विकासन्युज

लघु, सम्पत्ती र कृषि बीमाको हिस्सा बढ्यो, मोटरको यथावत

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लघु बीमाको हिस्सा ह्वात्तै बढेको छ । साथै सम्पत्ती र कृषि बीमाको हिस्सा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढीको निर्जीवन बीमा व्यवसाय भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । त्यसमध्ये लघु बीमा व्यवसायको १.४४ प्रतिशत रहेकाे छ । अर्थात् ११ करोड ३८ लाख रुपैयाँ बराबरको लघु बीमाको व्यापार भएको प्राधिकरणकाे भनाइ छ । गत आर्थिक वर्षको सोही अवधिमा लघु बीमाको व्यवसाय हिस्सा ०.०६ प्रतिशत थियो । अर्थात् गत आवको २ महिनामा ४८ लाख रुपैयाँको लघु बीमाको व्यापार भएको थियो । जबकी गत वर्ष निर्जीवन बीमाको कुल व्यापार ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ थियो । यसैगरी, चालु आवको २ महिनामा सम्पत्ती बीमाको हिस्सा बढेर २९.६८ प्रतिशत पुगेको छ । निर्जीवन बीमा क्षेत्रमा सम्पत्ती बीमाको हिस्सा सबैभन्दा धेरै छ । गत आवको सोही अवधिमा सम्पत्ती बीमाको हिस्स २६.७५ प्रतिशत थियो । र, मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो । विगतमा सबैभन्दा ठुलो बजार मोटरको थियो । तर, अब सम्पत्तीले मोटरलाई उछिनेको अवस्था छ । चालु आवको २ महिनामा मोटर बीमाको हिस्सा यथावत अर्थात् २८.०५ प्रतिशत रहेको छ । चालु आवको दुई महिनामा मोटर बीमाबाट २ अर्ब २० करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ भने सम्पत्ती बीमाबाट २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यस्तै, सामून्द्रिक बीमाको हिस्सा पनि घटेको छ । गत आवको २ महिनामा समून्द्रिक बीमाको हिस्सा ६.६९ प्रतिशत थियो । यस्तो हिस्सा घटेर ५.८८ प्रतिशतमा झरेको छ । यसैगरी, हवाई बीमाको हिस्सा ६.९६ प्रतिशतबाट झरेर ५.७१ ओर्लिएको छ भने इन्जिनियरिङको १२.९१ बाट ११.७६ प्रतिशतमा झरेको छ । विविध तर्फ विविध १३.५३ प्रतिशत १२.३४ प्रतिशतमा झर्दा कृषिको भने सामान्य वृद्धि देखिएको छ । गत आवको दुई महिनामा कृषि बीमाको हिस्सा ५ प्रतिशत थियो । यस्तो हिस्सा वृद्धि भएर अहिले ५.१० प्रतिशतमा पुगेको छ ।

पाँच दिनमा कपिलवस्तुका २१ स्थानमा मन्त्री अधिकारीले गरे सार्वजनिक सुनुवाइ

काठमाडौं । कपिलवस्तु क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं हाल संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरी दसैँ मनाएका छन् । विजयादशमीको टीका नभए पनि गएको बिहीबारदेखि सोमबारसम्म मन्त्री अधिकारीले कपिलवस्तुका २१ स्थानका सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका उनको सचिवालयले जनाएको छ । कार्यक्रममा मन्त्री अधिकारीले जनताको समस्या सुन्ने र समाधानको विकल्प र प्रयासबारे जनतालाई जानकारी गराएका थिए । कतिपय सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री अधिकारीले जनताका सरोकारका र गुनासोकाबारेमा जिल्लास्तरका कार्यालय प्रमुखलाई फोन गरी तुरुन्त समस्या समाधान गर्न निर्देशन समेत दिएका छन् । मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेका अनुसार बिहीबार मन्त्री अधिकारीले कपिलवस्तु निर्वाचन क्षेत्रको दक्षिण भेगमा रहेका लवनी, बरगदवा, बल्लुहवा, पचेरा, सिसनीय, हर्नामपुर, नन्दनगर, जगदीशपुरलगायका स्थानमा निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट र सार्वजनिक सुनुवाइ गरे । यस्तै, शुक्रबार क्षेत्र नम्बर ३ मा रहेको कृष्णनगर, बहादुरगञ्ज, चनैई, शिवराज, विजयनगर गाँउपालिकालगायत ५ स्थानमा सार्वजनिक सुनुवाई गरिएको थियो । शनिबार दसैँको टीकाको दिन व्यक्तिगत र आफनो टोल र बाँणगंगा नगरपालिकामा ब्यक्तिगत भेटघाटमा समय दिएका मन्त्री अधिकारीले आइतबार र सोमबार ९ स्थानमा सार्वजनिक सुनुवाइ गरे । त्यसक्रममा उनले छिट्टै भूमि आयोग गठन गरेर कपिलवस्तुलगायत देशभरकै भूमि समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता जनाए ।

ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ-म्याग्दी सडक कालोपत्र

ढोरपाटन । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो । सडकको ट्र्याक खुलेको छ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ गरिए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । ग्राभेल गरेको सडक लामो समयसम्म कालोपत्र नहुँदा हिलाम्मे र धुलाम्मे बन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो । यो सडक म्याग्दीसँग जोडिने सडक हो । तमानखोला पहिलो पटक कालोपत्र सडकले जोडिन थालेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । पालिकाको बजेटले निकै कम हुनेहुँदा सडक कालोपत्र गर्न नसकिएको जनाउँदै प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको उनले बताए । सडक निर्माण भएको यत्तिका वर्षसम्म यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको अध्यक्ष बुढामगरले बताए । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल चार वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ । अध्यक्ष बुढामगरले भने, ‘भौगोलिक हिसाबले तमानखोला मिलेको छैन, यहाँ सानो विकासका लागि ठूलो बजेट खर्च गर्नुपर्छ, पालिकाको स्रोत र साधन निकै कम छ, यद्यपि आधारभूत विकास भने गरिरहेका छौँ, सडक कालोपत्र गर्न त हामीले चाहेर पनि सकिँदोरहेनछ, एक किलोमिटर सडक कालोपत्र गर्न लाखौँ रकम चाहिँदोरहेछ । यति लामो सडक कालोपत्र गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दोरहेनछ ।’ सडक कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बालेपत्र आह्वानगरी एसी कन्स्ट्रक्सनलाई जिम्मा लिएको छ । निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि १२ करोड ७४ लाख रुपैयाँमा जिम्मा पाएको हो । यस वर्ष गण्डकी प्रदेश कार्यालयले तीन करोडमात्रै बजेट विनियोजन गरेको छ । बहुवर्षे ठेक्काअन्तर्गत रहेको यो आयोजना विसं २०८३ साउन १९ गते सक्नेगरी जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैले बताए । काम यसै सातादेखि सुरु गरेको उनले जानकारी दिए  । रासस

घोडाघोडीमा पर्यटकको चहलपहल बढ्यो, फोटोग्राफरले राम्रो आम्दानी गर्दै

घोडाघोडी । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए । घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि १० रुपैयाँ तिर्नुपर्छ  । टिकट काट्नका लागि पनि दसैँको दिन त हम्मेहम्मे परेको जनाउँदै उनले दैनिक पछिल्लो समय आन्तरिक पर्यटक सङ्ख्या वृद्धि भैराखेको बताए । पर्यटकको चहलपहल बढेसँगै ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा फोटोग्राफर २५ भन्दाबढी छन् । दसैँभन्दा अगाडि दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँदै फोटोग्राफर लक्ष्मण सुनारले भने, ‘दसैँको दिनदेखि ह्वात्तै पर्यटक बढेका छन् । दिनको पाँच हजारसम्म आम्दानी हुने गरेको छ ।’ आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाजाखादा व्यापार व्यवसायमा वृद्धि भएको होटेल व्यवसायी राजु अवस्थीले बताए । उनले भने, ‘चाडपर्वको समयमा मात्रै नभई अन्य समयमा पनि घोडाघोडीमा पर्यटक आइरने वातावरण बनाउनसके हामीलाई आम्दानीको दिगो स्रोत बन्न सक्थ्यो ।’ घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ । घोडाघोडी तालको छेउ हुँदै सहायकर्तालअन्तर्गत रहेको ओजुवातालसम्म पर्यटक पुग्ने गर्दछन् । दसैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाह बताउँछन् । उनकाअनुसार पहिलेभन्दा अहिले घोडाघोडी क्षेत्र व्यवस्थितहुँदै गएको छ । पर्यटकका लागि पैदलमार्ग स्थापना भएका छन् । घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ त्यसैले पनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्वजलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो । चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेञ्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार ‘नेपालकै पहिलो बर्ड सेञ्चुरी घोषणा गरेपछि पनि यहाँ पर्यटकको सङ्ख्या बढेको छ । घोडाघोडीमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थाले पनि पर्यटक लामो समयसम्म अडिनसक्ने वातावरण नरहेको पर्यटन व्यवसायी डबल शाहको भनाइ छ । पर्यटकलाई अबेरसम्म टिकाइराख्ने अवस्था सृजना गर्नसके पर्यटनका क्षेत्रमा घोडाघोडीमा राम्रो अवसर रहेको शाहले बताए । एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ । एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविकमार्गका रूपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताए । रासस

भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा

नवलपरासी । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशिल बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ ।  तत्कालीन सम्राट अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुुक्लपक्षको दशमीको दिन धम्म दीक्षा आयोजना गर्ने परम्परा रहिआएको छ । विश्व बौद्ध धम्म संघ  नेपालका अध्यक्ष बालचन बौद्धका अनुसार सम्राट अशोकले पुज्य भन्ते मोग्गली तिस्स पुत्तबाट बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धम्मलाई राज धम्म बनाएका थिए । यसपछि गौतम बुद्धको जन्मस्थल लुुम्बिनीमा अशोकस्तम्भ निर्माण भएको  बताइएको  छ । सोदिनलाई  अशोक विजया दशमीको नामबाट बुझिने जनाइएको छ । भगवान् गौतमबुद्धको अष्टधातुलाईु आठ भागमा वितरण गरेकोमध्ये रामग्राम स्तूप पनि हो । यसलाई उत्खनन गर्न आउने क्रममा त्यहाँका नागवंशीले उत्खनन गर्न नदिएपछि फर्केका थिए । कार्यक्रममा अधिवक्ता मनोजकुमार नागवंशीले रामग्राम स्तूपालाई उत्खनन गर्न नदिनका लागि नागवंशीले आफ्नो ज्यानसमेत दिन त्यार भएपछि सम्राट अशोकले फर्केका थिए बताए । अध्यक्ष बालचनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सरावल–७ का वडाध्यक्ष हेयात खान धुनिया लागायतको उपस्थिति रहेको थियो ।

मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो, सुनचाँदी व्यवसायमा ५०% गिरावट

काठमाडौं । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनले आजभोलि खासै गहना लगाउँदैनन् । ‘विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो । तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन्,’ उनले भने । घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ । जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन । ‘गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ, त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ,’ उनले भनिन् । गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउँछिन् । ‘गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन,’ उनले भनिन् , ‘तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।’ सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचादीको कारोबार नरहेको बताउँछन् । ‘सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ, सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ,’ उनले भने ।

च्याङग्राको मूल्य १० हजार रुपैयाँ सम्मले घट्यो, मुस्ताङमा १६ करोडको व्यापार

काठमाडौं । यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका ८ हजार भेडाच्याङग्रामध्य ४ हजार ८ सय जिल्लाभित्रका किसानले पालेका र ३ हजार २ सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार ५ सय भेडा (च्यालुक) र ७ हजार ५ सय च्याङग्रा बिक्री भएको हो । ‘मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजार रुपैयाँका दरले च्याङग्रा बेचेका छन्, सरदर मूल्यअनुुसार रु १६ बराबरको च्याङग्रा बिक्री भएका छन्,’ उनले भने । गत वर्ष सात हजार भेडाच्याङग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् । जडीवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । ३ वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्रा १० हजार रुपैयाँ कम मूूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो ।

देशहरू किन धनी र गरिब छन् भनेर अध्ययन गरेका ३ अर्थशास्त्रीले पाए नोबेल पुरस्कार

काठमाडौं । अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। ‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत गरिएको समितिले जनाएको छ। उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको अनुसन्धानका लागि पुरस्कृत गरिएको हो । यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन् । ‘देशहरूबीचको आयमा विशाल भिन्नतालाई कम गर्नु हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो,’ अर्थशास्त्र विधाको पुरस्कार समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, ‘पुरस्कार विजेताहरूले यसलाई प्राप्त गर्नका लागि सामाजिक संस्थाहरूको महत्त्वलाई कारण मानेका छन् ।’ अर्थशास्त्रतर्फ अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन जना महिला छन्। सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो ।