विकासन्युज

ब्याजदर घटेको मौका छोप्यो निफ्राले, ६ प्रतिशत ब्याजमा ५ अर्ब ऋणपत्र जारी गर्दै

काठमाडौं । निक्षेपको ब्याजदर घटेको अवसरमा नेपाल इन्फ्रास्ट्राक्चर बैंकले सस्तो ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको छ । बैंकले ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको नाम ‘निफ्रा उर्जा ऋणपत्र ६%, २०८८/८९’ राखिएको छ । हाल बैंकहरूले निक्षेपमा बढीमा ५ प्रतिशतमात्र ब्याज दिइरहेको अवस्थामा निफ्राले ६ प्रतिशतमा जारी गर्ने ऋणपत्र बजारमा बिक्ने सम्भावना अधिक छ । दुई वर्षअघि बैंकहरूले मुद्दतीमा दिने ब्याजदरभन्दा १ प्रतिशत कम व्याजदरमा बैंकहरूले ऋणपत्र बिक्री गरेका थिए । तरलता अभावको समयमा वाणिज्य बैंकहरूले १० देखि १२ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काषन गरेका थिए । कुल ५ अर्ब रूपैयाँको ऋणपत्रमा ६० प्रतिशत परिपत्र विधिबाट संस्थाहरूको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काषन गरिने बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्काषन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काषन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा निष्काषन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्काषन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । ऋणपत्र निष्काषनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिने प्रक्रिया अगाडि बढेको बैंकले जनाएको छ ।

बाढीको चोटमा बीमकको मलहम, बीमितलाई एडभान्स भुक्तानी

काठमाडाैं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई करिब ९ अर्ब रुपैयाँ आर्थिक दायित्व पर्ने भएको छ । बाढी-पहिरोका कारण बीमा कम्पनीमा ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बढीको दाबी पेस भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । असोजको दोस्रो साता अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण अरबौं रुपैयाँको क्षति भएको थियो । त्यसमध्ये उक्त रकम बराबरको दाबी बीमा कम्पनीहरूमा पेस भएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार ३ हजार २४४ वटा दाबी कम्पनीमा परेको छ । जसमध्ये ९७ वटा दाबीको १७ करोड २८ लाख रुपैयाँ कम्पनीहरूले बीमितलाई भुक्तानी पनि दिइसकेको जनाएका छन् । जसमध्ये शिखर इन्स्योरेन्स्ले १७ करोड २४ लाख, हिमालयन एभरेष्टले २३ हजार , नेको इन्स्योरेन्सले ६६ हजार, सानिमा जिआईसी इन्स्योरेन्सले २ लाख १६ हजार र प्रभु इन्स्योरेन्सले ११ हजार गरी कुल १७ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । कुन कम्पनीमा कति दाबी पेस ? सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सिद्धार्थ प्रिमियरमा १ अर्ब ९५ करोड २९ लाख रुपैयाँको ४६१ वटा दाबी पेस भएको छ । यसैगरी, दी ओरिएन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको दाबी पेस हुँदा हिमालयन एभरेष्टमा १ अर्ब ८ करोड ८६ लाख, नेको इन्स्योरेन्समा ९६ करोड ८५ लाख, शिखरमा ९३ करोड ३६ लाख र सगरमाथा इन्स्योरेन्समा ६६ करोड १३ लाख रुपैयाँ दाबी पेस भएको छ । ५२ वटा जिल्लाबाट दाबी परेको प्राधिकरणले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट दाबी परेको छ । काठमाडौंबाट मात्रै ३ अर्ब ९३ करोड ९९ लाख रुपैयाँको दाबी पेस हुँदा ललितपुरबाट २ अर्ब २७ करोड २१ लाख, चितवनबाट ६४ करोड ५८ लाख, मकवानपुरबाट ५१ करोड ७२ लाख र भक्तपुरबाट ४२ करोड ४२ लाख रुपैयाँ बीमा दाबी पेस भएको छ । छिटो भुक्तानी दिने तयारी बाढी-पहिरोले ठूलो धनजनको क्षति भएपछि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबी भुक्तानी छिटो गर्न निर्देशन नै दिएको थियो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर दाबी भुक्तानी सकभर छिटो गर्न आग्रह गरेका थिए । प्राधिकरणको निर्देशन बमोजिम आफूहरू दाबी भुक्तानीका लागि तयार भएको बीमा कम्पनीहरूको भनाइ छ । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले दाबी भुक्तानीका लागि बीमा कम्पनीहरू तयार रहेको बताए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले बाढी-पहिरोपछि दाबी पेस हुन थालेको र लगत्तै सबै सर्भेयरहरूलाई सर्भेका लागि खटाएको जानकारी दिए । सर्भे रिपोर्ट आउनासाथ दाबी भुक्तानी धमाधम दिने उनले बताए । ‘अहिलेसम्म कम्पनीहरूले १७ करोड दाबी भुक्तानी गरिसकेको अवस्था छ । सर्भे रिपोर्ट आएसँगै दाबी भुक्तानी धमाधम दिन्छाैं, ’उनले भने । उनले सर्भे रिपोर्ट ढिला आउने भएको अवस्थामा कम्पनीहरूले एडभान्स भुक्तानी पनि दिएको बताए । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाले विपदको घाउमा मलहम लगाउने गरेको बताए । नेपालमा बारम्बार आउने गरेका बाढी-पहिरो तथा भूकम्पले मानिसहरूको सम्पत्तिमा पुर्‍याएको क्षतिलाई उल्लेख गर्दै उनले यस्तो क्षतिको भरपाइ बीमा कम्पनीहरूले गर्ने बताए । यसले गर्दा पनि सबैले आफ्नो सम्पत्तिको बीमा गरेर बस्नु पर्ने धारणा व्यक्त गरे । प्राधिकरणका प्रवक्तासमेत रहेका सुवेदीले भने, ‘विपद भनेको कुन बेला आउँछ थाहा हुँदैन । प्राकृतिक विपदले निम्त्याउने आर्थिक क्षतिबाट बच्न बीमा गर्नुपर्दछ ।’

