‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन डलर कमाउँछौं, त्रिदेशीय सम्बन्ध थप मजबुत बन्छ’
काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत निर्यातको लागि सम्झौता भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) बीच ४० मेगावाट विद्युत किनबेच गर्ने सम्बन्धि सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरूले सम्झाैतापत्रमा हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेशमा विद्युत निर्यात गर्न पाउँदा खुसी व्यक्त गरे । यो सम्झौताले नेपाल, भारत र बंगलादेशबीच थप व्यापार गर्न सहज हुने धारणा राखे । भारतीय ग्रिडको प्रयोगबाट भारतबाट बंगलादेश निर्यात हुने विद्युतले नेपालको वैदेशिक मुद्रा कमाउन सहयोग पुग्ने बताए । उनले यसबाट वार्षिक ९.२ मिलियन अमेरिकी डलर आम्दानी (एक अर्ब २२ करोड बढी नेपाली रुपैयाँ ) हुने धारणा राखे । उनका अनुसार निर्यात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ । उनले तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने पहिलो देश नेपाल बनेको भन्दै खुसी व्यक्त गरे । ‘यो सम्झौताले कमाइ मात्रै हुँदैन, त्रिदेशी मान्छे-मान्छेबीच सम्बन्ध बढाउने र आर्थिक सम्बन्ध बढाउन टेवा पुग्छ, आर्थिक गतिविधि बढाउँछ,’ उनले भने । बंगलादेश सरकारले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको थियो । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको हो । ‘टोकन’ कै रूपमा भएपनि नेपालको बिजुली बङ्गलादेश पुग्नु ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । बुधबार मात्रै दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल हुँदै आएको थियो । यस्तै, दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना (नेपाल, बङ्गलादेश र भारतबीच) सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुङ्गो लगाउने सहमति भएको छ । नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन हुने भएको छ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गरिनेछ । त्यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गरिनेछ । गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । पुनः दोस्रो पटक गत साउन १३ मा नेपाल, भारत र बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो । यस्तै, नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकको समेत आयोजना गरिएको थियो । तत्कालीन समयमा बङ्गलादेशको राजनीतिक परिवर्तनले सो कार्यक्रम स्थगन हुन पुग्यो । बङ्गलादेशको अन्तरिम सरकारले पनि बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल भइरहेको थियो । यस्तै, कुल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । यो अर्को महत्त्वपूर्ण विषय हो । साङ्केतिक रूपमा नै भए पनि बङ्गलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रूपमा लिइएको छ । भारतपछि उपक्षेत्रीय रूपमा नेपालको बिजुली अन्यत्र पुग्नु आफैमा महत्त्वपूर्ण हुने सरकारको बुझाइ छ । प्राधिकरणले भारतीय कम्पनी एनभिभीएनलाई बिजुली उपलब्ध गराउने छ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पुर्याउने छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । सम्झौता अनुसार, प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली लैजान इच्छा व्यक्त गरेको छ । विद्युत् बिक्रीसम्बन्धी सम्झौताका विषयमा पटकपटक छलफल भए पनि अन्तिम निष्कर्ष भने निस्कन सकेको छैन । यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौं बैठकले गरिसकेको छ । सोही बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौंमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ ।
दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने
काठमाडौं । मनकामना केबलकार सेवा दशैंमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौं । दुर्गापक्षको पहिलो दिन आज घटस्थापनाका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा घुइँचो लाग्ने गरेकामा आज दशैंको पहिलो दिन भएकाले भक्तजनको लर्को लागेको हो । राजधानीको मुख्य भागमा रहेको भद्रकाली मन्दिरसहित गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यसैबीच, मन्दिर वरपरको जीर्ण सत्तल भत्काएर बनाउने काम भइरहेकाले भक्तजनलाई असहज भएको गुनासो गरेका छन् । विगतका वर्षमा सहज रुपमा दर्शन एवं पूजाआराधना गर्ने गरिए पनि यस वर्ष भद्रकाली मन्दिरलाई दाहिन बनाएर घुम्न नसक्ने गरी रोकिएको दर्शनार्थी सुमन खड्गीले गुनासो गरे । दाहिने बनाएर घुम्ने ठाउँ भएपनि निर्माण पक्षले रोकेको जस्तो देखिएको उनको गुनासो छ । दुर्गापक्ष लागेपछि विवाहको साइत नभएपनि शुभ समय भन्दै विवाह गर्ने जोडी पनि मन्दिर परिसरमा देखिन्छन् । देशभरका शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएका छन् । देवीका भजन, मालश्री धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । आकर्षकद्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । नवरात्रका अवसरमा कम्तीमा पनि नौवटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको बताए । यसैगरी उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत देशभरका देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरेमा मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । दशैंको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् । दशैंका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को लागेको दृखिन्छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्किन थालेका छन् भने कतिपय जाने तयारीमा छन् । काठमाडौं उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । यस वर्ष गत हप्ताको भारी वर्षापछि आएको बाढीपहिरोले कतिपय राजमार्ग अवरुद्ध हुँदा आवागमनमा समस्या भएको हो । अझै देशका विभिन्न भागमा वर्षा भइरहेकाले सचेततापूर्वक यात्रा गर्न सरकारले अनुरोध गरेको छ । रासस
