विकासन्युज

ढकमक्क मखमली, फूल टिप्न र माला उन्नमा व्यस्त किसान (फोटोफिचर)

काठमाडौं । भक्तपुरका गाउँमा मखमली फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा गरिएको मखमली फूलखेतीले त्यहाँका फाँटहरू राताम्मे देखिएका छन् । भक्तपुरका गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा व्यावसायिक फूलखेती भइरहेको छ । तिहार नजिकिँदै जाँदा व्यावसायिक फूलखेती गर्नेहरूले माला बनाउन सुरु गरिसकेका छन् । मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि त्यहाँका अधिकांश किसानमात्रै नभइ अन्य क्षेत्रका मानिस पनि जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । किसानहरूले दिनमै डेढ लाखको व्यापार हुने गरेको बताएका छन् । फूलको व्यापार क्रमशः बर्सेनि घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाका कारण किसानसँग व्यापारीहरूको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरूलाई फर्काइदिने गरेको किसानले गुनासाे गरे । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरूको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको उनीहरूकाे भनाइ छ । सूर्यविनायक नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको छ । तस्बिरहरू:

तिहारलाई कोसेली कर्णालीको स्याउ, स्वादिलो र सस्तो

राँझा । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताए । ‘सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैँ–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ’, उनले भने, ‘विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मङ्गलीमाया श्रेष्ठले यस वर्षको दसैँमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताए । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उनको भनाइ छ । नेपालगन्जको धम्बोझीमा तिहारलाई लक्षित गरेर अहिले पनि कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ । नेपालगन्जको धम्बोझी चोकमा कर्णालीकै महिलाहरुले असोजको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएका छन् । जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगन्जमा स्याउ बिक्री गर्न आएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताइा् । अन्य बेलाभन्दा दसैँ–तिहारको बेला स्याउ धेरै बिक्री हुने गरेको उनको भनाइ छ । नेपालगन्जका अन्य फलफूल पसलमा समेत उपभोक्ताले कर्णालीकै स्याउ किन्ने गरेका छन् । नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यो वर्ष कर्णालीको स्याउले भारतीय र चाइनिज स्याउलाई जितेको बताए् । उनले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको बताए। यो दसैँमा कर्णालीको स्याउ अन्य समयको तुलनामा तीन गुणा बढी बिक्री भएको छ । बाहिरबाट आउने स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिलो र सस्तोसमेत भएकाले उपभोक्ताको रोजाइमा परेको सुनारले उल्लेख गरे । कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको ‘अग्र्यानिक’ स्याउ ठूलो मात्रामा नेपालगन्जमा भित्रिएको छ । भारतीय स्याउ प्रतिकिलो एक सय ५० देखि  दुई सय ५० रुपैयाँ र चीनको स्याउ प्रतिकिलो एक सय ६० रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको अग्र्यानिक स्याउ बाँकेमा प्रतिकिलो ९० देखि एक सय २० सम्म रुपैयाँमा पाइन थालेपछि यो वर्षको दसैँ–तिहारमा उपभोक्तालाईको रोजाइमा परेको स्थानीय व्यवसायी रमजान कबडियाले बताए । उनका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ । कबडियाले सीमापारिबाट आउने भारतीय नागरिकले समेत कोसेलीका रुपमा कर्णालीको स्याउ किनेर लैजाने गरेको बताए । रासस

