दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिन्छन् । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।
कोदो उत्पादक किसानलाई गाउँपालिको अनुदान
पर्वत । रैथाने वालीको रूपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ । दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो । कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादन तर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए। पालिकाभित्रका कृषक, कृषि फार्म, कृषक समूह वा सहकारीलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने भएको छ । किसानलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरिएको र यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप गर्दै लैजाने योजना रहेको अध्यक्ष ठकुरीले बताए। अनुदान पाउनका लागि कम्तिमा पाँच रोपनी क्षेत्रफलभन्दा बढीमा कोदोखेती गर्नुपर्ने भएको छ । कृषकले कोदो बाली लगाउने जग्गाको लालपुर्जा र भाडामा लिएको भए करारनामा पालिकामा निवेदनसहित पेश गर्नुपर्ने पालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष विसं २०८१/८२ बाट लागू भएको यो कार्यक्रमलाई वर्षेनी वृद्धि गर्दै लैजाने पालिकाको योजना छ । पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला–ठूला होटलका भान्छामा पनि ढिँडोको माग बढ्दै गएको छ । कोदोको माग बढ्दै जानथालेपछि व्यावसायिक रूपमा कोदोको खेती गर्न तर्फ कृषकलाई आकर्षण गर्न अनुदान मुलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन गैरेले जानकारी दिए। उनका अनुसार अनुदान पाउने भएपछि कृषक र कोदोखेतीको क्षेत्रफलसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । धान, मकै, गुहँ लगायतका बालीजस्तै कोदोमा यान्त्रिकिकरणको विकास हुन नसक्दा कोदोखेतीतर्फ आकर्षण घट्दै गएको गैरेले बताए । पालिकाले प्रोत्साहन स्वरुप दिने रकमले कृषकलाई बारी खनजोत गर्न, कोदो रोप्न, काट्न र थन्क्याउनका लागि केही राहत मिल्ने भएको छ । यसअघि कृषि ज्ञान केन्द्रले पनि रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको थियो । केन्द्रले चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि सहयोग गरेको छ । कोदोखेती गर्ने कृषकलाई यान्त्रिकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा रु पाँच लाख कोदो बालीको प्रवद्र्धनका लागि कृषकलाई वितरण गरिएको थियो । पर्वतमा गत आर्थिक वर्षशाा आठ हजार तीन सय १० मेट्रिकटन कोदो उत्पादन भएको थियो । त्यसमध्ये पाँच हजार एक सय ७५ मेट्रिकटन कोदो निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसबाट रु २३ करोड २८ लाख ७५ हजार भित्र्याएको थियो । उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिकटन कोदो कृषकले खाद्यान्न, बीउ र गाईभैंसीको दानाका रुपमा प्रयोग गरेका थिए । रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाका सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ । मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगबाट पिडितहरुले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताए। पछिल्लो समय कोदोको बिस्कुटसमेत बजारमा उपलब्ध रहेको छ ।
मलेसिया घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् उत्कृष्ट ५ पर्यटकीय गन्तव्य
काठमाडौं । मलेसिया दक्षिणपूर्वी एसियाको सुन्दर देश हो । मलेसियालाई संस्कृतिको भण्डार भनेर पनि चिनिन्छ । यही विशेषताका कारण विश्वभरिबाट ठूलो संख्यामा पर्यटकहरू यस देशमा घुम्न आउने गरेका छन् । यहाँ गएपछि तपाईं रात्रि जीवन, समुद्र तट, अन्य धेरै ठाउँहरू र सुन्दर पार्कहरूको आनन्द लिन सक्नुहुन्छ । मलेसियामा सस्तोमा पनि यात्राको आनन्द लिन सकिन्छ । पेनाङ हिलदेखि मलाक्का जस्ता सुन्दर ठाउँहरू देखेर तपाईं मंत्रमुग्ध हुनुहुनेछ । यसबाहेक तपाईं मलेसियामा यी ठाउँहरू पनि घुम्न सक्नुहुन्छ । पेनाङ हिल पेनाङ हिललाई प्रायद्वीप मलेशियाको पहिलो औपनिवेशिक हिल स्टेशन मानिन्छ । पेनाङ मलेसियाको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । यहाँका स्थानीयले यसलाई बुकेट बान्देरा भन्ने गर्छन् । सामान्यतया यो ठाउँ जर्ज टाउनभन्दा १५ डिग्री चिसो छ । पेनाङलाई खानाको स्वर्ग पनि भनिन्छ । यस बाहेक स्नेक टेम्पल, केक लोक सि मन्दिर जस्ता धेरै मन्दिरहरू छन् । यस बाहेक यहाँको गाउँ नजिकै माछा मार्न पनि पाइन्छ । जुन निकै चर्चित छ । क्वालालम्पुर मलेसियाको राजधानी क्वालालम्पुरमा घुम्न चाहनेहरूका लागि धेरै कुरा छन् । यहाँको प्रतिष्ठित पेट्रोनास ट्विनटावर विश्वको सबैभन्दा अग्लो ट्विनटावरहरूका रूपमा प्रसिद्ध छन् । यहाँ तपाईं बाटु गुफा पनि हेर्न सक्नुहुन्छ । जसको संरचनाले तपाईंको मन चोर्नेछ । यस बाहेक स्क्वायर, केयर टावर, इस्लामिक आर्ट म्युजियम मलेशिया पनि यहाँ घुम्न पाइने छ । चाइनाटाउनको पार्टी सौन्दर्य, सुल्तान अब्दुल समद मस्जिद र बर्ड पार्कले तपाईंलाई मोहित पार्नेछ । यही कारणले गर्दा मलेसिया जाने पर्यटकलाई पहिले क्वालालम्पुर मन पर्छ । मलाक्का मलेसियामा रहेको मलाक्कालाई व्यापारिक बन्दरगाह भनिन्छ । यो बन्दरगाह हाल युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । यहाँ अवस्थित पुरातन भवन र समुद्री तटले मानिसहरूलाई आकर्षित गर्दछ । जसका कारण यो मलेसियाका प्रमुख गन्तव्यमा परेको छ । तमन नेगार तमन नेगारा १०३ मिलियन वर्ष पुरानो वर्षावन भएको संरक्षित क्षेत्र हो । यसलाई साहसिक कार्यको खजाना पनि भनिन्छ । जङ्गलको बाटो भएर हिँड्दा निकै रमाइलो लाग्छ । रंगीन चराचुरुङ्गी हेर्ने र तहन हिमाल चढ्नुको आफ्नै अनौठो आनन्द छ । तमन नेगर मलेसियाको सबैभन्दा चुनौतीपूर्ण पदयात्रा मध्ये एक मानिन्छ । तपाईं यहाँ गुआ तेलिङ्गा चुने स्टोन गुफा भ्रमण गरेर मजा लिन सक्नुहुन्छ । कोटा किनबालु कोटा किनाबालु माउन्ट किनबालुको नामबाट नामाकरण गरिएको हो । यो ठाउँ यसको सुन्दर शहर, हिमाल र टापुहरूको लागि परिचित छ । यस बाहेक यो स्थान रेशमका साडी, डोरी र सुनका गहनाका लागि प्रसिद्ध छ । मलेसियाको यो सुन्दर ठाउँमा दैनिक ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन् । एजेन्सी
लाभांश संशोधन गरेर अपि पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । अपि पावर कम्पनीले वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति निर्धारण गरेको छ । यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा तथा कात्तिक २ गते गर्ने बुक क्लोज गर्ने निर्णय गरेको छ । विद्युत नियमन आयोगले यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत नगरेपछि कात्तिक १ गते बोलाइएको साधारण सभा स्थगित भएको थियो । कम्पनीको असोज १८ मा सम्पन्न संचालक समितिको बैठकले आव २०८१/०८१ को खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रायोजनका लागि नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रहेको छ । आयोगको निर्देशन अनुसार लाभांश परिमार्जनसँगै साधारण सभा आह्वान गरेको कम्पनीले जनाएको छ । यसअघि ९ प्रतिशतका दरले वोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो । कम्पनीले अब नयाँ लाभांश पछिको नाफाको रकम ४.२५०३ प्रतिशत बराबरको रकम २४ करोड ५९ लाख ५२ हजार ९२ रुपैयाँ कम्पनीको जगेडा कोषमा राख्ने निर्णय समेत गरेको छ । साथै साधारण सभा प्रयोजनका लागि आगामी कात्तिक २ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।
त्रिशूलीको बाढीले तनहुँ र चितवन जोड्ने झोलुंगे पुल जोखिममा
तनहुँ । गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुंगे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ जोड्ने घुमाउनेको झोलुंगे पुल जोखिममा परेको हो । बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । ‘घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ’, उनले भने । दशैं सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ ।
बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति
जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा १० करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्याएको हो । सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए । बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्रस तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्याएको उनले जानकारी दिए । रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखाअन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्याएको छ । यस्तै, सर्लाहीतर्फको पूर्र्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूलनहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पु¥याएको प्रमुख चौधरीले बताए । विसं २०३५ मा निमार्ण सुरु भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो ।
भारतको विदेशी मुद्रा सञ्चिति ७ खर्ब डलर नाघ्यो, जापानकाे कति छ ?
काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति पहिलो पटक ७ खर्ब अमेरिकी डलर नाघेको छ । सेप्टेम्बर २७ मा समाप्त भएको सातामा १२ अर्ब ६ करोड डलरको बढोत्तरी भएको थियो । साप्ताहिक वृद्धि हेर्ने हो भने यो भारतको विदेशी मुद्रा भण्डारमा अहिलेसम्मको पाँचौं ठूलो वृद्धि हो । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति ७ खर्ब ४ अर्ब ८० करोड डलर रहेको अनुमान छ । चीन, जापान र स्विट्जरल्यान्डपछि भारत यो कोशेढुंगा पुग्ने चौथो देश बनेको छ । चीनको विदेशी मुद्रा सञ्चिति भारतको भन्दा झन्डै पाँच गुणा बढी छ । अमेरिकापछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो तर विदेशी मुद्रा सञ्चितिको हिसाबले चीनको नजिक कोही पनि छैन । वर्षको पहिलो त्रैमासिकमा चीनको विदेशी मुद्रा सञ्चिति करिब ३५ खर्ब डलर थियो । यो सूचीमा जापान दोस्रो नम्बरमा छ । यसको विदेशी मुद्रा सञ्चिति करिब १३ खर्ब डलर छ । युरोपको सानो राष्ट्र स्विट्जरल्यान्ड यो सूचीमा तेस्रो स्थानमा छ । योसँग करिब ९ खर्ब डलरको विदेशी मुद्रा सञ्चिति छ । त्यस्तै सुन भण्डारमा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकी सरकारको कोषमा करिब ८ हजार १ सय ३३ टन सुन जम्मा छ । भारतको विदेशी मुद्रा भण्डारमा सबैभन्दा ठूलो साप्ताहिक उछाल अगस्ट २०२१ मा आयो । त्यतिबेला यो १६ अर्ब ६० करोड डलरले बढेको थियो । मार्च २०२४ देखि विदेशी मुद्रा सञ्चिति ५८ अर्ब ४० करोड डलरले बढेको छ भने गत वर्षको तुलनामा १ खर्ब १७ अर्ब ९० करोड डलरले बढेको छ । आरबीआई गभर्नर शक्तिकान्त दासको कार्यकालमा भारतको विदेशी मुद्रा सञ्चितिमा अहिलेसम्मकै सबैभन्दा छिटो मासिक वृद्धि भएको छ। यो ७० महिनाको अवधिमा प्रतिमहिना ४ अर्ब २० करोड भएको छ । उनले पदभार ग्रहण गरेदेखि यो २ खर्ब ९८ अर्ब डलरले ले बढेको छ । एजेन्सी
नाइजेरियामा १० हजार बढीमा हैजा संक्रमण, साढे ३ सयको मृत्यु
नाइजेरिया । यस वर्षको जनवरीदेखि सेप्टेम्बरको बीचमा दक्षिणपश्चिमी राज्य लागोससहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले कम्तीमा ३५९ जनाको मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले जनाएको छ । राजधानी अबुजामा हैजाको प्रकोपको अद्यावधिक गरिएको तथ्यांकमा जनस्वास्थ्य विभागले संक्रमितको संख्या बढेर १० हजार ८३७ पुगेको पुष्टि गरेको छ । यस वर्ष अहिलेसम्म नाइजेरियाका ३३ वटा राज्यमा हैजाको घटना सुचित गरिएको छ । गत हप्ता मात्रै पाँच राज्यमा १ सय ९८ वटा नयाँ संक्रमण रिपोर्ट गरिएको थियो जसमा मृत्युको अनुपात ७.६ प्रतिशत रहेको एनसीडीसीले जनाएको छ । क्षेत्रीय राष्ट्रिय हैजा प्राविधिक समूहको नेतृत्व गर्दै, एनसीडीसीले अधिकारीहरूलाई हैजा रोकथामको तयारी र प्रतिस्थापन योजना बढाई आपतकालीन व्यवस्थापनको लागि क्षमता विकास गर्न आग्रह गरेको छ । प्रकोपबाट प्रभावित समुदायमा खुलारुपमा दिशा पिशाब गर्ने गलत अभ्यास रहेको एनसीडीसीले उल्लेख गरेको छ । पिउने पानी र सरसफाइमा कमजोर पहुँचलाई प्रकाश पार्दै एनसीडीसीले यस्तो अस्वस्थ्य अभ्यासले हैजा फैलावट रोक्ने देशको प्रयासमा चुनौती खडा गरेको जनाएको छ । हैजा एक अत्यधिक विषाक्त रोग हो जुन गम्भीर झाडा–पखालाको अचानक सुरुवातको विशेषता हो । यसले शरिरमा तरल पदार्थको कमी (डिहाइड्रेसन) का कारण मृत्यु निम्त्याउन सक्छ । विशेष गरी घना जनसङ्ख्या भएका क्षेत्रहरूमा पिउने पानीको आपूर्तिको अभावका कारण नाइजेरियामा हैजाको प्रकोप बारम्बार बढिरहेको जनाइएको छ ।