विकासन्युज

सानिमा बैंकको दराजसंग ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा छिुट दिने सहकार्य भएको छ । कम्पनीका अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३ प्रतिशत प्रति वर्षका दरले, २४ महिना सम्मका लागी मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।

दोस्रो भरतपुर-१९ पर्यटन महोत्सव सुरु, होटलमा ३० प्रतिशतसम्म छुट

भरतपुर । दोस्रो भरतपुर–१९ सांस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव २०८१ आइतबारदेखि सुरु भएको छ । महोत्सवको एक समारोहकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग गरको बताइन् । पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यसबीचमा आर्थिक गतिविधि चलायमान भएको उनको भनाई छ । भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दै भनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उनको भनाइ छ । भरतपुर भ्रमण वर्षले सिंगो चितवनको पर्यटन व्यवसायलाई नै टेवा पुगेको उनले उल्लेख गरिन् । महानगरमा भ्रमण वर्षको अवसरमा विभिन्न संघ संस्था, निकायको समवन्य तथा आयोजनामा धेरै वटा मेला, महोत्सव तथा सभा सम्मेलन भएको स्मरण पनि गरिन् । आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ–बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ । महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ । कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् । भरतपुर १९ शारदानगर, हेल्थ पोष्ट चौरमा सुरु भएको महोत्सव कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव गरेका छन् । नेपाल चिनी उद्योग संघका पदाधिकारीसँगको आइतबार मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राखे । ‘उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्रमा समस्या समाधानको निष्कर्ष निकाल्न मेरो अनुरोध छ, यो प्रक्रिया छिट्टै थाल्न म मन्त्रालयको मातहतका निकायमा निर्देश गर्छु’, मन्त्री भण्डारीले भने । उनले जहिले पनि उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीले समस्या ल्याएर सरकारलाई गुहारिरहनुपर्ने कुराको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उखु किसानलाई खेती गर्नेतर्फ अभिप्रेरित गर्न आग्रह गरे । चिनी उद्योगीका समस्या समाधानमा सरकार सधै सकारात्मक मात्र नभइ आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगीलाई उखु किसानका मर्का सम्बोधन गर्न पनि अनुरोध गरे । नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालसहितको टोलीले सरकारले भारतबाट चोरी निकासी भएर अवैध रुपबाट ल्याइने चिनी बन्द गर्नुपर्ने, उखु किसानलाई उन्नत बीउ वितरण गर्नुपर्ने लगायतका माग राखेको थियो । चिनी उद्योगबाट मङ्सिरदेखि चैतसम्मको कुल उत्पादित मोलासेसको पचास प्रतिशत सञ्चित गरी बाँकी पचास प्रतिशतसम्म निकासी गर्न दिने व्यवस्था भएकामा हाल विभिन्न आन्तरिक राजस्व कार्यालयबाट सो नियमको अपव्याख्या गरिएको भन्दै संघले मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । स्वदेशमा समेत बिक्री गरिएको मोलासेसको परिमाण घटाइ बाँकी रहेको मोलासेसको पचास प्रतिशत मात्रको अनुमति स्वीकृत गर्ने गरेकाले निकासीमा बाधा अवरोध खडा गरिएकामा संघले मोलासेस निकासी गर्नुको विकल्प नभएको हुँदा सोको समाधानका लागि माग गरेको छ ।

सांसद अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइयो (तस्बिरहरू)

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।    

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज फेरि अदालतमा उपस्थित गराइएको थियो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजना बनाएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछाने र छवि जोशीसहितलाई आज अदालत पेस गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।

नेप्से परिसूचक ६२ अकंले बढ्दा पौने १० अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक ६२.५४ अंकको वृद्धि पछि दुई हजार सात सय ३८.०६ को अंकमा कायम भएको हो । तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता सेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकिङ एक दशमलव ६२, विकास बैंक २.७१, वित्त २.४८, होटल तथा पर्यटन ०.९६ र लगानी समूह २.५६ प्रतिशतले बढेको छ । जीवन बिमा २.१६, उत्पादन तथा प्रशोधन २.३२, लघुवित्त १.५१, म्युचुअल फण्ड शून्य दशमलव ६२, निर्जीवन बिमा १.९५, व्यापार १.१५ र अन्य समूह २.५२ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपरमादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सानिमा ग्रोथ फण्डको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको ३८ करोड चार लाख ३७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रमोटर सेयर १० लाख ४७ हजार ३५ कित्ता सेयर किनबेच भएको छ ।

राष्ट्रपतिले न्यायाधीशमा निरौला र पाण्डेयको गरे नियुक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका छन् । राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यही कात्तिक २३ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित निरौला र पाण्डेयको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । नेपालको संविधान धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई न्यायाधीशको नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ : मन्त्री गुप्ता

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताएका छन् । आज आइतबार गोविन्दपुर हुँदै हास्वा जोड्ने सडक शिलान्यास गर्ने क्रममा उनले आउँदो मन्त्रिपरिषद बैठकबाट पोखरिया अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा परिणत गर्न लागिएको जानकारी दिएका हुन् । पर्साको महत्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया नगरपालिकाको विकासका लागि आफू हरपल तयार रहेको बताउँदै मन्त्री गुप्ताले पोखरियामा विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको पनि जानकारी दिए । पोखरिया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधिलगायत विभिन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तीव्र रुपमा अगाडि बढाउन पनि मन्त्री गुप्ताले आग्रह गरेका छन् । कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान, उपप्रमुख रवि ठाकुरलगायत वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।