विकासन्युज

सम्पत्ति शुद्धिकरण नियमावली २०८१ स्वीकृत गर्ने मन्त्रिपरिषदकाे निर्णय (पूर्णपाठसहित)

काठमाडौं । सरकारले सम्पत्ति शुद्धिकरण नियमावली २०८१ स्वीकृत गर्ने भएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पत्ति शुद्धिकरण नियमावली २०८१ स्वीकृत गर्ने निर्णय भएकाे जानकारी दिए । यसैगरी, सरकारले समस्याग्रस्त सहकारी कार्यालयका लागि आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण स्वीकृत गरेको छ । त्यस्तै, नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान निर्णय गरेको पनि भएकाे छ। यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू १) नेपाल सरकार र भारतीय एजीम बैंकबीच भएको ऋण सम्झौता एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान गर्ने २) नयाँ बुटवल लम्ही ४०० केभी प्रशारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा करिब ०।२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृत दिने। ३) नेपाल प्रहरी रिक्त भएको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक डा. सुन्दरप्रसाद होजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पातल महाराजगञ्जमा पदास्थापना गर्ने। ४) राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा अरवैजनको राजधानी वाकुवमा हुने राष्ट्र संघीय जलवायु सम्बन्धि महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा कोप २९ अन्तरगर्त वल्डलिडर क्लाइमेट एक्सन समिटमा सहभागि हुन कात्तिक १५ देखि ३० सम्मको भ्रमण स्वीकृत गर्ने। ५) समस्याग्रस्त सहकारी कार्यालयको लागि आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृत स्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने। ६) भूमि समस्या समाधान आयोगको अध्यक्ष उपाध्यक्ष र सदस्य पदमा क्रमशः हरि प्रसाद रिजाल पुठान,सनतकुमार कार्की, जाजरकोट, गुन्जबहादुर खड्का महोतरी, कृष्ण प्रसाई झापा, डा. जगतबहादुर बस्नेत सिन्धुपाल्चोक, टेकबहादुुर साह कैलाली र गोवर्धन कोली दार्चुला, आरती भण्डारी तनहुँ महिला सदस्य। ७) माछाखोला जलविद्युत आयोजना निर्माणको लागि गोर्खा जिल्लाको दार्जे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.९५ हेक्टर भएको जग्गा प्रयोग गर्न वन तथा वातारण मन्त्रालयलाई स्वीकृत दिने। ८) नेपाल संस्कृत विश्व विद्यालयको जग्गा तथा सम्पति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने। ९) कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा मर्डिटमा हुने टु अर्स लेभर इन्टरनेशनलको सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीलाई भ्रमण स्वीकृत दिने। १०) युनाइनेट नेशसन हुमान प्रागाममा कायरोमा सहभागी हुन पोखरामा मेयर धनराज आर्चायलाई स्वीकृत गर्ने। १) सम्पति शुद्धिकरण नियमावली २०८१ स्वीकृत। १२) विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ स्वीकृत।

तिहार विशेष मौसम बुलेटिन जारी, मौसमविद भन्छन्- ठूलो झरीको सम्भावना छैन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार तिहारलक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ । सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औंशी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ । बुलेटिनमा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ । बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बदली हुने बादलहरू लाग्ने देखिए पनि ठूलो झरीको सम्भावना भने नदेखिएको जानकारी दिए । उनले भने, ‘ती प्रदेशका केही ठाउँमा हल्का बदली हुने, बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, पहाडी भूभागका एक/दुई स्थानमा मध्यमसम्म पनि वर्षा हुनसक्छ कि भन्ने जस्तो छ तर सोचेभन्दा कम पानी पर्ने देखिन्छ ।’ मौसमविद् अर्यालका अनुसार ठूलो झरी नै पर्ने खालको अवस्था छैन । पानी कम पर्ने अवस्था रहेको अहिलेसम्मको मोडलले देखाएछ । उनले तीनदिने मौसम बुलेटिन दैनिक सार्वजनिक हुने भएकाले कुनै नयाँ अवस्था सिर्जना भएमा नियमित रुपमा सार्वजनिक हुने पनि जानकारी दिए । विभागले मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने ३ दिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकाले महाशाखाको वेबसाइट हेर्नसमेत अनुरोध गरेको छ ।

ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट

काठमाडौं । ज्योति विकास बैंक र बजार दराज केयमु प्रालिबीच बैंकमा सम्झाैता भएकाे छ । ज्याेति विकास बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हाे । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ तथा ब्रान्डिङ प्रमुख कुशलजंग अधिकारी र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भुर्तेलले हस्ताक्षर गरे । यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) देखि लागू हुनेछ । ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरूले दराजकाे ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । हालै बैंकले काठमाडौंस्थित ‘किड्स कटेज’मा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै बैंकले ‘ट्रान्क्विलिटी स्पा’मा देशभरका १७ वटै आउटलेटमा ३० प्रतिशत तथा काठमाडौंस्थित ‘साकी बुटिक’ मा २५ प्रतिशत र ‘लुगा सुगा’ मा २२ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

र्‍याली अफ हिमालयाजका विजेता साहलाई रोयल इन्फिल्डले गर्‍यो सम्मान

काठमाडाैं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डीका विजेता राइडर दीपक साहलाई रोयल इन्फिल्डले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका साथ राइडर शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटीभबाट सम्मान गरिएकाे हो । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर साह विजयी बनेका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका उनलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) द्वारा ९५ हजार रुपैयाँ सहित सम्मान गरिएकाे हो । राइडर साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ । भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाइ भएको कुन्जुम पाससमेत राइडरहरूले पार गरेका थिए । हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे ।   विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ । सफलतापश्चात राइडर साहले भने,  ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयीसमेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू-भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु ।’ साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालयनमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र र्‍याली अफ चाम्बाको विजयीसमेत भएका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ । रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । हिमालयन ४११ सबै प्रकारका भू-भागका लागि उपयुक्त सवारी हो ।

स्मार्टफोन बजारमा सामसुङको छलाङ, तेस्रो स्थानबाट सिधै पहिलो

काठमाडौं । दक्षिण कोरियाली सामसुङले भारतीय स्मार्टफोन बजारमा ठूलो फड्को मारेको छ । यो वर्षको दोस्रो त्रैमासमा बजार हिस्साको हिसाबले तेस्रो स्थानमा थियो । तेस्रो त्रैमासमा यो सिधै पहिलो स्थानमा उक्लिएको छ । दाेस्रो स्थानमा भने एप्पल छ । भारतीय स्मार्टफोन बजारमा भीभो तेस्रो नम्बरमा छ । जहाँ पहिलो स्थानमा रहेको शाओमी यसपटक पाँचौं स्थानमा पुगेकाे छ । स्मार्टफोन बजारमा रेकर्ड वृद्धि भारतमा यस वर्षको तेस्रो त्रैमासिक अर्थात जुलाईदेखि सेप्टेम्बर २०२४ सम्मको स्मार्टफोन बिक्रीको तथ्याङ्क काउन्टरपोइन्ट रिसर्चले बुधबार सार्वजनिक गरेको थियो । यस प्रतिवेदनअनुसार यो वर्षको तेस्रो त्रैमासिककाे आधारमा हेर्दा स्मार्टफोनको बजार रेकर्ड १२ प्रतिशतले बढेको छ । यो कुनै एक त्रैमासिकमा भएको उच्च वृद्धि हो । यति मात्र होइन, यो अवधिमा स्मार्टफोनको सिपमेन्ट ३ प्रतिशतले बढेको छ । पहिलो स्थानमा सामसुङ यस प्रतिवेदनका अनुसार तेस्रो त्रैमासिकका दाैरान मूल्यकाे आधारमा बजारमा सामसुङकाे हिस्सा २२.८ प्रतिशत रहेको छ । योसँगै यो बजारको शीर्ष स्थानमा पुगेको हाे । यसभन्दा एक त्रैमासअघि कम्पनी १८ दशमलव १ प्रतिशतको बजार हिस्साका साथ तेस्रो स्थानमा थियो । तेस्रो त्रैमासिकमा एप्पल २१.६ प्रतिशतकाे साथ दोस्रो स्थानमा छ । सोही वर्षको दोस्रो त्रैमासमा एप्पल पाँचौं स्थानमा पनि थिएन । भीभो १५.५ प्रतिशतको बजार हिस्साका साथ तेस्रो र ओप्पो १०.८ प्रतिशतको बजार हिस्साका साथ चौथो स्थानमा रहेको छ । साओमीलाई ठूलो झट्का भारतीय स्मार्टफोन बजारमा साओमीको दबदबा समाप्त हुँदै गएको देखिन्छ । यस वर्षको दोस्रो त्रैमासमा साओमी एक नम्बरमा थियो । त्यतिबेला यसको बजार हिस्सा १८.९ प्रतिशतमात्रै थियो । तेस्रो त्रैमासिकमा साओमीको बजार हिस्सा ८.७ प्रतिशत मात्रै रहेको छ । योसँगै कम्पनी पाँचौं स्थानमा झरेको छ । यो त्रैमासमा अन्य स्मार्टफोन कम्पनीको बजार हिस्सा २०.५ प्रतिशत रहेको छ । स्मार्टफोनमा फाइभ-जीको गरिमा तेस्रो त्रैमासमा फाइभ-जी स्मार्टफोनले सबैलाई पराजित गरेको छ । यसले कुल ढुवानीमा ८१ प्रतिशतको अहिलेसम्मकै उच्च अंश हासिल गरेको छ । बजारलाई आकर्षक ईएमआई अफर र ट्रेड-इनले समर्थन गरिरहेको विश्लेषकहरू बताउँछन् । (एजेन्सीहरूकाे सहयाेगमा)

