यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । (((
टाटाकाे एस इभी फ्ल्याटबेड र सिएलभी इटहरीमा पनि पाइने, ५० हजार छुटका साथै अन्य सुविधा
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ । दशैं-तिहार विशेष छुट अफरसहित गाडी सार्वजनिक गरिएकाे हाे । ग्राहकहरूले एसीइभी फ्ल्याटबेड २१ लाख ९९ हजार र सिएलभी २२ लाख ७९ हजार रुपैयाँमा उपलब्ध गराइएकाे सिप्रदी ट्रेडिङले जनाएको छ । कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ गर्ने ग्राहकलाई यस योजनाअन्तर्गत माथि उल्लेखित गाडीमा ५० हजार रुपैयाँसम्मको विशेष नगद छुटको व्यवस्थासमेत गरेको छ । यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क बीमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैले नै बेहाेर्ने जनाइएकाे छ । गाडी लन्चिङ कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका सहायक महाप्रबन्धक दिवशबाबु सुवेदीले विद्युतीय गाडीको फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती, सहज र सुविधायुक्त भएकाे बताए ।
‘इन्धनका गाडीभन्दा ईभी किन्न ऋण दिऔं, नयाँ घर बनाउन कम कर्जा दिऔं’
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वातावरणमैत्री लगानी गर्नका लागि निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ‘हरित लगानीसम्बन्धी मार्गदर्शन’ जारी गर्दै उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले निर्देशनमार्फत् लगानीका लागि विभिन्न १७ वटा क्षेत्र छुट्याएको छ । अब बैंक तथा वित्तीय क्षेत्रले अन्य क्षेत्रभन्दा पनि ती क्षेत्रहरूमा लगानी गर्नका लागि प्राथमिकता दिनु पर्नेछ । निर्देशनमा प्राकृतिक स्रोतहरूको संरक्षण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन न्यूनीकरण र वातावरणीय स्थायित्वमा आधारित परियोजनाहरूमा वित्तीय लगानीलाई प्राथमिकता दिन लगाइएकाे छ । प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि वित्तीय क्षेत्रको भूमिका रहने उल्लेख गर्दै लगानीमा पनि ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले कृषि तथा वनसम्बन्धित कर्जा, माछापालन, खानी, वन तथा बेभरेज, गैर खाद्यपदार्थ उत्पादन, निर्माण, पावर, ग्यास तथा पानी, धातुजन्य उत्पाद तथा मेसिनरी र इलेक्ट्रोनिक उपकरण, यातायात, थोक तथा खुद्रा, वित्त तथा बीमा, घरजग्गा, पर्यटन, अटोमोबाइल्स, स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन, शिक्षा र उपभोगमा आधारित कर्जा गरी लगानीका १७ क्षेत्र लगानीका लागि छुट्याएको छ । मागदर्शनमा विभिन्न १७ वटा क्षेत्रमा लगानी गर्नुको फाइदा वेफाइदाको विषयमा पनि चर्चा गरिएको छ । मार्गदर्शनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन खरिद गर्नुभन्दा विद्युतीय सवारीसाधन खरिदमा लगानी गर्न निर्देशन दिइएको छ । त्यस्तै, नयाँ सिमेन्टको घर निर्माणमा लगानी गर्नुभन्दा रेट्रोफिटिङमा लगानी गर्न प्राथमिकता दिनुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले सिमेन्टका भव्य भवन बनाउने कर्जा घटाएर वातावरणमैत्री भवनमा ध्यान दिनुपर्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले पब्लिक सवारीसाधन पनि इन्धनबाट चल्नेभन्दा पनि विद्युतबाट चल्नेमा बढी लगानी गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले केबलकारहरूको निर्माणमा प्राथमिकता दिनुपर्ने उल्लेख छ । मार्गदर्शनमा कर्जाको लागि प्रस्ताव ग्रीन फाइनान्समा आधारित भएर गर्न राष्ट्र बैंकको आग्रह छ ।
‘कृषि बीमा सफ्टवेयर’को उद्घाटन, अब घरमै बसेर बीमा गर्न सकिने
