दाङबाट चार सय खसीबोका काठमाडौं पठाइँदै
काठमाडौं । दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौं खसीबोका पठाउने गरिएको छ । दाङबाट शुक्रबार १९३ र शनिबार २ सय खसीबोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ । जिल्लाबाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँबाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताउनुभयो । उनकाअनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजीसम्मका बोका खरिद गरी काठमाडौ. पठाइएको हो । जिउँदो खसी प्रतिकेजीको ५६० रुपैयाँ र बोका प्रतिकेजीको ५४० रुपैयाँको दरमा खरिद गरिएको उहाँले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सयमात्र खसीबोका जिल्लाबाट माग भएकाले सोही अनुसार पठाइएको हो । गत वर्ष दाङबाट खाद्यले सात सय ५६ वटा खसीबोका खरिद गरी काठमाडौं पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिदबिक्री कम हुनसक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताए ।
विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति
काठमाडौं । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो । शुक्लागण्डकी–४ दुलेगौडाबाट लिलाचोकसम्मको खण्डमा धमाधम स्तरोन्नति भइरहेको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उनले तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको बताए । नगरप्रमुख पण्डितले भन्नुभयो, ‘नगरपालिकाको सबै ठूलो आयोजनाको काम सम्पन्न गर्न अनुगमनसँगै खबरदारी गरिरहेका छौँ । यो खण्ड कालोपत्रपछि यहाँका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।’ यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले विसं २०८० चैत २५ गते सम्झौता गरेको थियो । विश्व बैंकको सहयोग र सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी)अन्तर्गत उक्त मोटरमार्ग ७.१ किलोमिटर दूरी कालोपत्र गर्न थालिएको नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए। उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँमा रहेको छ । ‘१५ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाका रूपमा छनोट गरेको थियो,’ उनले भने । भट्टराईका अनुसार शुक्लागण्डकी-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी-८, ९ र १२ वडालाई जोड्छ । “उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ, उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ,’ उनले भने । दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५.५ मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक/एक मिटरको नाला निर्माण हुनेछ । शुक्लागण्डकी-४ दुलेगौडाबाट शुक्लागण्डकी-१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । यसैगरी विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिलाई तीव्र पारिएको छ । यो सडकले व्यास-७, ९, १० र ११ जोड्छ । बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कुल-कलेस्ती सडक जोडिने उक्त खण्डअन्तर्गत १०.५५ किमी दूरी कालोपत्र हुनेछ । उक्त सडक स्तरोन्नति गर्न गत वैशाख १६ गते निर्माण कम्पनीसँग ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद विसं २०८२ असारसम्म रहेको छ । १०.५५ किमी उक्त खण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उक्त सडकले व्यास-११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास-९ कुमालगाउँ, व्यास-७ समता स्कुल, कलेस्तीलगायत ठाउँ जोड्नेछ ।
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिन्छन् । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।
कोदो उत्पादक किसानलाई गाउँपालिको अनुदान
