विकासन्युज

कृषि उद्योगको दिगो विकासका लागि एकदिने गोष्ठी सम्पन्न, वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा जोड

काठमाडौं । कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि एक दिने गोष्ठी सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि सरोकारवालाहरूसँग एक दिने गोष्ठी सम्पन्न भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नेपालको कृषि क्षेत्रलाई परिवर्तन गर्नसक्ने विज्ञहरूले सम्मेलनमा बताए । उनीहरूले नेपालले कृषिको क्षेत्रमा थप अध्ययन र अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे । कृषि क्षेत्रको विकासका लागि किसानका समस्यालाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने विज्ञहरूले सुझाव दिए । उनीहरूले वास्तविक किसानको पहिचान गरी उनीहरुलाई सहुलियत, राहत र अनुदान दिनुपर्ने बताए । किसान र कृषि क्षेत्रलाई बलियो बनाउन किसानका उत्पादनहरूलाई बजारीकरण गर्नुपर्ने विज्ञहरूको जोड छ ।

खाद्य तथा गुण नियन्त्रण विभागको बजार अनुगमन सुरु, पेप्सीकोलाका चार डेरी र एक थकालीमा निरीक्षण

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलक्षित खाद्य बजार निरीक्षण अनुगमन सुरु गरेकाे छ । विभागले बिहीबार मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी बजार निरीक्षण अनुगमन सुरु गरेकाे हाे । विभागकाे टाेलीले निरीक्षणकाे क्रममा पेप्सीकोलास्थित ए बी टिपिकल थकालीलाई बेकरी सर्टेनिङकाे प्रयोग नगर्न निर्देशन दिएको छ । पेप्सीकोलामै रहेकाे सूर्यमुखी डेरी पसलमा प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत पाइएको विभागले जनाएकाे छ । विभागले विस्तृत परीक्षणको लागि नमूना संकलन गरी प्रयोगशालामा पठाएकाे छ । अन्य तीनवटा डेरीमा पनि विभागले अनुगमन गरे पनि कुनै पनि कैफियत नपाएकाे जनाइएकाे छ । पेप्सीकोलामै रहेका काभ्रे डेरी, गोलोक डेरी, अनुप डेरी र सूर्यमुखी डेरी पसलमा अनुगमन भएकाे हाे ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन जम्मा भयो साढे तीन करोड रुपैयाँ

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कृषि विकास बैंकबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैंकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट रु ५१ लाख रकम हस्तान्तरण भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरूको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट पनि सहयोगको क्रम जारी रहेको छ ।

काठमाडौं उपत्यकासहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने

काठमाडौं । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तिब्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ । प्राधिकरणका सहसचिव अधिकारीले भने, ‘विशेषगरी अस्तिको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । हामी स्थानीय तहको पनि संख्या तोक्छौं । अहिले मैले अघि भनेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ ।’ गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरूको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन् । १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनिसहसचिव अधिकारीले बताए ।

एकैदिनमा जेइको जे सिक्स र ओमोडा ई ५ को १०० युनिट डेलिभरी

काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिट डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ । पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स नेपालमै पहिलो अफरोड इलेक्ट्रिक एसयूभी हो । गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको जेइको जे सिक्सले छोटो समयावधिमा नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ । गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जे सिक्सलले प्रभावकारी प्रदर्शन गरेकाे थियाे । त्यति मात्र होइन, ओमोडा ई ५ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । जेइको जे सिक्समा २ हजार ७१५ मिलिमिटरको ह्विलबेस, १८९ वा १९० इन्चको ह्वील तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स रहेकाे छ । याे गाडी अफरोडका लागि उत्तम मानिन्छ । जे सिक्स दुईवटा भेरियन्टमा उपलब्ध छ । पहिलो २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर-ह्वील ड्राइभ र दोस्राे १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्ट । यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सिएटीएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाट आवर वा ६९.७ किलोवाट आवरमा उपलब्ध छ ।) रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटीसी-रेन्ज प्रदान गर्दछ । गाडी ३०५ देखि ८०५ सम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डीसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् ।

आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ । असोज १५ गते बिहीबार हेलिकप्टरसहित पाँच सय ११ उडान भए । बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कूल पाँच सय ९९, मंगलबार पाँच सय ११ र बुधबार चार सय ७३ वटा उडान भएका छन् । बिहीबार र शुक्रबार केही उडान चाप घटेको छ । दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुबैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो । उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या पनि थपेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ । विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ । आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन् । अन्तर्राष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ । हवाई उडान चाप बढेपछि एयर ट्राफिक व्यवस्थापनका साथै हवाई उडानको सुरक्षाको सन्दर्भ पनि आउँछ । उडान चापले विमानस्थल व्यवस्थापनदेखि एयरलाइन्स, विमान चालक (पाइलट) तथा गन्तव्यका विमानस्थलको व्यवस्थापकीय र सुरक्षाको प्रश्न उठ्नु स्वभाविक पनि हो । त्यसो हो भने उडान चाप हुँदा हवाई सुरक्षाको सन्दर्भलाई कसरी हेरिन्छ त १ यसै सन्दर्भमा हवाई क्षेत्रका जानकारहरुसँग केही जिज्ञासाको उत्तर खोज्ने प्रयास गरिएको छ । हवाई उडान चाप रहेपनि हवाई सुरक्षालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइएको नियामक निकाय एवं एयरलाइन्सका अधिकारीले दाबी गरेका छन् । उनीहरुले हवाई उडान सुरक्षामा कुनै सम्झौता नहुने उल्लेख गरे । आन्तरिक उडानमा आवश्यक जनशक्ति २४सै घण्टा खटिएर सेवालाई चुस्त र प्रभावकारी बनाइएको उनीहरुको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले यात्रुको चाप बढेपछि उडान व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिएर नागरिकलाई गन्तव्यमा पुर्याउन सबै सक्रिय रुपमा लागेको बताए । ‘हवाई सुरक्षामा शून्य सहनशीलता अपनाइएको छ । सुरक्षा र सेवालाई समानान्तर रुपमा अघि बढाइएको छ’, महानिर्देशक अधिकारीले भने, ‘विपद्को समयमा सहर–सहरबीच सम्पर्कविच्छेद छ, अहोरात्र खटेर उड्डयन क्षेत्रका कर्मचारी, एयर ट्राफिक कन्ट्रोलर (एटिसी), प्राविधिक, प्रशासनिक कर्मचारी, सुरक्षा निकाय, ‘फायर फाइटिङ’का कर्मचारीले मेहनतकासाथ काम गरिरहेका छन् अनेकौँ असहजताकाबीच यो स्तरको सेवा दिइएको छ, यसमा सबैले सकारात्मक कोणले हेर्नुपर्छ ।’ वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले उडान चाप व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई सम्पूर्ण एयरलाइन्सले तदारुकताका साथ ध्यान दिएर यात्रुलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याइरहेको बताए । उनले भने, ‘सबै हवाई सेवा कम्पनीले पूर्ण क्षमताका साथ उडान सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षामा कुनै सम्झौता हुदैन, प्राविधिक जनशक्तिको क्षमता र विमानको क्षमता हेरेर आवश्यक जनशक्तिसहित व्यवस्थापन गरिएको छ ।’ यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सडक अवरुद्ध हुदाँ रोकिएका यात्रु विभिन्न गन्तव्यमा पुग्न हवाई माग रोज्जुको विकल्प छैन । सडकमार्ग अवरुद्ध हुँदा अहिले हवाई उडानमा चाप रहेको र यसले एयरलाइन्सबीचको प्रतिस्पर्धा पनि बढाएको हवाई विज्ञ अच्युत पहाडीले बताए । ‘फेयर पाइटिङ र एयरलाइन्सको प्रतिस्पर्धाले पनि जोखिम बढी हुनसक्छ, हवाई सुरक्षाप्रति सतर्क हुनुपर्छ, हवाई सुरक्षालाई नियामक निकायले प्रभावकारी अनुगन गर्नुपर्छ’, उनले भने । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढ्ने र उडान डिले हुने तथा होल्डमा बस्नुपर्ने अवस्था हुन्छ । नियामक प्राधिकरणले एयरलाइन्सको माग र विमानस्थलको क्षमताका आधारमा उडान अनुमति दिने गरेको छ । ‘एयरलाइन्सको माग अनुसार आवश्यकता हो की हैन प्राधिकरणले विमानस्थलको एयर ट्राफिक क्षमता, टर्मिनलको क्षमतालाई विचार गरेर अनुमति दिने गर्छ’, प्रवक्ता शेर्पाले भने । विमान होल्ड हुनुमा विभिन्न कुराले काम गर्ने बताइन्छ । विज्ञहरुका अनुसार इन्स्टुमेन्ट फ्लाइट रुल (आइएफआर) उड्ने विमानको मापदण्ड बढी हुन्छ । ‘विमान आइएफआरमा उडेपछि उसको नियम र आफ्नै मापदण्ड अनुसार कुन ठाउँमा विमान पुगेपछि अर्को विमानलाई कहाँसम्म जान दिने भन्ने हुन्छ । आइएफआरको मापदण्ड अनुसार उड्नुपर्ने भएकाले मौसम जस्तो भएपनि मापदण्ड कडिकडाउ हुन्छ’, प्रवक्ता शेर्पाले भने । भिजुअल फ्लाइट रुल (भीएफआर) उड्ने विमानको कम ‘सेप्रेसन स्टान्डर मेन्टेन’ गर्नुपर्ने हुन्छ । आइएफआरको मापदण्ड बढी भएकाले आवश्यकता, औचित्य हेर दिन मिल्ने नमिल्ने निर्णय लिइन्छ । यती एयरलाइन्सका हवाई सुरक्षा समेत हेर्ने प्रवक्ता सुदर्शन बर्तौैलाले उडान चाप व्यवस्थापनसँगै हवाई सुरक्षालाई पनि विशेष ध्यान दिएर सोही अनुरुप दक्षशक्ति परिचालन भइरहेको बताए । ‘यात्रुको चाप बढ्दैमा ‘सेफ्टीलाई कम्प्रोमाइज’ गरेर विमानहरु उड्दैनन्’, उनले भने, ‘हवाई सुरक्षामा कुनै सम्झौता हुँदैन । उडान ढिलो हुनुमा विमानको मर्मतलगायतको पाटोलाई पनि सँगै लैजानुपर्ने भएकाले हो, एयरलाइन्सले हवाई सुरक्षालाई मध्यनजर गर्दै दैनिक तीन सिफ्टमा प्राविधिक जनशक्ति परिचालन गरेर काम गरिरहेका हुन्छन्, त्यसैले उडान चापले सुरक्षा जोखिम हुँदैन ।’ लामो मर्मत र उडानको समयमा हुने छोटो मर्मत दुबैलाई एयरलाइन्सले समानान्तर रुपमा लगिरहेका हुन्छन् । सीमित सङ्ख्याका विमान र उडान व्यवस्थापनालाई मध्यनजर गर्दै उडान सञ्चालन गरिरहेका एयरलाइन्सहरुले जनाएका छन् । ‘यात्रुले टिकट पाएनन् भने पनि एयरलाइन्सलाई नै दोष दिने, बढी पैसा लिए, ढिलो उडाए जस्ता आरोप खेपिरहेकै छौँ’, श्री एयरलाइन्सका संस्थापक प्रबन्धक अनिल मानन्धरले भने, ‘आरोप पनि खेपिरहेका छौँ, दबावमा सेवा पनि सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिइएको छ ।’ हवाई सुरक्षा मापदण्डलाई कडिकडाउ गरिएको छ । एउटा विमान अवतरण गरेपछि कति समयपछि उडान भर्ने भन्ने आफ्नै नियम हुन्छ । सोही अनुरुप मापदण्डका आधारमा उडान सञ्चालन हुन्छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उडान चापले उडानहरु ‘डिले’ भइरहेका छन् । उडान डिले हुनुमा एयर ट्राफिक जाम र मौसममा पनि भर पर्ने गरेको उनको भनाइ छ । अहिले सबै गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । जहाज सङ्ख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको हो । विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाईयात्रुको चाप हुने गरेको थियो । यसपटक अविरल वर्षापछिको बाढी पहिरोलगायत विपद्का घटनाले सडकमार्ग अवरोध हुँदा हवाई उडानमा थप चाप बढ्न गएको हो । उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज ९घटस्थापना०देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएको छ । रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने जनाइएको छ । सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् । काठमाडौंबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ । यसैबीच हवाई यात्रुको चाप अत्याधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । श्री एयरलाइन्सले पनि आजदेखि काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान सञ्चालन गरेको छ । कम्पनीले कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ । यती एयरलाइन्सले पनि काठमाडौं–भद्रपुर–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौंमा एक–एक उडान थपेको छ । साथै आजबाट काठमाडौं–जनकपुर–काठमाडौं गन्तव्यमा एक उडान थपिएको एयरलाइन्सले जनाएको छ । रासस