काठमाडाैं । अबदेखि कृषि बीमा अनलाइनबाट नै गर्न सकिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनलाइनबाटै बीमा गर्ने सफ्टवेयरको सोमबार उद्घाटन गरेको हो । नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघको उपस्थितिमा उक्त ‘रियल टाइम सफ्टवेर’को उद्घाटन गरेको हो । सफ्टवेयको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सफ्टवेयरको उद्घाटन गरेका हुन् । मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले ललितपुरको धापाखेल गोविन्द घिमिरेको तीनवटा गाईको बीमा गर्दै उक्त सफ्टवेयरको उद्घाटन गरिएकाे बताइन् । किसान घिमिरेको तीनवटा गाईको एक लाख ७७ हजार रुपैयाँ बराबरको एनएलजी इन्स्योरेन्समा बीमा गरिएको थियो । उक्त बीमाका लागि किसान घिमिरेले ८ हजार ७५० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए । हाललाई पशु र बालीको मात्र उक्त सफ्टवेयर प्रणालीमार्फत बीमा गरिने मन्त्रालयले जनाएको छ । अहिले अनलाइनबाट नै बीमा गर्नुपर्ने भन्ने कुनै अनिवार्य भने छैन । अहिले अफलाइनबाट पनि गर्न सकिन्छ । बिस्तारै पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको योजना रहेको सहसचिव शिवाकोटीले बताइन् । उक्त सफ्टवेयरमार्फत बीमा गर्दा किसान आफैले यूजर आइडी बनाएर अनलाइनबाटै गर्नसक्ने नेपाल बीमा प्राधिकरणका आइटी प्रमुख रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार अभिकर्ता, बीमक, बीमित तथा किसान सबैले यूजर आइडी बनाएर काम गर्न सक्नेछन् । सफ्टवेयरमा हाल नेपालमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरू आवद्ध छन् । यस सफ्टवेरले कृषि बीमालाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने सहसचिव सिवाकोटीले विश्वास व्यक्त गरिन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि बीमालाई मर्यादित बनाउन रियल टाइम सफ्टवेरमार्फत बीमा गर्ने विषय उल्लेख भएको थियो । सोहीबमोजिम सफ्टवेयरको उद्घाटन गरिएको हो ।
पर्यटन मन्त्रालयको एक सय दिन : आगामी यात्राको आधारशिला तयार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ । वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशीला तयार गरेको हो । मन्त्रालयद्वारा निर्धारण गरिएका कार्यक्रमअनुरूप नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा अलग गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषदमा पेस भएको छ । पर्यटन ऐन र क्यासिनो नियमावली मस्यौदा मन्त्रिपरिषदमा पेस भएको छ । संस्कृति नीतिको मस्यौदा पनि मन्त्रिपरिषदमा पेस भएको छ । पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको छ । ग्रेट हिमालयन ट्रेलको पाँच किलोमिटर निर्माण भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । भूकम्पबाट क्षतिग्रस्त नौ सय २० पुरातात्विक महत्त्वका सम्पदाहरूमध्ये गत आर्थिक वर्षमा आठ सय सम्पदाको पुनःनिर्माण सम्पन्न भएकामा थप पाँचवटा सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । थप ५७ हिमालको आरोहण खुला गरिएको छ । मन्त्रिपरिषद् बैठकले छ हजार पाँच सय मिटरभन्दा तलका उक्त हिमाल आरोहण खुला गरेको हो । मन्त्रालय र मातहत निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । पर्वतीय अनुमति प्रणालीलाई स्वचालित बनाइएको छ । सङ्घीय भाषा ऐनको मस्यौदा तर्जुमाको प्रक्रिया अगाडि बढाइएको छ । राष्ट्रिय महत्त्वका अभिलेखहरूको सङ्कलन सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन गरिएको छ । लुम्बिनी विश्व सम्पदा संरक्षण कार्ययोजना कार्यान्वयनमा छ । अविरल वर्षा, बाढीपहिरोका कारण गोरखाको सामागाउँमा विचल्लीमा परेका एक सय ६३ जना विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको, विमानस्थलमा अधिकतम क्षमतामा उडान सञ्चालन गरिएको जनाइएको छ ।
रतन टाटाले छोड्नेबित्तिकै टाटा समूहमा ठूलो परिवर्तन, कसलाई हुन्छ फाइदा ?