पर्वत । रैथाने वालीको रूपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ । दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो । कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादन तर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए। पालिकाभित्रका कृषक, कृषि फार्म, कृषक समूह वा सहकारीलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने भएको छ । किसानलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरिएको र यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप गर्दै लैजाने योजना रहेको अध्यक्ष ठकुरीले बताए। अनुदान पाउनका लागि कम्तिमा पाँच रोपनी क्षेत्रफलभन्दा बढीमा कोदोखेती गर्नुपर्ने भएको छ । कृषकले कोदो बाली लगाउने जग्गाको लालपुर्जा र भाडामा लिएको भए करारनामा पालिकामा निवेदनसहित पेश गर्नुपर्ने पालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष विसं २०८१/८२ बाट लागू भएको यो कार्यक्रमलाई वर्षेनी वृद्धि गर्दै लैजाने पालिकाको योजना छ । पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला–ठूला होटलका भान्छामा पनि ढिँडोको माग बढ्दै गएको छ । कोदोको माग बढ्दै जानथालेपछि व्यावसायिक रूपमा कोदोको खेती गर्न तर्फ कृषकलाई आकर्षण गर्न अनुदान मुलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन गैरेले जानकारी दिए। उनका अनुसार अनुदान पाउने भएपछि कृषक र कोदोखेतीको क्षेत्रफलसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । धान, मकै, गुहँ लगायतका बालीजस्तै कोदोमा यान्त्रिकिकरणको विकास हुन नसक्दा कोदोखेतीतर्फ आकर्षण घट्दै गएको गैरेले बताए । पालिकाले प्रोत्साहन स्वरुप दिने रकमले कृषकलाई बारी खनजोत गर्न, कोदो रोप्न, काट्न र थन्क्याउनका लागि केही राहत मिल्ने भएको छ । यसअघि कृषि ज्ञान केन्द्रले पनि रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको थियो । केन्द्रले चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि सहयोग गरेको छ । कोदोखेती गर्ने कृषकलाई यान्त्रिकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा रु पाँच लाख कोदो बालीको प्रवद्र्धनका लागि कृषकलाई वितरण गरिएको थियो । पर्वतमा गत आर्थिक वर्षशाा आठ हजार तीन सय १० मेट्रिकटन कोदो उत्पादन भएको थियो । त्यसमध्ये पाँच हजार एक सय ७५ मेट्रिकटन कोदो निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसबाट रु २३ करोड २८ लाख ७५ हजार भित्र्याएको थियो । उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिकटन कोदो कृषकले खाद्यान्न, बीउ र गाईभैंसीको दानाका रुपमा प्रयोग गरेका थिए । रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाका सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ । मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगबाट पिडितहरुले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताए। पछिल्लो समय कोदोको बिस्कुटसमेत बजारमा उपलब्ध रहेको छ ।
मलेसिया घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् उत्कृष्ट ५ पर्यटकीय गन्तव्य
काठमाडौं । मलेसिया दक्षिणपूर्वी एसियाको सुन्दर देश हो । मलेसियालाई संस्कृतिको भण्डार भनेर पनि चिनिन्छ । यही विशेषताका कारण विश्वभरिबाट ठूलो संख्यामा पर्यटकहरू यस देशमा घुम्न आउने गरेका छन् । यहाँ गएपछि तपाईं रात्रि जीवन, समुद्र तट, अन्य धेरै ठाउँहरू र सुन्दर पार्कहरूको आनन्द लिन सक्नुहुन्छ । मलेसियामा सस्तोमा पनि यात्राको आनन्द लिन सकिन्छ । पेनाङ हिलदेखि मलाक्का जस्ता सुन्दर ठाउँहरू देखेर तपाईं मंत्रमुग्ध हुनुहुनेछ । यसबाहेक तपाईं मलेसियामा यी ठाउँहरू पनि घुम्न सक्नुहुन्छ । पेनाङ हिल पेनाङ हिललाई प्रायद्वीप मलेशियाको पहिलो औपनिवेशिक हिल स्टेशन मानिन्छ । पेनाङ मलेसियाको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । यहाँका स्थानीयले यसलाई बुकेट बान्देरा भन्ने गर्छन् । सामान्यतया यो ठाउँ जर्ज टाउनभन्दा १५ डिग्री चिसो छ । पेनाङलाई खानाको स्वर्ग पनि भनिन्छ । यस बाहेक स्नेक टेम्पल, केक लोक सि मन्दिर जस्ता धेरै मन्दिरहरू छन् । यस बाहेक यहाँको गाउँ नजिकै माछा मार्न पनि पाइन्छ । जुन निकै चर्चित छ । क्वालालम्पुर मलेसियाको राजधानी क्वालालम्पुरमा घुम्न चाहनेहरूका लागि धेरै कुरा छन् । यहाँको प्रतिष्ठित पेट्रोनास ट्विनटावर विश्वको सबैभन्दा अग्लो ट्विनटावरहरूका रूपमा प्रसिद्ध छन् । यहाँ तपाईं बाटु गुफा पनि हेर्न सक्नुहुन्छ । जसको