३० औं वार्षिकोत्सवमा एभरेष्ट बैंकद्वारा चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड रुपैयाँकाे आर्थिक सहयोग गरेकाे छ । बैंकले ३० औं वार्षिकोत्सवकाे अवसरमा आर्थिक सहयाेग गरेकाे हाे । एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्राडा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएकाे छ । उक्त अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीकाे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन्। साथै बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्रसमेत वितरण गरिएको छ । करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू र १६७ एटीएम मेशीन रहेका छन् ।

त्रिभुवन विमानस्थल १४ घण्टा मात्रै सञ्चालन, व्यवसायीलाई व्यापार गुम्ने चिन्ता

काठमाडौं । मुलुकको पहिलो र ‘फुलफ्लेज’ मा सञ्चालन भइरहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि ‘सेमी फुलफ्लेज’ मा सञ्चालन हुने भएकाे छ । त्रिभुवनसहित देशभरिका विमानस्थलहरूको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि त्रिभुवन विमानस्थल प्रत्येक दिन १४ घण्टामात्र सञ्चालन हुने समय सार्वजनिक गरिसकेको मात्र छैन, त्यो दिनदेखि नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजहरूको उडान तालिका पनि लगभग आधाजस्तो कटौती गरिदिइसकेको छ । उडान कटौती गरिएको जानकारी प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई पठाइसकेको छ । प्राधिकरणले आधा उडान कटौती गरिदिएपछि नेपाल आउने योजना बनाएका, आउने तयारीमा रहेका विदेशी पर्यटकमात्र नभई यहाँबाट आफ्ना देश फर्किने पर्यटकका साथै विदेश पढ्न, काम गर्न र घुम्न जाने नेपाली यात्रुले सास्ती पाउने निश्चितजस्तै देखिएको छ । पर्यटन व्यवसायीहरू ५० प्रतिशत उडान कटौती गरिएपछि पर्यटक आवागमन मात्र नभई विदेश जाने नेपाली यात्रु पनि धेरै नै प्रभावित हुने बताउँछन् । उडान नै कटौती भएपछि आवागमन नै आधामा झर्ने उनीहरूको गुनासो छ । उड्डयन प्राधिकरणले यो तालिकालाई अझै मिलाउन सके केही राहत मिल्ने व्यवसायीहरूको अनुमान छ । त्रिभुवन विमानस्थल हाल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ । यो भनेको बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म हो । बिहान ३ बजेबाट ६ बजेसम्म भने विमानस्थल बन्द हुने गर्छ । अब कात्तिक २३ गतेको नयाँ सञ्चालन तालिकाअनुसार विमानस्थल बिहान ६ बजेटबाट राति ८ बजेसम्म मात्र चल्ने छ । यो भनेको १४ घण्टा हो । आखिर किन त्रिभुवन विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालन हुँदैछ ? विदेशी वायुसेवाका नेपाल उडान किन आधा कटौती गरियो ? आउनूहोस् यसबारे चर्चा गरौं । प्राधिकरणका अनुसार नेपाल आउने विदेशी वायुसेवा कम्पनी तथा यहाँबाट विदेश जाने नेपाली वायुसेवा कम्पनीका गरी कात्तिक २३ देखि लगभग ५० प्रतिशत उडान कटौती गरिएको छ । ती वायुसेवाले सातामा ४ सय १८ उडान गरिरहेका छन् । कात्तिक २३ देखि भने त्यसमा १ सय २३ कटौती भएर सातामा २ सय ९५ मात्र उडान हुनेछन् । जसअनुसार नेपाल वायुसेवा निगमको नयाँदिल्लीका लागि साताको १४ उडान गरिरहेकोमा अब ७ मा झरेको छ । त्यस्तै, कतार एयरवेजले काठमाडौंबाट दोहा सातामा २८ उडान गरिरहेकोमा कटौती गरेर १४ वटा उडानमात्रै गर्नेछ । ओमानको सलाम एयरले काठमाडौंबाट मस्कट सातामा तीन उडान गरिरहेकोमा सबै कटौती गरिएको छ । के हुँदैछ त्रिभुवन