विकासन्युज

बागलुङको जैमिनीघाट र गलकोट जोड्ने कालीगण्डकी पुल सात वर्षपछि सम्पन्न

बलेवा (बागलुङ) । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो । पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रूपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो । पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले विसं २०७३ असोज ९ गते सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो । उक्त पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । ‘पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने छ । यो सडक बनेपछि मङ्सिरभित्र मोटर गुड्नेछ,’ ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राईले भने । पश्चिम किनारमा कालीगण्डकी करिढोर कालोपत्र हुँदै गरेको र पूर्वी किनारमा कुश्मा फलेबास सडक कालोपत्र भइसकेकाले यो पुल तत्कालै प्रयोगमा आउने उनले बताए । ‘पुल निर्माण सकिएको छ । अब लिङ्क रोडको काम एक महिनामा सक्छौं,’ राईले भने, ‘भुक्तानीका लागि डिजाइन परिवर्तन भएको पत्र पाएका छैनौं ।’ नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो । सोही अनुसारको भुक्तानी स्वीकृति नभएको बताउँदै डिजाइन परिवर्तन गर्नुपरेकाले तीन पटकसम्म म्याद थप्नुपरेको उनले जानकारी दिए। जैमनी नगरपालिका–१ जैमिनीधामबाठ पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने एकसय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयलाई आवागमनमा सहज हुने भएको छ । ‘यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘यहाँका बासिन्दालाई अब पोखरा जान करिब ३० किमी दूरी छोटो पर्छ ।’ मध्यपहाडी लोकमार्गबाट करिडोर हुँदै पोखरा पुग्ने विकल्पका रुपमा यो मार्ग प्रयोगमा आउने उनले बताए । गत असारमा अन्तिम म्याद थप भए पनि मङ्सिरसम्ममा काम सकेर हस्तान्तरण हुनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय, बागलुङका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । पुलको भौतिकतर्फ ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको भन्दै वित्तीयतर्फ भने ८६ प्रतिशतमात्रै भुक्तानी भएको उनले बताए । प्रसिद्ध जैमिनीधामबाट पर्वतको फलेबास–कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो । रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ को लागतमा यो पुलको सम्झौता भएको सडक डिभिजन कार्यालय, बागलुङले जनाएको छ । रासस

ग्लोबल आइएमईको सचेतना कार्यक्रम : विद्यार्थीले सेयरमा लगानी गरी लाभ लिनसक्ने

काठमाडौं । धितोपत्र नियमननियकायहरूको अन्तरर्राष्ट्रिय संगठनको आह्वानमा लगानीकर्ता सप्ताहको अवसरमा कार्तिक ६ गतेदेखि १२ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाउने भएको छ । साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा, सचेतना, बजार विकास तथा सुधारका पक्ष लगायतका बारेमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी तिनको सशक्तिकरण गर्ने उद्देश्य लिइएको छ । योजना अनुसार नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलद्वारा चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सीता थापाले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको र सेयरमा लगानी गरेमा बढी भन्दा बढी आय आर्जन गर्न सकिने बताइन् । यस्तै, वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थीले यस्ता कार्यक्रमबाट सेयरको प्राथमिक बजारमा लगानी गरि अधिकतम लाभ लिनसक्ने बताए । त्यसैगरी कार्यक्रमको अध्यक्षता समेत गरेका चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक तथा श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक हरिगोपाल श्रेष्ठले यस कार्यक्रमबाट आफुले सेयरको बारेमा धैरै कुरा बुझ्न सहयोग मिलेको बताउँदै विद्यार्थी भाइबहिनीहरुलाई विभिन्न कम्पनीले निष्कासन गर्ने सेयरमा लगानी गरेमा फाइदा हुने र पढ्दै कमाउँदै गर्न सकिने धारण राखे । त्यसैगरी ग्लोबल आइएमई बैंक लि, चौताराका शाखा प्रमुख नविन श्रेष्ठले डिम्याट तथा मेरो सेयर खाता खोली पूँजी बजारमा आवद्ध हुन उपस्थित सबैमा अनुरोध गरे । कार्यक्रममा चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरू, श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरू, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरू तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो । विश्व लगानीकर्ता सप्ताहबाट धितोपत्र सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको चौतारामा गरिएको उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।

सुन थुपारेको थुपार्यै, यस कारण बढ्दैछ मूल्य

काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । सन् २०२४ लागेसँगै हालसम्म ३५ पटक सुनको भाउ अहिलेसम्मकै उच्च स्थानमा पुगेकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सुनको मूल्यवृद्धि रोकिने संकेतसमेत देखिएकाे छैन । अझै बढ्नसक्ने विश्लेषकहरूकाे आँकलन छ । यो वर्ष सुनको भाउ ३३ प्रतिशतले बढेको छ । आखिर किन सुनको भाउ यति धेरै बढिरहेकाे छ ? सबैभन्दा ठूलो कारण- धेरै देशका केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन् । जसमध्ये चीन, टर्किए, पोल्याण्ड र भारतका केन्द्रीय बैंक अगाडि छन् । विश्वको कुल सुनको भण्डारको १२.१ प्रतिशत केन्द्रीय बैंकसँग छ । यो सन् १९९० पछिकै उच्च स्तर हो । यो वर्ष केन्द्रीय बैंकको सुनको सञ्चितिमा ठूलो वृद्धि भएको छ र यो पछिल्लाे एक दशककाे दोब्बर हाे । भारत, चीन, टर्किए र पोल्याण्डका केन्द्रीय बैंकहरूले सुन खरिदमा महत्त्वपूर्ण भूमिका खेल्छन् । चीनको विदेशी मुद्रा सञ्चितिमा सुनको अंश ५.४ प्रतिशत पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको यो देशको सुनको भण्डार २ हजार २६४ टन रहेकाे छ । विश्वमा सबैभन्दा बढी सुनको खपत चीनमा हुने गरेको छ । तर, विश्वका पाँच देशसँग चीनकाे भन्दा धेरै मात्रामा सुनको भण्डार छ । केन्द्रीय बैंकले किन किनिरहेका छन् सुन ? सन् २०२२ र २०२३ मा विश्वभरका केन्द्रीय बैंकहरूले १ हजार टनभन्दा बढी सुन खरिद गरेका थिए । यसकारण युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसको एसेट्स जफत गरेका थिए । यही कारणले गर्दा अहिले विश्वभरका देशहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलरको अंश घटाएर सुन बढाउन थालेका हुन् । मध्यपूर्वमा जारी तनावले पनि सुनको भाउ बढाएको हाे । इतिहास साक्षी छ कि जब विश्वमा कुनै संकट आउँछ तब सुनको भाउ बढ्छ । सबैभन्दा धेरै सुन कसको ? अमेरिकामा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार छ । यो देशको सरकारी कोषमा ८ हजार १३३ टन सुन जम्मा छ । त्यसपछि जर्मनी (३ हजार ३५३ टन), इटाली (२ हजार ४५२ टन), फ्रान्स (२ हजार ४३७ टन) र रसिया (२ हजार ३३५ टन) रहेको छ । युरोपको सानो देश स्विट्जरल्याण्डमा १ हजार ४० टन, जापानमा ८४७ टन र भारतमा ८४० टन सुन छ । विश्व गोल्ड काउन्सिलका अनुसार भारतमा आम मानिससँग करिब २५ हजार टन सुन छ, जुन विश्वमा सबैभन्दा बढी हो । नेपाली बजारमा सुनकाे मूल्य आइतबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनकाे मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे । उक्त रेकर्ड आज ताेडिएकाे हाे । यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो । (एजेन्सीकाे सहयाेगमा )

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आइतबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो आरोप लगाएका हुन् । उनले भने, ‘म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय, धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।’ सरकारले पुनः जनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई/तीन दिनदेखि सुन्दै आएको जानकारी दिँदै उनले भने, ‘यो आपत्तिजनक कार्य मात्र होइन, यो संघीय विरोधी कदम पनि हो ।’ संघीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको चर्चा गर्दै नेता निधिले उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन, लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताएका छन् । जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकै बेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनीसमेत दिए । उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे । ‘जनकपुर चुरोट कारखानाको जति पनि सम्पत्ति छ, त्यो मधेस प्रदेश सरकारको हो । यसमा कुनै दुई मत नरहेकाले निजीकरण अथवा कुनै प्रकारको षडयन्त्र भए यसलाई संघीयता विरोधी कदम भन्दै हामी आन्दोलनमा उत्रिनेछौं,’ उनले प्रष्ट पारे ।

रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ

काठमाडौं । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौंको रानीवनबाट पक्राउ परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका खड्कामाथि प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

भारतीय एयरलाइन्समा बम पड्काउने निरन्तरका चेतावनीपछि प्रशासनद्वारा कारबाहीको चेतावनी

काठमाडौं । भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ । बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानाडा र जर्मनीतर्फ जान बाध्य भएका थिएभने र विमानलाई लडाकु विमानले बेलायत र सिंगापुरमाथिको आकाशमा पहरा दिएका थिए । सरकारले चेतावनीको सङ्ख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ । यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानूनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ । ‘एयरलाइन्समा बम पड्काउने चेतावनीजस्ता दुर्भावनापूर्ण कार्यका घटनाहरूले सार्वजनिक व्यवस्था र राज्यको सुरक्षामा खतरा निम्त्याउन सक्छ,’ प्रशासनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘यस्ता भ्रामक चेतावनीको सङ्ख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ । प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा २७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चारमाध्यमका अनुसार यो सङ्ख्या ४०० को हाराहारीमा हुन सक्छ । ‘कुनै पनि तेस्रो पक्ष जानकारीको लागि दायित्वको छूट पाएका त्यस्ता मध्यस्थहरूले दायित्वहरू पालना गरेनन् भने उनीहरूसँगको सम्झौता लागू हुने छैन,’ विज्ञप्तिमा भनिएको छ। आर्थिक सुरक्षा नागरिक उड्डयन अधिकारीले एक्स (ट्विटर)मा पोस्ट गरिएका खतराको चेतावनीका सन्देशले प्रत्येक उडानहरू जाँच गर्नुपरेको बताएका छन् । चेतावनीले सेवा जोखिमयुक्त भएको भावना फैलिनुका साथै यसबाट प्रत्यक्षरूपमा कम्पनी र परोक्षरूपमा राज्यलाई आर्थिक क्षति पुर्याएको उनीहरूको बुझाई रहेको छ । सरकारी चेतावनीमा कुनै पनि सामाजिक सञ्जाल कम्पनीको नाम उल्लेख गरिएको छैन, तर सूचना प्रविधि मन्त्रालयको परामर्श सूचनालाई उद्धृत गरिएको छ। सूचना मन्त्रालयले भनेको छ, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा ‘फरवार्डिङ/रि–शेयरिङ/रि–पोस्टिङ/रि–ट्वीटिङ’ को विकल्प उपलब्ध भएका कारण यस्ता भ्रामक बमको चेतावनीसहितका सन्देशको फैलावट र अनियन्त्रित वृद्धि देखिएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कम्पनीहरूले देशको एकता, अखण्डता, सार्वभौमिकता, सुरक्षा वा आर्थिक सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने कुनै पनि अपराधको रिपोर्ट गर्नु पर्दछ र अनुसन्धानमा सहयोग पुर्याउन सरकारी निकायहरूसँग द्रूत सहयोग गर्नुपर्दछ।’ सरकारले उड्डयन र विमान सुरक्षा कानूनमा आमूल परिवर्तन गर्न र त्यस्ता धम्कीलाई गम्भीर वा ‘संज्ञेय’ अपराधको दोषी बनाउन ‘विधायिकी कदम’ बारे छलफल गरिरहेको बताएको छ । लोकतान्त्रिक मुलुकका रूपमा चिनिने भारत सामाजिक सञ्जालका सामग्री हटाउन सरकारले गर्ने अनुरोधका आधारमा हेर्दा विश्वका शीर्ष पाँच मुलुकमध्ये एउटा हो । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्ने ट्वीट र एकाउन्टहरू हटाउने आदेशलाई चुनौती दिएका कारा गत वर्ष भारतीय अदालतले एक्सलाई ६१ हजार अमेरिकी डलर जरिवाना गरेको थियो । रासस

जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताएका छन् । युवासंघ नेपालले आइतबार आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् । ‘विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।’  प्रधानमन्त्री ओलीले भने, ‘एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ । यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको केन्द्र कसरी बनाउने भन्नेमा हाम्रो ध्यान रहेको छ ।’ उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए ।

लक्ष्मी सनराइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न, ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैंकले बताएको छ । सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो । साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न. ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्ने जनाएको छ ।