विकासन्युज

इरान-इजरायल युद्धका कारण भारतीय लगानीकर्ताले गुमाए ६० खर्ब

काठमाडौं । बिहीबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । इरान र इजरायलबीच बढ्दो तनावका कारण विश्वभरिका बजारमा गिरावट आएकाले  त्यसको प्रभाव भारतीय बजारमा पनि देखिएको हाे । बीएसई सेन्सेक्स ९०० अंकको गिरावटसहित खुल्यो भने निफ्टी पनि २५५५० भन्दा तल पुगेको छ । सबै क्षेत्रमा गिरावट आएको छ । यसका कारण बीएसईमा सूचीबद्ध कम्पनीहरूको मार्केट क्याप ५६ अर्ब ६३ करोड रुपैयाँले घटेर ४६ अर्ब ९२ अर्ब ३० करोडमा पुगेको छ । सेन्सेक्सका ३० मध्ये २८ वटा घटेर खुलेका छन् । यसैबीच अनिल अम्बानीको कम्पनी रिलायन्स पावरको सेयर फेरि एकपटक अपर सर्किटमा पुगेको छ । यो सेयर गत सत्रमा ५१.१० रुपैयाँमा बन्द भएकोमा आज ५ प्रतिशतले बढेर ५३.६५ रुपैयाँमा पुगेको छ । यो ५२ हप्ताको उच्चतम स्तर हो । गान्धी जयन्तीका कारण असोज २ गते भारतीय सेयर बजार बन्द रहे पनि विश्वका अधिकांश बजार ओरालो लागेको थियो । दक्षिण कोरियामा १.२ प्रतिशत र जापानमा २.२ प्रतिशतले गिरावट आयो । तर, ताइवानमा ०.७५ प्रतिशत र हङकङमा ६.२ प्रतिशतले वृद्धि भएको थियो भने चीनको बजार बन्द रह्यो । प्रि-ओपन सत्रमा सेन्सेक्स १२६४ अंक अर्थात् १.५ प्रतिशत गिरावटका साथ ८३००२ अंकमा झर्यो भने निफ्टी पनि ३४४ अंक अर्थात् १.३३ प्रतिशतले घटेर २५४५२ अंकमा झर्यो । दिउँसो १२ बजे सेन्सेक्स १३१८ अंक अर्थात् १.५६ प्रतिशतले घटेर तल ८२९४८.२३ अंकमा थियो भने निफ्टी ३९६ अंक अर्थात् १.५३ प्रतिशतले घटेर २५४००.९५ अंकमा थियो। एजेन्सी

एलनले ४४ अर्ब डलरमा किनेको एक्सको भेल्यू ह्वात्तै घट्यो, विज्ञापन पाउन पनि सकस

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पुरानो ट्विटर)को सेयर मूल्य ८० प्रतिशत घटेको छ ।  विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई वर्षअघि माइक्रोब्लगिङ साइट ट्वीटर ४४ अर्ब डलरमा किनेका थिए । त्यसपछि उनले यसकाे नाम एक्स राखे । तर, अहिले एक्सकाे सेयर मूल्य झण्डै ८० प्रतिशतले घटेर ४.२ मिलियन डलर कायम भएकाे छ । अक्टोबर २०२२ मा यसकाे सेयर भेल्यू १९.६६ मिलियन डलर रहेकाे थियाे । लगानी कम्पनी फिडेलिटीका अनुसार एक्सको सेयरको भेल्यूमा ठूलो गिरावट आएको हाे । यसलाई खरिद गरेपछि मस्कले पब्लिकबाट निजी कम्पनीमा परिणत गरे । जुलाईको तुलनामा अगस्टमा यसको भेल्यू २४ प्रतिशतले घटेको छ । फिडेलिटीका अनुसार एक्सको कुल मूल्य अर्थात नेटवर्थ ९. ४ बिलियन कायम भएकाे छ । कम्पनी निजी भएकाले यसका वित्तीय विवरणहरू त्रैमासिकमा सार्वजनिक हुँदैनन् । तर कम्पनीको आम्दानी भने घटेको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू मस्कले ट्वीटर किन्दा यसको वास्तविक मूल्य लगभग ३० अर्ब डलर थियो । तर, एलनले ४४ अर्ब डलरमा साे कम्पनी खरिद गरेका थिए । विज्ञापनदाताहरूको प्राथमिकतामा गुगल एक्समा युजर्सहरू धेरै भए पनि साेचेअनुसार विज्ञापन भने पाउन सकेकाे छैन । भर्खरैको विश्वव्यापी सर्वेक्षणअनुसार २६ प्रतिशत विज्ञापनदाताहरूले अर्को वर्ष विज्ञापनमा खर्च कटौती गर्ने योजना बनाएका छन् । अब उनीहरूले एक्सभन्दा गुगललाई प्राथमिकता दिनेछन् । गत वर्षको नोभेम्बरमा धेरै ब्रान्डले एक्समा विज्ञापन बन्द गरेका थिए । यद्यपि एक्स अझै पनि सामाजिक सञ्जालमा एक प्रमुख खेलाडी बनेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिमा ५७० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको बताएको छ, जुन एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो ।

