विकासन्युज

मानव तस्करीको आरोप लागेका सांसद अधिकारी पक्राउ, जहाजबाट काठमाडौं ल्याइँदै

काठमाडाैं । मानव तस्करको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । उनलाई आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे हो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला  पाँच सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६६ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ६० रूपैयाँ निर्धारण भएको छ ।

बाढीले बगर बनायो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

पाटन । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट छ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो । ‘त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियोे,१०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो। संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,’ वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने । निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो । बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भने, ‘मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियो, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।’ विसं २०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युत्गृहमा आंशिक क्षति भएको छभने बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका छन् । दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए । यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ दिएको छभने संघले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी एक करोड रुपैयाँ प्रदान गरेको छ । बिस्थापितहरुको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनःनिर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बताए । ‘विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ’, उनले भने । रासस

आज अर्थ समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । आइतबार अर्थ समितिको बैठक आज बस्ने भएको छ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज ११ बजे बस्दैछ । बैठक अर्थ समितिको कक्षमा बस्नेछ । बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

आज मन्त्रिपरिषद् बैठक बस्दै, नियुक्ती र बढुवा-सरुवाको निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आइतबार साँझ बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत साता बैठक बस्न सकेको थिएन । तर, उनी केही स्वस्थ भएपछि आज बैठक बोलाइएको हो । आजको बैठकमा नियुक्ती, बढुवा तथा सुरुवाको निर्णय हुने बताइएको ।

२५ वर्षअघि ११ र १२ कक्षामा फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने

NEB काठमाडौं । २५ वर्षअघि ११ र १२ कक्षामा भर्ना भएर परीक्षामा सहभागी भई फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले ०५६ देखि यता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका, डी र ई ग्रेड प्राप्त गरेका र अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षा लिन लागेको जनाएको छ । परीक्षा दिएर फेल भएका र परीक्षामा अनुपस्थित भएकाले पनि आउँदो वैशाखमा हुने परीक्षा दिन पाउने भएका छन् । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएकालाई अन्तिम एक पटकका मौका दिइने छ । परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले मंसिर २७ गतेभित्र आफू पढेको विद्यालय मार्फत परीक्षा आवेदन दिन सक्ने भएका छन् । बोर्डका अनुसार परीक्षार्थीले हरेक कक्षाको एक हजार रुपैयाँ परीक्षा शुल्क तिर्नु पर्ने छ । कक्षा ११ र १२ दुवैको परीक्षा दिने हो भने दुई हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यस्तै प्रयोगात्मक विषय मात्र बाँकी छ भने एक हजार तिर्नु पर्ने हुन्छ । परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्नेछ ।

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छन् । अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट १९ लाख ७० हजार रुपैयाँ र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

३१ वर्षपछि वागीश्वरी सडक कालोपत्र

दमौली । एकतीस वर्षपछि व्यास नगरपालिका–११ स्थित वागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट चार करोड रुपैयाँ बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ । पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ । हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ । मुकुन्देश्वरी पदमार्ग निर्माण यसैबीच, जिल्लाको पर्यटकीयस्थल बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुङ्गिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। गाउँपालिकाको गुरुयोजनाअनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ ।