालामा एउटा इस्तियार जारी भयो । २००२ साल भदौ ३० गतेको गोरखापत्रमा एक इस्तिहार जारी गरी विसं २००२ असोज १ गतेदेखि ५, १० र १ सय दरका मोहर रुपैयाँ (मोरु) चलनचल्तीमा ल्याइएको थियो । त्यसपछि २०१० भदौ १९ गते १ दरका मोरु नोट प्रकाशनमा आयो । २०१३ बैशाख १४ गतेका दिन राष्ट्र बैंकको स्थापना भयो । तर, राष्ट्र बैंक स्थापना हुनुभन्दा अगाडि १, ५ , १० र १ सय दरका ४ प्रकारका नोट बजारमा आइसकेका थिए । नेपाली रुपैयाँका नोट पहिलो पटक सदरमुलुकी खानाबाट निष्काशन भएका हुन् । २०१६ फागुन ७ गते नेपाल राष्ट्र बैंकले पहिलो पटक नोट निष्कासनमा ल्याएको हो । त्यतिबेला राष्ट्र बैंकको गभर्नर हिमालय शमशेर जबरा थिए । त्यसपछि देशको आवश्यकताअनुसार विभिन्न समयमा २ रुपैयाँ, २० रुपैयाँ, २५ रुपैयाँ, ५० रुपैयाँ, २५० रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ दरका नोटहरू प्रकाशनमा आए । राष्ट्र बैंकले यस अवधिमा १० रुपैयाँ दरका पोलिमर नोटसहित ११ प्रकारका नोट चलनचल्तीमा ल्याएको देखिन्छ । तर, हाल १ रुपैयाँ, २ रुपैयाँ, २५ रुपैयाँ र २५० रुपैयाँ दरका नोट बजारमा चलनचल्तीमा रहेपनि प्रकाशन गर्न बन्द गरेको छ भने ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ, १ सय रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ दरका नोट चलनचल्तीमा छन् । सरकारी कामकाजमा भारतीय नोट तत्कालीन समयमा नेपाली नोट चलनचल्तीमा आउनुभन्दा अगाडि भारतीय रुपैयाँ देशमा चल्ने गरेका थिए । पहाडी भूभागमा चाँदीका मोरु सिक्का प्रचलन थिए भने तराई क्षेत्रमा भारतीय नोट चलनचल्तीमा थिए । राष्ट्र बैंक स्थापना भएर नेपाली नोट चलनचल्तीमा आएको लामो समयसम्म भारतीय सीमा क्षेत्रमा भारु नै बढी कारोबार हुने गरेको थियो । त्यस क्षेत्रमा नेपाली रुपैयाँलाई स्वीकार गर्न नखोज्ने अभ्यास थियो । तर, राष्ट्र बैंकले विभिन्न नीति, नियम, ऐन कानुन बनायो र समुदायस्तरमै गएर जनचेतनामूलक सूचना जारी गरेपछि मात्रै नेपाली नोटको प्रयोग बढेको हो । सिक्काको स्वामित्व र उत्पादन  १९८९ मा नेपालमै टक्सार स्थापना भएको थियो । त्यही टक्सारमार्फत चाँदीका सिक्का छपाइ हुन्थे । तत्कालीन नेपाल सरकार (राणा सरकार)ले सिक्काको छपाइको काम गर्थ्याे । छपाइ भएका सिक्कालाई सरकारी कोषमा दाखिला गरिन्थ्यो । सरकारी कोष भनेको सदरमूलकी खाना हो । सदरमूलकी खानामा दाखिला भएपछि सिक्काहरूलाई आवश्यकताअनुसार बजारमा चलनचल्तीमा ल्याउँथे । साथै त्यससमयमा देशका विभिन्न ठाउँ पाल्पा टक्सार, भोजपुर टक्सार, धनकुटा टक्सार लगायत तराई क्षेत्रमा समेत टक्सार सञ्चालनमा थिए । टक्सारबाटै सिक्काको उत्पादन हुन्थ्यो । साथै सुन्दरीजलमा पानीघट्टमा मेसिन जडान गरी सिक्का उत्पादन गरिएको इतिहास छ । टक्सार स्थापना हुनुभन्दा अगाडि पनि सिक्का उत्पादन भइरहेका थिए । लिच्छविकालीन राजा मानदेवकै पालामा सिक्का चलनचल्तीमा आएको थियो । त्यो नै मौद्रिक इतिहासको पहिलो प्रमाणित मानाङ्क मुद्रा हो । त्यसैगरी, अंशुवर्मा, नरेन्द्रदेव, जिष्णुगुप्तको समयमा पनि मुद्रा आएका थिए । लिच्छिवीकालीन पछि मल्लकालीन मुद्रा निष्कासनमा आए । शाहकालीन पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्र शाहको पालासम्म विभिन्न दर र किसिमका मुद्राहरू प्रचलनमा आएका छन्। सरकारी स्तरमा सुन्धारामा १९८९ मा टक्सारको स्थापना भएपछि त्यहाँबाट विभिन्न प्रकारका