विकासन्युज

३१ वर्षपछि वागीश्वरी सडक कालोपत्र

दमौली । एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट चार करोड रुपैयाँ बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ । पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ । हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ । मुकुन्देश्वरी पदमार्ग निर्माण यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। गाउँपालिकाको गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ ।

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले मंसिर १६ गते भुक्तानी दिनेछ ।

रविलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजनामा प्रहरी, अदालतले अनुमति देला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेस गर्ने भएको छ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई प्रहरीले आज पुनः अदालतमा उपस्थित गराउन लागेको हो । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने योजना प्रहरीको छ । तर, त्यसका लागि प्रहरीलाई अदालतको अनुमति चाहिन्छ । अदालतले अनुमति दिएमा प्रहरीले अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले सोही सुविधा प्रयोग गर्ने योजना बनाएको छ । यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछाने र छवि जोशीसहितलाई आज अदालत पेस गरिने भएको हो । पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड २० लाख १० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले २३ करोड ६६ लाख ८४ हजार रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले जानकारी दिए । बैंकले यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ११.०५ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १४ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ११.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १३ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १८.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २७ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २८.४२ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा २२ प्रतिशत र आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपालका चार संस्था असोसियो अवार्डबाट सम्मानित

काठमाडौं । नेपालका चार संस्था असोसियो २०२४ डीएक्स अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो । यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । नेपालतर्फबाट क्यान महासंघ असोसियोको सदस्यका रूपमा रहेको छ । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए । नेपालबाट अवार्ड प्राप्त गरेका चारै संस्थालाई क्यान महासंघले सिफारिस गरेको थियो । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले असोसियोको यस प्रतिष्ठित प्लेटफर्मले नेपाली सूचना प्रविधि कम्पनीहरू र उत्पादहरूलाई विश्व मानचित्रमा मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘क्यान महासंघको उद्धेश्य नै नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नु हो । असोसियोको एक सदस्य संगठनका रूपमा नेपालका उत्कृष्ट कम्पनी र उत्पादनलाई विश्व मञ्चमा प्रस्तुत गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो,’ महासचिव अधिकारीले भने ।

एमएडब्लु वृद्धिले मंगलबारबाट गर्दैछ बुटवलकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

बुटवल । नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठुलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले कालिका नगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीन दिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’ को आयोजना गर्न लागेको हो । यो मेलामा इभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस ७१ लाख ९९ हजारमा, सेरेसमा नाडा अफर ४५ लाख ४९ हजार रुपैयाँ र नामी इभी किन्दा७ किलोवाटको चार्जर फ्रि पाउन सक्ने जनाइएको छ । साथै, टप ३ रिकन्डिसन हाउसबाट अभूतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’ को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन् । यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्याङ्कनमा आकर्षक उपहार पाउनु हुनेछ । ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ को व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । साथै, दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याज दरमा घर लान सकिने समेत बताइएको छ । यी अफरहरू बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’ को मज्जा लिन सक्ने समेत जनाइएको छ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताएका छन् । चम्पक बचत तथा ऋण सहकारीको १४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले सहकारीका सञ्चालकले ऐन नियम तथा सहकारीको मर्म बाहिर गएर लगानी गर्ने तथा बचत रकम चलाउँदा सहकारी धारासायी भएको बताएका हुन् । अहिले सहकारीको खबर भनेको बिहान उठ्दा देखि नसुत्ने बेला सम्म फलानो सहकारीको यती रकम हिनामिना सञ्चालक फरार जस्ता समाचार मात्र प्राथमिकतामा छन् यसमा दोष बचत कर्ताको पनि रहेको उनले बताए । बचत कर्ताले धेरै व्याज दिन्छ कुनै सहकारीले भने कसरी दिन्छ कहाँ बाट पैसा आउँछ र दिन्छ कहाँ कहाँ लगानी गरेको छ भनी बचत कर्ताले नहेर्दा सञ्चालकहरूले आफूखुसी जहाँ पायो त्यहाँ धितो विना नै लगानी गर्दा देश भर सहकारीमा समस्या आएको श्रेष्ठको भनाई थियो । पवित्र उद्देश्यका साथ कहाँ कहाँ लगानी गर्नु हुने के गर्नु हुने भनी गरेको लगानीका सहकारी अहिले पनि समस्या ग्रस्त छैनन् चलेकै छन् यस बाट सहकारी समुदायमा नै आधारित हुँदा नडुब्ने रहेछ भनी प्रमाणित भएको समेत उनले बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोजवहादुर तामाङ, छिन्नमस्ता महिला सहकारीकी अध्यक्ष सपना तामाङ, ग्रामीण अपागंता केन्द्रका रामकृष्ण पौडेल, चाँगु झौखेल दुवाकोट खानेपानीको अध्यक्ष प्रधुम्न पोखरेल लगायतका वक्ताले सहकारी ऐन नियम अनुसार नै चलेमा कहिले पनि नडुब्ने बताएका थिए। साधारण सभामा उत्कृष्ट बचत कर्ता, सेयर सदस्य, कर्मचारी, बाल बचत कर्ता, दैनिक बचत कर्ता, निक्षेप कर्ता आदीलाई सम्मान गरिएको थियो । चम्पकको नाफा २२ लाख ६हजार सहकारीले अघिल्लो आर्थिक वर्षमा २२ लाख ६ हजार २ सय ९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ३५ लाख ५८ हजार ७ सय ६४ रुपैयाँ नाफा कमाएको संस्थाले यो वर्ष देशमा आएको मन्दी आदिका कारण २२ लाख मात्र नाफा गर्न सकेको जनाएको छ । देश भरका अधिकांश सहकारी घाटामा जाँदा पनि समुदायमा आधारित तथा समुदायमा नै सञ्चालन भएको संस्था भएका कारण एक रुपैयाँ मात्र नाफा गर्न सक्नु पनि संस्थाको उपलब्धि भएको सहकारीले जनाएको छ । चम्पकको कुल सम्पत्ति भने २३ करोड ६७ लाख ४५ हजार २ सय ९५ पुगेको संस्थाले जनाएको छ ।

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इएमभि स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माईपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरे ।