बैंकमा ऋणी खोसाखोस, विकास बैंकमा ६२१ जनाको खाता डिएक्टिभ
काठमाडौं । दुई महिनाको अवधिमा १६ हजार ऋणी थपिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा १५ हजार ९२९ ऋणी थपिएका हुन् । यससँगै बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या १९ लाखभन्दा बढी पुगेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलतासँगै बैंकहरू नयाँ ऋणीको खोजीमा छन् । निक्षेपकर्तासँगै बैंकहरूले कर्जाका ऋणीको संरक्षणमा पनि अथक मिहिनेत गर्छन् । जसकारण यो अवधिमा १६ हजार नयाँ ऋणी थपिन पुगेका हुन् । ऋणीको संख्या बढ्नुलाई आर्थिक गतिविधि बढ्नु र अर्थतन्त्र चलायमान हुने विश्वास गरिन्छ । ऋण लिएर उद्यम गर्नुलाई सकारात्मक पक्षका रूपमा लिइन्छ । यस अवधिमा वाणिज्य बैंकहरूमा १६ हजार १६१ नयाँ ऋणी थपिएका छन् । नयाँ ऋणी थपिएसँगै वाणिज्य बैंकमा कर्जातर्फ ग्राहकहरूको संख्या १५ लाख ८३ हजार ६६९ ऋणी पुगेकाे छ । जबकि गत असारसम्म वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८ ऋणी थिए । यस्तै, फाइनान्स कम्पनीहरूले पनि दुई महिनाको अवधिमा ३८९ नयाँ ऋणी थपेका छन् । भदौसम्म फाइनान्स कम्पनीमा ४३ हजार ५२४ ऋणका ग्राहक रहेका छन् । दुई महिनाअघि अर्थात् गत असारमा ४३ हजार १३५ ऋणी थिए । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले ऋणीको संख्या थप्दा विकास बैंकमा भने ऋणीहरू घटेका छन् । विकास बैंकहरूले दुई महिनामा ६२१ ऋणी गुमाउनु परेको छ । अर्थात् असारको तुलनामा भदौमा विकास बैंकका ६२१ ऋणी बाहिरिएर २ लाख हजार ६ ऋणीमात्रै छन् । जबकि गत असारसम्म २ लाख ८२ हजार ६२७ ऋणी थिए । बैंकरहरूका लागि निक्षेपकर्ता खोज्न जति सहज हुन्छ, त्यति नै असहज कर्जाका ऋणी खोज्न हुने गरेको बताउँछन् । कर्जा लिने व्यक्ति तथा संस्था खोज्न बैंकरहरूले धेरै संघर्ष गर्नुपर्ने हुन्छ । लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उमेश रेग्मी यस अवधिमा कर्जा असुली राम्रो भएकाले ऋणीको संख्या घट्न पुगेको बताउँछन् । साथै वाणिज्य बैंकहरूले समेत विकास बैंकका ऋणीलाई तानेका कारण संख्या कम देखिएको उनको भनाइ छ । ‘विकास बैंकका ऋणीहरूको संख्या घटेकाले कर्जा प्रवाह पनि घटेको छ, नयाँ कर्जाको माग छैन, कोही ऋणीले कर्जा चुक्ता गरेर बसेका छन्, कोही ऋणी बाहिरिएका छन्, कोही ऋणीलाई वाणिज्य बैंकहरूले तानेका छन्,’ उनले भने, ‘माहोल बनेन, व्यवसाय सुधार भएन भन्नुहुन्छ, उहाँहरू जग्गा जमीन बेच्दै कर्जा चुक्ता गरेर बस्नु भएको छ, समग्रमा कर्जाको माग छैन, पर्ख र हेरको अवस्थामा छन् ।’ साथै विकास बैंकका ऋणीहरू ठूला हुने भएकाले वाणिज्य बैंकमा पनि पहुँच राख्ने भएकाले बाहिरिएको उनले बताए । साथै वाणिज्य बैंकमा ब्याजदर सस्तो भएकाले पनि विकास बैंकका ऋणी निस्किएको हुन सक्ने डीसीईओ रेग्मीको भनाइ छ । ‘विकास बैंकका ऋणीहरू वाणिज्य बैंकमा जाने ल्याकत राख्छन्, पहुँच पुर्याउँछन् किनभने उहाँहरूको कर्जाको आकार पनि ठूलो नै हुन्छ, त्यसैले विकास बैंकका ऋणीहरू वाणिज्य बैंकतिर गएका हुन सक्छन्,’ उनले भने, ‘साना ऋणीहरू सम्पत्ति बेचेर कर्जा चुक्ता गरेर बस्नु भएको छ, जसले खराब कर्जा पनि उठेको छ, एनपीएमा परेका केही कर्जालाई बैंक आफैले सेटल गराएका छन् ।’ राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल वाणिज्य बैंकमा ऋणीको संख्या बढेको भएपनि कर्जाको आकार भने नढबेको बताउँछन् । पछिल्लो समय वाणिज्य बैंकहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागेको भएपनि त्यसको नतिजा आउन नसकेको उनकाे भनाइ छ । ‘कर्जा खासै वृद्धि भएको छैन, किनभने कर्जाको आकार त्यति धेरै बढेको देखिँदैन, बजारमा माग छैन,’ उनले भने, ‘सुन कर्जामा स-साना रकमका ऋणी हुन्छन्, त्यसैले ऋणीको संख्या बढेको छ भने सुन कर्जा बढी गएको हुन सक्छ ।’ विकास बैंकबाट ऋणी तानेको आरोप लगाएपनि ग्राहकले सहुलियत हेर्ने वाणिज्य बैंकका कार्यरत अधिकारीहरू बताउँछन् ।
