हाइड्रोको क्षतिले बीमकलाई बर्सेनि हैरानी, पुनर्बीमा शुल्क बढ्न सक्ने
काठमाडौं । जलविद्युत क्षेत्रमा आउने बर्सेनिको प्रकोपले बीमा कम्पनी र पुनर्बीमा कम्पनीलाई हैरानी थपेको छ । विभिन्न प्राकृतिक विपतिले ठूलो धनजनको क्षति हुँदा कम्पनीलाई बर्सेनि हैरानी थपेको हो । यसले बर्सेनि अर्बौं रुपैयाँको दायित्व कम्पनीलाई थपिरहेको छ । केही दिनअघिको निरन्तरको वर्षाले विभिन्न ठाउँमा बाढीपहिरो आउँदा २० भन्दा बढी जलविद्युत आयोजनामा ठूलो क्षति गरेको जलविद्युत उद्यमीहरू बताउँछन् । बाढीपहिरोसँगै विभिन्न समयमा आउने प्राकृति विपत्तिले पनि जलविद्युत परियोजनामा क्षति गर्दै आएको छ । केही दिनअघिको बाढीपहिरोले मात्रै जलविद्युत परियोजनाको करिब ५ अर्ब रुपैयाँबराबर क्षति भएको अनुमान जलविद्युत उद्यमीहरूको छ । २०८० सालमा पनि बाढीपहिरोको कारण ३० वटाभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको थियो । सो वर्ष जलविद्युतमा १० अर्ब रुपैयाँ बढीको क्षति भएको जलविद्युत उद्यमीहरू बताउँछन् । यस्तै, २०७९ सालमा पनि बाढीपहिरोबाट २० वटा जलविद्युतमा १ अर्बको क्षति भएको थियो । २०७२ सालको भूकम्पबाट १५ वटाभन्दा बढी जलविद्युतमा करिब १९ अर्ब बढीको क्षति पुगेको थियो । जलविद्युतमा बीमा नेपालमा जलविद्युतको बीमा ट्यारिफ दरमा आधारित छ । अर्थात जलविद्युतको बीमा गर्दा लाग्ने बीमाशुल्क निश्चित निर्धारण गरिएको हुन्छ । सामान्यतया जलविद्युतमा दुई प्रकारको बीमा हुन्छ । निर्माणाधीन जलविद्युतको इन्जिनियरिङ तथा ठेक्का पोर्टफोलियो अन्तर्गत बीमा हुन्छ । यसैगरी, निर्माण भइसकेको जलविद्यतु आयोजनाको सम्पती बीमा अन्तर्गत बीमा हुने गर्दछ । जसको बीमाशुल्क दर बीमांक रकमको ७.५ रुपैयाँ प्रति हजार रुपैयाँमा हुन्छ । बीमा एक वर्षसम्मका लागि हुन्छ । एक वर्षपछि फेरि बीमा नवीकरण गर्दा प्रतिहजार २० पैसा प्रतिमहिनाका दरले बीमाशुल्क लाग्ने व्यवस्था छ । निर्माण सम्पन्न भइसकेको जलविद्युतको बीमालाई ४ भागमा गरिन्छ । निर्माण सम्पन्न भएको भवन, पर्खाल, ड्याम लगायतको भौतिक निर्माण भएका सम्पत्ति बीमा अन्तर्गत गरिन्छ । जसको बीमाशुल्क २ रुपैयाँ प्रति हजार रुपैयाँ रहेको छ । हाइड्रो पावरमा भएका मेसिनहरुको बीमा पनि सम्पत्ति बीमा अन्तर्गत नै पर्दछ । जसको बीमाशुल्क १० रुपैयाँ प्रतिहजार पर्न जान्छ । यसका साथै ‘लस्ट अफ प्रोफिट’को पनि बीमा हुन्छ । जलविद्युतमा भएको कुनै क्षतिका कारणले हुने घाटाको रकम पनि बीमा कम्पनीले भुक्तानी गर्दछ । अर्थात्् बाढीबाट जलविद्युत कम्पनीमा भएको क्षतिले विद्युत उत्पादन बन्द भएमा बन्द भएको समयको क्षतिपूर्ति बीमा कम्पनीले भुक्तानी गर्ने गर्दछ । तर, बन्द भएको ६० दिनसम्मको घाटाको क्षतिपूर्ति भने बीमा कम्पनीले तिर्दैनन् । जलविद्युत बन्द भएको ६१ दिन देखिको क्षतिको मात्र बीमा कम्पनीले बेहोर्छ । मेसिनरी ‘लस्ट अफ प्रोफिट’को पनि बीमा हुन्छ । यसअन्तर्गत मेसिन बिग्रिएका कारण वा मेसिनमा क्षति पुगेका कारणले मात्र उत्पादन बन्द भएमा सोको क्षतिपूर्ति बीमा कम्पनीले बेहोर्छ । यसमा पनि ६० दिन सम्मको क्षतिपूर्ति भने बीमा कम्पनीले बेहोर्दैन । ६१ दिन देखिको क्षतिपूर्ति मात्र बीमा कम्पनीले बेहोर्छ अर्थात मेसिन बिग्रिएका कारण ६१ दिनसम्म जलविद्युतमा उत्पादन बन्द भयो भने सो १ दिनको मात्र क्षतिपूर्ति बीमा कम्पनीले बेहोर्छ । पुनर्बीमा शुल्क बढ्न सक्ने नेपाली बीमा कम्पनीले रेटिङ भएका विदेशी पुनर्बीमा कम्पनीसँग मात्र पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । जसका लागि नेपाल बीमा प्राधिकरणले कुन कुन रेटिङ भएका पुनर्बीमकसँग पुनर्बीमा गर्ने भनेर तोकिदिएको छ । अर्थात रेटिङ नभएका पुनर्बीमा कम्पनीसँग पुनर्बीमा नगर्न प्राधिकरणले व्यवस्था नै गरेको छ । सामान्यतया रेटिङ भएका कम्पनी विश्वासिलो र जवाफदेही हुने भएकाले पनि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । पुनर्बीमा गर्दा पछि क्षति भएपछि पुनर्बीमा बापतको रकम दाबी गर्दा समयमा भुक्तानी पाइयोस् भनेर प्राधिकरणले रेटिङ भएका कम्पनीहरुमा नै पुनर्बीमा गर्नुपर्ने नियम ल्याएको हो । तर, प्राधिकरणले तोकेअनुसार रेटिङ भएका विदेशी पुनर्बीमकले सामान्यतया दाबी भुक्तानीमा पनि पारदर्शी र बीमा शुल्क पनि उच्च दरमा लिने गर्दछन् । नेपालको जलविद्युतको पुनर्बीमाको ठूलो हिस्सा विदेशी पुनर्बीमकले लिने गरेका छन् । पछिल्लो समय बर्सेनि आइरहेको बाढीपहिरोले बढाइरहेको क्षतिले विदेशी पुनर्बीमकलाई नेपालमा पुनर्बीमा गर्न त्रर्साउने देखिन्छ । नेपालमा आइरहेको बर्सेनिको बाढीपहिरोले विदेशी पुनर्बीमकलाई जलविद्युतको पुनर्बीमा लिन नसक्ने सम्भावना रहेको नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् । अधिकारीका अनुसार नेपालको जलविद्युतको जोखिमलाई हेरेर उनीहरुले हाम्रो दर अनुसार पनर्बीमा गर्न नमान्ने अवस्था आउन सक्छ । यसका साथै उनीहरु जोखिममा आधारित मूल्यमा मात्र पनर्बीमा गर्ने गरी बार्गेनिङ गर्न सक्ने हुन सक्छ । तर, नेपालको बीमा क्षेत्र विदेशीका लागि एकदम सानो बजार भएकाले त्यसबारे विदेशीले खासै चासो नदिने अवस्था पनि रहेको उनले उल्लेख गरे । नेपालको जलविद्युतको जोखिमको बारेमा कुनै पनि दिन उनीहरुले इस्यू उठाएर अहिलेको दरमा पुनर्बीमा गर्न नमान्ने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ । निर्जीवन बीमाका जानकार तथा साविक लुम्बिनी जलरल इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले विदेशी पुनर्बीमकले नेपालको जलविद्युतको पुनर्बीमा गर्न अहिले पनि हिचकिचाई रहेको धारणा राखे । नेपालमा हुने यस किसिमको प्रकोप र त्यसबाट सिर्जित क्षतिका कारणले विदेशीहरु नेपालको जलविद्युतको पुनर्बीमामा अझै तर्किन खोज्ने सम्भावना बढेको उनको भनाइ छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था नेपाल बीमक संकका अध्यक्ष चंकी क्षेत्रीले पनि यस प्रकारको क्षतिले गर्दा विदेशमा नेपालको जलविद्युतको पुनर्बीमा गर्न कठिन हुन थालेको बताए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीका अनुसार विदेशी पुनर्बीमकले यस वर्ष भएको क्षतिको रिकभरी अर्काे वर्ष हुन्छ वा हुँदैन भनेर क्याल्कुलेसन गर्छन । यदि अर्काे वर्ष गत वर्षको क्षतिको रिकभरी नभएको खण्डमा उनीहरुले हालको बीमाशुल्क दरमा पुनर्बीमा गर्न मान्दैनन् । ‘विदेशी पनर्बीमकले ५/१० वर्षको अनुमानित घाटा र आम्दानीलाई हिसाब गरेर कुन रेटमा गर्दा उपयुक्त हुन्छ भनेर विचार गर्ने गर्दछन्,’ उनले भने, ‘नेपालमा निरन्तर बाढीपहिरोबाट क्षति भएको उनीहरुले देखिरहेका छन्, त्यसकारण अहिलेको बीमाशुल्क दरमा उनीहरुले बीमा नगर्ने निश्चित छ ।’ भारतको पनि सिक्किम लगायतका क्षेत्रहरुमा बनेका जलविद्युतहरु नेपालको जस्तै जोखिम अवस्थामा रहेको उल्लेख गर्दे उनले थपे, ‘भारततिर ‘फुल कभरेज’ नगर्नेगरी पुनर्बीमा गर्ने प्रणाली लागु भइसकेको छ । ढिलो चाँडो नेपालमा पनि त्यस प्रकारको व्यवस्था उनीहरुले खोज्न सक्छन् ।’ बीमाशुल्क भने पुरा बीमांक रकम बराबरको लिने र त्यसको क्षतिको भुक्तानी भने निश्चित मात्रामा मात्र दिने व्यवस्था भारतमा पनि लागु हुन थालेको उनले बताए । अहिले पनि विदेशमा नेपालको जलविद्युतको पुनर्बीमा हुन कठिन रहेको उनको भनाइ छ । यस प्रकारको क्षति नेपाली जलविद्युतले भोगिरहेको अवस्थामा अहिलेको बीमाशुल्क दरमा विदेशीहरुले पुनर्बीमा नगर्ने निश्चत रहेको अध्यक्ष क्षेत्रीले बताए । उनका अनुसार बीमाशुल्क दर दुई सय प्रतिशतसम्म बढाउन सक्ने जोखिम देखिएको पनि उनको भनाइ छ ।
श्री एयरलाइन्सले भोलिबाट काठमाडौं-भरतपुर उडान भर्ने
चितवन । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । ‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौं,’ कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुईवटा उडान हुनेछ ।’ धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौं-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।
इयूले लेबनानलाई दिने सहायता तीन करोड युरोले वृद्धि
काठमाडौं । युरोपेली संघ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौं।’ उनले थपिन्, ‘हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ ।’ अध्यक्ष लेयेनले मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकाेमा चिन्ता पनि व्यक्त गरिन् । उनले भनिन्, ‘मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु । निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै दलले सक्दो प्रयास गर्नुपर्छ ।’ युरोपेली संघको पछिल्लो सहायता प्याकेज सप्ताहन्तमा घोषणा गरिएको १० मिलियन युरोभन्दा माथि रहेको छ । यससँगै लेबनानका लागि युरोपेली सङ्घको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ। इजरायलले लेबनानको हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गर्दै सीमापार आफ्ना सेना पठाएको छ । लेबनानमा इजरायली बमबारीमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाह हवाई आक्रमणमा मारिएका छन् । लेबनानका अधिकारीहरूले इजरायली आक्रमणका कारण करिब १० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन्।
सन् २०२३ मा इटालीको कफी निर्यात ६.८ प्रतिशतले बढ्यो
काठमाडौं । इटालियन कफी निर्यात गत वर्ष रेकर्ड २.२५ बिलियन यूरो (२.५० बिलियन अमेरिकी डलर) पुगेको छ । गत वर्षको तुलनामा यो ६.८ प्रतिशतले बढेको हो । यो देशको सबैभन्दा भरपर्दो निर्यात उत्पादनहरूमध्ये एक हो । कफीको प्रवर्द्धनका लागि इटालीको कन्सोर्टियमको घोषणा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय कफी दिवसको १० औं संस्करणसँग मिल्दोजुल्दो छ । कन्सोर्टियमले ब्राजिललाई पछि पार्दै रोस्टेड कफीको विश्वको दोस्रो ठूलो निर्यातक इटाली रहेको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय कफी दिवस पहिलो पटक इटालीमा सन् २०१५ मा मिलान वल्र्ड एक्स्पोमा विभिन्न राष्ट्रिय कफी उत्सवहरू मिलाएर मनाइएको थियो । यो दिवसको उद्देश्य कफीलाई प्रवर्द्धन गर्ने र कफी उत्पादकहरूले सामना गर्ने चुनौतीहरू, जलवायु परिवर्तन, दिगो खेती र निष्पक्ष व्यापार अभ्यासहरू लगायतका चुनौतीहरूलाई प्राथमिकता दिनु हो ।