विदेश पढ्ने योजनामा हुनुहुन्छ ? यी हुन सक्छन् पूर्ण छात्रवृत्ति

काठमाडौं । पैसा छैन भन्दैमा अब कुनै पनि विद्यार्थीले पढाइबाट वञ्चित हुन पर्दैन । बस् यसका लागि तपाईं मेहनती र क्षमतावान हुनुपर्‍यो । यतिमात्र होइन, विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । तपाईं विश्वका जुनसुकै कलेजमा आफ्नो एक पैसा खर्च नगरी स्नातक, स्नातकोत्तर र पीएचडीसम्मकै अध्ययन गर्न सकिन्छ । क्षमतावान विद्यार्थीलाई विभिन्न देश वा सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ । जहाँ तपाईंलाई अध्ययन गर्न मात्र होइन, आवतजावत, बस्ने खानलगायत स्वास्थ्य कोषको पनि सुविधा छ । आउनूहोस् यस्ता सुविधा दिने विश्वका १० संस्थाबारे छोटकरीमा जानकारी राखौं । १.येल विश्वविद्यालय छात्रवृत्ति अमरेिकामा रहेकाे यो विश्वविद्यालयले स्नातक विद्यार्थीहरूको लागि आवश्यकतामा आधारित छात्रवृत्ति प्रदान गर्दछ । जसलाई येल छात्रवृत्ति भनिन्छ । यो छात्रवृत्ति वास्तवमा एउटा अनुदान हो, जुन फिर्ता गर्नुपर्ने हुँदैन । जसको अर्थ विद्यार्थीहरूले स्नातकपछि यसलाई फिर्ता गर्नु पर्दैन । यो नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध छ । जसले वित्तीय आवश्यकताको आधारमा योग्यता प्राप्त गर्छन् । यस छात्रवृत्तिले औसतमा ५० हजार डलरसम्मको सहायता प्रदान गर्दछ । २. मेक्स्ट छात्रवृत्ति जापानको शिक्षा, संस्कृति मन्त्रालय र खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयद्वारा यो छात्रवृत्ति प्रदान गरिन्छ । यो विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापानमा अध्ययन गर्नका लागि गरिएकाे डिजाइन गरिएको हो । यो जापानको टोक्यो विश्वविद्यालय, क्योकुशु विश्वविद्यालय, ओसाका विश्वविद्यालय, टोक्यो मेधा विश्वपिद्यालय र क्योटो विश्वविद्यालयबाट दिइन्छ । जहाँ स्नातक, स्नातकोत्तर र अनुसन्धान गर्ने विद्यार्थीका लागि छात्रवृत्ति दिने गरिन्छ । जसमा लागि १ लाख १७ हजार येनदेखि २ लाख ४२ हजारसम्मको मासिक रकम उपलब्ध गराउने गरिन्छ । जसमा नेपाललगायतका अन्य देशका विद्यार्थीले पनि सहभागिता जनाउन सक्छन् । ३. फुलब्राइट विदेशी विद्यार्थी कार्यक्रम फुलब्राइट विदेशी विद्यार्थी कार्यक्रमले विभिन्न क्षेत्रमा स्नातक डिग्री, विशेषगरी मास्टर्स र पीएचडी कार्यक्रमहरूमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने गर्दछ । यसमा आवेदन दिन अमेरिकाबाहेक अन्य सबै देशका विद्यार्थीहरू पाउनेछन् । अमेरिकी अध्ययनमा आफ्नो शिक्षा अगाडि बढाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि याे ठूलो अवसर हो । जसले पर्याप्त वित्तीय सहयोग प्राप्त गर्नमा मद्दत गर्दछ । यस छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्दछ, जसमा ट्यूसन शुल्क, हवाई यात्रा खर्च, जीविकोपार्जन भत्ता, स्वास्थ्य बीमा र थप लाभहरू समावेश छन् । यसको उद्देश्य अमेरिका र अन्य देशबीचको आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु हो । ४.