क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित

काठमाडौं । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन् । नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो उपसमितिको संयोजकको रूपमा प्राडा. सुवर्ण शाक्य रहेका छन् । सदस्यहरूमा चिरञ्जीवी अधिकारीसहित प्राडा. मनिष पोखरेल, डा. बाबुराम दवाडी, डा. भोजराज घिमिरे र गुणकेशरी प्रधान रहेका छन् । यसैगरी प्रदीप ढोडारी सदस्य सचिवको भूमिकामा रहेका छन् । नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरू गठन गर्दै आएको छ । आईसीटी उपसमिति प्रविधि क्षेत्रमा महत्त्वपूर्ण निर्णय र सुधारका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा रहने बताइएको छ । समितिमा मनोनित भएसँगै अधिकारीले आफ्नो विज्ञता अनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाए । चिरञ्जीवी अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापनसमेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधिसम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् ।

सिद्धार्थसहित यी ४ बैंकको आरओईमा छलाङ, आरओएमा लक्ष्मी सनराइजले मार्‍यो फड्को

काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकहरूको आरओई औसत ७.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आरओई ७.९१ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको आरओई औसत १.४४ प्रतिशत घटेको देखिन्छ । समग्रमा बैंकहरूको आरओई घटेको भएपनि अधिकांश बैंकको बढेको देखिन्छ । गत वर्ष १२.५५ प्रतिशत आरओई ऋणात्मक रहेको कृषि विकास बैंकको भने यसपटक १.३७ प्रतिशत धनात्मक बिन्दुमा छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई सिद्धार्थ बैंकको बढेको छ । सिद्धार्थ बैंकको ६९८.५० प्रतिशत बढेर ५.३५ प्रतिशत बिन्दुमा पुगेको छ ।  यस्तै, लक्ष्मी सनराइज बैंकको ३७१.८१ प्रतिशत बढेर ५.१९ प्रतिशत बिन्दु, नेपाल बैंकको ३०२.५६ प्रतिशत बढेर ६.२८ प्रतिशत बिन्दु, कुमारी बैंकको २९३.३५ प्रतिशत बढेर ११.२५ प्रतिशत बिन्दु आरओई रहेको छ । यस्तै, नेपाल एसबीआई बैंकको ५२.४७ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, नबिल बैंकको ३९.९६ प्रतिशत बढेर ७.६ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको ३३.३६ प्रतिशत बढेर १६.०७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको १८.३० प्रतिशत बढेर ९.७६ प्रतिशत बिन्दुमा आरओई रहेको छ । यस्तै, एनएमबी बैंकको १५.७४ प्रतिशत बढेर १५.४४ प्रतिशत बिन्दु, प्राइम बैंकको २.३० प्रतिशत बढेर १५.९७ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.९२ प्रतिशत बढेर १६.४३ प्रतिशत बिन्दुमा आरओआई रहेको छ । यस अवधिमा सबैभन्दा धेरै आरओई हुने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड रहेको छ । तर, समीक्षा अवधिमा विभिन्न ८ बैंकको आरओई भने घटेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ८९.२६ प्रतिशत घटेर १.४३ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८१.८१ प्रतिशत घटेर १.१४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५३.०८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३५.११ प्रतिशत घटेर ७.५४ प्रतिशत बिन्दुमा आरओई झरेको छ । यस्तै, सानिमा बैंकको १७.१८ प्रतिशत घटेर २.९४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १३.४३ प्रतिशत घटेर ११.४७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०३ प्रतिशत घटेर ११.२४ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.०३ प्रतिशत घटेर ४.२८ प्रतिशत बिन्दुमा आरओई झरेको तथ्याङ्क छ । कुन बैंकको आरओए कति ? असोजसम्म रिटन अन एसेट (आरओए) सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको बढेको छ । यस बैंकको आरओए २८१.८१ प्रतिशत बढेर ०.५३ प्रतिशत बिन्दुमा पुगेको छ । यस्तै, नेपाल बैंकको २६८.४२ प्रतिशत बढेर ०.७ प्रतिशत बिन्दु, कुमारी बैंकको २५९.२५ प्रतिशत बढेर ०.९७ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको ५८.१ट प्रतिशत बढेर १६.३७ प्रतिशत बिन्दु आरओए रहेको छ । यस्तै, नबिल बैंकको ३४.६१ प्रतिशत बढेर ०.३५ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १६.६६ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.४६ प्रतिशत बढेर २.४३ प्रतिशत बिन्दु, एनएमबी बैंकको ९.५५ प्रतिशत बढेर १.४९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ७.६९ प्रतिशत बढेर ०.९८ प्रतिशत बिन्दु र प्राइम बैंकको १.०८ प्रतिशत बढेर १.८६ प्रतिशत बिन्दु रहेको छ । तर, समीक्षा अवधिमा विभिन्न ९ बैंकको आरओए भने घटेको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैकको सबैभन्दा धेरै घटेको छ । एनआईसी एशियाको ८९ प्रतिशत घटेर ०.११ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८६ प्रतिशत घटेर ०.१२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५६.२श्५ प्रतिशत घटेर ०.३५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३८.४ प्रतिशत घटेर ०.७७ प्रतिशत बिन्दुमा आरओए झरेको छ । यस्तै, सानिमा बैंकको २० प्रतिशत घटेर ०.१६ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १६.६६ प्रतिशत घटेर ०.५ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १०.३४ प्रतिशत घटेर १.०४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगाको १० प्रतिशत घटेर ०.२७ प्रतिशत बिन्दु र प्रभु बैंकको ५.८३ प्रतिशत घटेर १.१३ प्रतिशत बिन्दुमा झरेको छ । तर, यसअवधिमा कृषि विकास बैंकको आरओए भने धनात्मक रहेको छ । गत वर्ष १.३१ प्रतिशत ऋणात्मक रहेको आरओए यस वर्ष घटेर ०.२४ प्रतिशत पुगेको हो ।

३ महिनामा करिब ४ अर्ब रुपैयाँको बीमा सरेण्डर

काठमाडाैं । चालु आर्थिक वर्षको ३ महिनामा ३ अर्ब रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको छ । २८ हजार जना बीमितकाे ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको हो । जसमध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालबाट भएको छ । एलआईसी नेपालबाट ९ हजार ९३१ जना बीमितले १ अर्ब २२ करोड ९६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् । यसैगरी, नेपाल लाइफका ६ हजार ५४६ जना बीमितले १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीबाट २ हजार ७४३ जनाले २७ करोड ४३ लाख, नेशनल लाइफबाट १ हजार ५५४ जनाले २३ करोड ६२ लाख, एशियन लाइफका २ हजार २७२ जना बीमितले २४ करोड ८४ लाख, हिमालयन लाइफका २ हजार १४ जना बीमितले १८ करोड २३ लाख र सूर्य ज्योति लाइफका १ हजार ५ सय ७४ जनाले १९ करोड ३३ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् ।