१७ करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै
खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण हुने भएको छ । मूल्य अभिवृद्धि करसहित १७ करोड ५८ लाख ७९ हजार सात सय २९ रुपैयाँको लागतमा निर्माण हुने पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार शिलान्यास गरे । शिलान्याससँगै निर्माण पनि प्रारम्भ भएको छ । चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा ग्रामीण सडक समीप बग्ने बुवाँखोलामा एक सय ४८ मिटर लामो पुल निर्माण हुनेछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल–खोटाङ बजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देवीस्थान–मैनाटार–पौवासेरा सडकमा पर्ने बुँवाखोलामा पुल नहुँदा वर्षायाममा आवागमन ठप्प हुने गरेको छ ।
लिवर्टी इनर्जीले मंसिर १६ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लिवर्टी इनर्जीको कार्यालय, प्रभु बैंक बेशिसहर, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको भोटेओडार, ग्लोबल आइएमई बैंकको दोर्दी लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नेप्सेमा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
काठमाडौं । तीन महिनामा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यस्तै, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ५ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । २०८१ असोजसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश, निक्षेप संकलन ८३.२७ अर्ब पुग्यो
काठमाडौं । गरिमा विकास बैंक स्थापनाको १७ बर्ष पूरा गरि १८औं वर्षमा प्रवेश गरेको छ । शिक्षण, इन्जिनियरियङ, चिकित्सा, बैंकिङ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूबाट १७ वर्ष अगाडि बैंकको स्थापना भएको थियो । कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको हो । यसले, २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो । २०६४ कात्तिक १८ गते वालिङ नगरपालिका-३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले त्यस समयको निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंकसँग मर्जर गरेपश्चात् २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको हो । बैंकमा विविध पहिचान र अनुभवी सदस्यहरूको बाहुल्यता छ । जुन विविधतालाई बैंकले आफ्नो सबल पक्ष मानेको छ । बदलिँदो समय, बजार सुहाउँदो र प्रविधिको अधिकतम उपयोग गर्दै बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्याङ्क अनुसार बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ, सञ्चित नाफा ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यसअवधिमा बैंकले ८३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तीन महिनामा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ३.८२ प्रतिशत रहेको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ अन्य देशको मुद्राको भाउ
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि खरिदर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ थियो । आज युरोपियन यूरोको एकको खरिदर १४२.०२ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.७१ रुपैयाँ र बिक्रीदर १५३.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.०० रुपैयाँ र बिक्रीदर ८८.३९ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६३ रुपैयाँ र बिक्रीदर ९७.०६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.४४ रुपैयाँ र बिक्रीदर १००.८९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९३ रुपैयाँ र बिक्रीदर ३६.०९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८९ रुपैयाँ र बिक्रीदर ३.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२१ रुपैयाँ र बिक्रीदर ३०.३५ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२५ रुपैयाँ र बिक्रीदर १२.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.६७ रुपैयाँ र बिक्रीदर ४४०.६२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.९० रुपैयाँ र बिक्रीदर ३५९.४९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.३७ रुपैयाँ र बिक्रीदर ३५१.९३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म २.०४ किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा ४ लेन र ५ किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ । पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताए । दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ । यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ ।
६ सय ग्राहकको विद्युतको लाइन काटिँदै
काठमाडौं । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख रुपैयाँ बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार ३६२ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका ५७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । चौरासी वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार २३५ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् । यस्तै अन्य ४९५ ग्राहकबाट ६३ लाख ८० हजार १२६ रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए । समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य सुरु भइसकेको छ । प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ । सोही नीतिअनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्ने कार्य सुरु भएको वितरण केन्द्रका प्रमुख पौडेलले बताए । बैतडीमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर ६४ लाख रुपैयाँ बक्यौता रकम असुल गरिएको थियो । लाइन काटेपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुनः लाइन जोड्ने गरेको छ ।
बगेर खेर गइरहेछ भोटको नुन, सङ्कलन गर्ने संरचना बेवारिसे
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो, आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ,’ उनले भने । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ । अग्ला पहाडको फेदीमा नुनिलो पानी निस्कने चारवटा मुहान छन् । प्रयोग हुन नसक्दा मुहानबाट निस्कने नुनिलो पानी नर्साङखोलामा बगेर खेर गइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडासदस्य तथा तेताङका बासिन्दा धवा गुरुङले बताए । गुरुङका अनुसार आयातित नुनको सहज उपलब्धतासँगै यहाँको खानी तीन दशकयता उत्खनन भएको छैन । ‘पहिले तेताङका बासिन्दा तीन महिनासम्म खानीमै बसेर वर्षमा ६०/७० मुरी नुन निकाल्ने गर्दथे,’ उनले भने, ‘अहिले नुन निकाल्ने मान्छे पनि छैनन् । बाटो नभएकाले त्यहाँ पुग्न पनि गाह्रो छ ।’ स्थानीयवासीले परम्परागत प्रविधि अपनाएर नुनीलो पानीलाई सुकाएर ढिक्के नुन उत्पादन गर्दथे । नुनिलो पानीलाई कुण्डमा सङ्कलन गरी घाममा सुकाएर नुन बनाउने गरिएको थियो । मुहानबाट पाइपमार्फत कुण्डमा नुनिलो पानी ल्याएर सङ्कलन गर्ने संरचनाहरू अझै छन् । पहिले खाली जमिनमा सुकाइने नुनिलो पानी पछिल्लो समय त्रिपाल र प्लाष्टिकमाथि जम्मा गर्न थालिएको थियो । उत्खनन हुन छाडेपछि नाउर, झारल, घोरललगायत वन्यजन्तु नुन खानका लागि खानीमा आउने गर्छन् । नुनखानी हेर्न जानेहरूले वरपर जङ्गली जनावर देखिने बताउँछन् । घुम्न गएका पर्यटकले नुनिलो पानीलाई बोतलमा हालेर प्रसादका रूपमा घरमा लैजाने गर्छन् । बर्खामा नर्साङखोलामा बाढी आउने र हिउँदमा हिउँ पर्ने भएकाले वैशाख, जेठ र असारमा खानीमै बसेर नुन निकाल्ने गरिएको तेताङका बूढापाका बताउँछन् । राणा शासनकालमा थासाङ गाउँपालिका–१ टुकुचेका तत्कालीन सुब्बा शङ्करमान शेरचनलाई नुन उत्खननको जिम्मा दिइएको थियो । शेरचन र उनका सन्तानहरू बसाइँ सरेर काठमाडौं गएपछि खानी उत्खनन हुन छाडेको हो । म्याग्दी, बागलुङ र पर्वतका बासिन्दा हप्तौँ पैदलयात्रा गरेर मुस्ताङमा नुन लिन जाने गर्दथे । बेनी नगरपालिका–५ का केदार पौडेलले मुस्ताङ गएर चामलसँग साटेर नुन ल्याउने गरेको सम्झन्छन् । ‘मुस्ताङमा धानखेती नहुने भएकाले हामीले यताबाट चामल बोकेर लैजाथ्यौँ र एक पाथी चामलको एक पाथी नुन ल्याएर आउथ्यौँ,’ ७० वर्षीय पौडेलले भने, ‘पछि पुतलीखेतमा गाडी आएपछि नुन ल्याउन मुस्ताङ जान छाडियो । अहिले त आयोडिनयुक्त नुन गाडीले गाउँगाउँमै ल्याउँछ ।’ गाउँघरमा बूढापाकाहरूले भोटको नुन ल्याउन थाकखोला जाँदाको अनुभव सुनाउने गर्छन् । भोटको नुन अहिले एकादेशको कथामा सीमित भएको छ । जोमसोमबाठ तल पर्ने थकाली समुदायको बसोबास भएको बस्तीलाई थाकखोला भन्ने गरिन्छ । नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरूलाई ठीक हुने स्थानीयवासीको माग छ । विसं २०७७ मा खानी तथा भूगर्भ विभागका प्राविधिक इन्जिनियरसहितको टोलीले यस क्षेत्रमा स्थलगत रूपमा नुन खानीको अध्ययन गरेको थियो । टोलीले यो खानीको नुनमा ७०.२८ प्रतिशत देखि ९३.७ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको र यहाँको नुन खान योग्य भएको पुष्टि गरेको थियो । जोमसोम देखि ३० किलोमिटर टाढा छुसाङको तेताङ नजिकैको नर्साङखोला आसपासको दुई किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको विभागको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सोमप्रसाद पाण्डे आफैँ नुनखानीको अनुगमन गर्न आएका थिए । पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार मुस्ताङको नुनलाई ‘हिमालयन साल्ट’का रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने लक्ष्यसहित २०७७ सालमा खानी तथा भूगर्भ विभागले नुनखानी उत्खननका लागि प्रस्ताव आह्वान गरेको थियो । विभागका अनुसार नुनखानी उत्खनन गर्न कुनै पनि कम्पनीले प्रस्ताव गरेनन् । निजी क्षेत्रले चासो नदेखाएपछि नुनखानी उत्खननको विषय ओझेल परेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का वडाध्यक्ष विनोद गुरुङले बताए । ‘भूगोल हाम्रो भए पनि खानी उत्खनन गर्ने सामथ्र्य र अधिकार गाउँपालिका वडालाई छैन, खानीलाई संरक्षण गरेर पर्यटकीयस्थल बनाउन सकिन्छ । त्यसका लागि बाटोको समस्या छ,’ उनले भने । सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइप लाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने सम्भावना छ । परम्परागत रूपमा विगतमा नुनको उत्खनन भए पनि त्यसलाई आधुनिक तरिकाले गर्न आवश्यक छ । उत्खनन भएको नुनलाई आयोडिन मिसाएर प्रयोगयोग्य बनाउन सकिन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले नुनखानी भएको ठाउँलाई तेताङ र छुसाङका बासिन्दाहरूको आफ्नो भूगोलमा पर्ने दाबी गर्दा विवाद भएको र व्यक्तिगत जग्गामा खानी भएकाले त्यसका लागि सरकारले नीतिगत निर्णय गर्नुपर्ने बताए । यसअघि गाउँपालिकाले २०७५ सालमा नुनखानीबाट निस्कने नुनिलो पानी सङ्कलन गर्ने तीनवटा पोखरी बनाएको थियो । गाउँपालिकाले बनाएको उक्त अस्थायी संरचना नर्साङखोलाको बाढीले क्षति पुर्याएको छ । मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताए । मुस्ताङमा नुनको मात्र नभएर युरेनियम, कोइला र ग्यासको खानी छ । मुक्तिनाथ मन्दिर परिसरमा ग्यासको खानी भएकाले त्यहाँ निरन्तर बलिरहने ज्वाला छ । खानी तथा भूगर्भ विभागले २०७०/७१ सालमा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किमी लम्बाइ र तीन किमी चौडाइमा युरेनियम भेटिएको थियो । युरेनियनको खानीको संरक्षण र सुरक्षाका लागि लोमान्थाङको लुङखुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । जोमसोम नजिकैको ठिनी लेकमा कोइला खानी छ । मुस्ताङमा रहेका खानीको व्यवस्थित हिसाबले उत्खनन र संरक्षण गर्न सकेमा रोजगारी सृर्जना, आयात घटाउन र देशको अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।