विकासन्युज

एनसेल फाउन्डेसनले गर्‍यो बाढीपीडित प्रभावित ठाउँमा राहत वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५ सयजना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएकाे हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामाग्रीहरू गुमाएका थिए । सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसैअनुरूप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको हाे । फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी, पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले हालै मात्र राहत वितरण गरेको छ । यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरूसहित प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो । एनसेलले सीएसआर परियोजनाहरू सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको थियाे । कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ । कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरुमा रु २ अर्ब भन्दा बढि योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड ३० लाख भन्दाबढिलाई लाभ प्रदान गरिसकेको दावी गरेकाे छ ।

बिन्ध्यवासीनी हाइड्रोको ८ प्रतिशत लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडाैं । बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।  कम्पनीले ८ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले मंसिर ६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो छ । कम्पनीको कार्यालय नयाँबानेश्वरमा सभा हुने कम्पनीले जनाएको छ । साधारण सभा प्रयोजनको लागि कार्तिक २८ गते एकदिन बुक क्लोज हुनेछ । कार्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने र लाभांश पाउने छन् । सभामा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आव २०८०र०८१ को लखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लखापरीक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव राखेको छ ।

निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ, लाभांश नबाँड्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफा वितरण नगरी सञ्चित राख्ने कम्पनी सचिव इश्वर बन्धु गौतले जानकारी दिए । उनका अनुसार बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु पश्चातको बैंकको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार रुपैयाँ मात्रै रहन गएकाले सेयरधनीहरूलाई लाभांस प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले संचित गर्ने कम्पनी सचिव गौतमको भनाइ छ ।

फर्ष्ट माइक्रोफाइनान्सको सीईओमा पुनः पौडेल, निरन्तर लाभांश

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नमुनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई दोहोर्याउने निर्णय गरेको हो । कार्यकाल कात्तिक १६ गतेदेखि लागु हुनेछ । उनी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । संस्थाको स्थापनादेखि काम गरिरहेका उनी यसअघि उनी २०७७ कात्तिकमा सो संस्थाको सीईओमा नियुक्त भएका थिए । उनको मुख्य व्यावसायिक विशेषज्ञता थोक सूक्ष्म ऋण, जोखिम व्यवस्थापन, रणनीति विकास, संगठनात्मक पुनर्संरचना र व्यवसाय योजना बनाउनमा रहेको छ ।यसअघि एचआईएन नेपाल, इमरिर्जङ नेपाल, ग्लोबल आइएमई बैंक र नेपाल पूर्वाधार विकास बैंकमा काम गरिसकेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको अनुभव छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस पास गरेका छन् । योसँगै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले १२ वर्षदेखि नियमित रुपमा लाभांश वितरण गर्दै आएको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, पुस ४ गते डाक्यो ५०औँ सभा

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । होटल सञ्चालक समितिको मंगलबार बसेको बैठकले ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ५०औँ वार्षिक साधारण सभा पुस ४ गते बिहान साढे ११ बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ । साथै, लाभांश तथा साधारणसभा प्रयोजनार्थ मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १२ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

पहिरोका कारण अवरुद्द रसुवागढी-केरुङ राजमार्गबाट आयात सुरु

रसुवा । सुवागढी-केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् । राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले  दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिए । रासस

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिए। उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रसञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसमेत सहभागी थिए । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिए । रासस