ठगीको आरोप लागेसँगै धनीको सूचीबाट तल झरे अडानी, एकैदिन घट्यो १२.१ बिलियन डलर सम्पत्ति
काठमाडौं । ठगी र घुसखोरीको आरोप लागेसँगै अडानी समूहका अध्यक्ष गौतम अडानी धनीको सूचीबाट तल झरेका छन् । बिहीबार अमेरिकी अदालतले भारतको दोस्रो धनी व्यापारीसमेत रहेका अडानीविरुद्ध ठगी र घुसखोरीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनको सेयरमा भारी गिरावट आएको थियो । उक्त गिरावटसँगै उनी फोर्ब्सको रियल टाइम नेटवर्थ लिस्टमा तल आएका हुन्। अमेरिकी अदालतको आदेशपछि अडानीकाे कम्पनीको मार्केट क्याप ३.२ लाख करोड रुपैयाँभन्दा बढीले घटेको थियो । जसका कारण अडानीको नेटवर्थ पनि घटेको हो । कति घट्यो सम्पत्ति ? फोर्ब्सका अनुसार अदानीको सम्पत्ति एक दिनमा १७.३४ प्रतिशतले घटेको छ । अर्थात् अडानीको सम्पत्ति एक दिनमा १२.१ बिलियन डलरले घटेर ५७.७ बिलियन डलरमा पुगेको छ । सम्पत्तिमा आएको गिरावटका कारण अडानी फोर्ब्सको अर्बपतिको सूचीमा धेरै स्थान तल झरे । फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूचीमा अडानी २२ औं स्थानबाट २५ औं स्थानमा झरेका छन् । ब्लुमबर्ग बिलियनेयर इन्डेक्समा अडानी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा १८ औं स्थानमा छन् । यस सूचीअनुसार अडानीको सम्पत्ति ८५.५ बिलियन डलर छ । अडानी समूहको स्पष्टीकरण यो कुरा बाहिर आएपछि अडानी समूहले बिहीबार नै स्पष्टीकरण दिएको छ । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ । विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । के हो विषय ? अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढ्नूहोस् : अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप
बीवाईडीको ३० औं वार्षिकोत्सवको दिनमा नेपालभर १०० युनिट डेलिभरी
काठमाडौं । बीवाईडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इन्कले बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गरेकाे छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ । साइमेक्स इन्कले बीवाईडी अटो ३, बीवाईडी डल्फिन, बीवाईडी सीलजस्ता मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् । विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनइभी उत्पादन गर्ने पहिलो गाडी निर्मातासमेत बनेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो । सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।
१२ वटा हवाई कम्पनीले बुझाए मन्त्रालयलाई हवाई भाडादरको विवरण
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने १२ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधबार निर्देशन दिएको थियो । त्यहीँ निर्देशनबमोजिम एयरलाइन्सले हिजो बिहीबार मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् । प्रवक्ता रामकृष्ण लामिछाने भने, ‘हवाई भाडा महँगिएको थियो । यसलाई हामीले सहजै बनाउनुपर्छ भन्ने गुनासो आउन थाले । त्यसपछि पहलका लागि भाडादरको विवरण हामीले मागेका हौं ।’ विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर रहेका प्रवक्ता लामिछाले जानकारी दिए । यसैबीच, अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको समेत उनले बताए ।
संयुक्त लगानीको कम्पनीमा हजार कित्ताभन्दा कम सेयर भर्न नपाइने, यस्तो छ सेबोनको नयाँ व्यवस्था
काठमाडाैं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरेको छ । बोर्डले निर्देशिका संशोधन गर्दै संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको सीमा एक हजारभन्दा बढी कायम गरेको छ । ‘संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हो । सेबोनका प्रवक्ता नवराज अधिकारीले अन्य कम्पनीको सेयरको सीमा एथावत रहेपनि गैर आवासिय नेपालीहरूले लगानी गरेका कम्पनीहरुमा भने यो व्यवस्था गरेको जानकारी दिए । निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासनको लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरणपत्रमा उल्लेख भए बमोजिम हुने उल्लेख गरेको छ । यस्तै, संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिदको लागि दरखास्त आह्वान गर्दा प्रति