मोनाश विश्वविद्यालय छात्रवृत्ति मोनाश विश्वविद्यालयले आफ्नो स्नातक कार्यक्रमहरूमा भर्ना हुन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मोनाश ह्युमनिटेरियन छात्रवृत्ति प्रदान गर्दछ । यस छात्रवृत्तिले सम्पूर्ण ट्यूशन शुल्क कभर गर्छ र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई वार्षिक ६ हजार डलर भत्ता पनि प्रदान गर्छ । यो नेपाली र अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि खुला छ तर अस्ट्रेलियाका नागरिकहरूका लागि उपलब्ध छैन । ५.स्ट्यानफोर्ड विश्वविद्यालय छात्रवृत्ति स्ट्यानफाेर्ड विश्वविद्यालयअन्तर्गत स्नातक तहमा आवेदन दिने विद्यार्थीहरूले आफ्नो भर्ना आवेदनको साथ आवश्यकतामा आधारित आर्थिक सहायता कार्यक्रमको लागि निवेदन गर्न सक्छन् । नाइट–हेनेसी छात्रवृत्तिअन्तर्गत विद्यार्थीहरूले कुनै पनि स्ट्यानफोर्ड स्नातक डिग्रीका लागि तीन वर्षसम्मको वित्तीय सहयोग प्राप्त गर्न सक्छन्, जसमा ट्यूशन शुल्क, जीविकोपार्जन खर्च र वार्षिक यात्रा भत्ताको कभर समावेश छ । नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्थानान्तरण भत्ता प्राप्त गर्न सक्छन् र दोस्रो तथा तेस्रो वर्षका विद्यार्थीहरूले शैक्षिक गतिविधिहरूका लागि थप कोषको खोजी गर्न सक्छन्। यो वित्तीय सहयोग सम्बन्धित डिग्री कार्यक्रममा लागू हुन्छ, तर छात्रवृत्ति जित्नेहरूले अर्को स्नातक कार्यक्रमका लागि अतिरिक्त कोषको अनुरोध गर्न सक्छन् । यद्यपि यो ग्यारेन्टी गरिएको हुँदैन। यदि कार्यक्रम तीन वर्षभन्दा बढी समयको छ भने वित्तीय सहयोग सम्बन्धित विभाग वा विद्यालयको मानक प्रतिबद्धतासँग मेल खाने गरी मिलाइन्छ। ६. चिभनिङ छात्रवृत्ति चिभनिङ छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्छ, जसमा हवाई उडान खर्च, आवास र कोर्स शुल्क समावेश छन् । यसले प्राप्तकर्ताहरूलाई आफ्ना व्यावसायिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न र एक वर्षको लागि युकेमा परिवर्तनकारी अनुभव लिन अनुमति दिन्छ । चिभनिङ छात्रवृत्ति युके सरकारको विश्वव्यापी छात्रवृत्ति कार्यक्रम हो ।  यी छात्रवृत्तिहरू असाधारण नेतृत्व क्षमतायुक्त उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गरिन्छ । ७.