विकासन्युज

हवाई उडानमा ट्राफिक जाम बढ्यो, लामो समय ‘होल्ड’मा बस्नुपर्ने

काठमाडौं । मनसुन सकिनै लाग्दा एक्कासी परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध भए । केही दिन काठमाडौँ आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्नुपर्यो । सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटनाले जनजीवन अस्तव्यस्त भएको छ । दसैँको मुखमा आ-आफ्नो गन्तव्यमा जान हौसिएका नागरिक सडक अवरुद्ध हुँदा निराश छन् । सडक यातायात सहज नभएको र हवाई यातायात पनि सबैको पहुँचमा नभएकाले थप सास्ती व्यहोर्नुपरेको धेरैको गुनासो छ । काठमाडौंबाट भोजपुर जाने प्रतिक्षामा रहेका अनिल अधिकारीले सडकबाट जाने अवस्था नरहेको र हवाई टिकट पाउन नसकेको गुनासो गरे । ‘एक सातादेखि एयरलाइन्समा धाइरहेको छु, टिकट छैन भनेर फर्काउने गरेका छन् । एयरलाइन्सले फूलपातीसम्म सबै सिट अग्रिम बुकिङ भइसकेको भनिरहेका छन् । खै, यसपटक कसरी घर जाने होला !,’ उनले भने । सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् । काठमाडौंबाट धनगढी जान टिकटका लागि धेरै प्रयास गरे पनि हालसम्म आफ्नो समस्या समाधान नभएको कोटेश्वरका अमित सुनारले बताए । काठमाडौंबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सीमित उडानका कारण दसैँका लागि सबै टिकट सकिएको बताए । फूलपातीदेखि विजयादशमीसम्म भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा टिकट पाउन मुस्किल रहेको उनले बताए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सबैजसो गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । उनले जहाज सङ्ख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको बताए । विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाईयात्रीको चाप हुने गरेको थियो । यसपटक अविरल वर्षापछिको बाढी पहिरोलगायत विपत्तिका घटनाले सडकमार्ग अवरोध हुँदा हवाई उडानमा थप चाप बढ्न गएको जनाइएको छ । एकैदिन ३५ हजार बढीले गरे हवाईयात्रा बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भीड थामिनसक्नु छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भीडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भीडभाड देख्न सकिन्छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार यही असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् । असोज १५ गते दुवैतर्फ गरी पाँच सय ११ उडान भएका छन् । उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ । समयमा आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’मा बस्नुपर्ने बाध्यता छ । उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् ।फ्लाइट राडरका अनुसार मङ्गलबार र बुधबार करिब एक घण्टा विमान होल्ड भएका थिए । यसकारण आन्तरिकतर्फका एयरलाइन्सले पटकपटक उडान समय परिवर्तन गर्नुपरेको छ । दसैँमा रात्रिकालीन हवाई उडान सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको उनको भनाइ छ । मन्त्री पाण्डेले ‘बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छु ।’ साथै उनले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने उल्लेख गरे । मनसुन लम्बियो यसपालि मनसुन लम्बिएर दसैँसम्मै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यसपटक मनसुन सरदर मितिभन्दा थप केही दिन पर धकेलिने बताए । भारी वर्षाको पूर्वानुमान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले भारतको उत्तरपूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्यटन व्यवसायी मर्कामा पर्यटकीय सिजन सुरु भएसँगै बाढीपहिरोको विपत्तिले अरु सबै क्षेत्रजस्तै पर्यटन व्यवसायी मर्कामा परेका छन् । चाडपर्व सुरु भएकाले पदयात्रा, पर्वतारोहणलगायत गतिविधिमा रमाउने पर्यटकलाई गन्तव्यमा पुग्न समस्या भएकाले मनसुनजन्य विपद्का घटनाले पर्यटनमा समस्या सिर्जना गरेको होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताए । पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भइरहेकाले यसबाट पर्यटकीय पूर्वाधारमा लगानी गरेका व्यवसायी बढी मर्कामा पर्ने उहाँको भनाइ छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले अहिलेको विपद्जन्य घटनाले पर्यटन व्यवसायीलाई झस्काएको बताए । रासस

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९ः१६ बजे आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिए । दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ । विजयादशमीको साइत असोज २६ गते ११ः३६ बजे नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ । असोज २६ गते देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ः३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दसैँ घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गादेवीको पूजाआराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताउनुभयो । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा बलिसमेत दिने गरिन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।