अत्याधुनिक सिक्का प्रचलनमा आएको हो । त्यसपछि नेपाली रुपैयाँमा रुपान्तरण पहिला मोहर रुपैयाँ (मोरु) चलनचल्तीमा थियो । ठूलो पैसा वा सानाभन्दा माथिको आकारलाई मोहर भन्ने चलन थियो । जस्तो भारतीय रुपैयाँलाई भारु भनेजस्तै मोहर रुपैयाँलाई मोरु भनिन्थ्यो । अब मोरुलाई नेपाली रुपैयाँ भन्नुपर्छ र चलनचल्तीमा ल्याउनुपर्छ भनेर नेपाल सरकारले २०१५ चैत ३ गते निर्णय गरेको देखिन्छ । अब मोहर रुपैयाँ (मोरु) नभनिकन नेपाली रुपैयाँ (नेरु) भनी चलाउन सबै मन्त्रालय, विभाग, अड्डा अदालतलगायत र आर्थिक लेनदेन गरिने कागज, कारोबार र लिखतमा पनि चलाउनु भनेर श्री ५ को सरकारले निर्णय गर्‍याे । तर, नेरु लेखिएको भएपनि नोटमा भने रुपैयाँ शब्द मात्रै लेखेको पाइन्छ । तर, त्यसभन्दा अघिको नोटमा मोरु लेखिएको थियो । यस्तै, २०२० भदौ १४ गते अब नेपाली रुपैयाँ नेरु नलेखी रुपैयाँ भन्ने शब्द मात्रै लेख्नु सरकारले अर्को निर्णय गरेको देखिन्छ । नेपाली नोट, चलनचल्तीमा सबै कागजातहरूमा रुपैयाँमात्रै शब्द प्रयोगमा ल्याउनु भनेको थियो । कुन मितिमा कुन दरका नोट प्रचलनमा आए ? राजा त्रिभुवनको २०११ सालमा निधन भएपछि राजा महेन्द्र वीरविक्रम शाह शासनमा आए । राष्ट्र बैंकले विसं २०१६ फागुन ७ गतेदेखि मोरु १, मोरु ५, मोरु १० र मोरु १ सय दरका नोट प्रचलनमा ल्याएको हो । त्यसपछि राष्ट्र बैंकले १ हजार दरका नोट विसं २०२६ पुस १४ गतेदेखि चलनचल्तीमा ल्यायो भने ५ सय दरको नोट २०२८ जेठ २४ गतेदेखि चलनचल्तीमा ल्याएको देखिन्छ । त्यस्तै, २०३४ वैशाख १४ गतेदेखि ५० रुपैयाँ,  २०३८ बैशाख १४ गतेदेखि २ रुपैयाँ,  २०३९ कात्तिक २२ गतेदेखि २० रुपैयाँ,  २०५३ चैत २९ गतेदेखि २५ रुपैयाँ र  २०५३ चैत २८ गतेदेखि २५० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको देखिन्छ । हाल बजारमा छ खर्ब ८० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन् । दशैंमा नयाँ नोट वितरणमा ब्रेक नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दशैंअगाडि नयाँ नोट वितरण गर्दै आएको छ । तर, यसपटक भने दशैंको समयमा नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ । दशैंमा नयाँ नोट निष्कासन गरिने भनेर लिखित दस्तावेज भेटिएको छैन । तर, राष्ट्र बैंकको नोट निष्कासनलाई हेर्ने हो भने दशैंतिहारलाई मध्यनजर गरी वितरण गरेको जस्तो देखिन्छ । किनभने पहिलोपटक असोज महिनामा नै नोट निष्कासन भएको थियो । यसबाट पनि अनुमान गर्न सकिन्छ कि चाडपर्वलाई लक्षित गरी तत्कालीन सरकारले दशैंताका नै नोट चलनचल्तीमा ल्याएको देखिन्छ । किनभने दशैंतिहार असोज र कात्तिक महिनामा पर्छन् । साथै पछिल्लो समयमा राष्ट्र बैंकले छापिएर आएका नयाँ नोटलाई भदौ, असोज कात्तिकको छेको पारेर बजारमा पठाएको देखिन्छ । यसबेला अत्यधिक नोट वितरण हुने भएकाले दशैंमा नयाँ नोट वितरण गरेको हो कि जस्तो लाग्छ । राष्ट्र बैंकले दशैंतिहारमा नयाँ नोट वितरण नगर्ने पहिलादेखि नै सोच्दै आएको थियो । त्यसैले यसअघि नै दशैंतिहार चाडपर्वलक्षित गरेर नयाँ नोट वितरणमा व्यवस्थापन गरी सुकिलो नोट वितरण गर्न यसपटक तयारी गरीएको छ । किनभने बजारमा वितरण भएका नयाँ नोटको उचित व्यवस्थापन नहुने अवस्था थियो । राज्यले अर्बाैं खर्चेर बर्सेनि  नयाँ नोट ल्याउँछ । नयाँ नोट चाडपर्वको समयमा पठाउँदा दोस्रो दिन नै मैलो हुने, काम नलाग्ने भएर नष्ट गर्नुपर्ने अवस्था थियो । सामान्यतया एउटा नोट तीनदेखि चारवर्षसम्म चल्नुपर्छ भन्ने अवधारणा राष्ट्र बैंकको छ । बजारमा सफा नोट वितरण गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीति नियम बनाएर सूचना पनि जारी गरिरहेको हुन्छ । तर, नोटमा जथाभावी रङ्ग दल्ने, मसी पोतेर कुरूप गर्ने सबैको गलत बानी छ । सबैभन्दा बढी चाडपर्वमा नोट बढी नष्ट हुने अवस्था छ । अहिले पनि बजारमा थुप्रै नोट छन् । ती नोटको उचित व्यवस्थापन होस् भनेर राष्ट्र बैंकले यसपटक बजारमा नयाँ नोट नपठाएर पुरानै सुकिला नोट मात्र वितरण गर्न खोजेको हो । अन्य समयमा साना दरका नोट बैंकले वितरण गर्दैनन् । ठूला दरका नोट मात्रै सर्वसाधारणलाई वितरण गर्ने गरेका छन् । साना दरका नोटलाई भल्टमै राखिदिने गरेको हुँदा त्यो नोट बजारमा जाओस् भन्ने अवधारणा राष्ट्र बैंकको हो । कागजी नोट प्रयोगमा नआएपछि स्वतः बिग्रेर जान्छ । नोट नष्ट गर्नु भनेको ठूलो रकम खेर जानुजस्तै हो । त्यसैले यो पटक यो अभ्यास गरेको हो । बैंक तथा वित्तीय संस्थासँग भएका सुकिला नोट वितरण गरेर व्यवस्थापनमा सहज हुने देखिन्छ । अब बजारमा भएका सुकिला नोट र मैला नोटलाई छुट्याउन पनि मद्दत पुग्नेछ । र, तीनैबाट सुकिला नोट बजारमा पठाउने योजना राष्ट्र बैंकको हो । यसबाट राज्यको अर्बाैं रकम नोक्सानी हुनबाट जोगिन्छ । दशैंमा नयाँ नोटको महत्त्व विश्वमा राष्ट्रिय पर्व मनाउँदा धनसम्पत्तिलाई पुजा गर्ने चलन छैन । तर, नेपालमा राष्ट्रिय पर्वको समयमा देवी देवताको पूजा गर्ने, नयाँ लुगा लगाउने, नयाँ चिजवस्तु चढाउने परम्परा छ । देवीदेवतालाई चढाउन नयाँ वा चोाखो हुनुपर्ने मान्यता छ । नयाँ नोटमा ‘थुक’ पनि लागेको हुँदैन । पहिलादेखि नयाँ नोट भन्ने चलन रहेकाले पछिल्लो समय पनि हामी सबैको मनमष्तिस्कमा त्यही रहिआएको छ । तर, नयाँ नोटको भ्यालू बढी हुने र पुरानो नोट दिँदा भ्यालू कम हुँदैन । नोटमा किन चित्र राखिन्छ ? सदरमूलुकी खानाले पहिलोपटक राजा त्रिभुवनको तस्बिर अंकित नोट निष्कासन गरेको थियो । त्यसपछि राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्दको शासनकालमा पनि उनीहरूको तस्बिर अंकित नोट प्रकाशनमा आएका थिए । राजतन्त्र हटिसकेपछि भने सर्वाेच्च शिखर सगरमाथाको तस्बिर अंकित नोट चलनचल्तीमा आएका हुन् । नोटको माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन तस्बिर राख्ने गरिन्छ । आर्थिक कारोबार मात्रै नभई नोटले विश्वमा देशको पहिचान समेटेको हुन्छ । किनभने नोटमा राष्ट्रिय सम्पदा, प्राकृतिक सम्पदा, कलाकृति, वन्यजन्तुलाई राख्दा अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गर्छ । मान्छेले कुनै न कुनै रूपमा विश्वका नोटहरू धारण गरेको हुन्छ । संकलन गर्न, अध्ययन अनुसन्धान गर्न, प्राकृतिक सम्पदाको खोजी गर्ने आधिकारिक माध्यम भनेको मुद्रा पनि हो । जस्तो लिच्छिविकालमा राजा मानदेवले चलाएको मुद्रा एउटा ऐतिहासिक प्रमाण हो । त्योभन्दा पहिला पनि शासन चलाएका थिए । तर, प्रमाणित मुद्रा फेला परेको छैन । त्यसैले इतिहास, कलासंस्कृति जोगाउने माध्यम पनि मुद्रा हो । सबै दरका नोटमा एउटै तस्बिर राखियो भनेर अन्याय हुन्छ भनेर फरक-फरक नोटमा फरक-फरक तस्बिर राख्ने गरिन्छ । जस्तो ५ रुपैयाँको नोटको अगाडि भागमा भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको तस्बिर राखिएको छ भने पछाडिको भागमा वन्य याकको