नेदरल्याण्ड सरकारी छात्रवृत्ति यो एक शैक्षिक उपलब्धिमा आधारित छात्रवृत्ति हो । जसले ट्यूशन शुल्क कभर गर्छ । यो गैर इयु, गैर ईईए देशका विद्यार्थीहरूका लागि योग्य छ । हल्यान्ड छात्रवृत्ति कार्यक्रम (एचएसपी) ले जीविकोपार्जन खर्चको लागि आर्थिक सहयोग प्रदान गर्दछ । त्यसैगरी, ओरेन्ज ट्यूलिप छात्रवृत्ति –ओटीएस) विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको छ । ओटीएसकाका लागि आवेदन दिने विद्यार्थीहरूले भीयूएफपी र एचएसपीसँगै आवेदन दिनुपर्ने हुन्छ । ८.गेट्स क्याम्ब्रिज छात्रवृत्ति गेट्स क्याम्ब्रिज छात्रवृत्तिले त्यहाँ अध्ययनका लागि सबै खर्चहरू कभर गर्छ र थप कोष प्रदान गर्दछ । विश्वविद्यालय रचना शुल्क वार्षिक मर्मत भत्ता २० हजार युरोसम्म ४ वर्षको लागि प्रदान गरिन्छ । हवाई यात्रा खर्च, भिसा खर्च,  स्वास्थ्य शुल्क, स्वास्थयबीमाको पनि सुविधा हुन्छ । यस छात्रवृत्तिले गेट्स क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई व्यापक सहयोग प्रदान गर्दछ । ९. केएआइएसटी विश्वविद्यालय छात्रवृत्ति   केएआइएसटी विश्वविद्यालयले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्ति अवसरहरू प्रदान गर्छ । जसमा प्रतिष्ठित प्रेसिडेन्सियल साइन्स छात्रवृत्ति, नेशनल एक्सिलेन्स छात्रवृत्ति, नेशनल छात्रवृत्ति, कम आय परिवार छात्रवृत्ति, वित्तीय सहायता छात्रवृत्ति, र बाह्य छात्रवृत्तिहरू समावेश छन् । यी छात्रवृत्तिहरू विद्यार्थीहरूको विविध आर्थिक अवस्थालाई समर्थन गर्न डिजाइन गरिएका हुन्। यसको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक र आर्थिक रूपमा सहयोग पुर्‍याउनु हो । जसले उनीहरूलाई आफ्नो अध्ययनमा केन्द्रित हुन र शैक्षिक सफलतामा प्रगति गर्न सक्षम बनाउँछ। यीमध्ये धेरै कार्यक्रमहरूले ट्यूशन शुल्क मात्र नभई जीविकोपार्जन खर्चको लागि पनि सहयोग प्रदान गर्छन् । विविध छात्रवृत्ति अवसरहरू उपलब्ध गराएर विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई आर्थिक बोझ बिना आफ्नो शिक्षा अगाडि बढाउन मौका दिन चाहन्छ । यसले विविध र समावेशी शैक्षिक समुदायलाई प्रोत्साहन दिन मद्दत गर्दछ । १०.टर्की सरकार छात्रवृत्ति टर्की सरकार छात्रवृत्ति टर्कीका विश्वविद्यालयहरूले प्रदान गर्ने विभिन्न विषयहरूमा स्नातक, स्नातकोत्तर, पीएचडी र पोस्ट डक डिग्रीहरूका लागि उपलब्ध छन् ।  टर्की सरकारद्वारा प्रायोजित यस छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्दछ, जसमा ट्यूशन शुल्क, भत्ता, र अन्य लाभहरू समावेश छन् । यो छात्रवृत्ति टर्कीका नागरिकहरू बाहेक सबै राष्ट्रियताका आवेदनदाताहरूका लागि खुला छ।

