विकासन्युज

बाढीपहिरो प्रभावितलाई नेपाल एसबिआई बैंकको २५ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) ले देशभर हालै भएको भारी र लगातार वर्षाका कारण पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ। एक कार्यक्रमकाबीच कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा उप प्रमुख कार्यकारी अधिकृत तथा मुख्य वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख मुख्य परिचालन अधिकृत यदवेन्द्रकान्त एवं विकास आनन्द, मुख्य व्यवसाय विकास अधिकृत रितेश अर्याल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहेको थियो ।

मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौंमार्फत कार्तिक १ गतेदेखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

संसारभरि सेयर बजारमा गिरावट, धनीहरूको सम्पत्तिमा के भयो उतारचढाव ?

काठमाडौं । यो साता भारतको सेयर बजारमा गिरावट आएको छ । यस अवधिमा सेन्सेक्स ४००० अंकभन्दा बढीले घट्यो र लगानीकर्ताहरूले १ सय ६० खर्ब रुपैयाँ गुमाए । शुक्रबारको गिरावटका कारण देशका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ १६ अर्ब ६२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३६ खर्ब १२ करोड रुपैयाँले घटेको छ । योसँगै उनको कुल सम्पत्ति १ खर्ब ५ अर्ब डलरमा झरेको छ । देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा १४औं र एसियामा पहिलो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८ अर्ब ९३ करोड डलरले बढेको छ । यसैबीच अडानी समूहका अध्यक्ष गौतम अडानी १ खर्ब डलर क्लबबाट बाहिरिएका छन् । शुक्रबार उनको कुल सम्पत्ति ९ करोड ४० लाख डलरले घट्यो र उनी १८औं स्थानमा झरेका छन् । योसँगै उनको कुल सम्पत्ति ९९ अर्ब ५० करोड डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५ अर्ब २० करोेड डलरले बढेको छ । उता, विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टका संस्थापक वाल्टन परिवारका तीन सदस्यको नेटवर्थ अहिले अडानीको भन्दा बढी छ । यसमा जिम वाल्टन (१ खर्ब ३ अर्ब डलर), रोब वाल्टन (१ खर्ब र एलिस वाल्टन ९१ खर्ब) पर्छन् । अमेरिकी सेयर बजारमा शुक्रबार निकै वृद्धि भएको छ । जसका कारण त्यहाँका धनीहरूको नेटवर्थ निकै बढेको छ । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ६ अर्ब ७३ करोड डलरले सबैभन्दा बढी वृद्धि भएको छ । उनी २ खर्ब ६३ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । मार्क जुकरबर्ग २ खर्ब ११ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा र जेफ बेजोस २ खर्ब ९ अर्ब डलरका साथ तेस्रो स्थानमा छन् । यस्तै, बर्नार्ड अर्नाल्ट १ खर्ब ९३ अर्ब डलरसहित चौथो, पाँचौमा ल्यारी एलिसन १ खर्ब ८३ अर्ब डलर, छैठौंमा बिल गेट्स १खर्ब ६१ अर्ब डलर, सातौंमा ल्यारी पेज १ खर्ब ५१ अर्ब डलर, आठौंमा वारेन बफेट १ खर्ब ४६ अर्ब डलर, नवौंमा स्टिभ बाल्मर १ दर्ब ४५ अर्ब डलर र सर्गे ब्रिन १ खर्ब ४२ हर्ब डलरसहित दशौं स्थानमा छन् । एजेन्सी

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर, उनीहरूमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता छ । बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरूको चिन्ता छ । ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नम्बर ४ का मिलन यसमाइली मगरको भनाइ छ । नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नम्बर १३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, ‘विद्युत अवरुद्ध भएको सबै ठाउँमा विद्युत सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।’ हावा चलेको समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नम्बर २५ स्थित खोलामा बस्दै आएकी रेणुका लिम्बूले बताइन् । उनले भनिन्, ‘दुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।’

साढे ११ करोडको सुनसहित हेटौंडाबाट २ जना पक्राउ

 हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ११ करोड रुपैयाँ बढीको सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको हो । शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार उक्त सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ हुन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ ।

पश्चिम नवलपरासीको दाउन्नेमा एकतर्फी सडक सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि शनिबार बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए । तर, सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए ।

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजारसम्म खर्च भएको थियो’, उनले भने । केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक हुन् उमेश माझी । ‘घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौंको लगानी डुब्यो’, उनले भने । कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दशैं लगत्तै धान काट्ने सोचमा थिए । तर, यही असोज १२ गते आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ । ‘चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ’, उनले भने, ‘हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।’ त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरु अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ । यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनले बताए । किसान सुकदेव राउतको अवस्था पनि उस्तै छ । बाढीले २५ कठ्ठा खेतमा रोपेको धान काट्नै नमिल्ने गरी कोशी नदीको बाढीले पाँगो हालेर पुरिदिएको छ । पाकेको धान समेत नदीले पुरिदिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गको उतरपट्टी हनमाननर कङ्कालिनी नगरपालिका(१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय बुदुर राम र फुदुर रामको दुईरदुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् । धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, विभिन्न झारपातले भरिएको छ । पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षाका कारण विभिन्न नदी हुँदै सप्तकोशी नदीमा आएका बाढीले केही घरमा क्षति पु¥याउनका साथै कैयौँ बिगाहा जमिनमा रोपेको धान बाली नष्ट भएको छ । कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वीभेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतिमा क्षति गरेको छ । त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरूप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौं बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरुमा आएको बाढी पसेको हो ।

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दशैंको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका छन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ । लामाले दशैंमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् । ‘यसपालि दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ,’ उनले भने । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्ग्रा बिक्री भइसकेको बताए । लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्‍याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ । मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौं बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको बताए । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउँछन् । ‘दशैंको बेला पोखरामा बस्ने दाजुभाइहरूले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरूलाई पनि खुसी लाग्छ’, लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु पर्‍यो ।’ अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन् । लामाको व्यवसायिक साझेदार छन् मुस्ताङका कर्मा लामा । यनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए । यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए । आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४२ हजारमा दिने गरेको उनी बताउँछन् । कर्मा भन्छन्, ‘देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रूपमा पोखरासम्म ल्याउँदा त्यस्तो महङ्गो होइन, पोहोर सालको दशैंमा ४८/५० हजार भन्थे अहिले ३८र४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरूले हिमालमै पुगेर ल्याउने गरेका छौं ।’ दशैंका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् ।