विद्युत व्यापारमा नेपालको ऐतिहासिक फड्को, तेस्रो मुलुकमा बिजुली निर्यात गर्ने पहिलो देश
काठमाडौं । ‘कम क्षमताको भए पनि विद्युत व्यापारमा हामीले ऐतिहासिक फड्को मारेका छौं, अहिलेका लागि ४० मेगावाट निर्यात गर्ने भएपनि आगामी दिनमा यो क्षमता बढ्नेछ, तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने पहिलो देश नेपाल बन्नु गौरवको विषय हो,’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सगौरवका साथ कार्यक्रमको सुरुमा अतिथिलाई स्वागत गर्दै भने । बिहीबार नेपाल, भारत र बंगलादेशका अधिकारीहरूबीच नेपालबाट भारतीय ग्रिडको सहायताले बंगलादेश विद्युत निर्यात गर्ने सम्झौता कार्यक्रममा उनले यो कार्यले त्रिदेशीय सम्बन्धसँगै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा व्यक्त गरे । आज भएको सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रनु नारंगले हस्ताक्षर गरेका छन् । कार्यक्रममा घिसिङले यो ऐतिहासिक गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यावद पनि दिए । उनले कार्यक्रममा दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोसेढुंगा भएको बताउँदै यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने धारणा राखे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालले भारतमा विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न सफल भएको बताउँदै अब बंगलादेशमा निर्यात गरेर पनि थप आम्दानी गर्ने ढोका खुलेको धारणा राखे । यस्तै, कार्यक्रममा बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले यो सम्झौता दक्षिण एसियाली विद्युत सहकार्यमा कोशेढुंगा भएको धारणा राखिन् । उनले नेपाल, भारत र बंगलादेशको पारस्परिक लाभका लागि यो कदम महत्त्वपूर्ण रहेको धारणा राखिन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारमा यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले पनि दक्षिण एसियामा तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने नेपाल पहिलो देश बनेको उल्लेख गर्दै यसले त्रिदेशीय सम्बन्ध विस्तारमा पनि थप योगदान गर्ने बताए । विद्युत निर्यात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम हुनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ ।
इटालीको मुद्रास्फीति सेप्टेम्बरमा घट्यो
काठमाडौं । इटालीमा मूल्यवृद्धि सेप्टेम्बरमा सुस्त भएको छ । सेप्टेम्बरमा १.० प्रतिशतले मुद्रास्फिती घटेको हो । इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानको प्रारम्भिक तथ्याङ्कअनुसार सेप्टेम्बरमा मूल्य एक वर्षअघिको तुलनामा ०.७ प्रतिशतले बढेको छ । जुलाईमा १.३ प्रतिशत र अगस्टमा १.१ प्रतिशतको वार्षिक वृद्धिसँग तुलना गर्दछ । ऊर्जाको मूल्यमा मन्दी देखाउने प्रवृत्ति पछ्याउँदै यातायात लागत अगस्टमा वार्षिक रूपमा २.९ प्रतिशतको वृद्धिको तुलनामा २.५ प्रतिशतले बढेको छ ।