कोशी र बागमती प्रदेशमा भारी वर्षा, यस्तो छ आगामी २४ घण्टाको पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक/दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक/दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्त्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो । समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन् । एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए । एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरूको नवीन सोचको ऊर्जालाई उजागर गरेको छ । सिड्स फर द फ्युचर नेपालमा यो कार्यक्रम २०१९ मा सुरु भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ । सिड्स फर द फ्युचर कार्यक्रम, ह्वावेको विश्वव्यापी सिएसआर (सीएसआर) प्रयास अन्तर्गत २००८ मा थाइल्याण्डमा सुरु भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८,००० भन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन् ।

वालेटले ओगट्छन् अर्बौ बचत, जोखिममा प्रयोगकर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी वालेटहरूले ४३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ४२ लाख ५७ हजार ६५६ जनाले वालेटबाट ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार गरेका हुन् । गत असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ जनाले ३८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । त्यस समयमा ३ करोड २१ लाख ५ हजार ९१७ पटक कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसार २०७९ असारमा १ करोड ६२ लाख ६ हजार ३५६ पटक १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तीन वर्षअघि वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थिए । गत वर्ष (२०८० असार) मा २ करोड ८ लाख २२ हजार ८६१ पटक २० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वालेट प्रयोगकर्ता संख्या बढेर १ करोड ८९ लाख ४१ हजार ७९१ जना थिए । भुक्तानी वा कारोबारमा काम गरिरहेका डिजिटल वालेटको प्रयोग निरन्तर उकालो लागेको छ भने कारोबार रकम पनि बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । पाँच वर्षको अवधिमा वालेट प्रयोगकर्तासँगै कारोबार रकम पनि उच्च वृद्धि भएको छ । पाँच वर्षअघि २०७७ साउनसम्म वालेट प्रयोगकर्ता ६२ लाख ७४ हजार १२९ जना थिए । तर, ५ वर्षमा प्रयोगकर्ताको संख्या २८६.६२ प्रतिशत बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ जना पुगेका छन् । यस्तै, कारोबार रकम पनि ४७६.५६ प्रतिशत बढेको छ । ५  वर्षअघि वालेटबाट ७ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । कति छ वालेटमा बचत ? कुन वालेट कम्पनीमा कति बचत छ भनेर सार्वजनिक तथ्याङ्क छैन । सर्वसाधारणको अर्बाैं रुपैयाँ रहेको वालेट कम्पनीमा राष्ट्र बैंकले पनि सार्वजनिक गर्न मान्दैन । तर, वालेट कम्पनीका सीईओहरूसँगको अनौपचारिक कुराकानीका आधारमा दैनिक अर्बाैं रुपैयाँ वालेटमा बचत रहन्छ । वालेट कम्पनीहरूमा सबैभन्दा धेरै प्रयोगकर्ता (युजर) ईसेवामा छन् । ईसेवा १ करोड बढीले डाउनलोड गरेको भएपनि वास्तविक प्रयोगकर्ता भने ६० लाख हाराहारीमा मात्रै रहेको कम्पनी स्रोतको भनाइ छ । स्रोतका अनुसार दैनिक कारोबार गर्दा पनि दैनिक २ देखि ३ अर्ब रुपैयाँ ईसेवामा बचत रहन्छ । यस्तै, खल्ती र आइएमई पेका प्रयोगकर्ताको संख्या पनि उच्च छन् । खल्तीका २४ लाख प्रयोगकर्ता छन् भने आइएमई पेको पनि सोही हाराहारीमा प्रयोगकर्ता रहेका छन् । स्रोतका अनुसार यी दुई वालेटमा प्रयोगकर्ताको बचत १ अर्ब बढी नै हुने गरेको छ । यस्तै, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभभित्र पर्छन् । जसमध्ये माइ पेका १० लाख, प्रभु पेका ९ लाख र नमस्ते पेका ७ लाख प्रयोगकर्ता छन् । स्रोतका अनुसार यी वालेटको पनि दैनिक बचत ५० करोडभन्दा बढी हुने गरेको छ । अन्य कम्पनीको प्रयोगकर्ता कम भए पनि