सरकारको पूर्वसूचना विपरीत यातायातका साधन सञ्चालन गर्नेलाई कारबाही हुने मन्त्रीको चेतावनी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरीत यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका हुन् । उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरूले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडि बढेको बताए । उनले वैकल्पिक राजमार्गबाट यात्रुहरूलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वाभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने जानकारी दिए । मन्त्री दाहालले अवरुद्ध सडक सञ्जाल सुचारु गर्न प्रयास भइरहेको पनि बताए । याे पनि पढ्नूहोस्: ३१ स्थानमा अझै सडक अवरोध, पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
३१ स्थानमा अझै सडक अवरोध, पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
रोशी खोलाको बाढीले शनिबार बगाएको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा क्षतिग्रस्त दुई सय मिटर सडक । तस्बिर: राजकुमार पराजुली/रासस काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १० र ११ गते परेकाे अविरल वर्षाले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी दिएकाे हाे । मन्त्रालयका अनुसार देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको छ । ७७४ स्थानकाे पहिराे हटाइ यातायात सञ्चालनमा ल्याइसकिएकाे छ । अझै ३१ स्थानमा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने जनाएकाे छ । मन्त्रालय र सडक विभागको टोलीले हिजाे निरीक्षण गरेकाे थियाे । उक्त निरीक्षणपश्चात राजमार्ग नखुल्ने भएकाे हाे । बीपी राजमार्गको १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यसैगरी, मन्त्रालयले बाढी-पहिरोले क्षति पुर्याएकाे सडक तथा पुलहरू पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ । मन्त्रालयका अनुसार क्षतिकाे विस्तृत विवरण संकलनकाे काम जारी नै छ । प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपैयाँ लाग्ने बताइएकाे छ । क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ किमि, विपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ किमि, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किमि, कान्ति राजपथ घपेली–बगुवा सडकखण्ड १३ किमि र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ किमि हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए । त्यसैगरी, क्षति भएको पुलहरूमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, बीपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको बागमती पुल, माईपोखरी–सन्दकपुर ईलामको रातेखोला पुल र कान्ति राजपथको बागमती पुल रहेको छ ।
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्यांकअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका छन् । यो सङ्ख्या सन् २०२३ को अगस्ट ९३० हजार ७०३० को आधा हो । अष्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा, १८ हजार ६९७ विद्यार्थीहरूले आवेदन दिएका छन् । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीहरूले आवेदन हालेका थिए । हाल अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अष्ट्रेलियाली डलरबाट बढाएर एक हजार ६०० अष्ट्रेलियाली डलर बनाएको छ । सरकारले अगस्टमा अष्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो । नयाँ तथ्यांकअनुसार अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदनहरू जुलाई र अगस्ट २०२३ को १३ हजार ४७ बाट ६६.४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा चार हजार ३८३ मा झरेको छ । यसैगरी, फिलिपिन्सको आवेदन सङ्ख्या पाँच हजार १२६ बाट ८४९ र पाकिस्तानको चार हजार २३४ बाट घटेर ६१६ मा झरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सबैभन्दा धेरै अष्ट्रेलिया जाने चिनियाँ विद्यार्थीको भिसा आवेदन सन् २०२३ र २०२४ को बीचमा १० प्रतिशत भन्दा कमले घटेको छ । अष्ट्रेलिया विश्वविद्यालयहरूको सर्वोच्च निकाय (युनिभर्सिटिज अस्ट्रेलिया) ले विश्वविद्यालयहरूलाई सरकारको प्रस्तावित विद्यार्थी सीमाले देशको अर्थव्यवस्थालाई अर्बौं डलर घाटा लाग्नेछ भने यसको परिणामस्वरूप उच्च शिक्षा क्षेत्रमा हजारौं रोजगारी गुम्नेछन् । – रासस
घर जाने टिकट नपाएर यात्रुको बिजोग (फोटोफिचर)
काठमाडौं । नेपालीहरूको महान पर्व दशैं घर आँगनमै आइसकेकाे छ । बिहीबारदेखि घटस्थापना अर्थात् नवरात्र सुरु भइसकेकाे छ । दशैं सुरु भएसँगै नयाँ बसपार्कमा यात्रुहरूकाे भीड लागेकाे छ । जागिर, पढाइ, व्यवसाय लगायतका विभिन्न कामका लागि राजधानी पसेकाहरू आफ्नाे जन्मघर फर्किन थालेका हुन् । तर, घर जानका लागि बसपार्क पुगेकाहरूले टिकट नपाएकाे गुनासाे गरेका छन् । गत साता परेको अविरल वर्षाका कारण बिग्रिएका राजमार्गहरू खुलाएर नागरिकहरूलाई निर्वाध रूपमा घर जाने वातावरण तय गर्न सरकारले निर्देशन दिएकाे छ ।
भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन बनाउन १५ अर्ब रुपैयाँ अनुदान दिने
काठमाडौं । भारत सरकारले नेपालमा दुई पेट्रोलियम पाइपलाइन बनाउने भएकाे छ। भारत सरकारको अनुदानमा पाइपलाइन बन्ने निश्चित भएको हाे । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच बिहीबार सम्झाैता भएकाे छ । पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माणसम्बन्धी सम्झौताअनुसार ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र १८ हजार ९ सय किलोमिटर क्षमताको ग्रिनफिल्ड टर्मिनल बन्न लागेकाे हाे । साथै अमलेखगञ्जबाट चितवनको लोथरसम्मको पाइपलाइन परियोजनासमेत निर्माण हुने भएकाे छ । निगमका अनुसार परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहेकाे छ ।