तस्बिर छ । त्यसमा राखिएको वन्य याक हुम्लाको लिमी उपत्यकामा पाइएको दुर्लभ वन्यजन्तु हो । त्योभन्दा अगाडि चौंरीगाईको तस्बिर थियो । यस्तै भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप मल्लकालीन लक्ष्मीनरसिंह मल्लको पालामा बनेको हो । क्षति भएपछि नोटमा राखिएको हो । यसले देशको कला संस्कृति जोगाउन मद्दत पुग्छ । एक हजार रुपैयाँको नोटमा हात्तीको तस्बिर थियो । तर, हात्ती कुन देशको हो भनेर लामो समय विवादित बन्यो । विभिन्न अध्ययन र संस्कृतविद सत्यमोहन जोशीको सल्लाह सुझावअनुसार हाल २ वटा हात्तीको तस्बिर राखिएको छ । ती हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा हात्ती हुन् । ती हात्तीको नाम राम-लक्ष्मण हो । जुम्ल्याहा हात्ती जन्मिनु विश्वका लागि अनौठो र दुर्लभ घटना हो । विश्व जगतले पनि ती हात्तीलाई चिन्छ । प्राकृतिक सम्पदा, देशको कलाकृति, दुर्लभ वन्यजन्तु, हिमाल आदिका बारेमा चिनाउने माध्यम मुद्रा पनि एक हो । गभर्नरको हस्ताक्षर नै किन ? विश्वका जुनसुकै मुलुकमा पनि त्यस देशको केन्द्रीय बैंकले नोट निष्कासनको काम गर्छ । नोटको आधिकारिकता केन्द्रीय बैंकको प्रमुखलाई नै हुने गरेको छ । कुनै देशमा साना दरका नोटमा अर्थसचिवले हस्ताक्षर गरेको पनि छन् । कुनै देशमा अर्थसचिव वा प्रशासक र गभर्नरले हस्ताक्षर गर्ने गरेका अभ्यास पनि छन् । तर, अधिकांश देशको नोटमा गभर्नरको नै हस्ताक्षर हुने गरेको छ । गभर्नरको दस्तखत भएपछि नोटले कानुनी मान्यता प्राप्त गर्छ । १, २, २५, २५० रुपैयाँ दरका नोट बन्द नोटहरू विदेशबाट छपाइ गरेर ल्याउनुपर्ने हुन्छ । १ रुपैयाँ र २ रुपैयाँका नोटको भ्यालूभन्दा क्रयशक्ति कम भयो । १ रुपैयाँ र २ रुपैयाँका नोट छपाइ गर्दा लाग्ने लागत बढी हुन थाल्यो । बजारमा १ रुपैयाँ र २ रुपैयाँमा सामान पनि पाउन छोड्यो । त्यसैले छपाइ गरेर ल्याउनुभन्दा चलनचल्तीमा नभएकै राम्रो हुने भयो । भारतमा १० रुपैयाँसम्मको सिक्का छापिन्छन् भने १ र २ दरका नोट र सिक्का कम हुँदै गएको छ । राष्ट्र बैंकले १ रुपैयाँ र २ रुपैयाँका नोट छाप्न रोकेको हो भने विगतमा छापिएका नोट बजारमा चलनचल्तीमा छन् । २५ रुपैयाँ र २५० रुपैयाँका नोट भने राजा वीरेन्द्रको गद्दी आरोहणको रजत महोत्सवमा निकालिएको स्मारिका नोट हो । स्मारिका नोट एकपटक चलनचल्तीमा ल्याएपछि दोस्रोपटक निकालिँदैन । १० रुपैयाँको पोलिमर नोट पोलिमर नोट पहिलोपटक सन् १९८८ मा अष्ट्रेलियाले चलनचल्तीमा ल्याएको हो । नेपालमा २०५९ असोज १४ गते १० रुपैयाँको पोलिमर नोट प्रकाशनमा ल्याएको हो । राजा ज्ञानेन्द्रको गद्दी आरोहण वर्ष संस्मरणमा स्मारिकाको रूपमा ल्याएको उक्त नोटलाई जनताले रुचाउँछन् कि रुचाउँदैनन् भनेर राष्ट्र बैंकले प्रचलनमा ल्याएको हो । कागजी नोट छापिरहेको समयमा पोलिमर नोट तुलनात्मक रूपमा लागत बढी लागेपनि लामो समयसम्म बजारमा चलनचल्तीमा रहन्छ । यसमा छिटो मैलो हुने र च्यातिने सम्भावना पनि कम हुन्छ । पोलिमर नोट निष्कासन गर्ने नेपाल १६औं मुलुक हो । अहिले विश्वका ६५ बढी मुलुकले पोलिमर नोट निष्कासन गरिरहेका छन् । नेपाल विकाशोन्मुख देश भएको र यहाँ अतिविपन्न वर्गदेखि सम्पन्न व्यक्तिहरू पनि छन् । विपन्न वर्गका व्यक्तिले नोटलाई धुरीमा राख्ने, बेरेर राख्ने भएकाले राम्रोसँग प्रयोग गर्न नजान्दा नोट चाँडै काम नलाग्ने भयो । पछि राष्ट्र बैंकले यस्ता नोट