सर्बसाधारणको बचत रकम करोडौंमा रहेको छ । सजिलो पेका प्रयोगकर्ता २ लाख ८० हजार छन् भने पे वेलका ४ लाख बढी प्रयोगकर्ता छन् । स्रोतका अनुसार पेवेलको बचत १७ करोडभन्दा बढी रहेको थियो । त्यसैले २६ वटै वालेट कम्पनीको तथ्याङ्कलाई जोड्दा अर्बाैं रूपैयाँ हुने देखिन्छ । अप्ठ्याराेमा वालेट कम्पनी राष्ट्र बैंकको तथ्याङ्कअनुसार २६ वटा वालेट कम्पनी सञ्चालनमा छन् । कम्पनीका कर्मचारीहरू र नियामक नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग कुरा गर्दा अहिले अधिकांश वालेट कम्पनीहरू घाटामा सञ्चालन भइरहेका छन् । सर्वसाधारणको अर्बौं रूपैयाँ होल्ड गरेर व्यवसाय सञ्चालन गरिरहेका वालेट कम्पनीहरू घाटामा जाँदा सर्वसाधारणको वालेटमा रहेको रकम पनि जोखिममा छ । लामो समयदेखि वालेट सञ्चालनमा रहेपनि उल्लेख्य नाफा भने गर्न सकेका छैनन् । अहिले सञ्चालनमा रहेको ईसेवा मात्रै नाफामा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालसम्म खल्ती र आइएमई पे वालेटले लागत मात्रै उठाउन सकेका छन् भने अन्य वालेट कम्पनीलाई लागत पनि उठाउन सकस परिरहेको राष्ट्र बैंकको भुक्तानी विभागका एक कर्मचारीले बताए । वालेटमा कमाइ भन्दा धेरै खर्च हुने गरेको ती कर्मचारीको भनाइ छ । खल्ती गत वर्षदेखि नाफा आर्जन गर्ने योजनाका साथ काम गरिरहेको थियो । तर, विभिन्न कारणले कम्पनी नाफामा जान नसकेको बताइएको छ । चालु आर्थिक वर्षदेखि भने नाफा गर्ने लक्ष्यमा रहेको खल्तीका एक कर्मचारीको भनाइ छ । ‘डिजिटल कारोबारको भविष्य राम्राे रहेकाले अहिले लगानीमा जोड दिइरहेका छन्, बैंकहरूले पनि डिजिटलमा लगानी मात्रै गरिरहेका छन्, त्यति धेरै नाफा गर्न सकेका छैनन्,’ एक वालेट कम्पनीका सीईओले भने, ‘वालेटमा दीर्घकालीन लगानी गरेका छौं, अब काम गर्दै जाँदा केही समय लाग्न सक्छ, अहिले नाफाभन्दा पनि एउटा आधार बनाउन लागिरहेका छौं ।’ वालेटले मागे ब्याज वालेट कम्पनीले निक्षेप जम्माको काम गर्न पाउँदैनन् । त्यसैले सेटलमेन्ट बैंकमा रकम राख्नुपर्ने हुन्छ । दैनिक अर्बाैं रुपैयाँ बचत रहने भएकाले सो बापतको ब्याज पाउनुपर्ने वालेट कम्पनीहरूले माग गर्दै आएका छन् । हाल वालेट कम्पनी घाटामा चलिरहेको र आम्दानीको स्रोत हुने भएकाले दैनिक बचतअनुसारको ब्याज सेटलमेन्ट बैंकले दिनुपर्ने माग गरिरहेका छन् । ‘वालेटको रकम सेटलमेन्ट बैंकमा जम्मा हुन्छ । त्यो रकम वालेटमा देखिने मात्रै हो, भर्चुअल पैसा जस्तै हो, राष्ट्र बैंकले दैनिक वालेटको छुट्टै र सेटलमेन्ट बैंकको छुट्टै रिपोर्टिङ गरिरहेको हुन्छ,’ एक वालेट कम्पनीका सीईओले भने, ‘जस्तो कुनै वालेटले १७ करोड रुपैयाँ राखेको छ भने त्यो सेटलमेन्ट बैंकको कम देखिएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ, वालेटको ब्यालेन्स र सेटलमेन्ट बैंकको खातामा बराबर रकम हुनुपर्छ ।’ वालेट कम्पनीलाई कल डिपोजिटमा भएको रकममा ब्याज दिने गरिएको छ । तर, सो ब्याजदर न्यून भएकाले बचत खातामा सरह ब्याज दिनुपर्ने माग वालेट कम्पनीको छ । समस्यामा प्रयोगकर्ता अर्बाैंको कारोबार हुने गरेको वालेट प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयतासँगै रकम पनि जोखिममा रहेको छ । राष्ट्र बैंकले गत जेठदेखि पेवेल नेपाल र सजिलो पेको सबै बैंक खाता रोक्का गरेको छ । यी दुईको बैंक खाता रोक्का भएसँगै प्रयोगकर्ताले कारोबार गर्न पाएका छैनन् । यी दुई कम्पनीको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, ५ महिनासम्म पनि प्रयोगकर्ताको बचत सो वालेटमा रहँदा न ब्याज पाउँछन् न कारोबार नै गर्न पाएका छन् । अहिले अर्को एक अग्रणी वालेट कम्पनी पनि ठूलो समस्यामा रहेको बुझिएको छ । सो वालेट कम्पनीको विषयमा नियामक नेपाल राष्ट्र बैंकमा पनि सेवाग्राहीको गुनासो गएको छ । अहिले सहकारीमा झै वालेट कम्पनीहरुमा समस्या देखिएमा त्यसले बैकहरुलाई पनि नराम्ररी असर गर्न सक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।

कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव सुरु

काठमाडौं । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ सुरु भएको छ । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा मेलाको शुभारम्भ गरे । काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको बजारीकरण पनि महत्त्वपूर्ण पाटो भएको बताए । स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरूले तयार गरेका उत्पादनहरूको बजारीकरणमा चुनौती देखिएको भन्दै उनले उद्यमशीलतामा लाग्नेहरूलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरूको ध्यानाकर्षण गराए । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको बताए । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको उनले बताए । प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् । प्रदर्शनीको शुभारम्भका अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका सल्लाहकार वासु गिरी, घरेलु तथा साना उद्योग संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष डोल्मा शेर्पा, उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौंका कोषाध्यक्ष सन्तोष कार्कीलगायतले मेलाका बारेमा बोलेका थिए ।

इक्यानको शैक्षिक मेलामा ५ हजार बढीको सहभागी

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थी र अभिभावकले विदेशी शैक्षिक संस्थाबारे जानकारी लिएका छन् । बुधबार काठमाडौंको एभरेस्ट होटलमा आयोजना गरिएको मेलामा ५ हजार बढी विद्यार्थी अभिभावकले भिजिट गरेको इक्यानका सचिव रत्न भट्टराईले बताए । उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेलाकाे आयाेजना गरिएकाे हाे । मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको सचिव भट्टराईले बताए । सहभागी विद्यार्थी अभिभावकहरूले विभिन्न देशको शैक्षिक अवस्था जस्तै- त्यहाँ पढ्न जाँदा लाग्ने खर्च, त्यहाँका शिक्षा प्रणालीलगायतका विषयमा जानकारी लिएका छन् । कोरोना महामारीपछि भौतिक रूपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो । विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए । मेला संयोजक गीता सिवाकोटीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको मेला  महत्त्वपूर्ण प्लेटफर्म भएकाे बताइन् । उनले भनिन्, ‘अहिले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम बढ्दो छ, तर धेरैजस्तो विद्यार्थीलाई त्यहाँको शैक्षिक संस्थाबारे जानकारी नै हुँदैन । यो मेला त्यस्ता विद्यार्थीका लागि एक महत्त्वपूर्ण प्लेटफर्म हो ।’ मेलामा विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श लिएका छन्। ‘म कहाँ जाँदै छु ? कुन देश जाँदै छु ? त्यसको बारेमा अध्ययन गर्न जरुरी छ,’ सचिव भट्टराई भन्छन्, ‘हामीले विद्यार्थीलाई यस्तै खालका जानकारी दिन मेलाको आयोजना गरेका हाैं ।’ मेलामा भारत, चीन,बंगलादेश, श्रीलंका लगायत विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पानीको शुद्धिकरण गरी वितरण गर्न आवश्यक भएको बताएका छन् । बुधवार स्वास्थ्य मन्त्रालयमा उपत्यकाका मेयर फोरमसँगको छलफलका क्रममा उहाँले यस्तो बताएका हुन् । उनले खानेपानी मन्त्रालयसँग समन्वय गरी साझा विषयमा काम अघि बढाउने बताए । उनले विपद्को बेलामा खानेपानी शुद्ध नभए त्यसले निम्त्याउने जोखिम डरलाग्दो हुने भन्दै खानेपानी शुद्ध भए/नभएको परीक्षण गर्ने संयन्त्र बनाइ अनुगमनको विषयलाई प्रभावकारी बनाइने बताए । मन्त्री पौडेलले पानीको शुद्धिकरणका लागि सरकारबाट परिचालन गर्ने संयन्त्र र आवश्यक पर्ने साधनस्राेतहरूको व्यवस्थापन गर्ने बताए । उनले ट्यांकरको पानीमा न्युनतम पानी शुद्धिकरणका उपाय अपनाएको छ वा छैन भन्नेबारेमा मापदण्ड तोकेर निगरानी राख्नुपर्ने बताए । उनले शुद्ध पानी पिउन र उमालेर मात्रै पानी पिउनका लागि जनचेतना फैल्याउनुपर्ने बताए । उनले खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा व्यक्ति र मिति तोकेरै समन्वय गर्ने समूह बनाइ काम अघि बढाउने बताए । मन्त्री पौडेलले पानी जम्मा गरिएका ट्याङ्कीमा पानी शुद्धिकरणका लागि आवश्यक संयन्त्र परिचालन गर्ने पनि बताए ।