नेपालमा लगानी गर्न कतारी लगानीकर्ता तयार, बैंकिङसहित यी ५ क्षेत्र प्राथमिकतामा

काठमाडौं । श्रमिक गन्तव्यको रूपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको छ । कतारका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौ ।’ नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय बैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो । कतारका अमीर सेख तमीम बिन हमाद अल थानी को गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ आफ्नाे नेतृत्वमा सदस्य नियुक्त गरि काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखे । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भयो । बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको बताए । उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्वान गरे । कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाएका थिए । गत वैशाखमा मात्रै कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपाल आएका थिए । दुई दिने नेपालमा भ्रमणमा आएका उनीसँग सरकारी तहमा ५ वटा समझदारी र एउटा सम्झौता भएको थियो भने निजी क्षेत्रसँग पनि दुईवटा समझदारी र सम्झौता भएका थिए । सो बेला दुई देशको संस्कृति र कलाको क्षेत्रमा सहकार्य गर्न नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच समझदारी, युवा तथा खेलकुदको क्षेत्रमा सहकार्य गर्न नेपाल र कतारबीच समझदारी र नेपालको महान्यायाधिवक्ता कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहयोग तथा सहकार्यको समझदारी भएको थियो । यस्तै, कूटनीतिक प्रशिक्षणका लागि नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र कतारको परराष्ट्र मन्त्रालयअन्तर्गको कूटनीतिक प्रशिक्षण केन्द्रबीच समझदारी, दुई देशका निजी क्षेत्र, नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच नेपाल–कतार संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्बन्धी समझदारी र सम्झौता भएको थियो । सोहीअनुरूप कतारका लगानीकर्ता अहिले नेपालमा लगानी गर्न इच्छा देखाएका हुन् ।

भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई एक वर्षको जेल सजाय

काठमाडौं । सिंगापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्याएको र गैरकानुनीपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । फर्मुला वनलाई सिंगापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वको सबैभन्दा कम भ्रष्टचार हुने देशमध्येको एक देशको रूपमा उद्धृत गरिएको सिंगापुरमा उक्त आरोप भ्रष्टाचारसँग सम्बन्धित थियो । इश्वरनको सजाय अभियोजन पक्षले अनुरोध गरेको छ देखि सात महिनाको भन्दा बढी गम्भीर थियो, जुन उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले सार्वजनिक विश्वासमा मुद्दाको प्रभावलाई ध्यानमा राख्दै ‘स्पष्ट रूपमा अपर्याप्त’ हुने बताएका थिए। ‘सार्वजनिक संस्थाहरूमाथिको विश्वास र भरोसा प्रभावकारी शासनको आधार हो । एउटा सरकारी कर्मचारी निष्ठा र जवाफदेहिताको मापदण्डभन्दा तल झरेको जस्तो देखिने मुद्दामा उक्त सजायँ अझै कम हो जस्तो लाग्छ,’ हुङले बिहीबार सजाय सुनाउँदै भने । गत हप्ता ईश्वरनलाई न्यायमा बाधा पुर्याएको र अवैध उपहार स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । अभियोजनकर्ताहरूले एक अर्बपति घरजग्गा व्यवसायीसँग सम्बन्धित केही सहितकेवल पाँच वटा कमजोर आरोपहरू अघि बढाएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उनको प्रतिरक्षा टोलीले ईश्वरनलाई अक्टोबर ७ देखि लागु हुनेगरी जेल सजाय सुनाउन माग गरेको छ । अदालतले ६२ वर्षीय उहाँलाई त्यस दिन अपरान्ह ४ बजे स्टेट्स कोर्टमा आत्मसमर्पण गर्न आदेश दिएको थियो । तीन लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार स्वीकार्नेजस्ता आरोपबारे औपचारिक रूपमा सूचित भएपछि ईश्वरनले जनवरीमा राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा अदालतमा आफुमासथको आरोपबारे सफाइ दिने बताएका थिए । ईश्वरनले सरकारलाई करिब दुई लाख ९५ हजार अमेरिकी डलर नगद, ब्रोम्पटन साइकललगायतका उपहार समेत फिर्ता दिइएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । ईश्वरनले सिंगापुरका धनाढ्य होटल व्यवसायी ओङ बेङ सेङको खर्चमा एक बिजनेस क्लासको उडानको अनुसन्धान गर्न सिंगापुरका अधिकारीहरूलाई रोक्ने प्रयाससँग सम्बन्धित मुद्दामा बाधा पु¥याएको आरोप लगाइएको छ। अन्य चार आरोप होटल प्रोपर्टीज लिमिटेडका प्रबन्ध निर्देशक ओङ र एक निर्माण कम्पनी लुम कोक सेङका शीर्ष निर्देशक ओङबाट ह्विस्की र गल्फ क्लबका बोतलसहित उपहार प्राप्त गरेको सँग सम्बन्धित छन् । उक्त मुद्दामा कुनै पनि व्यवसायीले सजाय भोगेका छैनन् । रासस

दशैंको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

काठमाडौं । सर्वोच्च अदालत दशैं पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।

दशैंघरमा राखियो जमरा, गुर्जुपल्टनमा नित्य पूजा, बन्दुक पड्काएर बढाईं

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन बिहीबार घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैंघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत बिहान ९ः१६ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाईं गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहीबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । सो अवसरमा गुर्जु पल्टनका गुल्मपति सेनानी अनिल श्रेष्ठले घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आएको र सबैको घरहरूमा जमरा बिहीबार राखिएको बताए । उनले हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने प्रचलनअनुसार पूजा गरी जमरा राखिएको बताए । उनले भने, ‘घटस्थापना परापूर्वकालदेखि नै मनाउँदै आइएको छ । सबै घरहरुमा जमरा राख्ने गरिुन्छ । हनुमान ढोकामा गुर्जुपल्टनमा जमरा राख्ने, नित्य पूजा गर्ने गरेका छौँ ।’ त्यस्तै पण्डित सुवास कोईरालाले आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र सुरु हुने र बिहीबार दैत्यमाथि देवीले विजयी पाएको अवसरमा दशैंको पहिलो दिन जमरा राखिएको बताए । देवीको प्रिय वस्तु जौ भएकाले जौको जमरा राखिएको बताए । जौको मात्रै जमरा राख्नुपर्ने भएपनि जौ, गहुँ, धान, मकै पनि छर्ने गरिएको जानकारी दिए । उनले भने, ‘आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरु हुन्छ । दैत्यमाथि देवीले विजयी पाएको दिनमा आजबाट नवदुर्गाको पूजा गरिन्छ । जौ, गहुँ, धान, मकै पनि छर्ने चलन छ ।’ नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ । विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।            