काठमाडौं । भारतीय उद्योगपति रतन टाटाको निधन भएको केही दिनमात्रै बितेकाे छ । उनको स्थानमा उनका सौतेनी भाइ नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । टाटा समूह भारतको सबैभन्दा ठूलो औद्योगिक व्यावसायिक घराना हो । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको करिब ६६ प्रतिशत हिस्सेदारी छ । बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो । टाटा सन्सको नेटवर्थ १६५ बिलियन डलर रहेकाे छ । यसबाट टाटा ट्रस्टको महत्त्व अनुमान गर्न सकिन्छ । नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेपछि यसमा महत्त्वपूर्ण परिवर्तन भएको छ । बिजनेस पत्रिका मिन्टको रिपोर्टअनुसार सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टका ट्रस्टीकाे स्थायी सदस्य बनेका छन् । यसअघि निश्चित अवधिका लागि नियुक्ति हुने गरेको थियो । दुवै ट्रष्टको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । अक्टोबर ११ मा ६७ वर्षीय नोएल टाटालाई टाटा ट्रस्टको अध्यक्ष बनाएपछि ट्रस्टको यो दोस्रो बैठक थियो । टाटा सन्समा सर रतन टाटा ट्रस्टको २७.९८ प्रतिशत र सर दोराबजी टाटा ट्रस्टको २३.५६ प्रतिशत हिस्सेदारी छ । यसको मतलब यी दुवै ट्रस्टको टाटा सन्समा ५० प्रतिशतभन्दा बढी हिस्सेदारी छ । भारतीय सञ्चारमाध्यमका अनुसार सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टका सबै सदस्यहरू अब स्थायी सदस्य हुनेछन् । अहिलेसम्म उनीहरूकाे कार्यकाल तीन वर्षका लागि मात्रै थियो । सर रतन टाटा ट्रस्ट १९१९ मा र सर दोराबजी टाटा ट्रस्ट १९३२ मा स्थापित भएको थियो । रतन टाटाको इच्छा सर रतन टाटा ट्रस्टमा सात सदस्य छन् भने सर दोराबजी टाटा ट्रस्टमा छ सदस्य छन् । नोएल टाटासँगै पूर्वरक्षा सचिव विजय सिंह, वेणु श्रीनिवासन, मेहली मिस्त्री र वकिल डारियस खम्बाटा दुवै ट्रस्टमा सामेल छन् । मेहली मिस्त्री र डारियस खम्बाटा स्वर्गीय रतन टाटाका निकट मानिन्छन् । रतन टाटाले आफ्नो इच्छा पूरा गर्ने जिम्मेवारी मेहली मिस्त्री र डारियस खम्बाटालाई सुम्पिएका छन् । रतन टाटाले लगभग ७ हजार ९०० करोड भारु सम्पत्ति छोडेका छन् । एजेन्सी यो पनि पढ्नूहोस् : कसले पाउँछ टाटाको ७९ अर्ब भारु ? यी चार जनालाई दिइएको थियो जिम्मेवारी
यी हुन् भारतका शीर्ष ५ विश्वविद्यालय, कुनको अवस्था कस्तो ?
