विकासन्युज

अनुसन्धान र न्याय प्रभावित पार्ने रास्वपाको प्रदर्शन

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले शुरुमा ६ दिनको समय दिएकोमा फेरी थप ७ दिनको म्याद थप गरेको छ । कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी र लीला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । लामिछाने कात्तिक १ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेलाई यसअघि आइतबार ६ दिन अनुसन्धानका लागि म्याद थप गरिएको थियो । लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपा र लामिछानेका समर्थकले एकातिर विरोध प्रदर्शन गरी रहेका छन् भने अर्कोतिर सहकारी पीडितहरुले निक्षेप फिर्ताको माग राख्दै प्रदर्शनका कार्यक्रम जारी राखेका छन् । निक्षेप फिर्ता र न्यायको माग गर्दै सहकारी पीडितले गरेको प्रदर्शनलाई सबैले जायज मानेका छन् । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले रित्तो थालसहित सडकमा प्रदर्शन गरेर आफ्ना समस्या उजागर गरेका छन् । सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित एक अर्ब १२ करोड रुपैयाँ दावी पनि गरेका छन् । प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट एक अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको देखिएको छ । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी राई) अहिले पनि फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् । अध्यक्ष राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । तर अदालत र सरकारलाई दबाब दिने गरी, निष्पक्ष अनुसन्धानलाई प्रभावित पार्ने गरि भइरहेका विरोध प्रदर्शन उचित मान्न सकिदैन । सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिले सर्वसम्मत तयार पारेको प्रतिवेदन, सुर्यदर्शन सहकारी र गोर्खा मिडिया नेटवर्कबीचको गैरकानुनी कारोबारका वारेमा प्रकाशित धेरै समाचारहरु, सहकारी पीडितहरुको उजुरी, प्रहरीको प्रराम्भिक अनुसन्धान, रवि लामिछानेका व्यवसायिक साझेदारहरुले दिएका बयानका आधारमा अदालतसँग अनुमति लिएर प्रहरीले थप अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विषय सबैसामु प्रष्ट नै छ । फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई प्रभाव पार्ने गरी रास्वपाले गरेको विरोध प्रदर्शन उचित मान्न सकिदैन । सहकारी रकमको अपचलनको विषयमा रवि मात्र कारवाहीमा परेको होइन, पूर्व मन्त्री, वर्तमान सांसद, पूर्वसांसद, पूर्वसचिव सहित धेरै ठूला व्यवसायी पनि जेलमा परेका छन् । लामिछाने मात्र सरकारको पूर्वाग्रहको शिकार भएको भन्ने आरोप पनि सत्य भने होइन ।

जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार तीन सय १५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । पक्राउ परेकालाई इप्रका बनेपामा राखी आइतबार म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार रुपैयाँ नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गैरआवासीय नेपालीलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

वासिङ्टनडिसी । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन् । अमेरिकाका विभिन्न राज्यमा रही विभिन्न पेशा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताए । उक्त अवसरमा उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरे । साथै, उपप्रधानमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिए । ‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानुनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदै छ,’ उपप्रधानमन्त्री पौडेलले अगाडि ‍भने, ‘व्यक्तिगत रूपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु ।’ गैरआवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्यदूतको रूपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उनले आफ्नो मातृभूमि प्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीहरूलाई धन्यवाद दिए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्‍घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्बद्ध कानुनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र संभावना भएकाले गैरआवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरे । नेपालमा लगानीका लागि उच्च संभावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको पनि बताए । कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेशा व्यावसाय गर्दै आएका गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझावहरू राखेका थिए ।

प्रचण्डलाई ओलीको जवाफ : हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन् । अध्यक्ष दाहाललक्षित टिप्पणी गर्दै उनले शनिवार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा दाहालले आफूहरुले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरु प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्नेकुराको राम्रो ज्ञान आफूलाई रहेको बताए । धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह गरे । ‘हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ’, उनले भने । प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने बताए । ढुक्क भएर आफ्ना कार्यक्रमहरु स्वतन्त्र रुपमा गर्न आग्रहसमेत गरे । आफू एमालेको प्रधानमन्त्री नभइ देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रुपमा कसैप्रति पनि भेदभाव गर्न नहुने बताए । ‘पोल्टिकल पार्टीहरुका आफ्नै संगठनहरु होलान्, त्यसले आफ्ना काम आफैँ गर्लान्, यस संगठनभित्र राजनीतिक वार नगरौँ’, उनले भने । प्रधानमन्त्री ओलीले सबै एनआरएनएहरु एकताबद्ध भएर देश विकासमा लाग्न आग्रह गरे ।

सन्तोषी र सन्तोषलाई माल्दिभ्स रोड रेसको उपाधि

काठमाडौं । माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि नेपाली खेलाडीहरुले जितेका छन् । मालदिभ्सको हुलहुमालेमा भएको १५ औं धिरागु माल्दिभ्स रोड रेसमा नेपालका गोल्डेन गर्लको उपनामले चिनिने धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोष विक्रम बिष्टले दुई–दुई वटा स्वर्ण जितेका हुन् । माल्दिभ्सको एथलेटिक क्लब आइल्याण्ड रनर्स माल्दिभ्सको तर्फबाट व्यवसायिक खेल खेल्दै शुक्रबार बिहान र बेलुकी भएको दुई खेलमा सन्तोषी र सन्तोषले मुख्य विधा हाफ म्याराथन र ५ किलोमिटरमा स्वर्ण हात पारेका हुन् । सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सकेण्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटर दौड क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा दूरी पार गरे । मुख्य विधा हाफ म्याराथनमा सन्तोषीले साम्हा अहमेद र निजमीना अहमेदलाई पाछि पार्दै उपाधी जितेकी हुन् भने सन्तोषले हुसेन फजिल र युसुफ इब्राहिमलाई पछि पारेका हुन् । यससँगै दुवै नेपाली खेलाडी २५ हजार र १० हजार गरी कुल ३५ हजार माल्दिभियन रुपिया (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) हात पारेका छन् ।

वैदेशिक रोजगार बोर्डका हाकिमले २० लाख घुस लिएको आरोप

काठमाडाैं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. द्वारीक उप्रेतीले २० लाख रुपैयाँ घुस लिएको उजुरी परेको छ । उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै भूपाल विश्वकर्मा नाम भएका व्यक्तिबाट २० लाख रुपैयाँ लिएको आरोपसहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको हो । कार्यालयले उक्त विषयको छानविन गर्नका लागि श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयलाई पत्र पठाइसकेको मन्त्रालयका सहसचिव निश्चल पाण्डेले विकासन्यूजलाई जानकारी दिए । उनले भने,  ‘२० लाख लिएको उजुरी परेको भन्दै छानविनका लागि मन्त्रालयलाई कार्यालयले पत्र पठाएको छ । छानविन समिति पनि गठन भइसकेको छ ।’ उनका अनुसार उप्रेतीलाई मन्त्रालयमा तानिएको छ । छानविनका लागि उपसचिव शारदा राउतको नेतृत्वमा समिति पनि गठन भएको छ । मन्त्रालयले हाल बोर्डको नेतृत्वको लागि सहसचिव जीवलाल भूसाललाई जिम्मेवारी दिएको छ । छानविन समितिको संयोजक राउतले अबको केही दिनमा नै छानविन सुरु हुने बताइन् । आरोपका विषयमा विकासन्यूजले उप्रेतीसँग साेधपुछ गर्न खाेजेकाे थियाे तर फोन रिसिभ भएन ।

अस्ट्रेलियामा टेक्सास कलेजलाई उत्कृष्ट आइटी कलेजको उपाधि

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले उत्कृष्ट आइटी कलेजको उपाधि जितेको छ। अस्ट्रेलियाको अस्ट्रेलिया नेशनल युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा कलेजले उपाधि जितेको हो । टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले अवार्ड ग्रहण गरे । उक्त कार्यक्रम कलेज रिडर्स म्यागेजिनले आयाेजना गरेकाे थियाे । साेही अवसरमा उत्कृष्ट शैक्षिक संस्था तथा व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो । निर्णायक मण्डलले नेपालका विभिन्न कलेजहरूको आइटी शिक्षा, नवप्रवर्तन र विद्यार्थीहरूको सफलतालाई आधार मानेर मूल्याङ्कन गरेको मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपकबहादुर शाक्यले जानकारी दिए । उनकाे संयाेजकत्वमा निर्णायक मण्डल गठन गरिएकाे थियाे । अवार्ड ग्रहण गरेपश्चाते टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ ।

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ६७ हजार ४ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनकाे मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे । उक्त रेकर्ड आज ताेडिएकाे हाे । यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।