निस्काशन पनि बन्द गर्‍याे तर पछिल्लो समय साक्षरदर बढेको छ । त्यसैले पोलिमर नोटमा उपयुक्त फिचर राख्ने हो भने कागजी नोटको तुलनामा २/३ गुनासम्म बढी समय चल्ने, छिट्टै नमैलिने, नमक्किने, नभिज्ने हुन्छ । सुरक्षाका कारण पनि कागजको तुलनामा फेक नोट निष्कासनमा केही हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । अब केन्द्रीय बैंकले ५ सय र १ हजार रुपैयाँ पोलिमर नोट, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँका नोट उच्चस्तर कागज र अन्य दरका नोटलाई सिक्कामा प्रतिस्थापन गर्नुपर्ने जस्तो लाग्छ । १० रुपैयाँसम्मको नोटलाई प्रतिस्थापन गरी सिक्कामा निकाल्दा उपयुक्त हुने देखिन्छ । (खतिवडा नेपाल राष्ट्र बैंकका प्रधान सहायक तथा  नेपाली मुद्रा संकलक हुन् । उनीसँग विकासन्यूजका लागि सीआर भण्डारीले गरेको कुराकानीमा आधारित ।)

हवाई उडानमा नयाँ रेकर्ड कायम : सोमबार भए साढे पाँच सय उडान

काठमाडौं । संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिइन् । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताइन् । एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दशैंका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए । विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताइन् । अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनले बताइन् । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् । वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए । रासस

सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अभियान

काठमाडौं । कपाल र आत्मविश्वासको उत्सव मनाउँन सन्सिल्कले ‘सन्सिल्क भाइब्स’ अभियान ल्याएको छ । सन्सिल्क दशैं भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले नयाँ सन्सिल्क भाइब्सको रूपमा प्रस्तुत गरेको हो । यो अभियान असोज ११ देखि सुरु भई मङ्सिरसम्म चल्ने कम्पनीले जनाएको छ । यसले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू चाडपर्व होस् या दैनिकी, सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मुख्य आकर्षणको रूपमा हुनेछ । नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्ने कम्पनीले जनाएको छ । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् । कम्पनीको यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ । र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउनेछन् । कम्पनीकोअनुसार प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्रामरफेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ । यस अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो ।

दूरसञ्चार प्राधिकरणलाई ६१ कम्पनीले टेरेनन्, तत्काल ४ प्रतिशत रोयल्टी तिर्न ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी वापतको रकम र ग्रामीण दूरसंचार विकास कोष वापतको रकम भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशन गरी विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो । प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवर र सो विवरण अनुसार बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत रकम ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम छुट्याउनु पर्ने हुन्छ । यसअघि गत पुसभित्र उक्त रकम बुझाउन ताकेता गरेको भएपनि हालसम्मपनि दाखिला नगरेको प्राधिकरणले जनाएको छ । त्यसैले सेवाप्रदायक ६१ कम्पनीले आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको कूल आम्दानीको रोयल्टी र कोष वापतको रकम र वित्तीय विवरण सहित बुझाउन प्राधिकरणले निर्देशन दिएको हो ।

सम्पत्ति, घर बहाल, व्यवसाय कर असुली गर्न महानगरले पठायो अनुगमन टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन टोली बजारमा पठाएको छ । महानगरपालिकाले कर तिरे वा नतिरेको विषयमा अनुगमन टोली खटाएको जनाएको छ । महानगरपालिकाको राजस्व विभागबाट सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर, आदि तिर्न बुझाउन अनुरोध गर्ने, करका विषयमा जानकारी दिने तथा कर दाताहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न स्थलगत रूपमा कर अनुगमन टोली खटाइएको जनाएको छ । कर अनुगमन टोली करदाताको व्यवसाय स्थलमा आउँदा दर्ता तथा नवीकरण, कर तिरेको प्रमाण दर्ता प्रमाणपत्र लगायत टोलीले माग गरेको बिबरण उपलब्ध गराई राजस्व असुली कार्यमा सहयोग गर्न महानगरपालिकाले अनुरोध गरेको छ । साथै बुझाउनुपर्ने करका लागि आवश्यक पर्ने कागजात लगायत द्विविधा भएका बिषयमा जानकारी लिन सकिने महानगरपालिकाले जनाएको छ ।

पुल बगेपछि सामान ढुवानीमा कठिनाइ, दुई सातालाई मौज्दात

काठमाडौं । शनिबारको घनघोर वर्षासँगैको आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ । ताप्लेजुङ जिल्लाका लागि “लाइफलाइन” का रुपमा रहेको उक्त पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन् । ढुवानीका सवारीसाधनहरु ठप्प छन् । फिदिम–ताप्लेजुङ चल्ने छोटो दुरीका यात्रु बोक्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन् । तर दुवैतर्फका गाडी हेवा खोलासम्म मात्र पुग्छन् । हेवा खोलामा पुगेका यात्रुले केहिबेर हिँडेर त्यहाँ रहेको झोलुङ्गे पुल हुँदै वारपार गर्नुपर्छ र अर्को गाडी चढ्नुपर्छ । अर्कातर्फ राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण बाटो अवरुद्ध हुँदा इलाम, झापा जाने यात्रु थप मारमा परेका छन् । मेची राजमार्ग अन्तर्गत फिदिम-राँके सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर यातायात सहज तुल्याउन प्रयास गरिरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । यता फिदिम नगरपालिका र पाँचथरका सुरक्षा निकायले हेवा खोलामा यात्रुको सहजताका लागि मोटरसाइकलसम्म वारपार गराउन मिल्ने गरी बाँसको फड्के बनाउन थालेका छन् । धरानबाट ताप्लेजुङ र पाँचथर पुग्ने छोटो दूरीको निर्माणाधीन तमोर करिडोरको सडक समेत अवरुद्ध छ । ठाउँठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ भने मोटरेबल पुल नभएका खोलाहरुमा सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन । निर्माणकै क्रममा रहेको करिडोर सञ्चालनमा आएपनि यस अन्तर्गतका धेरैवटा खोलामा पुल बनिसकेका छैनन् । सोमबार केही यात्रुबाहक र सामान बोकेका साना सवारीसाधन दोभान, हाम्पाङ, तेह्रथुमको सक्रान्ती, म्याङ्लुङ हुँदै धरान गएका छन् भने धरानबाट उक्त ठाउँहरू हुँदै सवारीसाधनहरु ताप्लेजुङ पनि आएका छन् । आठराई त्रिवेणी गाउँपालिका हुँदै तेह्रथुम जोड्ने उक्त सडकलाई तत्कालका लागि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भन्दै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमू सहितको