विकासन्युज

ईयूसँग व्यापारिक सम्बन्ध पुन:स्थापना गर्न खोज्दै बेलायत

व्यापारमन्त्री डगलस अलेक्जन्डर । फाइल तस्बिर । काठमाडौं । बेलायतले तत्काल युरोपेली सङ्घ (ईयू) सँग आफ्नो व्यापारिक सम्बन्ध पुन:स्थापित गर्न खोजिरहेको र अन्तर्राष्ट्रिय वाणिज्यलाई बेलायतको वृद्धिलाई पुनर्जीवित गर्ने औजारको रूपमा हेरिरहेको छ । व्यापारमन्त्री डगलस अलेक्जन्डरले सन् २०१६ मा बेलायतले ईयूबाट बाहिरिने पक्षमा गरेको मतदानले यसको व्यापार नीतिमा अवरोध ल्याएको र देशले आफ्नो विश्वव्यापी व्यापार दृष्टिकोणलाई संशोधन गर्न आवश्यक रहेको बताए । सन् २०२५ को वसन्तमा प्रकाशित हुने संशोधित, दीर्घकालीन बेलायत व्यापार रणनीतिलाई एकसाथ राख्ने योजनाको एक हिस्साको रूपमा उनी विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)का प्रमुखलाई भेट्न सोमबार जेनेभा पुगेका थिए । ‘नयाँ सरकारको रूपमा हामी युरोपेली सङ्घमा हाम्रा मित्र र साझेदारसँगको सम्बन्ध पुनर्स्थापित गर्न र विश्वभरिका बजारसँग स्वतन्त्र व्यापार सम्झौता र नयाँ अवसरहरू पछ्याउन धेरै उत्सुक छौं,’ व्यापारमन्त्री अलेक्जन्डरले भने । उनले अर्थतन्त्रको वृद्धि स्टारमर सरकारको महत्त्वपूर्ण एजेन्डा रहेको बताए । ‘बेलायतको ४७ प्रतिशत व्यापार अझै पनि युरोपेली सङ्घसँग छ । त्यसैले हामीले सम्बन्ध पुनर्स्थापित गर्न जरुरी छ,’ उनले भने । ‘मेरो जेनेभा भ्रमणको उद्देश्य सुन्नु र सिक्नु थियो, र व्यापार रणनीतिको वरिपरि मेरो उदाउँदो सोचमा डब्ल्यूटीओको स्थानको बारेमा कसरी सोच्न सकिन्छ भनेर ढाँचा बनाउनुथियो,’ उनले भने । युरोपेली आयोग डब्ल्यूटीओको १६६ सदस्यहरूमध्ये एक हो, तर सन् २०२० मा बेलायतले अन्ततः ब्लक छोडेपछि लण्डनले अब जेनेभामा आधारित विश्वव्यापी व्यापार निकायमा आफ्ना लागि वार्ता गरिरहेको छ। व्यापारमन्त्रीले विश्व व्यापार सङ्गठनलाई ‘अन्तर्राष्ट्रिय सहयोगको अपरिहार्य संस्था’ को रूपमा हेरेको र अगस्टमा पहिलो कार्यकाल समाप्त भएपछि दोस्रो कार्यकालका लागि महानिर्देशक एनगोजी ओकोन्जो–इवेलालाई दृढतापूर्वक समर्थन गर्ने बताए ।

पहिलो छड निर्यातकर्ता श्री स्टीलको ६ अर्ब व्यापार, यस्तो छ पाँच वर्षको आम्दानी

काठमाडौं । श्री स्टील उद्योगले करिब ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । उद्योगले सन् २०२४ को अपरिष्कृत वित्तीय विवरणअनुसार उद्योगले ५ अर्ब ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उद्योगले सन् २०२३ मा ७ अर्ब ४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । उद्याेगकाे एक वर्षको अवधिमा २ अर्ब बढी कम व्यापार भएको हो । त्यो भनेको २८.८९ प्रतिशत कम हो । यस्तै, सन् २०२२ मा ६ अर्ब १३ करोड ८० लाख, सन् २०२१ म ७ अर्ब ४६ करोड ७० लाख र सन् २०२० मा ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ व्यापार गरेको जनाएको छ । सन् २०१६ मा स्थापित यो स्टील उद्योगको वार्षिक १ लाख ५० हजार मेट्रिक टन उत्पादन क्षमता छ । तीनवटा व्यावसायिक समूहका ८ जनाको लगानी रहेको यो उद्योगमा सिद्धार्थ ग्रुपको ४३ प्रतिशत, केडियो ग्रुपको २२ प्रतिशत र मुरार्का समूहको २१ प्रतिशत सेयर स्वामित्व छ । उद्योगमा जगदम्बा इनभेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको १४ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले ५ अर्ब ७८ करोड ६० लाख रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जा १ अर्ब ३३ करोड ८० लाख र अल्पकालीन कर्जा ४ अर्ब ४४ करोड ८० लाख रुपैयाँका लागि रेटिङ गरेको छ । इक्राले उद्योगलाई ए फोर रेटिङ प्रदान गरेको छ । यस उद्योगको नेतृत्व जगदीशकुमार अग्रवालले गरिरहेका छन् । उनी कम्पनीको सञ्चालक समितिको अध्यक्ष हुन् । उनी अर्घाखाँची सिमेन्टका अध्यक्ष पनि हुन् । उनको उत्पादन, खानी, बैंक तथा बीमा, हस्पिटालिटी, उर्जा तथा घरजग्गा क्षेत्रमा लगानी छ । श्री स्टील्सले टीएमटी छड पनि भारत निर्यात गरिरहेको छ । यस उद्योगले २०७९ को साउनमा भारतमा छड निर्यात गरेर पहिलो स्टील निर्यातकर्ता बनेको थियो । सुरुआतमा यस उद्योगले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुन सेरवामा निर्यात गरेको थियो । यस उद्योगले नेपालमै पहिलो पटक भूकम्प र अग्नि प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको दाबी गरेको छ ।

वीरगञ्जको क्रिकेट मैदानको स्तरोन्नति सुरु, अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने दाबी

वीरगञ्ज । पर्साको नारायणी रङ्गशाला परिसरमा अवस्थित क्रिकेट मैदानको स्तरोन्नति सुरु गरिएको छ । वर्षाैंदेखि मर्मतसम्भार र संरक्षण अभावमा रहेको मैदानको स्तरोन्नति थालिएको हो । नेपाल क्रिकेट सङ्घले आगामी डिसेम्बरदेखि जनवरीसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा दुई दिवसीय एलिट कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेसँगै वीरगञ्जको क्रिकेट मैदान पिच तथा स्तरोन्नतिको काम अघि बढाइएको हो । एलिट कपमा मधेश प्रदेश, बागमती, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले सम्भावित एलिट कपलाई लक्षित गरेर वीरगञ्ज क्रिकेट मैदानको स्तरोन्नति थालिएको जानकारी दिए । ‘वीरगञ्ज क्रिकेट मैदान लामो समयदेखि अलपत्र हुँदै आइरहेको थियो । एलिट कपको पूर्वसन्ध्यामा कम्तीमा क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको ‘पिच’ निर्माण थालनी गरेका छौं,’ उनले भने, ‘मङ्सिरको दोस्रो सातासम्म क्रिकेट मैदानको पिच र अन्य संरचना निर्माण हुन्छ ।’ नेपाल क्रिकेट सङ्घमा आवद्ध बङ्गलादेशका क्युरेटर एमडी अब्दुल अल मनुको नेतृत्वमा क्रिकेट मैदानमा पिच तयार पार्ने काम भइरहेको छ । ‘मैदानमा १८ इन्चको गहिरो बनाएर पिच निर्माण भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म पिचको फाउण्डेसन तयार भइसकेको छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने छ ।’ क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सिंहले पिच तयारसहित स्तरोन्नति गर्न मजदूरको ज्यालाबाहेक रु आठ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । मैदान चार बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको छ । अध्यक्ष सिंहले क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावका कारण संरक्षण गर्न नसकिएको गुनासो गरे । ‘चार कठ्ठा जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदान संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘मुआब्जाका लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि बढाउन जरुरी छ ।’ मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले मधेश क्रिकेटको उर्वरभूमि भए पनि पूर्वाधार कमजोर रहेको बताए । उनले राज्यले मधेश प्रदेशमा क्रिकेटको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

