विकासन्युज

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न गरेका छन् । विमान परिचालकहरूको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका २ वटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारकरपरिचारिका) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ,’छलफलका क्रममा मन्त्री पाण्डेले भने,‘ भने, ‘उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन । यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन यसबारे कानुनविद् र महान्यायाधिवक्तासँग बुझ्‌छौँ । चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस् ।’ मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवं परिचालकहरूले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

बीमा कम्पनीहरूलाई प्राधिकरणको निर्देशन- प्रधानमन्त्री राहत कोषमा छिटो सहयोग गर्नू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन दिएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छिटोभन्दा छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका छन् ।

प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने

काठमाडाैं । प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले यस्तो सहयोगको घोषणा गरेको हो । प्राइम कमर्सियल बैंकका तर्फबाट बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।

पर्यटकको रोजाइमा माग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तीगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अड्कििने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्वदन्ती रहेको पूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए । ‘हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैंसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,’ ७० वर्षीय आचार्यले भने ‘प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।’ समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो । काठमाडौँबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाए। ‘शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,’ उनले भने ‘बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन ।’ ऋतु, मौसम र समय अनुुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताए। ‘पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,’ उनले भने ‘शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।’ स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ । मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताए । ‘वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,’ उनले भने ‘खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।’ टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताए। दसैँ तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उनले बताए । नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तव्य बनेको उनले बताए । तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ । २९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ । टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उनले जानकारी दिए। टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेन्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेन्चुरी पदमार्ग महत्वपूर्ण वैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरू मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«कीङ व्यवसायी एशोसियसन ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरूमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताए । टोड्के र झिँका बासिन्दाहरूले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् । रासस

मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध

मन्थली । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौं यातायात शनिबार बिहानदेखि अवरुद्ध भएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारिसाधन आवागमन अवरुद्ध बनेको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक-काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो । बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौंबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (नआईआईएफ) बीच आईपीओका लागि परामर्श सेवा प्रदान गर्न सहमति भएको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डका कार्यकारी अध्यक्ष डा. मनीष थापाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड लिमिटेडले कृषि, नविकरणीय उर्जा, पर्यटन, सूचना प्रविधि (आईसीटी), स्वास्थ्य सेवा र उत्पादन क्षेत्रका कम्पनीहरूमा लगानी गरिरहेको छ । एनआईआईएफ २०७९ साल कात्तिक २९ मा दर्ता भएको थियो र यसको पहिलो लगानी २०७९ साल माघ ५ मा सम्पन्न भएको थियो । यस फण्डको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ छ, जसको २० प्रतिशत शेयर आगामी आईपीओका लागि सुरक्षित राखिएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसलाई लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको मर्जरबाट स्थापना गरिएको हो ।

नेपालमा एकैदिन बीवाईडीका १३२ युनिट ईभी डेलिभरी

काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी गरेको छ । नेपालीहरूको महान चाड दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो ईभी डेलिभरी गरेको हो । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभरि रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो । अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले सो अवसरमा कृतज्ञता कायम गर्दै भने, ‘एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो । यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ । यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’ देशभरि बीवाईडीको बजार उपस्थिति तीव्र रूपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवर्द्धन गरिरहेको छ ।

होण्डाको चाडपर्व योजनाअन्तर्गत ४ जनाले जिते नगद १/१ लाख

काठमाडौं। होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत ४ जना ग्राहकले जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेतामा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन्। दशैं, तिहार र छठ पर्वको अवसर पारेर कम्पनीले अफर योजना ल्याएको हो । यसलाई ग्राहकहरूले मन पराएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन् । होण्डाका दुईपांग्रे सवारी खरिदमा इजी फाइनान्स पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।