टोलीले सोमबार सडकको अनुगमन गरेको छ । ‘वैकल्पिक रूपमा यस क्षेत्रका तीन वटा सडकलाई प्रयोग गर्न सकिन्छ । यीमध्ये कुन सहज हुन्छ भन्ने एकिन गर्न र मर्मत गर्नुपर्ने ठाउँको पहिचान गर्न अनुगमन गरिरहेका छौँ, तेह्रथुमतर्फ पनि समन्वय गर्दैछौँ,’ अध्यक्ष पोमूले भने । हेवा खोलाको पुल गत वर्षको असारमा समेत बाढीले बगाउँदा महिनौं सास्ती भएको थियो । सडक विभागले उक्त समयमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालनमा आएको थियो । शनिबार आएको बाढीले त्यही बेलिब्रिज बगाएको हो । साधारणतया यात्रुले असहज रूपमा विभिन्न विकल्प अपनाएर यात्रा गरे पनि ताप्लेजुङबाट तराईतर्फ उपचारका लागि जानुपर्ने बिरामी, वृद्धवृद्धा, अशक्तलाई समस्या हुने देखिएको ताप्लेजुङ निवासी हरिकुमार लिम्बूले बताए । पुल बगेसँगै ढुवानीका साधन केही बीचैमा अलपत्र परेका छन् भने ताप्लेजुङ हिँड्न लोड भएका केही साधन झापामै रोकिएको ताप्लेजुङ ढुवानी सेवाका कुमार तामाङले बताए । ढुवानी सेवा मार्फत् झापादेखि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ताप्लेजुङ आउने गरेको छ भने यहाँबाट अलैँची लगायतका सामान लैजाने गरिएको छ । ढुवानी सेवा ठप्प हुँदा सामान्यतया समस्या भएपनि तत्काल ताप्लेजुङमा दैनिक उपभोग्य सामानको भने अभाव नरहेको उद्योग वाण्ज्यि सङ्घ ताप्लेजुङले जनाएको छ । सङ्घले तत्काल उपभोग्य सामग्रीको मौज्दात पर्याप्त रहेको निष्कर्ष सहित शनिबार नै कृत्रिम अभाव सिर्जना र मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ भने उपभोक्तालाई समेत आत्तिएर सामान खरिद नगर्न भनेको छ । ‘बजारमा करिब दुई हप्तालाई पुग्ने गरि दैनिक उपभोग्य सामानको मौज्दात देखिएको छ, कृत्रिम अभाव सिर्जना नगर्न, मूल्यवृद्धि नगर्न सबै व्यवसायीलाई सूचना गरेका छौँ । दुई हप्ताभन्दा लामो समयसम्म सडक अवरुद्ध भए त्यसपछि समस्या होला,’ सङ्घका सचिव खेम केसीले भने । पुल नहुँदा यातायातमा कठिनाइ हुने र लामो समय ढुवानीका साधन चल्न नसक्ने अवस्था आए समस्या हुन सक्ने भन्दै सर्वसाधारणले भने चिन्ता व्यक्त गरेका छन् । चाडबाड सुरु भएको साथै पाथीभरा मन्दिरको दर्शनका लागि आउने भक्तजनका लागि ठूलै समस्या हुने भएकाले तत्काल समस्या समाधानमा ध्यान दिन आवश्यक भएकामा स्थानीयको जोड छ । यता पहिरोले काबेली करिडोर विद्युत् प्रशारण लाइनमा क्षति भई विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ समेत अन्धकारमा छ । पहिराले काबेली करिडोर एकसय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढालेकाले विद्युत् अवरुद्ध भएको हो । उक्त टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङ अन्धकारमा परेका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण सहित व्यवसायीहरू पनि मारमा छन् । यही समयमा ताप्लेजुङका निजी विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेकाले बालबालिकालाई समस्या भएको अभिभावकले बताएका छन् । यस्तै स्थानीय सञ्चारमाध्यम रेडियोहरूले समेत आफ्नो प्रसारणको समय कटौती गरेका छन् ।

राजस्व सङ्कलनमा बाढीको प्रभाव

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलनमा प्रभावित समेत भएको छ । अहिले सो सडक र भासिएको पुलबाट पानी बगिरहेको छ । वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटानसमेत हुने गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए । ‘वर्षाका कारण वस्ती डुबानमा नै रहेको अवस्था छ । राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा अवरूद्ध छ,’ उनले भने । सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ जानका लागि १० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको र कुनोली बजारमा पुग्न एक घण्टा लाग्ने गरेको उनले बताए । वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा पैदल आवतजावत गर्न पनि अपठ्यारो हुने गरेको स्थानीयवासी बिन्दुलाल मुखियाले बताए । भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो । सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ । दुई वर्षअघि आएको बाढीले सडक भासिदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । तिलाठी कोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्र सडक कटानको समस्या तीन दशकभन्दा बढी समयदेखि रहेको बताउँछन् । खाँडो र जीता नदीको बहाव सही तरिकाले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले यात्रीलाई सास्ती दिँदै आएको उनको भनाइ छ । यद्यपि सरकारले गम्भीरता नदेखाएपछि यहाँका स्थानीय बासिन्दालाई वर्षायाममा यस्ता समस्या भोग्नुपर्ने नियति नै बनेको छ । ‘यो समस्या हरेकपटक वर्षायाममा आउँछ तर राज्यले गम्भीरता देखाउँदैन, यसले राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि निकै गिरावट आउँछ, यो समस्या जति चाँडो समाधान हुन्छ, स्थानीयसँगै राज्यका लागि त्यति नै फलदायी हुन्छ,’ उनले भने । तिलाठीस्थित राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले राजविराज जोडिने कुनौलीको पूर्वी भेगसम्मको बीच बाटोमा रहेको पुल र सडक जीता खोलाले बगाएर क्षति गर्दा राजस्व सङ्कलनमा धेरै गिरावट आएको बताए । उनले राजविराज भन्सारसम्म सवारीसाधन आउन नसकेका कारण आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको बताए । कार्यालयसम्म आउने बाटो जीर्ण र समय–समयमा बाढीले सडकमा क्षति गरेको सडक पुनःनिर्माण नभएका कारण राजस्व सङ्कलन प्रभावित भएको सूचना अधिकारी भगत बताउँछन् । ‘साउनमा ६७ लाख २३ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा २३ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको र भदौमा ६३ लाख ५५ हजार रुपैयाँ लक्ष्य रहेकामा १९ लाख ३८ हजार रुपैयाँ राजस्व असुली भयो,’ उनले भने । कुनोली बजार आवतजावतका लागि पुल नभएका कारण पनि राजस्व सङ्कलमा कमी आएको उहाँले बताउनुभयो । यस्तै राजविराज भन्सारदेखि पूर्वतर्फको पुलसमेत बाढीले बगाउँदा नेपाली दैनिक उपभोग्य सामानमा किन्न निर्भर रहने कुनोली बजार जानसमेत समस्या छ । राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वमा भारतीय सिमानामा रहेको कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नेहरूको भीड लाग्ने गर्दछ । दसैँतिहारका बेला बजार जाने नेपाली तिलाठीबाट दक्षिण खोला तरेर कुनोली बजार जाने बाटोमा समेत पुल नभएकाले सास्ती खेपिरहेको हनमाुननगर कङ्कालनी नगरपालिका–१४ का वासुदेव मण्डलले बताए । कुनोली बजारमा दैनिक उपभोग्य सामान किन्नका लागि जिल्लाको राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, डिवन र तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया, सकरपुरा, रम्पुरा, मल्हनिया र तिलाठीका सर्वसाधारण जाने गर्दछन् ।