कहर काट्दै ललितपुरका बाढीपीडित, अझै पुगेन राहत [स्थलगत रिपाेर्ट]
काठमाडौं । ‘तपाईंहरू हामीलाई राहत दिन आउनुभएको हो ?’ बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो । ‘होइन नि, हामी त तपाईंहरूको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।’ यो जवाफले एक्कासि अध्याँरो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नि ।’ काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो कि भन्ने आशाले बाटो निहालिरहेकी रहेछिन् उनी । तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भनिन्, ‘अरू पनि आउँछन् यसरी नै । सोधेर जान्छन् । तर कोही राहत लिएर आउँदैनन् ।’ सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ । ‘आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्,’ माझी भन्छन्, ‘अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन् । रुन्छन् । के गर्नु ?’ बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, ‘बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो !’ सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो कि भन्ने आशा लाग्दोरहेछ । अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउँछन् उनी । ‘अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला । तर मुख्य खानेकुरै भएन,’ उनी भन्छन्, ‘नखाएर कति दिन बिताउन सकिएला ?’ अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नि झैं लाग्छ, उनलाई । ‘अरू ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौं नि,’ माझी भन्छन्, ‘पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौंला । बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजें तर कसैले पत्याएनन् ।’ कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उनी सुनाउँछन् । ‘भए पनि एक्कासी महँगो बनाएका छन्,’ माझी भन्छन् । सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन् । केही थान भाँडा भेटिएछ । अरू त सबै भेलसँगै बगाएर लगेछ । ‘कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,’ उनी भन्छिन्, ‘सबै लग्यो बाढीले । धन्न ज्यान त बच्यो ।’ माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेकी छन् । ‘बाढीले ज्यान त बचायो । खान नपाएर मर्न चाहिं नपरोस्,’ उनी भन्छिन्, ‘बच्चा छ । भोकाउँछन्, रोइहाल्छन् । के गर्नु ?’ आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, ‘पत्रकार अन्टी हाम्रो त घरै बगायो । मेरो किताब, कापी, लुगा सबै बगायो नि ।’ फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छन् गङ्गा थापा पनि । उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइनन् । ‘रातको ३ बजेको थियो, शौचालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ । तीन छोराछोरी र श्रीमानलाई पनि ब्युँझाए । भागाभाग भयो,’ थापा भन्छिन्, ‘एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नि । धन्न भाग्यले बाँचियो ।’ मानिसबाहेक सबै चिज बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ । अरूको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाहे भइरहेको गुनासो सुनाउँछिन् । उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेकाे र डोलेश्वर स्कुलको पेटीमा बास बसेकाे उनको भनाइ छ । ‘यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइन । नसोचेकै भयो,’ थापा भन्छन्, ‘जे भयो भयो । अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो ।’ वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैं लाग्छ । उनलाई आफू भएको ठाउँमा रित्तो हात त कोही पनि नआए नि हुन्थ्यो झैं लाग्छ । इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छिन् । ‘सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौ । जाँदा त खाने कुरा नै सकिएको रहेछ । अनि भोकभोकै फर्किनुपर्याे,’ उनले भनिन्, ‘आज यही स्थानीय क्लबले खुवाएको थियो । कत्ति खुसी लाग्यो । खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ ।’ ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टि साइडमा टेकमाया श्रेष्ठको घर छ । शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो । के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ । भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउँछिन् । ‘यत्ति धेरै क्षति हुन्छ भन्ने साेंचेका पनि थिएनौं । डुङ्गाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौं,’ उनी भन्छिन्, ‘तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो । धन्न बाँकी रहेछ ।’ माथि उल्लेख गरेका पात्रहरूको भन्दा उनको माग फरक छ, ‘सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस् ।’ ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ । नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ । ‘कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ,’ उनी भन्छन्, ‘हाम्रो क्षेत्र पनि ठूलो छ नी छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौं, सबै ठाउँमा पुग्नै भ्याइएको छैन ।’ उनका अनुसार गोदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जानाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ । ‘यहाँ कति क्षति भयो भन्ने कुरा आँकलन गरिरहेका छौं,’ उनले भनिन्, ‘पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरु र समाजसेवीहरुसँग राहतका लागि आग्रह नै गरिसकेका छौं ।’ उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताइन् । ‘चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौं, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छाैं,’ उनले भनिन् । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरुलाई पनि बाढी पहिरोकै कारण तहसनहस बनाएको छ । हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ । बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको बताउँछन्, ललितपुरस्थित महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट । ‘न बाटो छ, न सम्पर्क छ,’ उनले भने, ‘यहाँ त राहत व्यवस्थापनका लागि पनि निकै गाह्रो भइरहेको छ ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिए । ‘हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका महाङ्ककाल र बागमती गाउँपालिकामा हेलिकप्टरमार्फत राहत वितरण गरेका छौं,’ उनले भने, ‘स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ ।’ समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पिडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउँछन् जनस्वास्थ्यविद् डा.समिर अधिकारी । ‘कतिजनाले खानापछि खाने औषधि प्रयोग गर्न सक्नुहुन्छ, खानै नपाए औषधि कसरी खाने ? सुत्केरी तथा बिरामीलाई अझै शरीरमा पौष्टिक तत्व नपुगेर असर परिरहेको हुनसक्छ,’ उनी भन्छन्, ‘लामो समय खाली पेट बस्दा ग्यास्ट्रिक हुने, शरीर कमजोरी बन्दै जाने, रक्तचाप कम हुनेलगायतका समस्या आउने र मानिसको ज्यानै पनि जान सक्छ ।’ वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरुको नैसर्गिक अधिकार हनन् हुने बताउँछन् । ‘समयमा नै राज्यले नागरिकलाई बचाउनका लागि राहत र उद्धार गर्नुपर्छ, बाँच्न पाउने हक नागरिकको मौलिक हक हो,’ उनले भने, ‘कोही राहत नपाएर भोकै मर्नुपर्ने अवस्था नआओस् । यसतर्फ सरकार र नागरिक सबैले गम्भीर हुनुपर्छ ।’
के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल पुरस्कार पनि जित्न सक्छ कि भनेर अनुसन्धान गरिरहेका छन् । सन् २०२१ मा जापानी वैज्ञानिक हिरोकी किटानोले ‘नोबल ट्युरिङ च्यालेन्ज’ को प्रस्ताव गर्दै अनुसन्धानकर्ताहरूलाई सन् २०५० सम्ममा नोबेल पुरस्कारका लागि योग्य अनुसन्धान गर्न सक्षम ‘एआई वैज्ञानिक’ निर्माण गर्न आमन्त्रण गरेका थिए । केही वैज्ञानिकहरू पहिले नै नोबेलको योग्य एआई सहकर्मी सिर्जना गर्न कडा मेहनत गरिरहेका छन्, यस वर्षको पुरस्कार विजेताहरू अक्टोबर ७ देखि १४ को बीचमा घोषणा गरिनेछ। स्वीडेनको चाल्मर्स युनिभर्सिटीमा मेशिन इन्टेलिजेन्सका प्राध्यापक रोस किङका अनुसार वास्तवमा विश्वभर करिब १०० जना ‘रोबोट वैज्ञानिक’ छन् । सन् २००९ मा किङले एक अनुसन्धान पत्र प्रकाशित गर्दै उनी र उनका सहकर्मीहरूको एक समूहले स्वतन्त्र रूपमा वैज्ञानिक खोजहरू गर्ने पहिलो मेशिन ‘रोबोट साइन्टिस्ट एडम’ सार्वजनिक गरेका थिए । ‘हामीले एउटा रोबोट निर्माण गर्यौँ जसले आफैंले नयाँ विज्ञान पत्ता लगायो, नयाँ वैज्ञानिक विचारहरू सिर्जना ग¥यो र तिनीहरूको परीक्षण गर्यो र ती सही थिए भन्ने पुष्टि पनि गर्यो,’ किङले एएफपीसँग भने । त्यो रोबोट स्वायत्त रूपमा परिकल्पनाहरू स्थापित गर्न बनाइएको थियो । त्यसपछि यो परीक्षण गर्ने प्रयोगका लागि बनाइयो। यी प्रयोगशाला रोबोटहरूलाई प्रक्रियागत रूपमा सिक्न र दोहोर्याउने प्रयोगका कार्यक्रम निर्माणका लागि थियो । ‘उपलब्धि सामान्य भएपनि तुच्छ होइनन्’ ‘आदम’ लाई खमीरको भित्री कार्यहरू अन्वेषण गर्ने जिम्मा दिइएको थियो र यसले पहिले जीवमा भएको जानकारीमा नआएका ‘जिनको कार्यहरू’ पत्ता लगायो । रोबोट वैज्ञानिकका निर्माताहरूले आफ्ना प्रस्तुतिमा खोजहरू ‘सामान्य’ भएपनि तिनीहरू ‘तुच्छ’ थिएनन् भन्ने दाबी गरेका थिए । पछि, मलेरिया र अन्य उष्णकटिबन्धीय रोगहरूको लागि औषधीय स्रोतहरूको अध्ययन गर्न ‘इभ’ नामक दोस्रो रोबोट वैज्ञानिकको स्थापना गरिएको थियो । किङका अनुसार अनुसन्धान र निचोड निकाल्न यस पहिलेका रोबोट वैज्ञानिकहरू नै औसत मानव वैज्ञानिकभन्दा धेरै अगाडि छन् । ‘रोबोट वैज्ञानिक खोजी गर्न कम पैसा लाग्ने हुन्छन् । उनीहरू २४ सै घण्टा काम गर्छन्”, उनले भने, ‘उनीहरू प्रक्रियाको हरेक विवरण रेकर्ड गर्न पनि बढी लगनशील छन् ।’ तर उनीहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नोबेल योग्य वैज्ञानिकको नजिक हुनबाट धेरै टाढा रहेको किङले स्वीकारेका छन् । उनले भने, ‘त्यसका लागि तिनीहरू ‘धेरै बुद्धिमान’ हुनुपर्छ र ‘जटिलभन्दा जटिल कुरा बुझ्न’ सक्षम हुनुपर्छ।’ एआई पुरस्कारका लागि धेरै टाढा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका एसोसिएट प्रोफेसर इन्गा स्ट्रम्केले तत्कालका लागि वैज्ञानिक पेशा सुरक्षित रहेको बताए। उनले एएफपीसँग भने, ‘वैज्ञानिक परम्परा चाँडै नै मेशिनले कब्जामा लिन सक्ने अवस्थामा छैन ।’ ‘यद्यपि, यसको मतलब यो ‘असम्भव छ’ भन्ने होइन, यो ‘निश्चित रूपमा’ स्पष्ट छ कि एआईको विकास भइरहेको छ र विज्ञान कसरी सञ्चालन गरिन्छ भन्नेमा प्रभाव पर्नेछ ।’ यो पहिले नै कसरी प्रयोगमा छ भन्ने एक उदाहरण गुगल डीपमाइन्डद्वारा विकसित एआई मोडेल अल्फाफोल्ड हो । यो उनीहरूको एमिनो एसिडको आधारमा प्रोटीनको त्रि–आयामी संरचनाको भविष्यवाणी गर्न प्रयोग गरिन्छ। ‘हामीलाई थाहा थियो कि एमिनो एसिड र प्रोटीनको अन्तिम त्रि–आयामी आकारबीच केही सम्बन्ध छ र त्यसपछि हामी यसलाई पत्ता लगाउन मेशिनको सिकाइ प्रयोग गर्न सक्दछौं,’ स्ट्रम्केले भने । उनले यस्ता गणनाहरूको जटिलता मानिसका लागि असाध्यै गाह्रो भएको बताए । उनले भने, ‘हामीसँग यस्तो उपकरण छ, जसले कुनै पनि मानिसले गर्न नसक्ने काम गरेको छ ।’ स्ट्रमकेका अनुसार, एकै समयमा, अल्फाफोल्डको मामलाले हालको एआई मोडेलहरू जस्तै तथाकथित तन्त्रिका नेटवर्कको कमजोरीहरूमध्ये एक पनि प्रदर्शन गर्दछ । ‘तिनीहरू ठूलो मात्रामा जानकारी संकलन गर्न र जवाफको साथ आउनमा धेरै निपुण छन्, तर त्यो उत्तर किन सही छ भनेर व्याख्या गर्न तिनीहरूको ज्ञान धेरै राम्रो छैन ।’ त्यसैले अल्फाफोल्डले भविष्यवाणी गरेको २० करोडभन्दा बढी प्रोटिन संरचना ‘अत्यन्त उपयोगी’ भए पनि यसले हामीलाई माइक्रोबायोलोजीबारे केही पनि सिकाउँदैन,’ स्ट्रम्केले भने । एआईद्वारा सहायता प्राप्त स्ट्रम्केका विचारमा विज्ञानले ब्रह्माण्डलाई बुझ्न खोज्छ तर यो केवल ‘सही अनुमान लगाउने’ बारेमा मात्र होइन । तैपनि, अल्फाफोल्डले गरेको अभूतपूर्व कार्यले विज्ञहरूलाई नोबेल पुरस्कारका लागि अग्रपङ्क्तिमा उभ्याएको छ। गुगल डीपमाइन्डका निर्देशक जोन जम्पर र प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक डेमिस हसाबिस सन् २०२३ मा प्रतिष्ठित लस्कर अवार्डबाट सम्मानित भइसकेका छन् । सन् २०२४ मा हुने रसायनशास्त्रको नोबेल पुरस्कारका लागि यो जोडीलाई शीर्ष स्थानमा राखिएको एनालिटिक्स समूह क्लेरिभेटले अक्टोबर ९ मा घोषणा गरेको थियो । अनुसन्धान समूहका प्रमुख डेभिड पेन्डलबरीका अनुसार सन् २०२१ मा जम्पर र हसाबिसको एउटा शोधपत्रलाई हजारौं पटक उद्धृत गरिएको भए तापनि नोबेल जुरीले प्रकाशनपछि यति छिट्टै उक्त कामलाई पुरस्कार दिनु अस्वाभाविक हुनेछ। साथै, एआईद्वारा सहायता प्राप्त अनुसन्धानले सबैभन्दा प्रतिष्ठित विज्ञान पुरस्कारहरू जित्न धेरै समय लाग्ने छैन भन्ने विश्वास पेन्डलबरीको रहेको छ। पेन्डलबरीले एएफपीसँग भने, ‘आजकल अधिक आर्टिफिसियल इन्टेलिजेन्सको विकास भइरहेको छ । वैज्ञानिक गणनाका लागि तिनीहरूको अधिक प्रयोग भएको छ । अर्को दशकभित्र नोबेल पुरस्कारहरूका लागि एआइको दाबी रहनेछ भन्नेमा मलाई विश्वास लाग्छ ।’ रासस