विमानस्थलमा ? खासमा नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा ठूलो भौतिक पूर्वाधार निर्माण गर्न लागेको छ । सोही कारण विमानस्थल दिनहुँ १० घण्टा बन्द गरी १४ घण्टामात्र सञ्चालन गर्न लागिएको हो । उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी वे, जहाज एप्रोन, पार्किङलगायत निर्माण भइरहेका कारण विमानस्थल सञ्चालन अवधि १० घण्टा कटौती गरिएको उनले जानकारी दिए । उनका अनुसार धावनमार्गको उत्तरपट्टिबाट दक्षिण कोटेश्वरसम्म धावनमार्ग सँगसँगै प्यारालल ट्याक्सी वे निर्माण हुनेछ । प्यारालल ट्याक्सी वे बनेपछि जहाजहरू उडान गर्नलाई धावनमार्गबाट नभई प्यारालल ट्याक्सी वेबाट दक्षिणपट्टि कोटेश्वरसम्म पुग्छन् र त्यहाँबाट उडान भर्छन् । अहिले भने जहाजहरू उड्नका लागि धावनमार्गबाटै गुडेर कोटेश्वरसम्म जान्छन् र उत्तर फर्केर उडान भरिरहेका छन् । प्रवक्ता भुलका अनुसार हाल २१ घण्टा नै विमानस्थल सञ्चालन हुँदा शतप्रतिशत नै उडान हुन्छ । ‘१० घण्टा बन्द हुँदा त्यसको प्रभाव पर्छ नै, यसले ३० प्रतिशत उडान घट्छ, यसो हुने हुँदा हामीले प्रत्येक वायुसेवा कम्पनीलाई पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यानेज गर्न भनेका छौं,’ उनले भने । त्यसैअनुसार, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा एयरवेजले भैरहवाबाट पनि उडान भर्दैछन् । यसमा जजिरा र फ्लाई दुबईलाई उडान अनुमति दिइसकिएको छ । प्रवक्ता भुलका अनुसार थाई एयर एसियाको उडान अनुमति भने प्रक्रियामै छ । बाँकी उडान भैरहवा र पोखराबाट गर्ने भन्ने छ । ‘तर, हामीले सोंचे झैं एयरलाइन्सहरू पोखरा र भैरहवा गएनन्, पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा २५ प्रतिशत ग्राउन्ड ह्यान्डलिङ चार्जबाहेक अन्य सम्पूर्ण चार्जहरू २०८२ सालसम्म निःशुल्क गर्ने निर्णय गरेका छौं,’ उनले भने । प्राधिकरणका अनुसार अहिलेका लागि कात्तिक २४ देखि फ्लाई दुबईले दुबईबाट भैरहवा दैनिक उडान गर्दै छ । कात्तिक १२ देखि जजिराले साताको ३ दिन कुवेतबाट उडान भर्दैछ । सोही दिनदेखि थाई एयर एसियाले सातामा ४ वटा उडान गर्ने भने पनि अझै टुंगो लागेको छैन । व्यवसायीले भने सरकारसँग १० को सट्टा ८ घण्टा बन्द गर्न माग गरेका छन् । तर, यो अन्तर्राष्ट्रिय बोलपत्र भएको हुँदा यसलाई तलमाथि गर्न नमिल्ने प्रवक्ता भुलले बताए । ‘टाइमलाइनभन्दा अघिपछि गर्दा ठेकेदारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ,’ उनले भने, ‘अहिलेको हाम्रो लक्ष्य भनेको त्रिभुवन विमानस्थलको क्षमता अभिवृद्धि हो, यसका लागि कटौती हुने उडान भैरहवा र पोखरा विमानस्थलबाट गर्नूस् भनेर वायुसेवा कम्पनीहरूलाई विकल्प खुला गरेका छौं ।’ त्रिभुवन विमानस्थलबाट घटेको ३० प्रतिशत उडान पोखरा र भैरहवाबाट गर्ने प्रयास भइरहेको प्रवक्ता भुलको भनाइ छ । सकेसम्म त्रिभुवन विमानस्थलमा भएको १४ घण्टाको समय सम्पूर्ण वायुसेवा कम्पनीलाई सहज हुने गरी निर्धारण गरिएको उनले बताए । ‘दैनिक ३ देखि ४ वटा उडान हुने वायुसेवा कम्पनीको उडान कटौती भएको छ, हामीले राति १० बजेबाट बिहान ३ बजेसम्म हुने उडान पूर्णरूपमा लिन सक्दैनौं,’ उनले भने, ‘तर, अन्य वायुसेवा कम्पनीहरूको उडान हामीले सकेसम्म म्यानेज गर्ने प्रयासमा छौं ।’ उनका अनुसार कात्तिक २३ देखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द भएर आगामी चैत १८ गतेसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहन्छ । ‘त्यसपछि विमास्थल पूर्णरूपमा सञ्चालनमा आउँछ, विमानस्थल सञ्चालनमा आए पनि साइटमा अन्य काम भने जारी रहन्छ,’ प्रवक्ता भुलले भने । उनका अनुसार अहिले एउटा जहाज उड्न ३ मिनेट लाग्छ भने धावनमार्ग निर्माण भइसकेपछि एक मिनेटमै उड्न सक्छ । अनि, धावनमार्गको क्षमता अहिलेभन्दा १०-१५ प्रतिशत बढी हुनेछ । के भन्छन् पर्यटन व्यवसायी ? नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया पर्यटनको मुख्य सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ महिना दैनिक १० घण्टाका दरले बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित हुने बताउँछन् । ‘फ्लाइट घटेपछि सप्लाई घट्यो, नेपालको बजारबाट माग त उत्तिकै छ,’ उनी भन्छन्, ‘आपूर्ति घटेपछि फेयर डबल हुन सक्छ, टुरिस्ट अराइभलमा लास्ट मिनेट बुकिङ गर्नेहरू लगभग शून्य नै हुन्छन्, किनभने फ्लाइट फेयर महँगो हुन्छ, समग्र पर्यटनमा असर पर्छ ।’ सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प राखे पनि सबै एयरलाइन्सहरूलाई सहज हुन्छ भन्ने नभएको उनी बताउँछन् । ‘यदि सरकारले एयरलाइन्सहरूलाई कन्भिन्स गरेर ती दुई विमानस्थलमा लैजान सक्यो भने ती विमानस्थलको स्थिति पनि राम्रै हुन्छ,’ अध्यक्ष थपलिया भन्छन्, ‘ती विमानस्थलमा प्लेन पनि लैजान नसक्ने र त्रिभुवन विमानस्थलमा पनि उडान कटौती हुँदा डिजास्टर नै हुन्छ ।’ सन् २०२३ मा १० लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाउँछ । २०२४ मा १३ लाख २० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने प्रारम्भिक अनुमान छ । अध्यक्ष थपलिया ‘एयर कनेक्टिभिटी’ बढाउन नसक्दा बर्सेनि १० देखि १२ लाख पर्यटक भित्र्याएरै चित्त बुझाउनुपरेको बताउँछन् । पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान बढाउनेदेखि पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम लगायत निकायलाई सक्रिय बनाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ । यस्तै, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)-नेपाल च्याप्टरका अध्यक्ष खेमराज लकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चले भने पर्यटन क्षेत्र त्यति धेरै प्रभावित नहुने बताउँछन् । ‘पर्यटनका लागि कनेक्टिभिटी मुख्य कुरा हो, अब १० घण्टा बन्द हुँदा उडान प्रभावित त हुने नै भए,’ उनी भन्छन्, ‘त्यसको विकल्पका रूपमा केही एयरलाइन्सहरूले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान भर्ने भन्ने भएकाले त्यसले केही भरपाइ गर्न सक्छ ।’ नयाँ बनेका पोखरा र भैरहवा जस्ता विमानस्थलबाट उडान अवतरण हुनु नेपालका लागि अवसर पनि भएको उनी बताउँछन् । ‘यी एयरपोर्टहरूलाई वैकल्पिक रूपमा उपयोग गर्न सक्यौं र सर्ट हलका फ्लाइटहरू परिचालन गर्न सक्यौं भने यसले खासै असर पार्दैन । त्रिभुवन विमानस्थललाई पर्ने लोड पनि कम हुन्छ,’ अध्यक्ष लकाई भन्छन् । उनका अनुसार अहिले धेरै माउन्टेन फ्लाइट रामेछापबाट भइरहेका छन् । काठमाडौंबाट रामेछाप जाने बाटोको अवस्था राम्रो छैन । बाटोकै कारण त्यहाँ पुग्ने धेरै पर्यटकलाई ‘ट्रमा’ जस्तै भएको उनी बताउँछन् । ‘हामीसँग विकल्पमा जनकपुर विमानस्थल पनि छ, यसको पूर्वाधार सबै राम्रो छ,’ अध्यक्ष लकाई भन्छन्, ‘केही फ्लाइट जनकपुरबाट गर्ने हो भने पनि धेरै सहज हुन्छ, हाम्रा स्रोतहरूलाई वितरण गर्‍याे भने पर्यटकको अनुभवमा पनि विविधता आउँछ र भएकै संरचना राम्रोसँग चल्छन् ।’