देशभरका कम्प्युटर क्लबकाे सहकार्यमा ‘लर्निङ उत्सव’को आयोजना गरिँदै

काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेजले दशैंतिहार बिदामा ‘लर्निङ उत्सव’ अभियान आयोजना गर्ने भएको छ । कान्तिपुर इन्जिनियरिङ कलेजको केईसी इलेक्ट्रोनिक्स क्लबको नेतृत्वमा कम्प्युटर क्लब र देशभरका दर्जनभन्दा बढी क्लबहरूको सहकार्यमा ‘लर्निङ उत्सव’ नामक विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ ।क यो कार्यक्रम घटस्थापनादेखि भाइटीकासम्म अर्थात् ३२ दिनसम्म सञ्चालन हुनेछ, जहाँ सहभागीहरूले ३० दिनसम्म लगातार आफ्नो सीप अभिवृद्धि गर्नेछन् । आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई बिदाको समयमा केही समय छुट्याएर नयाँ र उपयोगी सीप सिक्न प्रोत्साहित गर्नेछ । पाँच प्रमुख विधामा आधारित यो उत्सवमा इलेक्ट्रोनिक्स, क्लाउड कम्प्युटिङ, एआई र डाटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, र साइबर सेक्युरिटी समावेश गरिएको छ, जसले उनीहरूको भविष्यलाई सशक्त बनाउन मद्दत पुर्‍याउनेछ । यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको लामो बिदालाई थप फलदायी बनाउनु र उनीहरूलाई नयाँ सीप सिक्न प्रेरित गर्नु हो । केईसी इलेक्ट्रोनिक्स क्लबका अनुसार, यस पहलले विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सघाउ पुर्‍याउनुका साथै केही समय छुट्याएर नयाँ कुरा सिक्न सकिने वातावरण बनाउने आयोजकले बताएको छ । निरन्तर लगनशीलताका साथ ३० दिनको चुनौती पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक उपहार र पुरस्कार पनि दिइने आयोजकको भनाइ छ । कार्यक्रम घटस्थापनादेखि सुरु भए तापनि, इच्छुक सहभागीहरूले फारम १८ गतेसम्म भर्न सक्नेछन् । १८ गतेपछि सहभागी हुनेले भने ३० दिनको अवधिमा नियमित रूपमा सिकाइमा समय छुट्याउनु पर्ने आयोजककले बताएको छ ।

मारवाडी सेवा समितिको अदालतमा हार, पशुपतिले पायो नौ रोपनी नौ आना जग्गा फिर्ता

काठमाडौं । पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिका अनुसार दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको हो । यससँगै कोष र समितिबीच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ । मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौंको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कित्ता नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा पशुपति क्षेत्र विकास कोषमै फिर्ता भएको छ । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले अदालतको फैसलाले पशुपतिनाथको सम्पत्ति फिर्ता भएको बताए । ‘वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपति गौशाला धर्मशाला प्रयोग भएको थियो । हाम्रो लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिने छ,’ उनले भने । सम्झौतापत्रमा के थियो ? श्रीपशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । सम्झौता–पत्रमा सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र श्रीपशुपतिनाथमा पर्व पर्वमा छाडिएका साँढेहरूलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख छ । तर मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको छ । समितिले व्यावसायिक प्रयोजनकै लागि दुध उत्पादन गर्न जर्सी गाई पालेर दुध बेच्ने गरेको छ । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक ३५ हजार रुपैयाँसम्म लिएर भाडामा लगाएको छ । सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिव भगवान अग्रवालले हस्ताक्षर गरेका थिए । सम्झौता हुँदा कोषका सदस्य सचिव वसन्त चौधरी थिए । स्वार्थ बाँझिने गरी सम्झौता गराएका चौधरीले आफूनिकट मारवाडी सेवा समितिलाई भगवान पशुपतिनाथको सम्पत्ति कौडीको भाउमै सुम्पिएका थिए । सम्झौताअनुसार समितिले अहिले पनि वार्षिक ५१ हजार रुपियाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउँदै आएको छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको थियो । डा. थापाले पशुपति गौशाला धर्मशाला पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीका लागि र नन्दीहरूको व्यवस्थापन गर्नका लागि सञ्चालन गरिएको बताउँदै अदालतको फैसलापछि धर्मशाला व्यवस्थित रूपमा सञ्चालन हुने जानकारी दिएका छन् ।