राति ११ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको माग

दाङ । तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीपछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् । ‘कोरोना महामारीपछि सबैतिरको व्यापार ठप्प छ । होटेल व्यवसायी थप मारका बेला विस्तारै चलायमान बन्दै गएको छ’, कुमाख क्याफेका सञ्चालक तुफान केसीले भने, ‘यस्तो बेला होटेललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’ जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म सञ्चालन गर्न पाउने भनी पत्र दिएको भए पनि प्रहरीले ९ बजे बन्द गराउँदै आएको भन्दै यसले व्यवसायी थप मारमा परेका केसीले उल्लेख गरे । ‘प्रहरीले जबर्जस्ती ९ बजे बन्द गराउँदै हिँडिरहेको छ’, उनले भने, ‘यसले हामीलाई निकै मार परेको छ ।’ राति गाडीमा बाहिरबाट आउनेहरुलाई पनि मध्येनजर गर्नुपर्ने भन्दै केसीले राति ११/१२ बजेसम्म होटल सञ्चालनको अनुमति पाए व्यवसायीलाई सहज हुने बताए । बाहिरबाट आउने आगन्तुकलाई बस्ने, खाने व्यवस्थाप्रति स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उनले जोड दिए । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले राति ९ बजे बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताए । भट्टी पसललाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताए । ‘हामीले राम्रो तरिकाले चलिरहेका होटेललाई केही गरेका छैनौँ’, उनले भने, ‘रातिसम्म भट्टी चलाउनेलाई बन्द गराउने गरेका हौँ ।’ चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधिलाई मध्येनजर गरेर यस्तो काम गरिएको उनले बताए । होटेल कतिबेलासम्म सञ्चालन गर्ने भन्ने कुरा कुनै निर्णय नभएको भए पनि स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजरगरी निर्णय गर्नसक्ने दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । ‘हामीले यतिबेलासम्म चलाउने भन्ने छुट्टै निर्णय गरेका छैनौँ’, उनले भने, ‘स्थानीय प्रशासनले आवश्यकताअनुसार सञ्चालन गर्नसक्छ । तुलसीपुरमा पाँच सय बढी होटेल व्यवसायी छन् ।’ रासस

सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको हो । मंगलबार तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो । त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर तोलाको २ हजार १०० रुपैयाँ पुगेको छ ।

सडक सञ्जालकाे दुर्गतिले पर्यटकलाई हैरानी, विश्व बजारमा फैलिँदैछ ‘नकारात्मक सन्देश’