सामाखुसी यातायातले सात करोड लगानीमा १५ वटा बस ल्यायो सञ्चालनमा
काठमाडौं । सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौं उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले सोमबारदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए । ‘काठमाडौं उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,’ उनले भने । काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो । अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए । सो यातायातले काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।
‘पठाओ कार रेन्टल’ सुरु, अब ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने
काठमाडौं । नेपालको राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरु गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुनेछन् । हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कनसमेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् । रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टाअघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दूरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ‘राउण्ड ट्रिप’ वा ‘ड्रप’को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । जसले ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् । पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको हमालले बताइन् । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ । पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार
पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको असोजसम्म कार्यालयले रु ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व सङ्कलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३९ अर्ब सात करोड ३९ लाख राजस्व सङ्कलन गरेको हो । यद्यपि कार्यालयले चालु आवको असोजसम्म रु ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । हाल सङ्कलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले रु ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व सङ्कलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो ।
बिजुली उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा बढाउने टर्कीको लक्ष्य, २०२५ सम्म ४७.८ % पुर्याउने
काठमाडौं । टर्किएले सन् २०२५ सम्ममा आफ्नो बिजुली उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ४७.८ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको छ । ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको २०२५ को बजेट प्रस्तावमा ऊर्जा मिश्रणमा सौर्य ऊर्जा प्लान्ट, वायु ऊर्जा प्लान्ट, जियोथर्मल पावर प्लान्ट र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको योगदान बढाउने योजनाको रूपरेखा छ । टर्किस बिजुली प्रशारण कर्पोरेशनको तथ्याङ्कअनुसार, टर्किएमा हाल एचपीपीबाट ३२ हजार १९५ मेगावाट, डब्ल्यूपीपीबाट १२ हजार ३६९ मेगावाट, एसपीपीबाट १८ हजार ७५६ मेगावाट र जीपीपीबाट १ हजार ६९१ मेगावाट क्षमता रहेको छ । सन् २०२३ मा ४२.७ प्रतिशत रहेको विद्युत उत्पादनमा नवीकरणीय ऊर्जाको अंश २०२४ को अन्त्यसम्म ४५ प्रतिशत र २०२५ मा ४७.८ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । बजेट प्रस्तावमा मुलुकले यस वर्षको अन्त्यसम्म विद्युत उत्पादनमा आन्तरिक स्रोतको हिस्सा ५८.९ प्रतिशत र २०२५ सम्ममा ५९.४ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ भने प्राकृतिक ग्यासको हिस्सा २०२४ को अन्त्यसम्ममा २०.७ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । यी उद्देश्यहरूलाई सहज बनाउन मन्त्रालयले सन् २०२५ को लागि ४५.३ अर्ब लिरा (१.३३ अर्ब अमेरिकी डलर) बजेट प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै
राजविराज । सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन । स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीयले बताएका छन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो । हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का अमन यादवले खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार भन्दाबढी जनता प्रभावित भएको बताए । हनुमाननगर कङ्कालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांग्रेसका प्रदेश सचिवसमेत रहेका बेचन खडकाले बताए । स्थानीय राजेन्द्र मिश्रले खानेपानी टयाङ्की निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको बताए । ‘पानी ट्याङ्की निर्माण गरी पाइपलाइन विच्छ्याउने काम अधुरै छ, नगरवासी ट्युवेलको आइरनयुक्त पानी खान बाध्य छन्’, उनले भने । आयोजना तीन करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको थियो । आयोजनाको काम अधुरै भएपछि दोस्रो पटक २०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन समयमा शान्ति निर्माण सेवा फर्सेठले निर्माणको जिम्मा पाएको थियो । फर्सेठका सञ्चालक नारायण यादवले आफूहरुले १३ लाख रुपैयाँ भुक्तनी नपाएपछि काम रोकिएको बताए । कोशीको तटीय क्षेत्रमा पर्ने हनुमाननगर कङ्कालिनी नगरपालिकामा १४ वटा वडा छन् । नगरपालिका उत्तरमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणतर्फ भारतीय सिमानासम्म फैलिएको छ । रासस
सरकारले भुक्तानी गर्याे उखु किसानको डेढ अर्ब अनुदान
काठमाडौं । वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ । किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सयदिने प्रगति विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट रासायनिक मल आयात गरी बिक्री वितरण गर्न हालसम्म चार लाख ६० हजार ‘मेट्रिक टन’ मलको ‘टेन्डर’ सम्पन्न भएको छ । जसमा एक लाख ५५ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । अघिल्लो वर्षको मौज्दातसमेत गरी एक लाख २९ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको छ । अनुदानको मल बिक्री वितरण प्रक्रियाको सरलीकरणका लागि व्यवस्थापन निर्देशिका, २०७७ को संशोधन प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । उखु उत्पादक कृषकलाई उखु बिक्री गरी क्रसिङ गराएबापत प्रतिक्विन्टल ७० रुपैयाँका दरले गत आर्थिक वर्ष २०८१/८२ को रु एक अर्ब ४४ करोड ९२ लाख ३८ हजार प्रोत्साहन अनुदान रकम उपलब्ध गराउन मधेस प्रदेशका आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा निकासा भई कृषकलाई भुक्तानी गरिएको छ । बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा रहेको छ । यस अवधिमा पशुधन बीमातर्फ ३७ हजार ६ सय ११ र बाली बीमातर्फ तीन सय २३ बीमालेख जारी भएको छ । मन्त्रालयस्तरको समितिबाट सहमति प्रदान गरिएको र विभागहरुबाट प्राधिकरणको खातामा निकासा भइसकेको छ । खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न दुई हजार सात सय ४६ बजार अनुगमन तथा निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भन्सार नाकामा आयात हुने फलफूल तथा तरकारीको १३ हजार ६१ नमूनामा यन्त्र प्रयोग गरी विषादी अवशेष परीक्षण गरिएको छ । गत असोज ९ गते कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरेकाे मन्त्रिस्तरीय निर्णयअनुसार दुग्ध विकास संस्थानको पुनर्संरचना एवं व्यावसायिक सुधारको कार्ययोजना बनाउन राष्ट्रिय किसान आयोगका सदस्यसचिवको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरी कार्ययोजना तयार भएको छ । नेपाल सरकारले रु ६० करोड सहुलियत पूर्ण कर्जा प्रवाह गरी अधिकांश कृषकको जेठ मसान्तसम्मको दूधको भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
को थिए उद्योगपति टाटासँग १५ करोड घुस माग्ने मन्त्री ?
काठमाडौं । चर्चित उद्योगपति रतन टाटाकाे निधनपछि उनकाे व्यावसायिक साम्राज्यकाे विषयमा चर्चाहरु भइरहेका छन् । एउटा अग्रणी उद्याेगपति भएपनि उनकाे साधारणा जीवनशैलीले धेरैको बहसको विषय बनेका छन् । रतन टाटाले स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र समाज कल्याणमा नाै हजार कराेड भारुभन्दा धेरै बढी दान दिएकाे विभिन्न रिपाेर्टहरूले देखाउँछ । जुन रकम भारतका धेरै उद्योगपतिहरूको कुल सम्पत्ति बराबर हुन आउँछ । अहिले सामाजिक सञ्जालमा टाटाका पुराना अन्तर्वार्ताहरू भाइरल बनिरहेका छन् । अन्तर्वार्तामा उनले एक उद्योगीले व्यापार सम्झौताका लागि मन्त्रीलाई १५ करोड भारु घुस दिने सल्लाह दिएको बताएका छन् । सन् २०१० मा भारतीय सञ्चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्ताका क्रममा रतन टाटाले एक उद्योगपतिले उनलाई एक मन्त्रीलाई १५ करोड रुपैयाँ दिने सल्लाह दिएकाे उल्लेख गरेका थिए । उक्त घुसले उनीहरूको व्यापार सम्झौतालाई अन्तिम रूप दिने बताएका थिए । यद्यपि, उनले उद्योगी र मन्त्रीको नाम भने गाेप्य नै राखेका थिए । अहिले भारतीय सञ्चार माध्यममा उनीसँग घुस माग गर्ने मन्त्री को थिए भन्ने विषयले प्राथमिकता पाएको छ । तर, घुस माग गर्ने मन्त्रीको पहिचान भने हुन सकेको छैन । उद्योगपतिले टाटालाई के दिएका थिए सल्लाह ? टाटाले अन्तर्वार्तामा भनेका थिए, ‘ती उद्योगपतिले मलाई भने, ‘तिमीले मन्त्रीलाई पैसा किन नदिने ? उनले १५ करोड रुपैयाँ मागेका छन् । तपाईं मान्छे एक एयरलाइन्स चाहनुहुन्छ, हैन ? एयरलाइन्स चाहियो भने १५ करोड दिनूहोस् ।’ उक्त अन्तर्वार्ताकाे क्रममा रतन टाटालाई भ्रष्टाचार कसरी रोक्ने भनी सोधिएको थियो । उनले भ्रष्टाचार रोक्न हामी आफैँ इमान्दार हुनुपर्ने बताएका थिए । नैतिक मूल्यहरू सर्वोपरि रतन टाटाले जीवनमा नैतिक मूल्यलाई सधैं सर्वोपरिमा राखे । उनको सादगी र इमान्दारिताको उदाहरण आज पनि मानिसहरूले दिन्छन् । यो घटनाले उनी कति सिद्धान्तवादी थिए भनेर देखाउँछ । उनका लागि देश र समाजको कल्याण सबैभन्दा महत्त्वपूर्ण थियो । उनी जतिसुकै कठिनाइ आए पनि सधैं सही ढंगले काम गर्नुपर्छ भन्थे । रतन टाटाको यस महिनाको सुरुमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ८६ वर्षकाे उमेरमा निधन भएकाे थियाे । उनी एक प्रसिद्ध भारतीय उद्योगपति थिए । उनले टाटा समूहलाई नयाँ उचाइमा पुर्याए । उनको नेतृत्वमा टाटा समूहले भारत र विश्वभर धेरै क्षेत्रमा आफ्नो छाप छोड्न सफल भएकाे छ । एजेन्सी ।