स्वास्थ्य बीमा बोर्डको पञ्च वर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

काठमाडौं । नौ वटा रणनीति तय गर्दै स्वास्थ्य बीमा बोर्डले पञ्च वर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । रणनीतिमा पहिलो, बोर्डको संरचनागत सुदृढीकरण तथा सुशासन, दोस्रो, स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण, तेस्रो बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि रहेका छन्। यस्तै स्वास्थ्य बीमा संचालनमा दिगो वित्तीय व्यवस्थापन, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य रहेका छन्। हाल स्वास्थ्य बीमामा ७ सय ५३ वटै स्थानीय तहसम्म विस्तार भएको यो कार्यक्रममा ८१ लाख १४ हजार ५ सय ९४ जना २८ प्रतिशत नागरिक र२५ लाख १४ हजार २ सय २० ३८ प्रतिशत परिवार आवद्ध भएका छन् भने, ४८ प्रतिशतले स्वास्थ्य बीमा मार्फत सेवा लिएका छन् । कुल बीमित नागरिक मध्ये ६२ प्रतिशतले नवीकरण गरेका छन् । हाल सरकारी र सामुदायिक गरी कुल ४सय ७१ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भईरहेको छ । स्वास्थ्य बीमा बोर्डबाट लागु भएको सुविधाको थैलीमा समावेश भएका सेवाहरु र मुल्य सूचीलाई स्वीकार गरि सबै तहका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुबाट सेवा सञ्चालन हुनुलाई समेत यस कार्यक्रमको मुख्य उपलब्धिको रुपमा लिन सकिने बोर्डले भनेको छ । २०७२ साल देखि शुरु भएको स्वास्थ्य बीमामा नागरिकको आकर्षण भने पाइदैन । स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको प्रावधान अनुसार औपचारिक क्षेत्रलाई बीमाको दायराभित्र समेट्न नसक्दा स्वास्थ्य बीमाको वित्तीय दिगोपनामा समस्या देखिएको छ । बीमितको गुणस्तरीय स्वास्थ्य सेवाप्रति रहेका असन्तुष्टिका कारण नागरिकको नयाँ आबद्धता र नवीकरणमा केही ह्रास आउन बोर्डले नै स्वीकार गरेको छ । स्वास्थ्य सेवा खरिद प्रणाली मा रहेको स्थिरताले सेवाग्राहीबाट हुने रोग निदान, उपचार र प्रेषणका लागि अनावश्यक दबाव दिने र सेवा प्रदायक संस्थाले पनि नियमानुसार सेवा प्रवाह गर्न नसक्दा औचित्यपूर्ण रोगको निदान, उपचार र प्रेषणमा समस्या देखिएको हो । सेवाप्रदायकले आफ्नो फार्मेसीबाट आवश्यक औषधी र औषधीजन्य सामाग्रीहरू उपलब्ध गराउन नसक्दा सेवाग्राहीको स्वास्थ्य बीमा प्रति गुनासो आउने क्रम बढिरहेको छ । करिव ४ सय भन्दा बढी स्थानीय तहहरूमा स्वास्थ्य बीमा सेवा प्रदान गर्ने संस्थाको उपलब्धता नभएका कारण नागरिकलाई सजिलै सेवा लिन असुविधा भएका कारण कार्यक्रममा आवद्धता बढाउन पनि कठिनाई भएको पाइएको हो । बोर्डमा हाल सेवाप्रदायकबाट दैनिक करिब ३० हजार दाबीहरू प्रविष्ट हुन्छ र जसमध्ये दैनिक जम्मा ८ देखि १० हजार दावी मात्र परीक्षण गर्न सक्ने क्षमता रहेको हुनाले सेवाप्रदायकलाई समयमा शोधभर्ना गर्न कठिनाई भईरहेको छ। [pdf id=514899]