काठमाडौं । अहिलेको समयमा राम्रो करिअर बनाउन राम्रो विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नु धेरै महत्त्वपूर्ण छ । भारतमा धेरै मानिस विदेशमा अध्ययन गर्ने सपना देख्छन्, तर त्यहाँ धेरै मानिसहरू छन् जो भारतमा बसेर आफ्नो अध्ययन पूरा गर्न चाहन्छन् । भारतमा विश्वका केही उत्कृष्ट विश्वविद्यालयहरू पनि छन् । केही विश्वविश्वविद्यालय र्याङ्किङमा आफ्नो स्थान बनाउन सफल पनि भएका छन् । यी हुन् भारतका उत्कृष्ट विश्वविद्यालय भारतीय विज्ञान संस्थान, आईआईएससी बेंगलुरु विश्वविश्वविद्यालयहरूको र्याङ्किङ २०२४ मा आईआईएससी २०१–२५० ब्यान्डमा थियो, जसको समग्र स्कोर ५५.९ र ५८.६ को बीचमा थियो । यद्यपि, २०२५ मा यो विश्वविद्यालय २५१–३०० को ब्यान्डमा झर्याे । जसको स्कोर ५३.७ देखि ५५.७ को बीचमा रह्यो । गिरावटको बावजुद पनि यो विश्वविद्यालय भारतको उच्च श्रेणीको विश्वविद्यालय बनेको छ । अन्ना विश्वविद्यालय अन्ना विश्वविद्यालय ४ सेप्टेम्बर १९७८ मा एक एकात्मक प्रकारको विश्वविद्यालयको रूपमा स्थापित भएको थियो । यो विश्व र्याङ्किङमा भारतको दोस्रो शीर्ष विश्वविद्यालय हो । यस विश्वविद्यालयको नाम तमिलनाडुका पूर्वमुख्यमन्त्री स्वर्गीय डा. सी. एन.अन्नादुराईको नाममा राखिएको थियो । महात्मा गान्धी विश्वविद्यालय महात्मा गान्धी अन्तर्राष्ट्रिय हिन्दी विश्वविद्यालय भारतको केन्द्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालय भारत सरकारले सन् १९९३ मा संसदबाट पारित भई अधिनियमद्वारा स्थापित भएको थियो । यो विश्वविद्यालय महाराष्ट्रको वर्धामा अवस्थित छ। यो विश्व र्याङ्किङमा भारतको तेस्रो शीर्ष विश्वविद्यालय हो । सविता इन्स्टिच्युट अफ मेडिकल एण्ड टेक्निकल साइन्सेज, चेन्नई सविता इन्स्टिच्युट अफ मेडिकल एण्ड टेक्निकल साइन्सेज भारतको चेन्नई, तमिलनाडुमा अवस्थित एक निजी र मान्यता प्राप्त विश्वविद्यालय हो । यसमा डेन्टल कलेज, स्कूल अफ इन्जिनियरिङ्, कलेज अफ लिबरल आर्ट्स एन्ड साइन्सेस, स्कूल अफ म्यानेजमेन्ट, स्कूल अफ ल, स्कूल अफ फिजियोथेरापी, स्कूल अफ नर्सिङ र मेडिकल कलेज गरी नौवटा विषयहरू अध्यापन गराइन्छ । शुलिनी युनिभर्सिटी अफ बायोटेक्नोलोजी एण्ड म्यानेजमेन्ट, कसौली शुलिनी युनिभर्सिटी अफ बायोटेक्नोलोजी एण्ड म्यानेजमेन्ट साइन्सेस, जसलाई शुलिनी विश्वविद्यालय पनि भनिन्छ । यो हिमाचल प्रदेशको सोलन जिल्लाको कसौली नजिकै अवस्थित एउटा निजी अनुसन्धान विश्वविद्यालय हो । यो चण्डीगढ र शिमलाबाट करिब ९० मिनेटको दूरीमा अवस्थित छ । एजेन्सी
वर्षैपिच्छे आउने बाढीलाई बेवास्ता गर्दा बढी क्षति भयो : चिरिबाबु महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाई सम्बन्धी तयारी बैठकमा बोल्दै बोल्दै उनले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरवाही गर्दा बढी क्षति भएको बताएका हुन् । उनले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको बताए । पूर्वानुमानअनुसार सूचना प्रवाह गरेको भएपनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उनको भनाइ छ । भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको जानकारी दिए । ‘थोर बहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेण्टले आउँदैछ है भनेर हामीलाई सावधान गरेको थियो । तर हामी कोही पनि सिरियस भएनौँ । त्यसले धेरै वितण्डा मच्चायो’, उनले भने । मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको बताए । बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै सरसफाईमा जोड दिन आग्रह गरे ।