संरचनाले तपाईंको मन चोर्नेछ । यस बाहेक स्क्वायर, केयर टावर, इस्लामिक आर्ट म्युजियम मलेशिया पनि यहाँ घुम्न पाइने छ । चाइनाटाउनको पार्टी सौन्दर्य, सुल्तान अब्दुल समद मस्जिद र बर्ड पार्कले तपाईंलाई मोहित पार्नेछ । यही कारणले गर्दा मलेसिया जाने पर्यटकलाई पहिले क्वालालम्पुर मन पर्छ । मलाक्का मलेसियामा रहेको मलाक्कालाई व्यापारिक बन्दरगाह भनिन्छ । यो बन्दरगाह हाल युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । यहाँ अवस्थित पुरातन भवन र समुद्री तटले मानिसहरूलाई आकर्षित गर्दछ । जसका कारण यो मलेसियाका प्रमुख गन्तव्यमा परेको छ । तमन नेगार तमन नेगारा १०३ मिलियन वर्ष पुरानो वर्षावन भएको संरक्षित क्षेत्र हो । यसलाई साहसिक कार्यको खजाना पनि भनिन्छ । जङ्गलको बाटो भएर हिँड्दा निकै रमाइलो लाग्छ । रंगीन चराचुरुङ्गी हेर्ने र तहन हिमाल चढ्नुको आफ्नै अनौठो आनन्द छ । तमन नेगर मलेसियाको सबैभन्दा चुनौतीपूर्ण पदयात्रा मध्ये एक मानिन्छ । तपाईं यहाँ गुआ तेलिङ्गा चुने स्टोन गुफा भ्रमण गरेर मजा लिन सक्नुहुन्छ । कोटा किनबालु कोटा किनाबालु माउन्ट किनबालुको नामबाट नामाकरण गरिएको हो । यो ठाउँ यसको सुन्दर शहर, हिमाल र टापुहरूको लागि परिचित छ । यस बाहेक यो स्थान रेशमका साडी, डोरी र सुनका गहनाका लागि प्रसिद्ध छ । मलेसियाको यो सुन्दर ठाउँमा दैनिक ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन् । एजेन्सी
लाभांश संशोधन गरेर अपि पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । अपि पावर कम्पनीले वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति निर्धारण गरेको छ । यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा तथा कात्तिक २ गते गर्ने बुक क्लोज गर्ने निर्णय गरेको छ । विद्युत नियमन आयोगले यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत नगरेपछि कात्तिक १ गते बोलाइएको साधारण सभा स्थगित भएको थियो । कम्पनीको असोज १८ मा सम्पन्न संचालक समितिको बैठकले आव २०८१/०८१ को खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रायोजनका लागि नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ । आयोगको निर्देशन अनुसार लाभांश परिमार्जनसँगै साधारण सभा आह्वान गरेको कम्पनीले जनाएको छ । यसअघि ९ प्रतिशतका दरले वोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो । कम्पनीले अब नयाँ लाभांश पछिको नाफाको रकम ४.२५०३ प्रतिशत बराबरको रकम २४ करोड ५९ लाख ५२ हजार ९२ रुपैयाँ कम्पनीको जगेडा कोषमा राख्ने निर्णय समेत गरेको छ । साथै साधारण सभा प्रयोजनका लागि आगामी कात्तिक २ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।
त्रिशूलीको बाढीले तनहुँ र चितवन जोड्ने झोलुंगे पुल जोखिममा
तनहुँ । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुंगे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ जोड्ने घुमाउनेको झोलुंगे पुल जोखिममा परेको हो । बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । ‘घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ’, उनले भने । दशैं सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ ।
बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति
जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा १० करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्याएको हो । सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए । बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्रस तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्याएको उनले जानकारी दिए । रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखाअन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्याएको छ । यस्तै, सर्लाहीतर्फको पूर्र्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूलनहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पु¥याएको प्रमुख चौधरीले बताए । विसं २०३५ मा निमार्ण सुरु भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो ।