एनसीएचएल र स्मार्ट च्वाइस टेक्नोलोजीबीच नेपालपे कार्डका लागि समझदारी
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच नेपालपे कार्ड जारी तथा पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान तथा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हस्ताक्षर गरे । नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्ध रूपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरणअन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र नेश्नल पेमेन्ट सिस्टम कार्यान्वयनको लागि आवश्यक जडान तथा परीक्षण कार्य भइरहेको छ । उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नको लागी एस्सीटीले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नति गरेपश्चात एनपीएस-एनसीएस एसएफको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र इन्टिग्रेट गर्न सक्नेछ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ, स्विचिङ तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमार्फत हुनेछ । एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंक वित्तीय संस्थालाई अन्य कार्ड स्कीमको प्रोसेसिङ र कार्ड सर्भिसिङकाे सुविधा प्रदान गर्दै आएको छ भने एस्सीटीले बैंक वित्तीय संस्थाहरूलाई कार्ड प्रोसेसिङको सेवा दिँदै आएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम तीन महिनामा सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा । काठमाडौं । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ– बुटवल सडक विस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम सकिएको छैन । विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्नुपर्ने भएपनि यसबीचमा तीन पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक बिस्तारको काम सकेको छैन । निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै सरकारले अब तीन महिनामा सम्पन्न नगरे ठेक्का तोड्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास निर्माणका सबै सडक सरकारको नियन्त्रणमा नै रहेको बताए । उनले समय पनि सकिएको र काम पनि कम भएको सडकखण्ड नारायणगढ बुटवल रहेको जानकारी दिए । उनले त्यसमा पनि निर्माण ठेक्का कम्पनीलाई तीन महिनाको लक्ष्य दिएर डिसेम्बरसम्म नसकिए ठेक्का तोड्ने योजना रहेको उल्लेख गरे। सचिव शर्माले तीन महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने सूचना जारी गरिसकेको पनि बताए । उनले ठेक्का कम्पनीले जनशक्ति बढाएर सडक बिस्तारको कामलाई तीब्रता नदिए सरकारले पुनर्विचार गरी ठेक्का तोडेर अगाडि जानुपर्ने बाध्यता रहेको बताए । उनले निर्माण व्यवसायीहरूको क्षमताको कमीको कारण विकास निर्माणको काम समयमा सम्पन्न हुन नसकेको जानकारी दिए । कम क्षमता भएका निर्माण कम्पनीहरूले धेरै ठेक्का लिएर क्यास व्यवस्थापन गर्न नसक्दा विकास निर्माणको काम ढिलासुस्ती भएको उनकाे भनाइ छ । सचिव शर्माले निर्माणको लागि पूर्वतयारी समयमा रुख काट्ने, पोलहरू समयमा ननिकाल्ने गर्दा समस्या आएको बताए । नारायणगढ–बुटवल सडकको यात्रा सात वर्ष पुग्दा समेत अवस्था उस्तै देखिएको छ । सडक निर्माणको काम अलपत्र रहेकाले नारायणगढ–बुटवल सडकमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् । बिस्तारको क्रममा रहेको नारायणगढ—बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ । कोरोनाकालमा निर्माण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो । पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । नारायणगढ–बुटवल सडक खण्डको हालसम्म ५३ प्रतिशत कार्य प्रगति भएको छ । नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर कालोपत्र गरिएको छ ।
साफ वुमेन्स च्याम्पियनसिप : सडकमा लाइन लगाएर टिकट बिक्री, वालेटलाई नकाट्न उर्दी
काठमाडौं । नेपाल र बंगलादेशबीच साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेल हेर्न नेपाली खेलप्रेमी तथा शुभचिन्तकहरू तम्तयार छन् । साफ वुमन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न सकेकाे छैन । यो पटक उपाधि उचाल्ने दाउमा नेपाल छ । फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेर उपाधि हात पारेर नेपाली दर्शकलाई खुसी दिलाउने रणनीतिमा नेपाली फुटबल टिम छ । यसअघि नेपाल र बंगलादेशबीच १२ खेल भएका छन् । जसमध्ये ६ खेल नेपाल र १ खेलमा बंगलादेशले जितेकाे छ भने ५ खेल बराबरी भएको छ । नेपाली टिमलाई साथ दिनका लागि खेलप्रेमीहरू बिहानैदेखि लाइन लागेर टिकट काटिरहेका छन् । बेलुका साढे ६ बजेदेखि सुरु हुने भए पनि टिकटका लागि भने बिहानैदेखि सर्वसाधारण लाइनमा छन् । यसअघि नेपाल र भारतबीच सेमिफाइनलमा रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि फाइनलको टिकट भने एन्फा आफैले बिक्री गरिरहेको छ । तर, त्यसको चौतर्फी विरोध भइरहेको छ । फाइनल खेलमा कम टिकट काटेर दर्शक कम हुने वातावरण सिर्जना गरिरहेको आरोप सामाजिक सञ्जालमा छ । सूचना प्रविधिको युगमा लाइन लगाएर टिकट काट्न लगाउनु उचित नभएको भन्दै सामाजिक सञ्जाल एन्फाको विरोध भइरहेको छ । यसअघि टिकट बिक्रीका लागि जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै एन्फाले आफै टिकट बिक्री गरिरहेको हो । जावलाखेल खेल मैदान, एन्फा मुख्यालय सातदोबाटो र भद्रकालीस्थित आर्मी अफिसर्स केन्द्रमा टिकट बिक्री केन्द्र राखिएको छ । माउन्ट एभरेस्टले ८० लाख रुपैयाँमा टिकट बिक्री अधिकार प्राप्त गरेको थियो । एन्फाले साधारणतर्फ ११ हजार र भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गर्ने बताएको छ । रंगशालाको क्षमता १५ हजार मात्रै भए पनि त्यो दिन करिब २० हजार दर्शक थिए । एन्फाले वालेट कम्पनीलाई पनि टिकट नकाट्न उर्दी गरेको बुझिएको छ । यसअघि वालेट कम्पनी खल्तीले टिकट काट्दै आएको थियो । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएको छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो ।
युनिलिभर नेपालको साधारण सभाबाट लाभांश पारित
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडकाे ३१औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सोमबार सम्पन्न भएकाे साधारण सभाले सेयरधनीहरूलाई हालसम्मकै उच्च लाभांश पारित गरेकाे हाे । कम्पनीकाे सभाले गत वर्षकाे नाफाबाट सेयरधनीहरूलाई १ हजार ७ सय १४ प्रतिशत लाभांश पारित गरेकाे हाे । जुन हालसम्मकै उच्च लाभांश हाे । युनिलिभर नेपालका अध्यक्ष देव बजपाईले कम्पनीको वर्तमान अवस्थासम्म ल्याइपुर्याउन सेयरधनीहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा देव बजपाईको प्रारम्भिक सेवानिवृत्तिको पनि घोषणा गरिएकाे थियाे, जसले विगत ४ वर्षमा यूएनएलको नेतृत्व प्रदान गरेका थिए ।
नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिङ क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेको छ । उनी एक कुशल बैंकर हुन् । नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् ।
रिपब्लिक मिडियाको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?
काठमाडाैं । नेपाल रिपब्लिक मिडियाले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर १० गतेका लागि आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो । थापागाउँको काठमाडौं ब्याङ्केटमा सभा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २८ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ । यसैगरी, चालु आर्थिक वर्षको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेस हुनेछ ।
माछापुच्छ्रे क्यापिटलको साधारण सभा सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएकाे छ । साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित भएका छन् । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्याैपानले हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी मिति असाेज २१ गते योजनासमेत दर्ता गरी स्वीकृतिको प्रक्रियामा रहेको जानकारी गराए । यसका साथै उनले कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्नेगरी काम गर्ने विश्वास व्यक्त गरे ।
एनसेल फाउन्डेसनले गर्यो बाढीपीडित प्रभावित ठाउँमा राहत वितरण
काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परी प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५ सयजना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएकाे हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामाग्रीहरू गुमाएका थिए । सीएसआरअन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई एनसेलले प्राथमिकतामा राख्दै आएको छ । यसैअनुरूप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको हाे । फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी, पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले हालै मात्र राहत वितरण गरेको छ । यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरूसहित प्रभावित वडामा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री वितरण गरेको हो । एनसेलले सीएसआर परियोजनाहरू सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको थियाे । कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ । कम्पनीले देशभर विभिन्न सामाजिक कार्यहरुमा रु २ अर्ब भन्दा बढि योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड ३० लाख भन्दाबढिलाई लाभ प्रदान गरिसकेको दावी गरेकाे छ ।