सेयर अङ्कित मूल्यको शत प्रतिशत बराबरको रकम दरखास्त साथ माग गर्नुपर्ने उल्लेख छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँड भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, संस्थापक सेयरको हकमा नियमावलीको नियम ३८ को उपनियम (१) बमोजिम हुने उल्लेख छ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबीच मात्र हक हस्तान्तरण गर्नु पर्ने व्यवस्था गरेको छ । उपदफा (१) बमोजिम हक हस्तान्तरण गर्दा सेयरको खरिद बिक्री बन्देज अवधि (लकइन पिरियड) नसकिएको भएमा हस्तान्तरण भई जाने सेयरसमेत लकइनमा नै रहने निर्देशिकामा उल्लेख छ । [pdf id=524078]
सरकारको नेतृत्व गरिरहेको पार्टीकै कारण सडक अस्तव्यस्त, जनतालाई दुःख
काठमाडौं । सत्तारूढ नेकपा एमालेको कारण शुक्रबार उपत्यकाको सवारीसाधन आवागमन ठप्प भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीकै कारण आज काठमाडौं उपत्यकाका सडक अस्तव्यस्त बनेका हुन् । शुक्रबार काठमाडौंका अधिकांश सडकहरू ट्राफिक जाममा छन् । सवारीसाधनको आवतजावत ठप्प हुँदा कामका लागि घरबाहिर निस्केका सर्वसाधारणले दुःख पाएका छन् । एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा सभा गर्दै छ । जनसभालाई आज दिउँसो साढे एक बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने तयारी गरिरहेको छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने जानकारी छ । एमालेले यसलाई जागरणसभाको उपमा दिएको छ । एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमाले पार्टीको अनुशासन आयोगका संयोजक केशब बडालले बताए । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रूपमा पनि हेरिएको छ । सरकारको नेतृत्व गरिरहेको पार्टी सत्तामा रहेर नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने भूमिका निर्वाह गर्नु पर्नेमा सडकमा शक्ति प्रदर्शन गरेर अराजकता सुरु गरेको भनेर आलोचना पनि भइरहेको छ । सरकारको नेतृत्व गरिरहेकै पार्टीले सडकमा आन्दोलन गर्नुलाई लोकतान्त्रिक मूल्य मान्यताहरूमाथि पनि गम्भीर प्रश्न उठ्ने जानकारहरू बताउँछन् । सरकारको नेतृत्व गरिरहेकै पार्टीले सडकमा शक्ति प्रदर्शनको विकल्प खोज्नुलाई धेरै संशयमात्र मानेका छैनन्, ओली नेतृत्वको सरकार आफ्नै संयन्त्रप्रति असन्तुष्ट रहेको संकेत पनि दिन्छ । एमालेका कारण उपत्यका ट्राफिक अस्तव्यस्त भएको हुनाले ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
एमाले जागरणसभाका लागि र्याली सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शुक्रबार दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केहीबेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरणसभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
कन्ट्री रेटिङले खुसी ल्यायो, अब विश्वभरका लगानीकर्ताले नेपालमा लगानी गर्छन् : अर्थमन्त्री
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले खुसी ल्याएको बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले पहिलो पटक गरेको कन्ट्री रेटिङले खुसी ल्याएको बताएका हुन् । कन्ट्री रेटिङले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको उनको भनाइ छ । उनले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताए । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्री पौडेलले बताए । ‘कन्ट्री रेटिङ गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं, अब विश्वका लगानीकर्ताले नेपालमा लगानीका लागि तयार बन्छन्,’ उनले भने । नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गर्ने अर्थमन्त्रालयको विश्वास छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने अर्थमन्त्रालयको भनाइ छ । नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई आगामी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रका ठूला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको छ । यो पनि पढ्नूहोस् : नेपालले पायो डबल बी माइनस कन्ट्री रेटिङ, सरकारकाे घाटा जीडीपीको ४ प्रतिशतमा झर्ने
तोलामा १५ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो ।