विकासन्युज

कुवेत र बहराइन दिनारको मूल्य बढ्यो, अधिकांश मुद्राको भाउ घट्यो

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४८.०२ रुपैयाँ र बिक्रीदर १४८.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.६६ रुपैयाँ र बिक्रीदर १७६.४४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.७७ रुपैयाँ र बिक्रीदर १५८.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९९.०२ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३६ रुपैयाँ र बिक्रीदर १०३.८२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.७६ रुपैयाँ र बिक्रीदर ३१.९० रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०२ रुपैयाँ र बिक्रीदर १३.०८ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.८४ रुपैयाँ र बिक्रीदर १९.९३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२६ रुपैयाँ र बिक्रीदर १७.३४ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२० रुपैयाँ र बिक्रीदर ४४०.१७ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.५७ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन हिजो घरघरमा जमरा राखी घटस्थापना गरियो। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि जमराबिना नै दसैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौैँदेखि जमराबिना नै दसैँ मनाउने गरेको पाइएको छ । माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताए । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो । करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको स्थानीय कृष्णले बताए । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । ‘जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउछ,’ कृष्ण माझीले भने ‘जमरा नराखेपनि दसैँलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरूले बताएका थिए ।’ स्थानीय देउकुमारी माझीले भने, ‘जमरा राख्दा अनिष्ट भएको, छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएको भनेर जमरा राख्न छाडिएको हो रे, हामीहरूले पनि पुर्खाको कुरा मान्दै आएका छौँ, घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको बाबुबाजेहरूले बताउँदै आएको र हामीले त्यही सुन्दै आएको हो, दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन् ।’ जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उनको भनाइ छ । दसैँको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । माझी समुदायले आफ्नो परम्पराका रूपमा वर्षौँदेखि यसलाई लिँदै आएका छन् । दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।रासस

दरबारमार्गमा देशकै ठूलो २५ तले होटल बन्दै, मीन बहादुर गुरुङ र उमेश श्रेष्ठले किने अन्नपूर्ण होटलको सेयर

काठमाडौं । दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको बहुमत सेयर व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले खरिद गरेपछि होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ । पाँच तारे अन्नपूर्ण होटललाई पुनर्निमाण गरेर नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्नका लागि सम्झौता पनि भएको छ । भाटभटेनीका सञ्चालक गुरुङ र लिटिल एन्जल्सका सञ्चालक श्रेष्ठ समूहले होटलको बहुमत सेयर खरिद गरेपछि यो होटललाई अन्नपूर्ण स्वायर बनाएर नयाँ ब्राण्डिङ गरिने भएको हो । अब अन्नपूर्णले भारतीय आईटीसी वेलकम भित्र्याउने भएको हो । बिहीबार अन्नपूर्ण स्क्वायर र भारतीय चेन होटल आईसीटी हस्पिटालिटीबीच सम्झौता भएको हो । अब पूरानो अन्नपूर्ण होटलको भवनहरू भत्काएर नयाँ भवन निर्माण गरिने बताइएको छ । होटलको सम्पूर्ण संरचना निर्माण गरेर २०८५ को वैशाखसम्म सञ्चालनमा ल्याइसक्ने तयारी रहेको बताइएको छ । नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने अन्नपूर्ण स्क्वायरलाई दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने उद्देश्य रहेको गुरुङले जानकारी दिए । उनका अनुसार होटलमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने अनुमान छ । उनले होटल २५ तल्लाको हुने पनि बताए । होटलमा एकै पटक ६ हजार मानिस अटाउने ठूला तीन हल, ४० वटा अपार्टमेन्ट, र ३३० वटा कोठा रहनेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, छठसम्मको सूची सार्वजनिक

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो । बैंकका अनुसार असोज २४ गते बौद्ध, बुटवल, बिरगन्ज, नारायणघाट, नेपालगन्ज, पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । यस्तै असोज २५ गतेका दिन नयाँ बानेश्वर, बिराटनगर, धरान शाखा, असोज २७ गतेका दिन न्यूरोड काठमाडौं र पोखरा शाखा र असोज २८ गतेका दिन ललितपुर, बिराटनगर र पोखरा शाखाबाट सेवा दिने बै.कले जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । यस्तै बैंकले तिहार र छठ पर्वमा पनि सेवा प्रवाह हुने शाखाको सूची सार्वजनिक गरेको छ ।

दशैँ बिदामा कृषि विकास बैंकका यी शाखा खुला रहने

काठमाडौं । आजबाट विधिवत् रूपमा बडा दशैंको सुरुवात भएको छ । अधिकांश क्षेत्रमा दसैँ बिदा सुरू भइसकेको छ । तर, दशैँ बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । कृषि विकास बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।

हाइड्रोको क्षतिले बीमकलाई बर्सेनि हैरानी, पुनर्बीमा शुल्क बढ्न सक्ने

काठमाडौं । जलविद्युत क्षेत्रमा आउने बर्सेनिको प्रकोपले बीमा कम्पनी र पुनर्बीमा कम्पनीलाई हैरानी थपेको छ । विभिन्न प्राकृतिक विपतिले ठूलो धनजनको क्षति हुँदा कम्पनीलाई बर्सेनि हैरानी थपेको हो । यसले बर्सेनि अर्बौं रुपैयाँको दायित्व कम्पनीलाई थपिरहेको छ । केही दिनअघिको निरन्तरको वर्षाले विभिन्न ठाउँमा बाढीपहिरो आउँदा २० भन्दा बढी जलविद्युत आयोजनामा ठूलो क्षति गरेको जलविद्युत उद्यमीहरू बताउँछन् । बाढीपहिरोसँगै विभिन्न समयमा आउने प्राकृति विपत्तिले पनि जलविद्युत परियोजनामा क्षति गर्दै आएको छ । केही दिनअघिको बाढीपहिरोले मात्रै जलविद्युत परियोजनाको करिब ५ अर्ब रुपैयाँबराबर क्षति भएको अनुमान जलविद्युत उद्यमीहरूको छ । २०८० सालमा पनि बाढीपहिरोको कारण ३० वटाभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको थियो । सो वर्ष जलविद्युतमा १० अर्ब रुपैयाँ बढीको क्षति भएको जलविद्युत उद्यमीहरू बताउँछन् । यस्तै, २०७९ सालमा पनि बाढीपहिरोबाट २० वटा जलविद्युतमा १ अर्बको क्षति भएको थियो । २०७२ सालको भूकम्पबाट १५ वटाभन्दा बढी जलविद्युतमा करिब १९ अर्ब बढीको क्षति पुगेको थियो । जलविद्युतमा बीमा नेपालमा जलविद्युतको बीमा ट्यारिफ दरमा आधारित छ । अर्थात जलविद्युतको बीमा गर्दा लाग्ने बीमाशुल्क निश्चित निर्धारण गरिएको हुन्छ । सामान्यतया जलविद्युतमा दुई प्रकारको बीमा हुन्छ । निर्माणाधीन जलविद्युतको इन्जिनियरिङ तथा ठेक्का पोर्टफोलियो अन्तर्गत बीमा हुन्छ । यसैगरी, निर्माण भइसकेको जलविद्यतु आयोजनाको सम्पती बीमा अन्तर्गत बीमा हुने गर्दछ । जसको बीमाशुल्क दर बीमांक रकमको ७.५ रुपैयाँ प्रति हजार रुपैयाँमा हुन्छ । बीमा एक वर्षसम्मका लागि हुन्छ । एक वर्षपछि फेरि बीमा नवीकरण गर्दा प्रतिहजार २० पैसा प्रतिमहिनाका दरले बीमाशुल्क लाग्ने व्यवस्था छ । निर्माण सम्पन्न भइसकेको जलविद्युतको बीमालाई ४ भागमा गरिन्छ । निर्माण सम्पन्न भएको भवन, पर्खाल, ड्याम लगायतको भौतिक निर्माण भएका सम्पत्ति बीमा अन्तर्गत गरिन्छ । जसको बीमाशुल्क २ रुपैयाँ प्रति हजार रुपैयाँ रहेको छ । हाइड्रो पावरमा भएका मेसिनहरुको बीमा पनि सम्पत्ति बीमा अन्तर्गत नै पर्दछ । जसको बीमाशुल्क १० रुपैयाँ प्रतिहजार पर्न जान्छ । यसका साथै ‘लस्ट अफ प्रोफिट’को पनि बीमा हुन्छ । जलविद्युतमा भएको कुनै क्षतिका कारणले हुने घाटाको रकम पनि बीमा कम्पनीले भुक्तानी गर्दछ । अर्थात्् बाढीबाट जलविद्युत कम्पनीमा भएको क्षतिले विद्युत उत्पादन बन्द भएमा बन्द भएको समयको क्षतिपूर्ति बीमा कम्पनीले भुक्तानी गर्ने गर्दछ । तर, बन्द भएको ६० दिनसम्मको घाटाको क्षतिपूर्ति भने बीमा कम्पनीले तिर्दैनन् । जलविद्युत बन्द भएको ६१ दिन देखिको क्षतिको मात्र बीमा कम्पनीले बेहोर्छ । मेसिनरी ‘लस्ट अफ प्रोफिट’को पनि बीमा हुन्छ । यसअन्तर्गत मेसिन बिग्रिएका कारण वा मेसिनमा क्षति पुगेका कारणले मात्र उत्पादन बन्द भएमा सोको क्षतिपूर्ति बीमा कम्पनीले बेहोर्छ । यसमा पनि ६० दिन सम्मको क्षतिपूर्ति भने बीमा कम्पनीले बेहोर्दैन । ६१ दिन देखिको क्षतिपूर्ति मात्र बीमा कम्पनीले बेहोर्छ अर्थात मेसिन बिग्रिएका कारण ६१ दिनसम्म जलविद्युतमा उत्पादन बन्द भयो भने सो १ दिनको मात्र क्षतिपूर्ति बीमा कम्पनीले बेहोर्छ । पुनर्बीमा शुल्क बढ्न सक्ने नेपाली बीमा कम्पनीले रेटिङ भएका विदेशी पुनर्बीमा कम्पनीसँग मात्र पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । जसका लागि नेपाल बीमा प्राधिकरणले कुन कुन रेटिङ भएका पुनर्बीमकसँग पुनर्बीमा गर्ने भनेर तोकिदिएको छ । अर्थात रेटिङ नभएका पुनर्बीमा कम्पनीसँग पुनर्बीमा नगर्न प्राधिकरणले व्यवस्था नै गरेको छ । सामान्यतया रेटिङ भएका कम्पनी विश्वासिलो र जवाफदेही हुने भएकाले पनि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । पुनर्बीमा गर्दा पछि क्षति भएपछि पुनर्बीमा बापतको रकम दाबी गर्दा समयमा भुक्तानी पाइयोस् भनेर प्राधिकरणले रेटिङ भएका कम्पनीहरुमा नै पुनर्बीमा गर्नुपर्ने नियम ल्याएको हो । तर, प्राधिकरणले तोकेअनुसार रेटिङ भएका विदेशी पुनर्बीमकले सामान्यतया दाबी भुक्तानीमा पनि पारदर्शी र बीमा शुल्क पनि उच्च दरमा लिने गर्दछन् । नेपालको जलविद्युतको पुनर्बीमाको ठूलो हिस्सा विदेशी पुनर्बीमकले लिने गरेका छन् । पछिल्लो समय बर्सेनि आइरहेको बाढीपहिरोले बढाइरहेको क्षतिले विदेशी पुनर्बीमकलाई नेपालमा पुनर्बीमा गर्न त्रर्साउने देखिन्छ । नेपालमा आइरहेको बर्सेनिको बाढीपहिरोले विदेशी पुनर्बीमकलाई जलविद्युतको पुनर्बीमा लिन नसक्ने सम्भावना रहेको नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् । अधिकारीका अनुसार नेपालको जलविद्युतको जोखिमलाई हेरेर उनीहरुले हाम्रो दर अनुसार पनर्बीमा गर्न नमान्ने अवस्था आउन सक्छ । यसका साथै उनीहरु जोखिममा आधारित मूल्यमा मात्र पनर्बीमा गर्ने गरी बार्गेनिङ गर्न सक्ने हुन सक्छ । तर, नेपालको बीमा क्षेत्र विदेशीका लागि एकदम सानो बजार भएकाले त्यसबारे विदेशीले खासै चासो नदिने अवस्था पनि रहेको उनले उल्लेख गरे । नेपालको जलविद्युतको जोखिमको बारेमा कुनै पनि दिन उनीहरुले इस्यू उठाएर अहिलेको दरमा पुनर्बीमा गर्न नमान्ने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ । निर्जीवन बीमाका जानकार तथा साविक लुम्बिनी जलरल इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश  प्रधानले विदेशी पुनर्बीमकले नेपालको जलविद्युतको पुनर्बीमा गर्न अहिले पनि हिचकिचाई रहेको धारणा राखे । नेपालमा हुने यस किसिमको प्रकोप र त्यसबाट सिर्जित क्षतिका कारणले विदेशीहरु नेपालको जलविद्युतको पुनर्बीमामा अझै तर्किन खोज्ने सम्भावना बढेको उनको भनाइ छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था नेपाल बीमक संकका अध्यक्ष चंकी क्षेत्रीले पनि यस प्रकारको क्षतिले गर्दा विदेशमा नेपालको जलविद्युतको पुनर्बीमा गर्न कठिन