हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव
काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौं उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् । काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो सात सय २० रुपैयाँ देखि सात सय ५५ रुपैयाँ, पहाडका खसी छ सय ७० रुपैयाँ देखि सात सय पाँच रुपैयाँ, बोका छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो एक हजार तीन सय रुपैयाँमा बिक्री भइरहेका छन् । काठमाडौं उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए । सिङमा हरियो रङ छिटेको हेर्नुस् यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले भने, ‘स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।’ विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाए ।
सडक पुनर्निर्माण बदनियतको दुर्गन्ध, ३१ स्थानमा पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने !
भ्रष्टाचार कसरी संस्थागत भइरहेको छ र सरकारको पुँजीगत खर्च किन प्रभावकारी भईरहेको छैन भन्ने विषयमा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले एउटा गतिलो अनुभव सुनाए । उनी अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा एउटा जिल्ला सदरमुकाममा ७ वटा सरकारी भवन बनाउने प्रस्ताव अर्थमन्त्रालयमा पुग्यो । त्यसका लागि करिब ४ अर्ब बजेट माग भयो । महतकै शब्दमा-जग्गा सरकारकै स्वामित्वमा थियो । त्यसैले जग्गामा पैसा हाल्नु परेन । जिल्ला सदरमुकाममा सबैभन्दा ठूलो कार्यालय भनेको जिल्ला प्रसाशन कार्यालय हो, जुन १०/१२ कोठाको भए प्रयाप्त हुन्छ । १०/१२ कोठाको भवन बनाउन ३ देखि ४ करोड रुपैयाँ लाग्छ । ७ वटा भवन बनाउन बढीमा २८ करोड रुपैयाँ पर्ने भयो । सबै फर्निचर, कार्पेट, पर्दा, गार्डेन, सजावट सबै गर्दा पनि ३५/४० करोड भन्दा बढी नपर्ने थियो तर माग भएको थियो ४ अर्बको । यसमा कसरी ४ अर्ब खर्च हुन्छ भनेर उनले प्रस्ताव ल्याउनेसँग सोधे तर जवाफ पाएनन् । मन्त्री महतले मन्त्रालयमा सचिव, उपसचिवसँग पनि छलफल गरे । उनीहरूले पनि प्रष्ट आधार पेस गरेनन् । उक्त परियोजनामा कम्तिमा ३ अर्ब रुपैयाँ नै हाल्नुपर्छ भनेर माथिल्लो नेतृत्वबाट दवाव पनि उनीमाथि पर्न थाल्यो । अन्त्यमा उनले ४० करोड बजेट विनियोजन गर्ने निणर्य गरेर बजेट महाशाखामा फाइल पठाए । त्यसलगत्तै सरकार परिवर्तन भयो । उनको ठाउँमा वर्षमान पुन अर्थमन्त्री भए । मन्त्री पुनले सोही योजनामा ८० करोड रुपैयाँ विनियोजन गरे । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै रहेको संस्थागत भ्रष्टाचारको चित्रण उनले करिब दुई दर्जन आर्थिक पत्रकारबीच गरेका थिए गत साना दशैंतिहारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा । यस विषयलाई यस सम्पादकीयसँग जोड्नु सान्दर्भिक किन भयो भने असोज ११ र १२ गते भएको ठूलो वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारको दावी छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत शुक्रबार संसद्को पूर्वाधार समितिमा यस्तो दावी गरेका हुन् । क्षतिको विवरण सङ्कलनको क्रम जारी रहेकोले पुर्ननिर्माण लागत अझ बढ्न सक्ने पनि उनको तर्क थियो । सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने उनको दावी छ । ७ वटा सरकारी भवन बनाउने ४ अर्ब बजेट माग भएजस्तै दाहालको दावीमा संस्थागत भ्रष्टाचारको संकेत मिलेको छ । मन्त्री दाहालको यस तर्कमा दुर्गन्ध देखिन्छ । संस्थागत भ्रष्टाचारको आधार बनाउँदै गरेको आभास हुन्छ । वर्षा र बाढीका कारण ३४ राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा सात सय ७४ स्थानको पहिरो हटाइएको सरकारी तथ्याङक छ । यसको अर्थ त्यहाँ ती स्थानमा सडकमा ठूलो क्षति पुगेको छैन । अब पाँचवटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध हुने गरी भत्किएका सडक तथा पुल बनाउनुपर्नेछ । याद गर्नु पर्ने कुरा के हो भने अब ५ वटा राजमार्ग बनाउन लागिएको होइन । ३१ स्थानमा ३१ किलो मिटर सडक बनाउनु पर्ने अवस्था पनि होइन । बीपी राजमार्गमा २/४ किलोमिटर सडक पुरै बनाउनु पर्ला । केही पुलहरू बगेका छन्, त्यहाँ पुरै नयाँ बनाउनुपर्ने छ । तर मन्त्री दाहालको दावी पत्याउनु पर्ने आधार भने छैन । यसमा सबै पक्ष चनाखो हुनुपर्छ । बाढी, पहिरोबाट भत्किएका पुल र सडक पुनर्निर्माणमा पनि कमाउने सोच कसैले पनि राख्नु हुँदैन । भत्किएको संरचना पुनर्निर्माणमा सबैले जोडबल गर्नुपर्छ ।
‘यात्रुको चाप बढ्दा भाडा महँगो भएको हो, एयरलाइन्सहरूसँग उडान थप्न आग्रह गरेका छौं’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् । मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे । उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको संख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताए । उनले यात्रुहरू सहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको बताए । मन्त्री पाण्डेले सरकारले महँगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि दाबी गरे । यस पटक धेरै टिकटहरू पहिला नै बिक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताए । उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको जानकारी दिए । उनले यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरूसँग आग्रह गरेकाे पनि बताए ।
एक सातामा ५४ हजार करोडको किनमेल, उपभोक्ता अनलाइनमा सक्रिय
