विकासन्युज

स्वास्थ्य मन्त्रालयले गर्यो कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दशौँ र एघारौ तहका कर्मचारकाे जिम्मेवारी हेरफेर गरेको हाे । स्वास्थ्य मन्त्रालयका अनुसार केही समय अघि स्वास्थ्य सेवा विभागबाट शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा डा.अनुप बास्तोला मन्त्रालय ल्याइएको छ । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिइने भएको छ । यस्तै स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएका छन्। डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ । गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ । त्यहाँ कार्यरत डा विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ । डा सापकोटालाई त्यही राखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व समेत सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत गर्ने निर्णय गरिएको छ।

स्तरोन्नतिमा १५ अर्ब खर्च र ५ महिना समय लाग्ने त्रिभुवन विमानस्थल कस्तो बन्दैछ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबाबाट दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम थालनी गरेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको हो । प्राधिकरणले एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम थालनी गरेको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द हुनेछन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले प्राधिकरणले विमानस्थल स्तरोन्नति गुरुयोजना अनुरुप विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा काम थलनी गरेको बताए । विमानस्थल स्तरोन्नतिले विमास्थलको क्षमता अभिवृद्धि अर्थात रन वे र ट्याक्सी वेको क्षमता वृद्धि हुने बताए । एअर ट्राफिक कन्ट्रोलरहरुलाई एअर ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने उल्लेख गरे । विमानस्थलको मुख्य धावनमार्गसँगै समानन्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको बताए । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरी विमानस्थल स्तरोन्नतिको काम गर्न लागेको उल्लेख गरे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानहरु सञ्चालन गर्न सकिने जानकारी दिए । नेपाल एअर ट्राफिक कन्ट्रोलर संघका अध्यक्ष तथा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवन्धक विपिन बज्रचार्यले विमानस्थल स्तरोन्नति हुँदा रनवे अकुपेन्सी डेढ मिनेटको समय घट्ने बताए । उनले विमानस्थलमा हुने विमान डिले, ट्याक्सी वेमा हुने डिले समेत कम हुने उल्लेख गरे । एअर ट्राफिकहरुले सहज रुपमा एअर ट्राफिक कन्ट्रोल गर्नसक्ने अवस्था आउने जानकारी दिए । उनले प्राधिकरणले गर्न लागेको विमास्थलको क्षमता अभिवृद्धिले एअर ट्राफिक कन्ट्रोलर र वायुसेवा सञ्चालकहरुलाई बढी फाइदा रहेको उल्लेख गरे । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा पनि फाइदा हुने उल्लेख गरे । विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने भन्दै वायुसेवा सञ्चालकहरु भने असन्तुष्टि जनाइरहेका छन् । विमानस्थल सञ्चालन समय घटाउँदा ३० प्रतिशतसम्म उडान कटौती हुन्छ । तर, विमानस्थल बिस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । विमानस्थल बन्द भएपनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्ने विमानस्थल मर्मतको काम गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि करिव पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको छ । प्राधिकरणले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ । जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ । विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत शुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ । अहिले भन्दा एयर ट्राफिक व्यवस्थापन गर्न एअर ट्राफिक कन्ट्रोलरहरुलाई धेरै सहज हुने बताइएकाे छ । ‘सुरक्षाको स्तर अभिवृद्धि हुन्छ । वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको मात्रको दूरीमा रहेको निर्माणाधिन समानान्तर ट्याक्सी वे रनवे १७२.५ मिटरको दूरीमा हुने भएकाले आइकाओको मापदण्ड परिपालना हुन्छ । निर्माणाधिन १८ वटा पार्किङ एप्रोनहरु तयार भएपछि विमानहरु आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुन्छ,’ ज्रचार्य भने । ७ महिना अघि विमानस्थल मर्मत गर्ने निर्णय विमानस्थलमा विमान गुड्ने मार्ग ट्याक्सि वे र विमानस्थलमा यात्रु वा मालसामान चढाउने,उतार्ने,इन्धन भर्ने,पार्किङ र मर्मतसम्भार गर्ने क्षेत्र एप्रोन बनाउने कार्य गर्नको लागि विमानस्थल बन्द गर्ने निर्णय करिव ७ महिना अघि नै वायुसेवा कम्पनीहरुलाई समेत जानकारी लिएर एयर एआईपी सप्लिमेण्ट प्रकाशन समेत गरेको थियो । विमानस्थलको महत्वपूर्ण ग्राहक भनेको वायुसेवा सञ्चालक कम्पनीहरु हुन् । विमानस्थलको आम्दानीको प्रमुख स्रोत भनेकै वायुसेवा सञ्चालक कम्पनीहरुबाट प्राप्त हुने भएकाले वायुसेवा सञ्चालक कम्पनीहरुसँग परामर्श गरी उक्त कार्य अघि बढेको हो । आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनीहरुसँगैका छलफल परामर्श गरी लिखित सहमतिका आधारमा निर्माण कार्य अघि बढेको हो । विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्याधिक वृद्धि भएसँगै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रुपमा क्षमता बिस्तार गर्ने लागेको छ । जसअनुसार रनवेको लम्बाई बराबर हुनेगरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी वे तथा ट्याक्सी वेहरु,अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोनहरु,विमान मर्मतसम्भार गर्ने सुरक्षित ह्यांगरहरु निर्माण गर्ने योजना छ । अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनमा रुपान्तरण गरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन क्षमता १ करोड यात्रु प्रतिवर्ष, (३५०० यात्रु प्रति घण्टा) निर्माण गर्ने योजना छ । एशियाली विकास बैंकको ऋण सहयोगमा रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र रनवेको पूर्वतर्फ ह्यांगर,एप्रोन र एक्जिट ट्याक्सी वेहरु निर्माण गर्नेछ । प्राधिकरणको लगानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण कार्य हुनेछ । विमानस्थल सञ्चालनको समयमा निर्माण कार्य सम्भव नभएकाे बताइएकाे छ । विमानस्थल सञ्चालनको क्रममा निर्माण कार्य गर्नु भनेको जोखिम र चुनौतीपूर्ण कार्य हो । आईकाओको मापदण्डअनुसार विमानस्थल भित्र विभिन्न क्षेत्रलाई संवेदनशिल क्षेत्रका आधारमा वर्गिकरण गरिएको हुन्छ । रनवेको केन्द्रबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशिल क्षेत्रमा पर्छ । पर्यटनको सिजन भएपनि विकास निर्माणको कार्य गर्ने उपयुक्त समय भएकाले प्राधिकरणले अहिलेको समय रोजेको बताएकाे छ ।

भिभोको वाई १९ एस सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । भिभोले वाई सिरिजको भिभो वाई १९ एस सार्वजनिक गरेको छ । कम्पनीले आइतबार विज्ञप्तिमार्फत भिभो वाई १९एस दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध रहेको जनाएको छ । पर्ल सिल्भर मोडेलले इरिडेसन्ट कोटिंग प्रयोग गरेर इन्द्रेणीका रङहरूको दृश्य दिने कम्पनीको दाबी छ । भिभो वाई १९एस मा ६.६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले छ । भिभो वाई १९एसको स्क्रीन ब्राइटनेस एक हजार निट्ससम्म पुग्न सक्छ । कम्पनीका अनुसार यसमा ३०० प्रतिशत अडियो बूस्टर सुविधा रहेको भिभो वाई १९ एसले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्दछ । भिभो वाई १९एस ५१५० एमएएच ब्याट्री संग सुसज्जित छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ । यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ । यसले १६०० चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ । भिभो वाई १९एसले एसजिएस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन प्राप्त गरेको छ । जसले फोनलाई भित्र र बाहिरबाट मजबुत बनाउँछ । यसको आईपी ६४ रेटिङ्गले यसलाई धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ । भिभो वाई १९एसले ५० एमपी मुख्य क्यामेराको साथमा पोट्रेट र रात्री मोडको विशेषताहरू रहेको छ । यसले क्रिस्टल स्पष्ट तस्बिरहरू खिच्ने कम्पनीको भनाइ छ । यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । ४र१२८ जिबी स्टोरेजको मूल्य १६ हजार ९९९ र ६र१२८ जिबी स्टोरेजको मूल्य १८ हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।  

अनाधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनाधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले समेत सो पर्खाल अनाधिकृत रुपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिकाले आईतवार बिहान डोजरले सो भवनको सडकतिरको पर्खाल भत्काएको हो । २०७३ साल पुस १८ गते अनाधिकृत रुपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि आज डोजर चलाएर भत्काइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए । उनले भने, ‘२०७३ साल पुस १८ गते राष्ट्रिय सहकारी विकास बोर्डले यो अनधिकृत रुपमा बनाएकाले ललितपुर उपमहानगरपालिकाको तत्कालीन उपमहानगरपालिकाको निर्णयअनुसार अहिलेसम्म विभिन्न कारणले मुद्दाहरु हाल्यो ।’ सो अनाधिकृत रुपमा भत्काइएको पर्खाल भत्काउने क्रममा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो । यसैबीच स्थानीयवासीले पनि सो बोर्ड भवनले आफूहरुको घर जाने सडक समेत मिच्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय सरला राजभण्डारीले बोर्ड भवनले आफूहरुको घर जाने सडक बाटो समेत भिचेको दाबी गर्दै आफूहरुमाथि न्याय गर्न ललितपुर महानगरपालिकालाई अनुरोध गरेका छन् ।

बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, सिटिजन्स बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसमा लागि ११ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सूचना प्रकाशित गर्दै क्लस्टर हेडदेखि आईटी सपोर्ट लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारीको माग गरेको छ । सिनियर अफिसर पदका निमित्त ८ र एसिस्टेन्ट म्यानजर पदका लागि १० वर्षको अनुभव हुनुपर्नेछ । यस्तै कानुन विभाग अन्तर्गत पनि क्लस्टर हेडको झैं पद र अनुभवसहित आवेदन आह्वान गरिएको छ । बैंकले जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकको माग पनि गरेको छ । जुनियर अफिसरका लागि ५ वर्ष र अफिसरका लागि ७ वर्ष अनुभव हुनुपर्ने सुचनामा खुलाइएको छ । साथै, बैंकले केही रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टलाई जागिर दिने भएको छ । डिजिटल बैंकिङ इकाइतर्फ ग्राहक अनुभव इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजर पदमा जागिर खुलेको छ । सुपरभाइजर पदमा आवेदन दिन ३ वर्षको अनुभव हुनुपर्नेछ । साथै, केही डेभलपरलाई पनि बैंकले जागिर दिँदैछ । बैंकले आईटी विभागमा आईटी एमआईएस इकाइ र आईटी सपोर्टमा केही कर्मचारी राख्ने जानकारी दिएको छ । ईच्छुक उम्मेदवारले मंसिर १५ गते बैंकको वेवासाईट मार्फत आवेदन दिन सक्नेछन् ।

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । सौर्य ऊर्जाको व्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए । ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’,’ बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आउनुभएका वडाध्यक्ष गुरुङले भने । ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्याँसको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिन्छ ।’ उनले उक्त क्षेत्रमा दाउरा महंगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गरे । केहीदिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको बताए । वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने,‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्याउनमा केन्द्रीत थियौं, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायतका कामहरु उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’ लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसनमा पुर्याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्याइएको हो । प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत र ८० किलोवाटको मनाङ साना जलविद्युत केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको वेला साना जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ । धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

मानव तस्करीको आरोप लागेका सांसद अधिकारी पक्राउ, जहाजबाट काठमाडौं ल्याइँदै

काठमाडाैं । मानव तस्करको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । उनलाई आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे हो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला  पाँच सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६६ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ६० रूपैयाँ निर्धारण भएको छ ।