काठमाडौं । नेपाल संसारभरिका हरेक किसिमका पर्यटकका लागि आकर्षक र लोभलाग्दो पर्यटन गन्तव्य हो भनिरहनुपर्दैन । यहाँका हिमशृङ्खला, तालतलैया, पहाड, नदीनाला, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाले पर्यटक लोभ्याउन थालेको आठ दशक हाराहारी भइसकेको छ । सन् १९५३ मे २९ मा एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम सफल आरोहण गरेपछि नेपाल पर्यटकका लागि विश्व बजारमा खुलेको थियो । त्यसयता हवाई तथा स्थलमार्ग हुँदै दशाैं लाख पर्यटकले नेपाललाई आफ्नो प्रमुख गन्तव्य बनाइसकेका छन् । यस्तो संख्या अहिले प्रत्येक वर्ष लाखौं हुने गर्छ । हवाई तथा स्थलमार्गबाट नेपाल प्रवेश गरेपछि अधिकांश पर्यटकले सडक सञ्जाल प्रयोग गर्छन् । विशेषगरी हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका ठूलो संख्याका पर्यटक काठमाडौंबाट नेपालका प्रमुख पर्यटन गन्तव्यहरू पोखरा, चितवन, लुम्बिनी लगायतमा पर्यटक यातायातमार्फत पुग्ने पुरानै चलन हो । पछिल्लोपटक नेपालका प्रमुख राजमार्गहरू पृथ्वी, बीपी, मदन भण्डारी, त्रिभुवनलगायतको अवस्थाका कारण विदेशी पर्यटकले सकेसम्म सडक मार्गबाट काठमाडौं बाहिरका पर्यटन गन्तव्य जान हिच्किचाउने गरेको सम्बद्ध व्यवसायी बताउँछन् । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि आएको भीषण बाढीपहिरोले प्रमुख राजमार्गमात्र नभई अन्य अधिकांश सडक अवरुद्ध हुन पुग्दा सर्वसाधारणमात्र नभई बाढीपहिरोको चपेटामा नेपाल घुम्न आएका हजारौं पर्यटक पनि परे । हवाई तथा स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आएका विभिन्न देशका पर्यटकले सडक यातायात बढी प्रयोग गर्ने गर्छन् । स्थलमार्गबाट नेपालका सयौं पर्यटन गन्तव्य जाँदा विदेशी पर्यटकले हरियो नम्बर प्लेटका पर्यटक सवारीसाधन प्रयोग गर्ने गर्छन् । गत असोज ११ र १२ गते आएको भीषण बाढीपहिरोले राजमार्गसहित देशभरिका अधिकांश सडक अवरुद्ध हुँदा अन्य सार्वजनिक यातायातसँगै पर्यटक सवारीसाधन पनि जहाँको तहीं रोकिए । नेपालमा पर्यटन आगमनको प्रमुख याममा आएको बाढीपहिरोबाट पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । पर्यटन क्षेत्रको एक अभिन्न हिस्सा रहँदै आएको पर्यटक सवारीसाधन बाढीपहिरोको चपेटामा पर्दा पर्यटक पनि समस्यामा पर्नु स्वाभाविक हो । नेपाल घुम्न आएका पर्यटकहरूलाई आरामदायी यात्रा गराउँदै सुरक्षित रूपमा सयौं गन्तव्य पुर्‍याइरहेका दजर्नौं पर्यटक सवारीसाधन कम्पनी गत असोजको बाढीपहिरोबाट अछुतो रहने कुरै भएन । धन्य, बाढीपहिरोबाट पर्यटक हताहत भएका खबर भने कतैबाट आएनन् । पर्यटकहरूलाई गन्तव्य पुर्‍याउँदै आएका पर्यटक सवारीसाधन एक महिना अघिको बाढीपहिरोबाट कति क्षति भए भन्ने यकिन तथ्यांक आइनसके पनि विभिन्न गन्तव्य घुमिरहेका पर्यटकले दुःख पाएको पर्यटक यातायात व्यवसायी र पर्यटन व्यवसायी दुवै बताउँछन् । नेपाल भ्रमणमा आएका पर्यटकलाई उनीहरूले चाहेको गन्तव्यमा सहज पुर्‍याउने उद्देश्यले दुई दशकअघि पर्यटक सवारीसाधन कम्पनी सञ्चालक व्यवसायीहरूले ‘नेपाल पर्यटक यातायात व्यवसायी संघ’ स्थापना गरेका थिए । संघमा हाल ८६ कम्पनी सदस्यका रूपमा जोडिएका छन् । झन्डै सय हाराहारीमा रहेका पर्यटक सवारीसाधन सेवा प्रदायकसँग ५ सयभन्दा बढीको संख्यामा हरियो नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा छन् । यस्ता सवारीसाधनलाई राजनीतिक दलका बन्द, हडतालमा पनि निर्वाध गुड्न दिने गरिएको छ । जसले गर्दा नेपाल घुम्न आएका पर्यटकले सुरक्षित महसुस गर्दै आफ्ना गन्तव्य पुग्न पाउँछन् । राज्य तहबाट दीर्घकालीन नीति र सोच अभावका कारण पर्यटक यातायात क्षेत्र उपेक्षामा परेको सम्बद्ध व्यवसायीको वर्षौंदेखिको गुनासो ज्यूका त्यूँ छ । त्यतिमात्र नभई, पर्यटक सवारीसाधन विशानका लागि नेपालमा एउटामात्र बसपार्क रहेको छ, जुन पर्यटन राजधानी पोखरामा अवस्थित छ । त्यसबाहेक अन्त कतै पनि पर्यटक बसपार्क नभएको तितो यथार्थ छ । अन्य ठाउँमा बनाउने योजना वा तयारी सरकार वा निजी क्षेत्र कसैको पनि हालसम्म देखिएको छैन । काठमाडौंबाट प्रमुख पर्यटन गन्तव्य जाने सडक गुणस्तरीय नहुँदा विदेशी पर्यटकले सास्ती खेप्दै आएका छन् । सडकका खाल्डाखुल्डी मात्र नभई जुनसुकै बेला पनि मर्मत र निर्माणका नाममा सडक अवरुद्ध हुँदा पर्यटकको यात्रा सोचेजति सहज हुने गरेको देखिँदैन । यति हुँदाहुँदै के विदेशी पर्यटक अझै पनि सडक मार्गबाट प्रमुख पर्यटन गन्तव्य जान रुचाउँछन् ? के नेपालका सडक पर्यटकमैत्री छन् ? सडकका दुरावस्थाले पर्यटक र अन्तर्राष्ट्रिय पर्यटन बजारमा कस्तो सन्देश प्रवाह भइरहेको छ ? यस्ता समस्या समाधान गर्न सरकारसँगै सम्बन्धित निकायले के गर्नुपर्ला ? पर्यटक यातायात व्यवसायी र पर्यटन व्यवसायी के भन्छन् ? यसबारे विस्तृत चर्चा गरौं । नेपाल पर्यटक यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपाने नेपालको बाटोघाटोले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पुर्‍याएको बताउँछन् । उनका अनुसार पर्यटकको मुख्य सिजन भएकाले पर्यटक सवारीसाधन केही मात्रै चलेका छन् । तर, पहिलाको सिजनमा झैं पर्यटकको आवागमन एकदमै कम भएको उनी बताउँछन् । ‘सडकका कारण पर्यटक गाडीहरूलाई एकदमै ठूलो मर्का परेको छ,’ उनी भन्छन्, ‘सडकको अवस्था एकदमै नाजुक छ, पर्यटकहरूमा यसले पनि इरिटेसन पैदा गराएको छ ।’ विदेशमा २ घन्टामा पार हुने बाटो यहाँ १२/१३ घण्टा लाग्ने हुँदा पर्यटकहरूले एकदमै नकारात्मक प्रतिक्रिया दिने गरेको उनी बताउँछन् । ‘पर्यटनका मुख्य गन्तव्य पोखरा, चितवन, लुम्बिनी जाने सडकको अवस्था एकदमै लथालिंग छ, कतै मर्मतको नाममा भत्काइएको छ, कतै बाढीपहिरोले सडक नै बगाएको छ,’ निर्वतमान अध्यक्ष न्यौपाने भन्छन्, ‘यी सडकहरू समयमा बन्न नसक्दा पर्यटन क्षेत्रमा धेरै ठूलो मार परेको छ ।’ न्यौपानेका अनुसार पर्यटक सवारीसाधन भनेका पूरै रिजर्भमा चल्ने हुन् । यी साधन रिजर्भमा विमानस्थलदेखि काठमाडौंका विभिन्न सम्पदा स्थलसम्म जाने र त्यसपछि चितवन, पोखरा लुम्बिनीलगायत प्रमुख पर्यटकीय गन्तव्य घुमेर फेरि विमानस्थलमै फिर्ता हुन्छन् । यस्ता सवारीसाधन ५ सय वटा छन् । अरू साना ठूला सबै पर्यटक गाडीहरू काठमाडौंमा मात्रै ३३/३४ वटा रहेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ अन्तर्राष्ट्रिय पर्यटन बजारमा सडक सञ्जालका कारण नकारात्मक सन्देश प्रवाह भएकाले नेपालको पर्यटन क्षेत्रमा असर परेको बताउँछन् । काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा, चितवन र लुम्बिनी जान नसकिने हुँदा ती क्षेत्रमा पर्यटक जान हिच्किचाउने उनको भनाइ छ । ‘सडक सञ्जालको अवस्था नाजुक भए पनि पर्यटक बसहरू अलिअलि त चलेका छन्,’ उनी भन्छन्, ‘काठमाडौं, पोखरा र बुटवल जाने पर्यटकले भन्दा पनि यसपालि लुक्ला जाने पर्यटकले नराम्रो सास्ती पाए ।’ नेपालमा धेरै संख्यामा पर्यटक सवारीसाधन सञ्चालनमा छन् । तर, ती सवारीसाधनले उचित सेवासुविधा नपाएको श्रेष्ठ बताउँछन् । ‘नेपालका सडकमा जति पनि पर्यटक सवारी गुडेका छन्, तिनको उचित व्यवस्थापन हुन सकेको छैन,’ उनी भन्छन्, ‘ती सवारीले कुनै पनि किसिमको सुविधा, हरियो नम्बरप्लेटको फाइदा लिन पाएका छैनन्, राज्यबाट कुनै सहयोग नभएपछि जति व्यवस्थित हुनुपर्ने हो त्यति भएका छैनन् । यसको प्रभाव पर्यटकमाथि पर्नु स्वाभाविक हो ।’ उनका अनुसार पर्यटकलाई आकर्षित गर्न त्यस्ता सवारीसाधन स्ट्यान्डर्ड हुनुपर्छ । अहिलेसम्म जति पनि पर्यटक सवारी सञ्चालनमा छन् ती सबै निजी भएको राज्यले त्यसलाई व्यावसायीकरण गर्न चासो नदेखाएको उनको भनाइ छ । काठमाडौं उपत्यकाकै कुरा गर्दा अहिलेसम्म कुनै पर्यटकीय बसपार्क तथा बस पार्क गर्नका लागि निश्चित स्थान बनेको छैन । पर्यटकीय राजधानी पोखरामा मात्रै एउटा पर्यटक बसपार्क बनेको छ । ‘वसन्तपुर दरबार स्क्वायर लगेर पर्यटकलाई ओराल्नुपर्‍याे भने बस पार्क गर्ने निश्चित स्थान छैन,’ उनी भन्छन्, ‘एउटा बससम्म पार्क गर्ने ठाउँ नभएपछि पर्यटकले के सोच्छन्, उनीहरूले आफ्नो देशमा के सन्देश लैजान्छन् भन्ने पनि त प्रश्न छ नि !’ बसमा यात्रा गर्ने पर्यटकले सडकमार्गमा राम्रो शौचालय नभएको गुनासो पनि गर्दै आएका छन् । भएका ठाउँमा पनि शौचालय सफा छैनन् । ‘काठमाडौंबाट पोखरा, चितवन र लुम्बिनीसम्मको गन्तव्य जाँदा बस रोक्ने र खाने ठाउँ अनि शौचालयको निश्चित छैन,’ श्रेष्ठ भन्छन्, ‘यस विषयमा कुरा उठाउँदै आएको २५ वर्ष भइसक्यो, यस्ता कुरा अहिलेसम्म पनि नबन्नु भनेको लाजकै विषय हो, यस्ता विषयमा राज्यको ध्यानै गएको छैन ।’ सडक सञ्जालसँगै नेपाली एयरलाइन्सको अवस्था पनि राम्रो नभएको उनी बताउँछन् । ‘अहिले नेपाल एयरलाइन्सको पनि जापानबाट फ्लाइट क्यान्सिल र डिले भइरहेको छ,’ उनी भन्छन्, ‘अझै यही २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि दैनिक १० घण्टा बन्द हुँदैछ, पर्यटकीय सिजनमै फ्लाइट टाइम गडबड भएकाले चेन्ज नै गर्नुपर्ने भएको छ, यसले पनि नकारात्मक असर नै गरेको छ ।’

नेपाल संवत ११४५ लाई भव्य रूपमा मनाऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्षका रूपमा मनाउनुपर्नेमा जाेड दिए । उनले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे । मन्त्री सिंहले सबै मिलेर नेपाल संवत ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने पनि बताए ।

पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई हलेसी तुवाचुङ नगरपालिकाले पुरस्कार दिने

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् । परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी पाँच सयका दरले दुई हजार पाँच सय रुपैयाँतथा त्योभन्दा बढी फलाउनेलाई थप तीन सय रुपैयाँका दरले प्रोत्साहन रकम दिने जनाइएको छ । नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदामखेलीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताए । बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्राण्डिङ गर्ने योजना छ । उनले भने, ‘हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।’ जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ । मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताएका छन् । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ । नगरपालिकाका कृषि शाखाको तथ्यांकनुसार करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् । नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि संकलन केन्द्र सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु ३८ लाख ३८ हजार आठ सय ३१ लगानीमा कृषि संकलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता एव वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् । हलेसी क्षेत्रका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुंगालगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदामखेती हुँदै आएको छ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन् । अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम किसानको घरबाटै प्रतिपाथी दुई सय ७० देखि तीन सय रुपैयाँसम्ममा बिक्री भइरहेको जनाइएको छ । किसानबाट खरिद गरिएको बदाम त्रिधार्मिकस्थल हलेसी तथा आसपासका बजारमा तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिए । जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा वडा नं ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल (स्थानीय जात)का बदाममात्र खपत गर्ने गरेको किसानले बताएका छन् । रासस

थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडाैं । थ्रीस्टार हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ४९ कराड २५ लाख रुपैयाँको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । उक्त हकप्रदबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि खर्च गर्ने कम्पनीले जनाएको छ । बाँकी १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना ९९ मेगावाटका लागि आवश्यक स्वपुँजीमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । विद्युत नियमन आयोगवाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी साधारणसभामा अनुमोदनको लागि पेस गर्ने निर्णयसमेत भएको जनाइएको छ ।