हुन थालेको बताए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीका अनुसार विदेशी पुनर्बीमकले यस वर्ष भएको क्षतिको रिकभरी अर्काे वर्ष हुन्छ वा हुँदैन भनेर क्याल्कुलेसन गर्छन । यदि अर्काे वर्ष गत वर्षको क्षतिको रिकभरी नभएको खण्डमा उनीहरुले हालको बीमाशुल्क दरमा पुनर्बीमा गर्न मान्दैनन् । ‘विदेशी पनर्बीमकले ५/१० वर्षको अनुमानित घाटा र आम्दानीलाई हिसाब गरेर कुन रेटमा गर्दा उपयुक्त हुन्छ भनेर विचार गर्ने गर्दछन्,’ उनले भने, ‘नेपालमा निरन्तर बाढीपहिरोबाट क्षति भएको उनीहरुले देखिरहेका छन्, त्यसकारण अहिलेको बीमाशुल्क दरमा उनीहरुले बीमा नगर्ने निश्चित छ ।’ भारतको पनि सिक्किम लगायतका क्षेत्रहरुमा बनेका जलविद्युतहरु नेपालको जस्तै जोखिम अवस्थामा रहेको उल्लेख गर्दे उनले थपे, ‘भारततिर ‘फुल कभरेज’ नगर्नेगरी पुनर्बीमा गर्ने प्रणाली लागु भइसकेको छ । ढिलो चाँडो नेपालमा पनि त्यस प्रकारको व्यवस्था उनीहरुले खोज्न सक्छन् ।’ बीमाशुल्क भने पुरा बीमांक रकम बराबरको लिने र त्यसको क्षतिको भुक्तानी भने निश्चित मात्रामा मात्र दिने व्यवस्था भारतमा पनि लागु हुन थालेको उनले बताए । अहिले पनि विदेशमा नेपालको जलविद्युतको पुनर्बीमा हुन कठिन रहेको उनको भनाइ छ । यस प्रकारको क्षति नेपाली जलविद्युतले भोगिरहेको अवस्थामा अहिलेको बीमाशुल्क दरमा विदेशीहरुले पुनर्बीमा नगर्ने निश्चत रहेको अध्यक्ष क्षेत्रीले बताए । उनका अनुसार बीमाशुल्क दर दुई सय प्रतिशतसम्म बढाउन सक्ने जोखिम देखिएको पनि उनको भनाइ छ ।

श्री एयरलाइन्सले भोलिबाट काठमाडौं-भरतपुर उडान भर्ने

  चितवन । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । ‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौं,’ कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुईवटा उडान हुनेछ ।’ धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौं-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

इयूले लेबनानलाई दिने सहायता तीन करोड युरोले वृद्धि

काठमाडौं । युरोपेली संघ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौं।’ उनले थपिन्, ‘हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ ।’ अध्यक्ष लेयेनले मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकाेमा चिन्ता पनि व्यक्त गरिन् । उनले भनिन्, ‘मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु । निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै दलले सक्दो प्रयास गर्नुपर्छ ।’ युरोपेली संघको पछिल्लो सहायता प्याकेज सप्ताहन्तमा घोषणा गरिएको १० मिलियन युरोभन्दा माथि रहेको छ । यससँगै लेबनानका लागि युरोपेली सङ्घको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ। इजरायलले लेबनानको हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गर्दै सीमापार आफ्ना सेना पठाएको छ । लेबनानमा इजरायली बमबारीमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाह हवाई आक्रमणमा मारिएका छन् । लेबनानका अधिकारीहरूले इजरायली आक्रमणका कारण करिब १० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन्।