काठमाडौं । चाडपर्वको सिजन सुरु भएको छ । चाडपर्वको समयमा मानिसहरू अनलाइन होस् अथवा बजारमै गएर धेरै किनमेल गर्छन् । एक रिपोर्टका अनुसार एक सातामा मानिसहरूले ई-कमर्स प्लेटफर्म अमेजन र फ्लिपकार्टबाट ५४ हजार करोडभन्दा बढीको खरिद गरेका छन्, जुन नयाँ रेकर्ड हो । यी प्लेटफर्महरूले चाडपर्वको सिजन सेल एक साताअघि सुरु गरेका थिए । यस अवधिमा मोबाइल फोन र इलेक्ट्रोनिक सामानको खरिद बढी भएको छ । डेटाम इन्टेलिजेन्सको रिपोर्टअनुसार ई-कमर्स प्लेटफर्महरू अमेजन र फ्लिपकार्टले सेप्टेम्बर २६ देखि अक्टोबर २ सम्म ५४ हजार ५ सय करोडभन्दा बढीको बिक्री गरेका छन् । यो नयाँ रेकर्ड हो । यो वार्षिक रूपमा २६ प्रतिशतले बढेको छ । काउन्टरपोइन्ट रिसर्च विश्लेषक शुभम सिंहले आईफोन १५ र अघिल्लो मोडलका फोनहरू बढी बिक्री भएको बताए । उनका अनुसार फ्लिपकार्टमा ग्यालेक्सी एस २३ फेई अधिक बिक्री भएको छ । ई-कमर्स प्लेटफर्महरूमा सबैभन्दा धेरै स्मार्टफोनको बिक्री बढ्यो । ३० हजारभन्दा माथिको फोनको बिक्री राम्रो भएको छ । योसँगै कम्पनीहरूले ठूलै छुटमा बिक्री गरिरहेका यस्ता फोन पनि ग्राहकले मन पराएका छन् । आइफोनका नयाँ मोडल सार्वजनिक भएसँगै पुराना मोडलको मूल्य पनि घटेको छ, जसले गर्दा बिक्री बढेको छ । जब अमेजनमा ‘अमेजन ग्रेट इन्डियन फेस्टिवल २०२४’ सुरु भएको ४८ घण्टामा एक नयाँ रेकर्ड बन्यो। अमेजनका अनुसार पहिलो ४८ घण्टामा अमेजनमा ११ करोड नयाँ ग्राहक थपिएका छन् । यी ग्राहकमध्ये ८० प्रतिशत मध्यम र साना सहरका थिए । यो दीपावलीसम्म चल्ने छ । यस्तो अवस्थामा अनलाइन बिक्री २३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा बिक्रीको आंकडा करिब १ लाख करोड रुपैयाँ पुग्नेछ । गत वर्ष बिक्रीमा १६ प्रतिशतले वृद्धि भएको थियो जुन ८१ हजार करोड रुपैयाँ थियो । एजेन्सी
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या छ हजार तीन सय १४ थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ८२ र अन्य देशका ११ हजार चार सय छ जना छन् । अगष्टमा सार्क क्षेत्रका तीन हजार तीन सय ८३ र अन्य मुलुकका दुई हजार नौ सय ३१ पर्यटकले एक्यापको भ्रमण गरेका थिए । जुलाईमा सार्क क्षेत्रका तीन हजार तीन सय ५० र अन्य मुलुकका एक हजार आठ सय ९३ जनाले भ्रमण गरेका थिए । एक्यापभित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमैडाँडा, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक पर्यटक पनि यही याममा बढी आउने गरेका छन् । गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिएभने तिनमा एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना थिए ।
बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै
धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे-कानपुर-कोटतेमाल-पोखरी नारायणस्थान-मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखिसञ्चालनको दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ-सिन्दुरेटार-मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बिपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए । बिपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौं पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मंगटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिए ।
अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित
काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो । कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौंमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए । नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन नेपालमार्फत हट एयर बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे । लोकप्रिय नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन् । ‘म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु’, उनले भनिन् । बलुन नेपाल प्रालिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो । क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको बो । कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङ समेत खुला गरिएको छ । साथै, गैर आवासीय नेपाली समाज (एनआरएनए) बाट पनि यस कार्यक्रमको प्रवर्द्धन हुँदैछ। जसका लागि कम्पनीका निर्देशक समेत रहेका बेलायतका दीपककुमार श्रेष्ठ र रोबर्ट विश्वकर्माले समन्वय गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सबिन महर्जनले जानकारी दिए । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । जसमा बेलुन नेपालको तर्फबाट ५ वटा हट एयर बलुन सञ्चालन गरिनेछ। स्पेन, फ्रान्स, अमेरिका, युके, लाटभिया, जर्मनी, लाओस, अस्ट्रिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भैरहेको कम्पनीका निर्देशक बिबि ढकालले जानकारी दिए । महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिवल प्रभावकारी हुने उनको भनाइ छ। महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ जसलाई मुख्य आकर्षणको रुपमा समावेश गरिएको कम्पनीले जनाएको छ । रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लोलगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ । सन २०१८ बाट बेलुन नेपालले हट अयर बेलुन उडान सेवा पोखराबाट दिँदै आएको छ ।
बाढी पहिरोपीडितका लागि बीवाईडीले दियो ५१ लाख रुपैयाँ
काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी-पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमकाबीच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकताअनुसार सहयोग गर्न प्रतिबद्ध छौ । हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौं ।’ यो योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक रूपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरूपता प्रदान गरेको कम्पनीले बताएको छ ।