सरकारसँग बीमा गर्नैपर्ने बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न दबाब दिएका छाैं : अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल । काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफू सात प्रदेशका विभिन्न क्षेत्रमा पुगेको र सो क्रममा कमजोर आर्थिक अवस्था र आवश्यकता नदेखेका कारण बीमा नगरेको जानकारी पाएको बताए । अध्यक्ष सिलवालले अहिले प्राधिकरणले सरकारसँग बीमा गर्न बाध्य बनाउने गरी कानुनी प्रबन्ध गर्न दबाब दिइरहेको बताए । नीतिबाट बीमाका लागि बाध्य बनाउनसके त्यसको फाइदा विमित स्वयंले पाउने उनकाे भनाइ छ । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई २०२४) आजबाट काठमाडौंमा सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरैन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २० औं संस्करण आयोजना गरिएको बताइएको छ । कार्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्युन आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । जलवायु जोखिम बीमा, लघुबीमा डिजिटल प्रविधि अवलम्वन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरू हटाउनेसम्बन्धी रणनीतिलगायतका विषयमा सहभागीहरूबीच छलफल हुने बताइएको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था, बीमा क्षेत्रका विज्ञहरू सहभागी छन् ।

टिकटकद्वारा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन कार्यशालाको आयोजना

काठमाडौं । नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ । ग्रो विथ टिकटक मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्नेबारेमा छलफल गरेकाे थियाे । कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्नेबारे प्रशिक्षण प्राप्त गरेका थिए । कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत् गर्न सकिने प्रबर्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको श्रृंखलासमेत प्रस्तुत गरेको थियो । सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको बारेमा परिचय गराइएको थियो । त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो । टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो सहित विश्वभरि नै कार्यालयहरू छन् ।

मंगलबार २५ अंकले बढ्यो सेयर बजार, गुडविल फाइनान्सको सेयर धेरै कारोबार

काठमाडाैँ । साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको २ दिन लगातार घटेको बजार आज २५.८८ अंकले बढेको हो । आज १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबारमा आएका १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा आज ४० कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन रवा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ८.८६ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले घटेको छ । आज गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । गुडविलको १७ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार हुँदा कुमारी बैंकको १३ करोड ८० लाख र हिमालय रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस साताको पहिलो दिन आइतबार र सोमबार लगातार सेयर बजार परिसूचक नेप्से घटेको थियो । उक्त दुई दिनमा १०५ अंकभन्दा बढीले घटेको बजार आज भने वृद्धि भएको छ ।

प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

काठमाडौं । लामो समय सम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार जारी गरेको प्रतिवेदनले जनाएको छ । युएनडिपीका प्रमुख अचिम स्टेनरले युद्धको प्रभाव भौतिक पूर्वाधार विनाशमा मात्र नभई गरिबी, जीविकोपार्जन लगायतका क्षेत्रमा समेत परेको बताएका छन् । सन् २०२३ को अन्त्यमा ३८.८ प्रतिशत रहेको गरिबीको दर यस वर्ष २.६१ मिलियन प्यालेस्टिनीहरू गरिबीमा पर्दा गरिबीको सङ्ख्या ४.१ मिलियनमा पुगेको जनाइएको छ । यो विनाशले प्यालेस्टाइनलाई विकासको मार्गमा दशकौँ पछाडि पारेको स्टेनरले उल्लेख गरेका छन् । यो सँगै यो वर्ष प्यालेस्टिनी क्षेत्रमा बेरोजगारीदर ४९.९ प्रतिशतले बढ्ने र गाजामा जीडीपी ३५.१ प्रतिशतले कम हुने अध्ययनले जनाएको छ । उनका अनुसार प्रत्येक वर्ष मानवीय सहायता प्रदान गर्न सकिएमा प्यालेस्टिनी अर्थव्यवस्थालाई छिटै संकट मुक्त गर्ने सकिने सम्भावना भने अझै जिवितै छ ।

विचाराधीन विधेयक पेस गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिएका छन् । सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले सो निर्देशन दिएका हुन् । बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले भने, ‘हामी समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राख्यौँ ।’ सभामुख  घिमिरेले मंगलबार बिहान ११ः३० बजे दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन् । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन् । बैठकमा एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको थियो । एमालेका मुख्य सचेतक बर्तौलाले सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिएको जानकारी दिए ।