सकसबाट उठ्दै, व्यापारमा छलाङ

काठमाडौं । दुई वर्षअघि ह्वात्तै व्यापार घटेको भगवती स्टील उद्योग पूर्ववत अवस्थामा फर्किएको छ । सन् २०२१ अघि ३ अर्बभन्दा बढीको कारोबार गर्ने यो उद्योगले सन् २०२२ मा ठूलो व्यापार घाटा बेहाेरेकाे थियाे । अहिले पुनः पुरानै लयमा उद्योग फर्किएको छ । बारामा सञ्चालित भगवती स्टील उद्योगले सन् २०२४ मा ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । उद्योगको सन् २०२३ को तुलनामा व्यापार ४४ करोडले घटे पनि दुई वर्षको अवधिमा भने व्यापार दोब्बर भएको देखिएको छ । उद्योगले सन् २०२३ मा ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँको स्टिलजन्य वस्तुको व्यापार गरेको थियो भने सन् २०२२ मा १ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२३ मा उद्योगको व्यापार ९५ प्रतिशतले बढेको थियो । सन् २०२२ को तुलनामा अहिले व्यापार ७० प्रतिशतले बढेको छ । सन् २०२२ स्टीलको माग नभएपछि उद्योगले ठूलो व्यापार गुमाउनु परेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा भने व्यापार १२.५२ प्रतिशतले घटेको देखिएको छ । सन् २०२१ मा उद्योगले ३ अर्ब २२ करोड रुपैयाँ कारोबार गरेको थियो । अहिलेको व्यापारले उद्योगको व्यापार पुरानै लयमा फर्किएको बुझिन्छ । सन् १९९१ मा स्थापना भएको भगवती स्टिलले पाइप, सिट, डोर, विन्डो फ्रेम, सटर प्रोफाइल, साइट च्यानल, ट्रस, पोल टावर, सस्पेन्सन्स ब्रिज र मोटोरेवल बिज्रको उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन वार्षिक क्षमता ८५ हजार ५ सय टन रहेको छ । उद्योगले २ अर्ब ३५ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । उद्योगले दीर्घकालका लागि १७ करोड ६० लाख र अल्पकालका लागि २ अर्ब १७ करोड ९० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । उद्योगले केयर एनपी ए थ्री रेटिङ पाएको छ । उद्योगी सुमितकुमार अग्रवालले नेतृत्व गरिरहेको यो उद्योगले तीन दशकदेखि स्टील उत्पादन गर्दै आएको छ । एमएस ग्रुपअन्तर्गत पर्ने भगवती स्टील उद्योगले तीन वर्षअघि कोरोनाको मार खेप्नुपरे पनि अहिले विस्तारै पूर्ववत अवस्थाकै व्यवसाय गर्ने प्रयास गरिरहेको छ ।

महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए । सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐनबमोजिम निर्देशन दिइएको उनले स्पष्ट पारे ।

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक र  एजिलस डायग्नोष्टिक नेपालबीच सम्झाैता भएकाे छ । ग्लाेबल आईएमई बैंकका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिकमा उपलब्ध प्याथोलोजी टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने सम्बन्धमा सम्झाैता भएकाे हाे । उक्त सम्झाैतामा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपालका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरे । सम्झाैताअनुसार बैंकका ग्राहकहरूले एजिलस डायग्नोष्टिकनेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवावापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित हुँदै आएकाे छ । बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

फाइल फाेटाे काठमाडौं । निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कातिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।